बालकुमारीको अन्तर्य : बेरोजगारमाथि ‘स्वेत आतंक’ | Khabarhub Khabarhub

बालकुमारीको अन्तर्य : बेरोजगारमाथि ‘स्वेत आतंक’

शुक्रबार ललितपुरमा भएको घटनाको मुख्य दोषी को ?


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 10 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजनीतिक भाष्यमा आतंक दुई प्रकारका हुन्छन् । एउटा– लाल आतंक, अर्को– स्वेत आतंक । ललितपुरको बालकुमारीमा शुक्रबार कम्युनिस्ट नेतृत्वको सरकारले ‘स्वेत आतंक’ मच्चायो ।

हुन त सरकारको नेतृत्व लालबस्त्रधारी माओवादी पार्टीका सुप्रिमोले गरेका छन् । गृहमन्त्री पनि लाल पृष्ठभूमिकै हुन् । तर, राज्यले नागरिकमाथि जुन व्यवहार गर्‍यो, त्यो ‘लाल आतंक’ नभएर पूर्णतः ‘स्वेत आतंक’ थियो ।

खासगरी राज्यले नागरिकहरुमाथि गर्ने हिंसा, अत्याचार र उत्पीडनलाई ‘स्वेत आतंक’ भन्ने गरिन्छ । बालकुमारीको शुक्रबारको घटनामात्र होइन, ईपीएस कोरिया शाखाका नाममा सरकारले लिँदै आएको अनुचित नीति र युवामाथिको शोषण स्वेत आतंकको पुरानै सिलसिला हो, जुन शुक्रबार सडकमा पोखियो ।

बालकुमारीमा प्रहरीको लाठी र गोलीबाट दुई निहत्या नेपाली युवाको ज्यान गयो । गरीबको सपना र भविष्य लुटियो । बेरोजगारीमा तड्पिएका कैयौं युवा सरकारको लाठी, बुट, अश्रुग्यास र गोली खाएर घाइते भए । प्रतिवादमा बहालवाला मन्त्रीको गाडी सडकमा ह्वारह्वारी जल्यो । एकाध घण्टाकै बीचमा मच्चिएको यो बबण्डरले एकैसाथ हाम्रो राज्यप्रणालीप्रति गम्भीर प्रश्न उब्जाइदियो ।

सबैभन्दा गम्भीर प्रश्न त यो छ कि शुक्रबारको बबण्डरको दोषी को हो ? कसका कारणले यस्तो परिस्थिति उत्पन्न भयो ? कारणको खोजी गर्नुभन्दा पहिले बालकुमारीमा त्यसदिन के–के भयो, ‘रिभ्यु’ गरौं ।

प्रहरीको लापरवाही

स्वर्गीय राजा वीरेन्द्रकै नाम गरेका अछामका २३ वर्षीय वीरेन्द्र शाहले स्थानीय सिउडी उच्च माविबाट १२ कक्षा उत्तीर्ण गरेका थिए । स्वदेशमै केही गर्ने भनेर भेटेरिनरी जेटिए पढेका शाह कोरिया जाने अन्य युवाकै लहरमा कोरियन भाषा पढ्न काठमाडौं आए । विद्यालयदेखि नै उनको पढाइ राम्रै थियो ।

काठमाडौंमा रहेर दुई वर्षदेखि शाह कोरिया जाने चक्करमा भौंतारिरहेका थिए । तर, शुक्रबार प्रहरीले हानेका दुईवटा गोली लागेर उनको मृत्यु भयो ।

पाटन अस्पतालका चिकित्सकले शाहलाई दिउँसो १ बजेर १७ मिनेटमा मृत्यु भएको घोषणा गरे । वीरेन्द्र परिवारको कान्छो सदस्य हुन् । घरमा रोगी बुबा छन् । दाजु रोगगारीको सिलसिलामा भारतमा छन् ।

शुक्रबार नै बालकुमारीमा भएको झडपमा दैलेख, महाबुका २३ वर्षीय सुजन रावतको पनि मृत्यु भयो । ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएका रावतको मृत्यु गोली लागेर नभई प्रहरीको पिटाइबाट भएको हो । उनको शरीरभरि नीलडाम थिए । अस्पतालले उनलाई दिउँसो १ बजेर ५० मिनेटमा मृत घोषणा गरेको थियो ।

गत वर्ष पिताको निधन हुँदा घरको जेठो छोरो सुजन २२ वर्षका थिए । परिवारको जिम्मेवारी आफ्नो काँधमा आएपछि उनले अर्थोपार्जनका लागि कोरिया जाने निधो गरे । कोरियन भाषाको परीक्षा दिन उनी एक महिनाअघि मात्र दैलेखबाट काठमाडौं आएका थिए ।

बागबजारको इन्स्टिच्युटमा कोरियन भाषा सिकिरहेका सुजन थानकोटमा काकाको छोराको डेरामा आश्रय लिएर बस्थे । उनी आफूजस्तै कोरियन भाषा पढेका युवाहरुको आन्दोलन हेर्न शुक्रबार बालकुमारीमा पुगेका थिए । तर, प्रहरीको निर्दयी लाठीबाट उनको मृत्यु भयो । ४६ वर्षकी आमा नन्दकुमारीको पोहोर सिन्दुर पुछियो, यसपालि काख रित्तियो ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले दिएको विवरण अनुसार शुक्रबारको घटनामा दुईजनाको मृत्यु भयो । ४ जना प्रहरी र तीनजना सर्वसाधारण घाइते भएको सरकारी दाबी छ । घटनामा प्रहरीले एक महिलासहित ७३ जनालाई पक्राउ गरेको थियो । उनीहरु छुटिसकेका छन् ।

घटनाको खास कारण के हो ?

नेपालमा राणा शासन ढलेर प्रजातन्त्र आउनै लाग्दा उत्तर कोरियाबाट छुटेर बनेको दक्षिण कोरिया वैदेशिक रोजगारीका लागि नेपाली युवाको आकर्षक गन्तव्य बनेको छ । देशमा रोजगारी नपाएका युवाका लागि यो एउटा बाध्यता पनि हो । कोरियाले समृद्धि हासिल ग¥यो, नेपालका नेताहरुले चाहिँ देशलाई कामदार निर्यात गर्ने रद्दी अवस्थामा पुर्‍याए ।

कोरियन भाषा सिकेर रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सरकारी तवरबाटै रोजगारीमा जान पाइने र न्यूनतम पारिश्रमिक मासिक २ लाखसम्म हुने भएकाले कोरियाको रोजगारीलाई खाडी मुलुकको भन्दा राम्रो र सुरक्षित मान्ने गरिएको छ । यसले गर्दा नेपालमा कोरियन भाषा पढ्ने र रोजगारीका लागि प्रयास गर्नेहरुको संख्या दशौं हजार रहेको छ । तर, रोजगारीको अवसर भने यो संख्यालाई धान्ने संख्यामा छैन।

कोरियाले अहिलेसम्म नेपाली कामदारलाई कृषि, पशुपालन र निर्माणसम्बन्धी उत्पादनमूलक क्षेत्रमा खटाउँदै आएको थियो । केही नेपालीहरु यसअघि पनि पानीजहाज निर्माणमा कार्यरत थिए । पछिल्लो समय उसले श्रम मन्त्रालयसँग एमओयू नै गरेर पानीजहाज बनाउने कम्पनीमा औपचारिकरुपमा कामदार लैजाने निर्णय गर्‍यो यसका लागि उसले कोटा तोकेर पठायो । उसले नेपालजस्तै डेढ दर्जन मुलुकबाट पानीजहाज बनाउने कम्पनीमा कामदार ओसारिरहेको छ ।

रोजगारीका लागि जाने उद्देश्यले कोरियन भाषा परीक्षामा सहभागी हुने युवाको चाप बढ्दै गइरहेको छ । गत वर्ष कृषि, पशुपालन तथा उत्पादनमूलक क्षेत्रमा रोगजारीका लागि आवेदन दिनेहरुको संख्या ४४ हजार ८ सय ५३ थियो ।

गत साउनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले पानीजहाज बनाउने कम्पनीमा काम गर्नका लागि भाषा परीक्षा लिएको थियो । परीक्षामा करिब ३० हजार नेपाली सहभागी भए । तर, कोटाचाहिँ करिब ३ हजारको मात्र रहेको छ ।

पानीजहाज कम्पनीमा रोजगारीका लागि भाषा परीक्षामा ३ हजार ९ सय ८९ जनाले नाम निकाल्न सफल भए । अब उनीहरुले स्वास्थ्य परीक्षण गर्नुपर्ने छ र रोजगार आवेदन फारम भर्नुपर्ने छ । यसका लागि वैदेशिक रोजगार विभाग ईपीएस शाखाले शुक्रबार सूचना जारी गरिसकेको छ । स्वास्थ्य परीक्षणका लागि पुस १७ देखि १९ गतेसम्म तोकिएको छ ।

आवेदकहरुलाई दुई दिन अघिदेखि माछा मासु र जाँडरक्सी नखाइकन स्वास्थ्य परीक्षणका लागि ट्राउजर र भेष्ट लगाएर तोकिएको अस्पतालमा जान भनिएको छ ।

स्वास्थ्य परीक्षणमा सफल भएकाहरुले रोजगार आवेदन फारम पुस २२ देखि माघ ३ गतेसम्म अनलाइनमार्फत भर्नुपर्नेछ ।

प्रक्रियाको कुरा गर्दा भाषा परीक्षा र स्वास्थ्य परीक्षणमा समेत पास हुनेलाई रोजगारीका लागि आवेदन फारम भराइन्छ । त्यसबाट छनोट हुनेलाई ह्युमेन डेभलपमेन्ट विभाग (एचआरडी) कोरियामार्फत रोजगारदाताले श्रम सम्झौतामा हस्ताक्षर गराउँछन् । त्यसपछि उनीहरुलाई व्यवसायिक सीप विकास तालिम केन्द्र भैंसेपाटीमा एकहप्ता तालिम दिइन्छ । कोरियामा पनि उनीहरुलाई तालिम दिएर त्यसपछि काममा खटाइन्छ ।

जब मंसिर १९ को सूचना जारी भयो…..

पानी जहाजवालाको छनोट प्रक्रिया चलिरहेकै बेला गत मंसिरमा इपीएस शाखाले निकालेको अर्को एउटा सूचनाका कारण गडबडी सुरु भयो ।
इपीएस कोरिया शाखाले मंसिर १९ गते एउटा सूचना प्रकाशित गरेर कोरियाको उत्पादनमूलक क्षेत्रको रोगजारीका लागि दरखास्त आह्वान गर्‍यो । तर, त्यसमा जहाज निर्माण कम्पनीतर्फ परीक्षा दिएकाहरुले सहभागी हुन नपाउने गरी अंकुश लगाइयो ।

भाषा परीक्षा उत्तीर्ण भएका सबैले पानीजहाज कम्पनीमा जागिर पाउने स्थिति थिएन । उत्तीर्णहरुको रोष्टर बनाएर नेपाल सरकारले कोरिया पठाउने र कोरियन कम्पनीले त्यसमध्येबाट छनोट गर्ने प्रक्रिया छ ।

यसअघि नेपाल सरकारले पानीजहाजतर्फ ८९२ जनाको रोष्टर बनाएर पठाएकोमा २३८ जना मात्र छनोट भएका थिए । अर्को चरणमा २ हजार ५ सय जनाको रोष्टर बनाउने तयारी थियो । जबकि यसका लागि ३ हजार ९ सय ८९ जनाले भाषा परीक्षामा नाम निकालेका छन्, आकांक्षीको संख्या छ– करिब ३२ हजार ।

यस्तो स्थितिमा ईपीएस शाखाले मंसिर १९ गते सूचना निकालेर उत्पादनमूलक क्षेत्रमा पनि कामदार माग भएको भनिसकेपछि साउनमा पानीजहाजतर्फ आवेदन दिनेहरुले समेत उत्पादनमूलक क्षेत्रमा जाने चाहना देखाए ।

तर, इपीएस शाखाले पानीजहाजतर्फ आवेदन दिएकाहरुले उत्पादनमूलक तर्फको रोजगारीमा फारम भर्न नमिल्ने निर्णय सुनायो । ईपीएस शाखाको यही निर्णयबाट उब्जिएको हो शुक्रबारको बालकुमारीको घटना ।

पानीजहाजतर्फ आवेदन दिएकाहरुले उत्पादनमूलकतर्फको रोजगारीमा फारम भर्न नमिल्ने भनेपछि १८ जना युवा उच्च अदालत पाटनमा न्याय माग्न गए । उच्च अदालतले निवेदकहरुलाई फारम भर्न दिनू भन्ने आदेश सुनायो ।

अदालतको आदेशपछि उनीहरु शुक्रबार उत्पादनमूलकतर्फको रोजगारीका लागि फारम भर्न ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा पुगे । तर, ईपीएस शाखामा १८ जना मात्र पुगेनन्, फारम भर्न पाइने भयो भन्ने ठानेर हजारौं युवा भेला भए ।

आखिर जति हजार युवाले भाषा परीक्षाको फारम भरे पनि फरक नपर्ने अवस्थामा ईपीएसका कर्मचारीले १८ जनाबाहेक अरुको आवेदन लिनै नमिल्ने अड्डी कसे ।

कर्मचारीको अनुचित अड्डीका कारण आक्रोशित बनेका युवाले बालकुमारी, ग्वार्को एरियामा रहेको रिङरोडमा यातायात बन्द गरेर प्रदर्शन सुरु गरे । सरकारी दाबी अनुसार त्यहाँ करिब २ हजार युवा भेला भएका थिए ।

भाउँतोमा मन्त्रीको गाडी

घटनास्थल ललितपुरमा पर्थ्याे । आन्दोलनकारीहरु बालकुमारी र ग्वार्को नजिकै पुलको आसपासमा एकत्रित थिए । करिब २ हजारको संख्यामा रहेका उनीहरु आक्रोशित थिए । ललितपुरबाट खटिएको करिब १२५ जनाको प्रहरी फोर्स सात दोबाटो साइडतिर केन्द्रित थियो ।

बालकुमारीको पुल तरेर कोटेश्वरतिर आउँदा काठमाडौं प्रहरीले हेर्नुपर्ने एरिया छुन्थ्यो । जबकि त्यहाँ कोटेश्वरको प्रहरी मुभ भएको थिएन । शायद काठमाडौंले ठानेको थियो होला, यो ललितपुर प्रहरीको काम हो ।

यही बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई ललितपुरकै पार्टी प्यालेसमा आयोजित एकीकृत समाजवादी पार्टीको बैठकमा जानु परेछ । चालकले उनलाई ग्वार्को एरियामा के निकाल्न लागेका थिए पीएसओले त्यहाँ प्रदर्शन भइरहेको थाहा पाए । उनले काठमाडौं प्रहरीलाई जाहेर गरे ।

ललितपुर प्रहरीलाई मन्त्री आउँदै गरेको सूचना नै पुगेन । कोटेश्वरको प्रहरी बालकुमारी पुलतिर मुभ हुन नपाउँदै मन्त्रीको गाडी फुत्त रिङरोडमा निस्किइहाल्यो । १२५ जना ललितपुरका प्रहरी प्रदर्शनकारीको घेराभन्दा बाहिर पट्टि थिए । ललितपुर प्रहरीले छिचोलेर आएर मन्त्रीलाई सुरक्षा दिन सकेन, कोटेश्वरको प्रहरी मुभ भएकै थिएन । मन्त्री परे बीच्चमा ।

यो घटनामा पीएसओको दोष कति ? मन्त्रीको दोष कति ? कोटेश्वर प्रहरीको दोष कति ? ललितपुर र काठमाडौं प्रहरीबीच समन्वय कसले गर्नुपर्ने हो ? मन्त्रीको सुरक्षाको जिम्मा पीएसओको मात्र हो कि संस्थागत पनि हुन्छ ? यी प्रश्नहरु एकैसाथ जन्मिएका छन् बालकुमारीबाट । सानालाई ऐन, ठूलालाई चैन गरेर हुँदैन ।

इपीएसले मिल्दैन भनेको, पछि मिल्यो !

शुक्रबार दुईजनाको ज्यान गइसकेपछि त्यसैदिन ईपीएस शाखाले पहिलो मिल्दै मिल्दैन भनेको ठाउँमा कोरियाको उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि पुनः आवेदन मागेको छ । तर, पुस १६ देखि १८ गतेसम्म आवेदन दिन पाइने परीक्षामा जहाज निर्माण (शिप बिल्डिङ) कम्पनीमा सहभागीहरुले मात्र सहभागिता जनाउन पाउने विभागले सीमा तोकेको छ ।

ईपीएस शाखाद्वारा जारी सूचनामा भनिएको छ, ‘सन् २०२३ मा शिप बिल्डिङ सेक्टरमा फाराम भरेका आवेदशहरुले मात्र फारम भर्न सकिने । सो भन्दा बाहेकका व्यक्तिले फारम भर्न पाइने छैन । यदि भरेको खण्डमा स्वतः रद्द हुनेछ ।’

हेर्नुहोस् विभागको सूचना


आखिर सरकारले पानीजहाजतर्फका आवेदकलाई उत्पादनमूलक क्षेत्रमा परीक्षा दिन शुरुमा किन प्रतिबन्ध लगायो ? शुक्रबार अघिसम्म विभागका अधिकारीहरुको ढीट तर्क थियो– कोरियाले नै दुईतिरको परीक्षालाई मान्यता दिँदैन, यसमा हामीले केही पनि गर्न सक्दैनौं ।
ईपीएसका कर्मचारीको यो तर्क दुई कारणले अमिल्दो देखिन्छ–

पहिलो– पानीजहाज बनाउने कामका लागि तीन हजारको कोटामा तीसौं हजारले परीक्षा दिइसकेका छन् । यसैबाट प्रष्ट हुन्छ कि भाषा परीक्षा जति जनाले पनि परीक्षा दिन मिल्दोरहेछ, यसमा कुनै सीमा रहेनछ । आखिर, भाषा परीक्षा दिनु भनेको रोजगारीका लागि आवेदन दिनुसरह होइन । रोजगारीका लागि आवेदन फारम त पछि, स्वास्थ्य परीक्षण गरिसकेपछि बल्ल भरिन्छ ।

दोस्रो– पुस १३ गते शुक्रबार बालकुमारीमा हुलदंगा र हताहती भइसकेपछि ईपीएस शाखाले रातारात सूचना निकालेर पानीजहाजका लागि फारम भरेकाहरुले पनि उत्पादनमूलक क्षेत्रमा फारम भर्न पाइने बतायो । यदि मिल्दै मिल्दैनथ्यो भने १३ गते लुरुक्क परेर किन सूचना जारी गरियो ? यसैबाट प्रष्ट हुन्छ– भाषा परीक्षा दिन बञ्चित गर्नु अनुचित कार्य थियो ।

इपीएसका कर्मचारीले अनुचित कार्य गरेको कुरा उच्च अदालत पाटनका दुईवटा आदेशबाट पनि पुष्टि हुन्छ ।

हेर्नुहोस् अदालतको निर्णय

ईपीएसका कर्मचारीले भाषा परीक्षामै संकुचन गरेर नियन्त्रणमुखी सोचाइ राखेको अर्को तथ्य १३ गते प्रकाशित सूचनाकै अर्को तथ्यबाट पनि पुष्टि हुन्छ । सो सूचनामा भनिएको छ कि पानीजहाजमा फारम भरेकाले मात्रै आवेदन दिनुहोला, अरुले फारम भरेमा स्वतः रद्द हुनेछ ।

आखिर फारम नै खोलिसकेपछि पानीजहाज होस् कि हवाइजहाज, छुटेका सबै युवालाई फारम भर्ने मौका दिँदा सरकारको के बिग्रन्थ्यो ? ईपीएसका कर्मचारीले यसमा अझै पनि उदारता देखाउन सकेको देखिँदैन ।

यी सबै तथ्य केलाउँदा के देखिन्छ भने बेरोजगार युवालाई उत्तेजित बनाउने कार्यमा ईपीएस शाखाका कर्मचारीहरुले लिएको नियन्त्रणमुखी नीति नै मुख्य जिम्मेवार छ ।

तीन तहको शोषण

आवेदकहरुबाट राज्यले विभिन्न शुल्कका रुपमा लिने आम्दानी गतिलै हुने गरेको छ । यसलाई कम गर्ने र युवालाई सजिलो बनाउनेतिर सरकारले सोचेको देखिँदैन ।

रोजगारीको आवेदनका लागि एकजनाले २८ डलर (३७ नेपाली रुपैयाँ) तिर्नुपर्ने नियम छ । नेपाल सरकारले बेरोजगार युवाबाट लुट कतिसम्म मच्चाएको छ भने स्वास्थ्य परीक्षण शुल्क मात्रै प्रतिव्यक्ति ७ हजार ३ सय लिइने गरिएको छ । स्वास्थ्य परीक्षण पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल टेकु, नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुर र सिभिल अस्पताल नयाँ बानेश्वर लगायतबाट हुने गरेको छ ।

जहाज निर्माण कम्पनीका लागि आवेदन दिएका ३ हजार ९ सय ८९ जनाले गत पुस १७ देखि १९ गतेसम्म यी अस्पतालबाट ७३ सय रुपैयाँ तिरेर स्वास्थ्य परीक्षण गराउँदैछन् । सरकारले गराउने स्वास्थ्य परीक्षामा लिइने यो शुल्क निजी अस्पतालले गर्ने ‘होलबडी चेकअप’ भन्दा महंगो छ । बेरोजगार परीक्षा शुल्क पनि ३७ सय लिइनु अव्यवहारिक देखिन्छ ।

बागबजार, अनामनगर लगायत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा खोलिएका कोरियन भाषा पढाउने इन्स्टिच्युटहरुले नेपाली युवालाई कोरियाको सपना बेचेर मनग्य पैसा कमाउँदै आएका छन् । उता, सरकारले परीक्षा शुल्कका नाममा बेरोजगार युवाबाट बर्सेनि करोडौं कमाउने गरेको छ ।

स्वास्थ्य परीक्षणका नाममा केही सीमित अस्पतालले महंगो शुल्क उठाउने गरेका छन् । यसरी तीनवटा तहबाट बेरोजगारीमाथि कमाऊ भन्दा फस्टाइरहेको छ ।

हरेक वर्ष ३०-४० हजार युवाले कोरिया जाने आशमा इन्स्टिच्युट, सरकार र अस्पतालहरुलाई रकम तिर्दै आइरहेका छन् । के सरकारले परीक्षा शुल्क ३७ सयबाट घटाएर एक हजार वा त्योभन्दा कम गर्न सक्दैन ? स्वास्थ्य परीक्षण शुल्क ७३ सयबाट घटाउन सकिँदैन ? बेरोकतोक चलेका कन्सल्टेन्सी र ईपीएसका कर्मचारीवीचको मिलेमतोमाथि सरकारले अनुगमन गर्न सक्दैन ? श्रम मन्त्रालय के हेरेर बसिरहेको छ ? बेरोगजार युवाले भोगिरहेको तमाम समस्याप्रति सरकारले यसैगरी अनदेखा गरिरहन मिल्छ ? यी प्रश्नहरु एकैसाथ सतहमा आएका छन् ।

टाउको दुःखेको उपचार नाइटोमा !

ललितपुरमा भएको प्रदर्शनका क्रममा दुई जनाको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न सरकारले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । गृहमन्त्रालयले गठन गरेको छानविन समितिमा उपत्यका प्रहरी कार्यालयका डीआइजी लालमणि आचार्य संयोजक छन् भने सदस्यहरुमा ललितपुर जिल्ला प्रशासन कार्यलयका सहायक सीडीओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल छन् ।

सरकारले ललितपुर जिल्लाका सिडियो र ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम लाई निलम्बन नगरे पनि जिम्मेवारीबाट हटाएर प्रधान कार्यालयमा तानेको छ ।

फिल्डमा खटिएका ललितपुरका डीएसपी उमेश लम्साल, इएपीस कोरिया शाखाका निर्देशक सुवेदी र मन्त्री प्रकाश ज्वालाका अंगरक्षक असई सुनुवारलाई भने सरकारले जागिरबाट निलम्बन गरेको छ ।

यसका साथै मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ दिने, घाइतेहरुको उपचार खर्च व्यहोर्ने लगायतका निर्णयहरु पनि लिएको छ ।

यसै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार गृमहन्त्री र मुख्यसचिवलाई बोलाएर पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग बनाउन निर्देशन दिएका छन् । यसअनुसार सोमबार जाँचबुझ आयोग गठन गर्ने सरकारको तयारी छ ।

शुक्रबारको घटनापछि सरकारले लिएका यी निरोधात्मक एवं उपचारात्मक उपायहरु सकारात्मक नै देखिए पनि पर्याप्त छैनन् । एक प्रकारले भन्ने हो भने यो ‘टाउको दुःखेको औषधि नाइटोमा’ भनेजस्तो मात्र छ ।

किनभने, समस्या श्रम तथा रोजगार मन्त्रालयको नेतृत्वमा छ । यत्रो घटना हुँदा मन्त्री शरतसिंह भण्डारी कता छन्, थाहा छैन । ईपीएस शाखाका महानिर्देशक कहाँ के गर्दैछन्, थाहा छैन । त्यहाँ बेरोजगार युवाबाट उठ्ने करोडौं रकमको सदुपयोग, दुरुपयोग के भइरहेको छ, थाहा छैन । परीक्षा र छनोट स्वच्छ भइरहेको छ कि चलखेल हुन्छ ? त्यो पनि अनुगमन छैन । सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण किन महंगोमा गरिन्छ ? कसैसँग जवाफ छैन ।

यी समस्त प्रश्नहरुको जवाफ नखोजी शुक्रबार मन्त्रीको गाडीमा आगजनी कसरी भयो भन्नेमात्र खोजेर समस्या समाधान हुने देखिन्छ ।
केही हप्ताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल मानिस किन विदेश गइरहेका छन् भनेर अनुत्तरित प्रश्न गरिरहेका थिए । अब प्रश्न सरकारतिरै सोझिएको छ– बर्सेनि ३०-४० हजार युवाबाट परीक्षा शुल्क र स्वास्थ्य परीक्षण शुल्क उठाएर राज्य के गरिरहेको छ ? अनि तिनै बेरोजगार युवालाई लाठी र गोली बसाएर स्वेत आतंक किन ? यसवापत छानविन समिति मात्रै बनाउने कि कानूनी रुपमा जवाफदेही पनि बनाउने ? पीएसओलाई कारवाही, हाकिमलाई उन्मुक्ति ? यस्तो नहोस् । नत्र यो आक्रोशको ज्वालामुखी भोलि अन्यत्र, सरकारले नसोचेको ठाउँमा फुट्न सक्छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ३६ बजे

टेलिकमको अवरुद्ध सेवा सञ्चालन

काठमाडौं–  नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केही समय अवरुद्ध

मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा खानेपानीका पाइप फुटेका ठाउँमा

पूर्णबहादुरको सारङ्गीपछि ‘डोरी’मा अञ्जना, छायाङ्कन थालिँदै

काठमाडौं- यो वर्ष लगातार दुई हिट फिल्म ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको

रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न उपनिर्वाचनका क्रममा आफ्ना उम्मेदवारहरूलाई ठाउँ

हाइटीमा सामूहिक हिंसाका कारण २० हजारभन्दा बढी विस्थापित

संयुक्त राष्ट्रसङ्घ- हैटीको राजधानी पोर्ट–ओ–प्रिन्समा चार दिनमा २० हजारभन्दा बढी