विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक १४,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर ३१, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

इजरायलद्वारा युद्धविराम अस्वीकार
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् । ‘युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो’, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भने ।

‘यस्तो हुने छैन’, विदेशी पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘इजराइलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।’ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना मारिएका थिए भने दुई सय ३० नागरिकलाई बन्धक बनाएको थियो ।

त्यसयता इजराइलले हमास शासित गाजाविरुद्ध ठूलो हवाई बमबारी अभियान चलायो । गाजाभित्र भने लामो समयदेखि अपेक्षित स्थल युद्ध भइरहेको थियो ।

सेनाले उत्तरी गाजा क्षेत्रमा इजरायली पैदल सेनाको तस्बिर जारी गरेको छ । सोमबार प्रत्यक्षदर्शीहरूले गाजाको बाहिरी भागमा ट्याङ्कहरू रहेको बताएका छन् । इजरायलले २४ घन्टामा छ सय लक्ष्यमा निशाना बनाएको बताएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो बमबारीमध्येको एक हो । सेनाले हमासबाट हराइरहेकी एक महिलालाई बचाएको बताएको छ ।

प्रधानमन्त्री नेतान्याहूले युद्धले हमासलाई ‘समाप्त’ पार्ने वाचा गरेका छन्। उनका अनुसार हमास समाप्त भएपछि यस्ता समूहका हमलाहरू दोहोरिने सम्भावना हुँदैन । इजरायलले अक्टोबर ७ मा हमास र अन्य प्यालेस्टिनी लडाकु समूहले बन्धक बनाएका बन्धकहरूलाई मुक्त गर्ने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले बारम्बार मानवीय युद्धविरामको आह्वान गरेको छ । सोमबार प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसङ्घीय एजेन्सी युएनआरडब्लुले इजरायलले घेराबन्दी गरेको क्षेत्रमा मानवीय सहयोग पूरा गर्न अपर्याप्त रहेको भन्दै उक्त क्षेत्रमा सीमित सङ्ख्यामा ट्रकहरू प्रवेश गरेको बताएको थियो ।

गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको दाबी
इजरायल–हमास युद्धका क्रममा गाजामा मात्र मृत्यु हुनेको संख्या ८ हजार ३०० जना नाघेको दाबी गरिएको छ । इजरायलमा ७ अक्टोबरमा प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गरेसँगै सुरु भएको बमबारीले गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले एन्क्लेभमा प्रतिशोधात्मक बमबारी सुरु गरेदेखि गाजामा कम्तिमा ८,३०६ जना मारिएका छन् । जसमध्ये ३ हजार ४५७ नाबालिग परेका छन् ।

मृत्यु हुनेमा २ हजार १३६ महिला र ४८० वृद्धवृद्धा पनि परेकाके जारी विज्ञप्तिमा भनिएको छ। विश्व स्वास्थ्य संगठनले गाजाका अस्पतालहरूमा बिजुली आपूर्तिको अभावका कारण मुस्किलले स्वास्थ्यकर्मीहरुले काम गरिरहेका जनाएको छ।

अस्पताल, आश्रयस्थल, बेकरी, पानी प्रशोधन र पम्पिङ स्टेशन र ढल निकास प्रणालीका लागि विद्युत उत्पादन गर्न आवश्यक पर्ने स्ट्रिपमा इन्धनको ढुवानी पनि भएको नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

रोहिङ्ग्या स्वदेश फिर्ता वार्ताका लागि म्यान्माको टोली बङ्गलादेशमा
लामो समयदेखि रोकिएको स्वदेश फिर्ता योजनाअन्तर्गत रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्माका अधिकारीहरू बङ्गलादेश आइपुगेको अधिकारीहरूले बताएका छन् ।

बङ्गलादेश करिब १० लाख रोहिङ्ग्या शरणार्थीहरूको घर हो । यीमध्ये अधिकांश सन् २०१७ मा म्यान्माको सेनाको हिंसात्मक कारवाहीपछि भागेका हुन् । अहिले संयुक्त राष्ट्रसङ्घले उक्त नरसंहारको अनुसन्धान गरिरहेको छ ।

राज्यविहीन र उत्पीडित अल्पसङ्ख्यक रोहिङ्ग्या शरणार्थी भीडभाड, खतरनाक र कम स्रोतसाधन भएका उद्धार शिविरमा बसेका छन् र उनीहरूको स्वदेश फिर्तीका लागि पछिल्ला थुप्रै प्रयास म्यान्मा र स्वयं शरणार्थीहरूको अनिच्छाका कारण असफल भइरहेको छ ।

रोहिङ्ग्या परिवारहरूसँग भेट्नका लागि म्यान्माका अधिकारीहरूको टोली बङ्गलादेशसँग उनीहरूको साझा सीमाको ठीक अगाडि रहेको नदी टेकनाफको किनारमा पुगेको छ ।

‘आज उहाँहरूले रोहिङ्ग्यासँग स्वदेश फिर्तीबारे कुराकानी गर्नु हुनेछ र उनीहरूको पहिचान प्रमाणित गर्नु हुनेछ’, बङ्गलादेशका शरणार्थी उपआयुक्त समसुद डुजाले भने, ‘टोली आज म्यान्मा जानेछ तर भोलि फर्कने छ ।’

म्यान्माले अप्रिलमा दुवै मुलुक र चीनबीच त्रिपक्षीय बैठकमा पाइलट स्वदेश फिर्ता योजनाअन्गर्तत डिसेम्बरसम्ममा तीन हजार शरणार्थीलाई फिर्ता लैजाने योजना बनाएका बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । ‘रोहिङ्ग्या शरणार्थीहरूलाई लैजान उनीहरू तयार छन् तर रोहिङ्ग्याहरू जान इच्छुक छैनन, त्यो नै चुनौती हो’, नाम उल्लेख नगर्ने सर्तमा बङ्गलादेशका एक अधिकारीले बताए ।

आफूहरूलाई नागरिकता दिइए र आफ्नो भूमिमा पुनः बसाइए मात्र म्यान्मा फर्किने रोहिङ्ग्या समुदायका नेताहरूले लामो समयदेखि बताउँदै आएका छन् ।

‘यदि म्यान्मा सरकार हामीलाई हाम्रो मूल स्थलमा फिर्ता लैजान्छ, हामीलाई सम्मान गर्छ र हाम्रा सबै हक पूरा गर्छ भने हामी आफ्नो देश फिर्ता जान इच्छुक छौँ’, रोहिङ्ग्याका प्रमुख नेता खिन माउङ्गले भने, ‘तर हामीलाई अधिकार दिइएन भने हामीसँग प्रश्नहरू छन् ।’

सन् २०१५ मा म्यान्माले रोहिङ्ग्याहरूको नागरिकतालाई मान्यता बन्द गरेपछि उनीहरू राज्यविहीन बनेका छन् ।

इजराइल-हमास युद्धमा ३१ पत्रकार मारिए
अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजरायली र एक लेबनानी रहेका छन् ।

यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका वा पक्राउ परेका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स ९सीपीजे० को प्रतिवेदन उद्धृत गर्दै टाइम्स अफ इजराइलले पत्रकारहरूले लगातार हमला, पक्राउ, धम्की, सेन्सरसिप र परिवारका सदस्यको हत्याको सामना गर्नुपरिरहेको बताएको छ ।

ती पत्रकारहरूमध्ये २६ जना गाजामा र तीमध्ये पनि अक्टोबर ७ मा इजराइलमा हमासको हमलाका क्रममा चार जना मारिएका थिए । हिज्बुल्लाहलाई लक्षित गरी गरिएको इजराइली गोलाबारीमा लेबनानमा एक पत्रकारको मृत्यु भएको थियो ।

‘सीपीजेले अन्य पत्रकारहरू मारिएको, बेपत्ता बनाइएको, हिरासतमा राखिएको, चोटपटक वा धम्की दिइएको र मिडिया कार्यालयहरू तथा पत्रकारहरूको घरमा क्षति पुर्याएको धेरै अपुष्ट रिपोर्टहरूको पनि अनुसन्धान गरिरहेको छ’, सीपीजेले भनेको छ ।

‘पत्रकारहरू सङ्कटको बेला महत्वपूर्ण काम गर्ने नागरिक हुन् र उनीहरूलाई युद्धरत पक्षहरूले निशाना बनाउन हुँदैन भन्नेमा सीपीजे जोड दिन्छ’, सीपीजेको मध्यपूर्व तथा उत्तर अफ्रिका कार्यक्रम संयोजक सेरिफ मन्सुरले भने ।

बङ्गलादेशमा गार्मेन्ट मजदूर र प्रहरीबीच झडप
बङ्गलादेशका हजारौँ गार्मेन्ट श्रमिकले आफूले बनाउने महत्वपूर्ण पश्चिमा ब्रान्डका कपडाको उचित ज्यालाको माग गर्दै हडताल र प्रदर्शनमा सहभागी हजारौँ गार्मेन्ट मजदुर र प्रहरीबीच मङ्गलबार झडप भएको छ ।

देशको सबैभन्दा ठूलो औद्योगिक शहर आशुलिया र गाजीपुरमा दर्जनौं कारखानामा कार्यरत दशौं हजार मजदुरले हडताल सुरु गरेको र अधिकारीहरूले अश्रुग्यास र रबरको गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गाजीपुरमा मात्र एक हजारभन्दा बढी गार्मेन्ट कारखाना छन् जसले एच एन्ड एम र ग्यापजस्ता ब्रान्डका लागि कपडा बनाउँदछन् । आशुलियाका एक वरिष्ठ गार्मेन्ट युनियनका नेता अल कामरानले भने ,’मजदुरहरू सडकमा उत्रेका छन् किनभने उनीहरूको तलबले अब दुई छाक टार्नका लागि खर्च धान्न सक्दैन ।’

बङ्गलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्तामध्ये एक हो, जहाँ उद्योगले दक्षिण एसियाली यस देशको वार्षिक ५५ अर्ब डलरको निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ । तर यसका ४० लाख कपडा मजदुरहरूमध्ये धेरैको अवस्था दयनीय छ ।

आशुलिया औद्योगिक क्षेत्रका प्रहरी उपप्रमुख महमुद नासेरले भने, ‘करिब १५ हजार श्रमिकहरू आशुलियाका छुट्टाछुट्टै स्थानमा ज्याला वृद्धिको विरोधमा प्रदर्शनमा सामेल भएका छन् ।

युनियनका नेता कामरानले आशुलियामा मात्रै करिब ५० हजार कामदारले मूल्यवृद्धिलाई धान्न कठिन भएकोले अहिलेको ज्यालामा तेब्बर वृद्धिको माग गर्दै हडतालमा सहभागी भएको बताए ।

आलु र प्याजजस्ता केही आधारभूत खाद्य वस्तुको मूल्य गत वर्षको तुलनामा दोब्बरभन्दा बढी भएको कामरानले बताए । उनले भने, ‘खाद्यान्न, इन्धन तथा घरभाडा पनि बढेको छ । नबढेको एउटा मात्र कुरा भनेको तलब हो ।’

गार्मेन्ट श्रमिक समहति युनियनकी प्रमुख तस्लिमा अख्तरले मुद्रास्फीति र मुद्राको अवमूल्यनलाई ध्यानमा राखिएपछि उत्पादकहरूले दिने क्षतिपूर्ति ‘सन् २०१७ मा कामदारले पाउने भन्दा कम’ भएको बताएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ७ : ५९ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि