कोरिया पुगेपछि दुःख, भाषा पढेपछि तनाव ! | Khabarhub Khabarhub

कोरिया पुगेपछि दुःख, भाषा पढेपछि तनाव !



काठमाडौं – गुल्मीका अभिषेक सापकोटाले ईपीएस प्रणालीबाट कोरिया गएर पाँच वर्ष काम गरे । उनी केही महिना अगाडि मात्रै नेपाल फर्किएका छन् । पाँच वर्षको कार्यकाल सकेर फर्किएका सापकोटा पुनः रोजगारीका लागि कोरिया नजाने बताउँछन् ।

सापकोटा खबरहबसँग भन्छन्, ‘नेपालमा बेरोजगारी छ, त्यसैले युवाहरुलाई एकपटक जसरी पनि कोरिया जान पाए हुन्थ्यो भन्ने लाग्छ । तर, कोरिया पुगेपछि बल्ल दुःख थाहा हुन्छ ।’

ईएपीएस प्रणालीबाट कोरिया जाँदा जटिलता गरेको उनी सुनाउँछन् । उनका अनुसार ईपीएसबाट गएको कम्पनी आफूलाई मन नपर्न सक्छ तर कोरिया गएर काम परिवर्तन पाइँदैन । कतिपय त गर्नै नसकिने काम हुन्छ । ज्यानै जोखिममा राखेर भए पनि काम गर्नैपर्ने बाध्यता छ । मन नपरे पनि काम गर्नैपर्छ ।

कतिपय ठाउँमा कामदारलाई एकदमै धेरै यातना दिने गरिएको सापकोटाले सुनाए । तर, जस्तो परिस्थिति परे पनि सहनु भन्दा विकल्प नभएको उनको गुनासो छ । उनी भन्छन्, त्यहाँ ‘श्रमिकको अधिकार छैन । बिरामी हुँदा पनि परिवारलाई लैजान पाइँदैन । आवश्यक विदा पनि पाइँदैन ।’

जस्तै मार परे पनि कामदारहरुले आवाज उठाउन नपाइने बताउँदै उनी भन्छन्, ‘कम्पनीले थाहा पायो भने नेपाल फिर्ता पठाइदिन्छ । उनका अनुसार विश्वभरिबाट आउने कामदारको हक अधिकारका लागि ‘एमपिओ’ भन्ने संस्था छ, त्यसमार्फत् लुकीछुपी आन्दोलन हुने गरेको उनले सुनाए ।

सापकोटा खबरहबसँग भन्छन्, ‘ईपीएसको प्रक्रियालाई खारेज गरी कामदारले कम्पनी परवर्तन गर्न पाउनुपर्छ भनेर प्रत्येक हप्ता त्यहाँ आन्दोलन पनि हुन्छ तर सुनुवाइ हुँदैन ।’

कोरियाको अवस्था नेपालबाट सोचेर गएको भन्दा धेरै फरक रहेको अभिषेकको भनाइ छ । उनी भन्छन्, ‘कोरिया भन्नेबित्तिकै ठूलाठूला बिल्डिङ, विकसित सहर भन्ने लाग्छ, तर कतिपय श्रमिकहरु प्लाष्टिकको घरमा बस्नुपर्ने हुन्छ ।’

उनी थप्छन्, ‘जाडोमा तापक्रम माइनसमा हुन्छ । त्यस्तोबेला एसी नभएको घरमा बस्नेहरुको मृत्यसमेत भएको छ । मजदुरलाई भेडाबाख्रा जस्तो कोचेर राखिएको हुन्छ ।

कृषि क्षेत्रको रोजगारीमा जानेहरुलाई धेरै नै समस्या हुने गरेको उनी सुनाउँछन् । भन्छन्, ‘कृषिमा आज यति काम सक्नु नै पर्ने भन्ने हुन्छ । गएको तीन महिनासम्म परीक्षणकाल भनेर ३० प्रतिशत तलब काट्छ । अन्य धेरै शीर्षकमा तलब काटिन्छ । खाएको, बसेको र इन्स्योरेन्सलगायत विभिन्न शीर्षकमा तलब काट्ने गरिएको उनले बताए ।

पैसा राम्रै भए पनि काममा भने धेरै नै दुःख भएको उनले सुनाए । सापकोटाले भने, ‘कामको मात्रै तनाव हुन्छ, पारिवारिक वातावरण कत्ति पनि हुँदैन । यहाँबाट गएका नेपालीहरुसँग एउटै कम्पनीमा काम गर्न पाइँदैन । अन्य देशका मानिसहरुसँग बस्नुपर्दा भाषा, संस्कृति लगायत कुराहरु नमिल्दा छुरा हानाहान समेत हुने गरेका छन् ।

सापकोटाले थपे, ‘त्यस्तोमा एक्लोपन बढेर जान्छ र कतिपय साथीले आत्महत्या समेत गरेका छन् ।’ अंग्रेजीमा स्नाकोत्तर सकेका अभिषेक सन् २०१७ मा कोरिया गएका थिए । अब देशमै बसेर केही गर्नुपर्छ भनेर उनी व्यवसायमा लागेका छन् ।

ईपीएसले दिएको मानसिक यातना

पूर्वी नेपालका ज्ञानेन्द्र राईले सन् २०१७ मा कोरियन भाषा परीक्षा पास गरे । उनको नाम रोष्टरमा पनि चढ्यो । तर, उनी कोरिया जान पाएनन्, खाडी मुलुकतिर भासिए ।

ज्ञानेन्द्रले भाषा परीक्षामा उच्च अंक, ९८ प्रतिशत ल्याएका थिए । तर, दुई वर्ष खेर गएको सुनाउँदै उनी भन्छन्, ‘भाषा पास गरेका पुरानालाई नलगी नयाँ परीक्षा गर्ने नै होइन तर, ईपीएस शाखाले बेरोजगार नेपाली युवाको भावनामाथि खेलवाड गगरिरहेको छ ।

पुरानालाई नलगेसम्म नयाँ परीक्षा नगराउनु भनेर बारम्बार आन्दोलन गरे पनि नेपाल सरकारले नसुनेको राईको गुनासो छ । भाषा परीक्षामा पास नै भए पनि कोरिया जान पाइने ग्यारेन्टी छैन । उनी भन्छन्, ‘परीक्षा पास भएकोलाई जाने आशा हुन्छ, तर जान पाइँदैन ।’

कोरिया जाने भनेर समय लगानी गरिएको हुन्छ । पैसाको लगानी गरिएको हुन्छ । उनी भन्छन्, ‘गरिरहेको जागिर छोडिएको हुन्छ । नयाँ जागिर अथवा अन्य देशमा जाने तयारी सबै रोकेर आशमा बसिएको हुन्छ ।

अर्को भाषा परीक्षा पास भएकालाई सामाजिक तनाव हुने गरेको उनी सुनाउँछन् । राई भन्छन्, ‘कोरिया कहिले जाने हो भनेर सोधेरै हैरान पार्छन् । फलानो त गैसक्यो, तँ कहिले जान्छस् ? अहिलेसम्म किन नगएको ? जस्ता प्रश्नको सामना गर्नु पर्दा टर्चर हुने गरेको छ ।’

सामाजिक रुपमा भाषा पास भएकाहरु अपहेलित हुन पुगेको उनले बताउँछन् । त्यस्तै पास भएर पनि मेरो हुन्न कि भन्ने त्रासले सताउने उनले अनुभव सुनाउँदै भने, ‘फेरि अर्को देशमा अप्लाई गरौं त बोलाइहाल्छ कि भन्ने हुन्छ ।’

अहिले ईपीएस कोरिया शाखाले सुझबुझ नगरी निर्णय गर्नाले बालकुमारीमा दुई जनाले जाइन गुमाउनुपरेको बताउँदै राई यो घटनाले कोरियाको रोजगारी गुम्न सक्ने आशंका गर्छन् ।

भाषा परीक्षा उत्तीर्ण गरेकालाई अनिवार्य लैजानुपर्छ : एञ्जिला घिमिरे

झापा लक्ष्मीपुरकी एञ्जिला कोरियान भाषा परीक्षा पास गरेकालाई जसरी पनि लैजानुपर्ने तर्क गर्छिन् । काठमाडौं गएर भाषा पढ्दा करिब लाख भन्दा बढी खर्च हुने बताउँदै उनी भन्छिन्, ‘हामी बेरोजगारहरुलाई आशा देखाएर हाम्रो लगानी खेर जान दिनुहुँदैन ।’

देशमै जागिर नपाएर बाध्यताले कोरियन भाषा पढ्नु परेको बताउँदै उनी भन्छिन्, ‘पहिलो कुरा, नेपालमा जागिर पाउनै मुस्किल छ, ‘पाए पनि दश देखि १५ हजारको पाइन्छ । आफ्नै खर्च पुग्दैनm घरपरिवारको खर्च कसरी धान्ने ?’

एञ्जिला घरकी कान्छी छोरी हुन् । घरको आर्थिक स्थितिले पनि विदेश जानुपर्ने अवस्था आएको बताउँदै उनी भन्छिन्, ‘जागिर पाउन पनि नेताको सिफारिस चाहिन्छ । सबैको सिफारिस गर्दिने मान्छे हुँदैन । त्यो मान्छे वैदेशिक रोजगारमा नगई सुखै छैन ।’

एञ्जिलाले बिजनेस स्टडीमा स्नातक सकेकी छन् । भाषा पास गरेर कोरिया जाने आशामा छिन् । कृषि क्षेत्रमा परीक्षा दिएकी उनको ९५ प्रतिशत नम्बर आएको छ । उनले भनिन्, ‘कोरिया जाने भनेर दिनरात नभनी पढेर पास गरेको हो । जसरी पनि जाने भन्ने छ ।’

कसैले पैसा माग्यो भने प्रहरीलाई खबर गर्नू : योगेन्द्र वाग्ले

इमा कोरियन भाषा सेन्टरका प्रशिक्षक योगेन्द्र वाग्लेका अनुसार भाषा परीक्षा पास गर्ने ग्यारेन्टी कसैले लिन सक्दैन । ग्यारेन्टी पास गराइदिने भाषा सेन्टर यही हो ? भन्दै कतिपय मानिसहरु आफ्नो सेन्टरमा आएको उनी सुनाउँछन् ।

वाग्ले भन्छन्, ‘कसैले हल्ला नफिजाइँ ग्यारेन्टी पास गर्ने भाषा सेन्टर खोज्दै विद्यार्थी यत्तिकै हिँड्दैन । गाउँबाट आएका सोझा विद्यार्थीहरुबाट परीक्षा पास गराइदिने बहानामा पैसा लिने गरिएको सुन्नमा आएको छ । तर यसको यथेस्थ प्रमाण भेटिएको छैन । यस्तो कार्य कसले, कुन समुहले गरिरहेको छ, सरकारले खोज्नुपर्छ ।’

कसैले कोरियन भाषा पास गराइदिन्छु र ईपीएस कोटामा नाम निकालिदिन्छु भन्यो भने भन्यो भने प्रहरीलाई खबर वाग्लेको अनुरोध छ ।
भाषा सेन्टरसँग ईपीएस शाखाको कुनै सहकार्य र समन्वय नहुने हुँदा भाषा पढाउने सेन्टरले चाहेर पनि कुनै विद्यार्थीलाई पास गर्न वा कोरिया पठाउन नसक्ने उनले बताए ।

उनले खबरहबसँग भने ‘भाषा सेन्टरले विद्यार्थीलाई कोरियन भाषा पढाउनेबाहेक अरु कुनै प्रक्रियामा सहयोग गर्न सक्दैन । पैसा खुवाएर नक्कली विद्यार्थी खडा गर्न सकिँदैन ।’

यो पनि…

बालकुमारीको अन्तर्य : बेरोजगारमाथि ‘स्वेत आतंक’

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ८ : ११ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी