समाचार

फाखेल-फर्पिङ सडकखण्ड दुई महिना बन्द

By खबरहब

January 01, 2024

मकवानपुर– फाखेल–फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले सवारीसाधन सञ्चालन बन्द गरिएको हो ।

‘आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ’, इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले भने ।

वैकल्पिक यात्राका लागि हेटौँडा–भीमफेदी कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौँको थानकोट पुग्ने सडक प्रयोग गर्न उनले आग्रह गरे।

सूचना अधिकारी चापागाईका अनुसार वैकल्पिक यात्राका लागि काठमाडौँको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सडक प्रयोग गर्न सकिने छ ।