इलामको उपचुनाव : सुवास नेम्वाङका छोरालाई उठाउने एमालेको संकेत | Khabarhub Khabarhub

इलामको उपचुनाव : सुवास नेम्वाङका छोरालाई उठाउने एमालेको संकेत

गठबन्धनमा अलमल: कांग्रेसले पाउला कि झलनाथ खनालले ?



काठमाडौँ– पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त बनेको इलाम क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको माहाेल तात्न थालेको छ ।
निर्वाचन आयोगले वैशाखका लागि उपनिर्वाचनको तयारी गरिरहेको छ । यसका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् ।

२०७९ को निर्वाचनमा निर्वाचित सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण गत भदौ २६ गते मृत्यु भएपछि यहाँ उपनिर्वाचनको तयारी थालिएको हो ।

इलाम–२ मा मुख्यरूपमा नेपाली कांग्रेस र नेकपा एमालेबीच यहाँ प्रतिस्पर्धा हुने देखिएको छ । तर, इलाम १ बाट निर्वाचनमा पराजित भएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि यहाँ उम्मेदवारी दाबी गर्ने संकेत देखिएको छ ।

गत निर्वाचनमा एमाले नेता नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले हराएका थिए ।

एमालेको तयारी
नेकपा एमालेको एक महिना अगाडि बसेको जिल्ला कमिटी बैठकले उपनिर्वाचनबारे जथाभावी प्रचार गर्न तथा उम्मेदवारको सम्भावित नाम सार्वजनिक नगर्न भनेको थियो ।

एमाले जिल्ला कमिटीका एक नेताले खबरहबसँग भने, ‘उपनिर्वाचनको माहोल बिग्रने भएकाले केन्द्रबाट नै जथाभावी प्रचार तथा उम्मेदवारी खडा नगर्न ह्विप जारी भएको छ ।’

एमाले स्रोतले दिएको जानकारी अनुसार सुवास नेम्वाङका छोरा सुहाङ नेम्बाङलाई उम्मेदवारी बनाउने कुरा पार्टीभित्र गाइँगुइँ रूपमा चलेको छ । तर, यसबारे कुनै औपचारिक छलफल तथा सल्लाह नभएको एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले बताए ।

बस्नेतले भने, ‘कसलाई उठाउने भन्ने निर्णय केन्द्र र जिल्लाको पार्टी संगठनले गर्छ, अहिले हामीले यो मान्छे नै हुन सक्छ भनेर भन्ने अवस्था छैन ।’

केन्द्रले जिल्लालाई नाम पठाउन भनेको खण्डमा पठाउने र केन्द्रले नै टिकट दिएको खण्डमा पनि ती उम्मेद्वारलाई आफूले साथ दिने बस्नेतको भनाइ छ ।एमाले जिल्ला कमिटीका एक नेताका अनुसार एमालेबाट सुहाङ नेम्वाङसँगै नरेन्द्र भट्टराई, गणेश बराल, उदय राई, बुद्धि खनाल, रवीन्द्र सुवेदी लगायतको नाम पनि चर्चामा छ ।

उनले भने, ‘अध्यक्ष ओलीजीले चाहनुभयो भने सुहाङलाई पनि टिकट दिने सम्भावना छ ।’

सुहाङ पेशाले कानुन व्यवसायी अधिवक्ता हुन् । तर, उनले राजनीतिक परिवारमा जन्मँदैमा आफूले अवसर पाउनैपर्छ भन्ने पक्षमा नरहेको र आफ्ना पिताको शीर निहुँरिन नदिने बताउने गरेका छन् ।

सुहाङलाई आउँला त जिम्मेवारी ?
एमाले सचिवालयका एक नेताका अनुसार सुहाङले पनि आफू उठ्ने इच्छा जाहेर गरेका छन् । पछिल्लो समय पिताको मृत्युपछि उनी इलाममा हुने हरेक पार्टीको कार्यक्रम र अभियानमा पुग्ने गरेका छन् ।

जिल्ला सचिवालयका ती नेताले भने, ‘उहाँलाई उम्मेदवार बनाए पनि जित्ने सम्भावना छ । तर, पार्टीमा लामो योगदान तथा खटेका नेताहरू पनि भएकाले सल्लाह गरेर मात्र अगाडि बढ्ने कुरा छ ।’

एमाले अध्यक्ष ओलीका नजिकका नेताका अनुसार सुहाङ र ओलीबीच निरन्तर छलफल र सम्वाद भइरहेको छ । यसले गर्दा अन्तिममा ओलीले सुहाङलाई नै टिकट दिने सम्भावना पनि छ ।

कांग्रेसको तयारी

नेपाली कांग्रेसले यतिखेर ‘समुदायमा कांग्रेस’ अभियान चलाइरहेको छ । यो अभियानका लागि केन्द्रले इलाममा कांग्रेस प्रवक्ता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई खटाएको छ ।

उननिर्वाचन हुने भएर पनि समुदायमा कांग्रेस अभियानमा यहाँ देउवाले आफू अनुकुलका नेता खटाएको कतिपयको बुझाइ छ ।कांग्रेस प्रवक्ता विश्वकर्माका अनुसार इलाममा बैशाखमा उपनिर्वाचन हुने भएका कारण ‘समुदायमा कांग्रेस अभियान’मा नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति देखिएको छ । यहाँका ४२ वडामा नै ‘समुदायमा कांग्रेस अभियान’मा उत्साह देखिएको उनको भनाइ छ ।

विश्वकर्माले खबरहबसँग भने, ‘यहाँ एउटै वडाको कार्यक्रममा ३ सय सम्म मानिसहरू आउनुहुन्छ । उपनिर्वाचन हुने भएकाले यो क्षेत्रमा विशेष रौनक छ ।’

नेपाली कांग्रेसले नेम्बाङसँग ११४ मतले हारेका कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्कालाई नै दोहो-याउला कि भनेर धेरैले आकलन गरेका छन् ।

तर, एमालेले यहाँ सुहाङलाई टिकट दिए कांग्रेसले पनि युवालाई नै उठाउन सक्ने सम्भावना रहेको कांग्रेस नेताहरु बताउँछन् ।
कांग्रेस जिल्ला कार्यसमितिका एक नेताले खबरहबलाई भने, ‘खड्कालाई नदिने कि भन्नेमा देउवा पनि हुनुहुन्छ रे । तर यहाँ खड्काले जित्ने सम्भावना बढी छ । पहिला पनि धाँधली भएर हराइएको हो ।’

तर, यो पटक खड्काले छोड्ने संकेत देखाएका छैनन् । उनले भने, ‘मेरो त अधिकार नै हो । म त घाइते मान्छे हो । मैले केही भन्नुपर्छ र ? जसले टिकट पाए पनि कांग्रेसले जित्ने हो । मजबुत छ । सबै साथीहरूले साथ दिनुभएको छ ।’

तर, कांग्रेस उच्च स्रोतका अनुसार डम्बरलाई टिकट नदिएर अरू युवा तथा सिनियरलाई दिनुपर्छ भन्ने आवाज स्थानीय कार्यकर्ताहरुको छ ।
कांग्रेसबाट डम्बरसँगै टिकटको आंकाक्षा राख्नेमा नगेन्द्र कुमाल, भेषराज आचार्य, केशव थापा लगायत छन् । यसमध्ये कुमाल खड्का भन्दा जुनियर हुन् । केशव थापा भने ०७४ को निर्वाचनमा ११ हजारले एमालेका नेम्वाङसँग हारेका व्यक्ति हुन् । भेषराज आचार्य पनि २०७० को निर्वाचनमा ७ हजार मतले नेम्वाङसँग हारेका थिए ।

तर, उनीहरूले पनि अन्तिममा डम्बरलाई सहयोग गर्ने सक्ने नेताको भनाइ छ । कांग्रेसका ती नेताले भने, ‘डम्बरजीलाई तयार हुनुहोस् भनेर केन्द्रले भनिसकेको छ रे, तर एमालेले युवा उठायो भने त उहाँको साटो युवालाई नै दिनुपर्ला कि ?’

झलनाथको सम्भावना कति ?
नेकपा एकीकृत समाजवादीका अध्यक्षको गृहजिल्ला हो इलाम । यसअघि उनी इलाम–१ बाट निर्वाचन लड्दा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । खनाललाई कांग्रेस–माओवादी सहितको गठबन्धननले सहयोग गरेको थियो । तर, खनाल २ हजार ९ सय ५७ मतले पराजित भएका थिए । निर्वाचनमा पराजित भएपछि खनालले निर्वाचनमा धाँधली भएको भन्दै आपत्ति जनाएका थिए ।


यो पटक इलाम २ मा एमालेले टिकट दिए खनाल उठ्न सक्छन् भनेर धेरैले आकलन गरेका छन् । तर, यसबारे खनालले कसले टिकट दिन्छ र उठ्ने भन्नेतिर आफू नलागेको खबरहबलाई बताए । उनले भने, ‘यसको कुनै तयारीमा छैन ।’

इलाम १ मा गठबन्धन बनाएर लड्दा निर्वाचन हारेपछि खनाल र कांग्रेसका जिल्ला कार्यकर्ताहरुको सम्बन्ध राम्रो छैन । २०७९ को निर्वाचनमा उनलाई कांग्रेस इत्तर समूहले भोट नदिएको रिस खनालसँग छ ।

अहिले केन्द्रमा गठबन्धन नै भए पनि नेपाली कांग्रेसले आफ्नो भागमा परेको क्षेत्र खनाललाई दिने सम्भावना नभएको कांग्रेस जिल्लाका नेताहरूको भनाइ छ । तर, संसदमा छुटेका पूर्वप्रधानमन्त्रीलाई ल्याउनुपर्छ भनेर एकीकृत समाजवादीले गठबन्धनमा लविङ गर्न सक्ने केन्द्रका नेताहरु बताउँछन् । सप्तरीमा चुनाव हारेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई गठबन्धनले बाराबाट उपचुनाव जिताएर प्रतिनिधिसभामा ल्याएको छ ।

इलाम–२ को अंकगणित
प्रतिनिधि सभा निर्वाचन २०७९ मा एमाले भर्सेस गठबन्धनले चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यसबेला एमालेका उम्मेदवार नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । इलामका दुईवटै क्षेत्रमा गठबन्धनलाई हराउँदै एमाले उम्मदेवारहरु विजयी बनेका थिए । अहिले कांग्रेस एक्लैको मत ३१ हजार भएको सो पार्टीका नेताहरुको दाबी छ ।

गत चुनावको तथ्यांकलाई आधार मान्ने हो भने इलाम–२ मा एमाले एक्लैको मत ३० हजार छ । गठबन्धनतर्फ कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मत २९ हजार ९ सय छ । गत चुनावमा यहाँबाट मंगोल नेशनल अर्गनाइजेशनले १ हजार ३८० मत पाएको थियो भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ३६३ मत पाएको थियो । त्यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार २६२ पाएको थियो ।

जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङक अनुसार २०७९ को निर्वाचनमा यहाँ १ लाख १५ हजार ३४२ मतदाता थिए । त्यसमध्ये ५९ हजार १३६ मत खसेको थियो । यहाँ १४ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालय इलामका सूचना अधिकारी कृष्णबहादुर लिम्बूका अनुसार पछिल्लो मतदाता नामावली विवरण उपनिर्वाचन घोषणा भएपछि मात्र आउने छ ।

यता जिल्ला निर्वाचन अधिकारी देवीचरण फुँयलले निर्वाचन आयोगले निर्वाचनका बारेमा कुनै सूचना नदिएकाले अहिले इलाम २ को निर्वाचनबारे आफूले कुनै जानकारी नपाएको बताए ।

उनले भने, ‘वैशाखमै निर्वाचन हुने भए पनि हामी त तयारै छौँ । आधिकारिक निर्देशन आएको छैन । सामाग्री तिनै पुराना प्रयोग गर्दा हुन्छ । सीमित क्षेत्र भएकाले अगिल्लो निर्वाचनमा प्रयोग गरेका सामाग्री नै पर्याप्त हुन्छ । मतपत्र र केही सामाग्री मात्र चाहिन्छ ।’

उनका अनुसार मतपेटिका, छेकाबारा, म्याप, स्वतिक छापहरू जिल्ला निर्वाचन कार्यालयमा पुग्ने छ ।

आन्तरिक तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोग वैशाखमा हुने निर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार आगामी हप्ता नै यसको टुङ्गो लाग्छ ।


थपलियाले आउँदो हप्ता उपचुनावको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राख्ने बताए । उनले खबरहबसँग भने, ‘तीनै तहको उपनिर्वाचन एकै पटक हुन्छ । विवरण संकलनको काम भइरहेको छ । कति बजेट र सुरक्षा लाग्छ, मतदाता नामावली अद्यावधिक गर्ने काम पनि हुन्छ । आउँदो हप्ता सबै तयारी गरेर सरकारलाई भेट्छौँ । त्यसपछि कुरा अगाडि बढ्छ ।’

हाल प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुवास नेम्वाङको क्षेत्रमा उपनिर्वाचन हुने छ । यस्तै, सुदूरपश्चिममा असार ६ गते कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको क्षेत्र बझाङ १ क मा पनि उपनिर्वाचन हुने छ ।

यी सँगै स्थानीय तहका २३ क्षेत्रमा उपनिर्वाचन हुने आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ९ : ०० बजे

सङ्खुवासभामा चट्याङ लागेर ७२ भेडा मरे

किमाथांका–  सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका

राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका

साढे दुई वर्षमा सक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

ढोरपाटन– बागलुङको जैमनी नगरपालिका–१ जैमिनीधामबाट पर्वतको फलेबास नगरपालिकाको देवीस्थान जोड्ने

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

काठमाडौं- जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्‌मा सभामुखको भूमिका सन्तोषजनक नभएको

प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिँदा को-को अनुपस्थित थिए ?

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिँदा