टेम्पो चालक विष्णुको आत्मगौरव– 'सन्तानलाई संस्कार दिएँ, उनीहरूले सन्तोष दिए' | Khabarhub Khabarhub

टेम्पो चालक विष्णुको आत्मगौरव– ‘सन्तानलाई संस्कार दिएँ, उनीहरूले सन्तोष दिए’



पतिको देहावसानपछि एक छोरा र एक छोरीको जिम्मेवारी सम्हालेकी विष्णु लामा (५१) ले संघर्षलाई स्वीकार गर्नुपर्ने बताउँछिन् । कक्षा चारसम्म अध्ययन गरेकी उनी किताबले भन्दा धेरै सङ्घर्षले मानिसलाई पाठ सिकाउने बताउँछिन् ।

श्रीमानले कमाएर ल्याउने र उनले घर सम्हाल्दै थिइन् । तर उनलाई समयले ठग्यो वा भाग्यले । कलिलै उमेरमा श्रीमानको मृत्यु भएपछि कहिले घरबाहिर ननिस्केकी विष्णुले फुटपाथ पसलदेखि टेम्पो चालकसम्मको यात्रा तय गर्नुपर्‍यो ।  

काभ्रे रोशीकी विष्णुले सानै उमेरमा बिहे गरिन् । तारे होटलमा कुकको काम गर्ने उनका श्रीमान् राजेश लामाको राम्रै कमाइ थियो । काभ्रेकै तेमाल गाउँपालिकाका राजेश निकै मेहनती थिए ।

विष्णु आफ्नो संघर्ष र सफलताको कथा यसरी सुनाउँछिन्–
पाँच दिदीबहिनी र दुई दाजुभाइमध्ये म काँइली हुँ । ६ वर्षको हुँदा बुबाको मृत्यु भएपछि आमाले निकै दुःख गरेर हुर्काउनु भयो । हामीले धेरै पढ्न पाएनौ । सानै उमेरमा मामाको छोरासँग बिहे गरिदिने कुरा घरमा गरे तर मलाई उसँग बिहे गर्न मन लागेन । मेरो रुचि अर्कै केटोमा थियो । ठूली दिदी बेली तामाङले मैले रुचाएको राजेशसँग कुरा गरेकी थिइन् ।

मलाई राजेश मन पर्थ्यो । पातलो, अग्लो र गहुँगोरो उनी निकै सुन्दर थिए । दिदीमार्फत नै मैले राजेशसँग भागीबिहे गरें। सानै उमेरमा बिहे गरे पनि सबै राम्रै थियो । राजेश मल्ल होटलमा कुकको काम गर्थे । बिहे भएपछि अलि धेरै पैसाको आवश्यकता पर्दै गयो । काम गरिराखेको ठाउँभन्दा बढी तलब पाउने भएपछि उनी नौबिसेको बाटो बनाउने बेला चाइनिजहरुको लागि हेडकुकको काम गर्न गए ।

त्यसैक्रममा हाम्रा एक छोरी र एक छोरा भए । सुख–दुख जीवन राम्रै चलेको थियो । त्यहाँ काम गर्दा गर्दै राजेश जर्मनी पनि गए । नेपालमा भन्दा धेरै राम्रो कमाइ भएकाले उनी जर्मनीमा ३ वर्ष काम गरे।

पछि आफ्नै देशमा काम गर्ने भनेर फर्किए । १० कक्षा पढेको भएपनि उनलाई चाइनिज, अंग्रेजी, जापानिज भाषा आउँथ्यो । जर्मनीबाट फर्किएपछि टुरिष्ट गाइडको काममा लागे ।

पर्यटक लिएर उनी नेपालको विभिन्न क्षेत्रमा जान्थे । एकदिन पोखराबाट पर्यटक लिएर काठमाडौं फर्किदै थिए । कुनै जनावरले बाटो काट्दा चालकले झ्याप्पै ब्रेक हान्दा उनको छाती बेस्सरी ठोक्किएछ । यो ०५२ सालको कुरा हो । घर आएपछि यहाँ दुख्यो यस्तो–यस्तो भएको थियो भनेर सुनाए । म लगायत दिदीहरूले अस्पताल जानु भन्यौँ। तर उनले ब्रुसेट खाएकाले त्यति धेरै दुखेको छैन, अस्पताल जानु पर्दैन भनेर जिद्दी गर्दै गए । तर केही दिनपछि ज्वरो आउन सुरु भयो ।

टिचिङ अस्पतालमा इमर्जेन्सीमा लगेर भर्ना गरियो । पिसाब नली फुटेर शरीरभरि पिसाब फैलिएको रहेछ । अस्पताल लगेको त्यही दिन नै  राजेशले यो संसारबाट बिदा लिए ।

मेरो संसार उजाडियो । ती साना लालाबाला के गरी हुर्काउने होला ? एक त श्रीमानसँगको बिछोडले मैले आफूलाई सम्हाल्न सकेको थिइन्ँ । अर्को छोराछोरीको जिम्मेवारी थियो । अब को बाटो के हो ? मैले के गर्नुपर्छ भनेर सोच्न सकिन । श्रीमानसँगै गएर जानु पनि कर्तव्यबाट भाग्नुजस्तै थियो ।

वर्षदिन जति त म विक्षिप्त जस्तै भएँ । त्यो अवस्थामा छोराछोरी दिदीले हेरिदिइन् । उनैले मेरो बिहे गराइदिएकी थिइन् । ज्यान छोडेर बस्ने छुट थिएन मलाई । कुनै पनि हालतमा उठ्नु थियो ।

जागिर माग्न जाउँ, पढाइ छैन । काम माग्न कहाँ जाने ? कसकोमा जाने ? त्यसपछि उनले ०५४ सालमा केही गर्नुपर्छ भनेर फुटपाथमा श्रृंगारका सामान बेच्न थालें । रानीपोखरीमा बसेर काइँयो, जुत्ता बुरुस, पालिस, फिनेल, नङकट सबै बेच्न थालें । त्यतिबेला रानीपोखरीमा पुल नबन्दा टहराहरु थियो । केही पैसा जम्मा गरेपछि फुटपाथ छोडेर टहराको एक कोठा भाडामा लिएर पसल चलाएँ । त्यहाँ विक्रम ट्याम्पुको पार्क थियो । 

महिलाले टेम्पो चलाउँदा छक्क
०५५ सालमा पार्कमा एकदिन एक महिलाले टेम्पो चलाएको देखेँ । त्यो देखेर म त छक्कै परेँ । बुझ्दै जाँदा उहाँ झापाको सुमित्रा दंगाल हुनुहुँदो रहेछ । उहाँ नेपालको पहिलो टेम्पो चालक हुनुहन्छ ।

उहाँ चलाउने मात्रै होइन, महिलालाई चलाउन सिकाउनु पनि हुँदो रहेछ । डिग्री पढेको मान्छे हुनुहुँदो रहेछ । बैंकबाट ऋण लिएर महिलाहरूलाई टेम्पो सिकाउने भनेर लाग्नुभएको थियो ।

सुमित्रा मेडमसँग कुरा गरेर मैले टेम्पो चलाउन सिकें। मुन्द्रा बेचेर ५ हजार रुपैयाँ तिरेर सिकेको हो । १४ जनाको ग्रुपमा सबैभन्दा छिटो मैले सिकें । १५ दिनमा त अरुलाई सिकाउने भइसकेको थिएँ ।

कालो प्लेटमा टेम्पो चलाउने महिला पहिलो सुमित्रा मेडम पछि दोस्रो म नै हो । घण्टाघरमा लाइसेन्सको परीक्षा दिन गएको दुईपटक लिखित परीक्षामा फेल भएँ । रातभरि पढेर परीक्षा दिँदा पनि लाइसेन्स हात परेन ।

फिल्डमा म भन्दा कमजोर साथी दुईजनाले लाइसेन्स निकाले तर मेरो निस्किएन । पढाइको महत्व मैले त्यतिबेला बुझेँ । काममा योग्य हुन हातमा सीप मात्र होइन, दिमागमा ज्ञान पनि हुनुपर्ने रहेछ । तेस्रोपटक २०५६ सालमा लाइसेन्स निकालेँ ।

पैसा कमाएर बच्चाहरूलाई राम्रोसँग पढाउनुपर्छ भन्ने थियो । श्रीमान हुँदादेखि नै गाडी चलाउन मन लाग्थ्यो । तर उनले चलाउन दिएनन् । अब त मलाई रहरको लागि भन्दा पनि काम गरेर खाने बाध्यता थियो । त्यसैले आफ्नो रुचिको कामलाई रोजें । 

कलंकी…कलंकी…सुन्धारा…सुन्धारा …भन्दै चिच्याएँ…..

पहिलो दिन टेम्पो लिएर सडकमा निस्किएको दिन निकै खुसी भएँ । पहिलो दिनको कमाइ चारसय रुपैयाँ थियो । सुन्धारादेखि कलंकीको रुटमा चलाउँथे । काम गरेर खान कहिल्यै लाज लागेन । त्यसकारण पहिलो दिन ‘कलंकी…कलंकी…सुन्धारा…सुन्धारा …’ भन्दै चिच्याएर यात्रु बोलाएँ ।

अर्को सीप सिक्ने सवालमा पैसाको लोभ गर्नुहुँदैन । पैसा लियो भनेर गुरुको आलोचना गर्नुहुँदैन । पहिले फुटपाथमा व्यापार गरेकाले भाडा फिर्ता लिने दिने हिसाबमा परिपक्व भइसकेको थिएँ । 

सडकमा रमाइरहेको थिएँ, कमाइ पनि राम्रै थियो । बुवा नभएपनि छोराछोरीलाई उनीहरूले सकेको जति पढाउनुपर्छ भन्ने थियो । काममा आफूलाई भुलाउँदै दुख पीडा छायाँमा पार्दै गएको थिएँ । टेम्पो चलाउन थालेको करिब साढे दुई वर्ष भएको थियो ।

छोरालाई होस्टलमा राखेर पढाएको थिएँ । आमाछोरी असनमा एक कोठा लिएर बसेका थियौँ । एकदिन अचानक कोठामा निकै ठुलो दुर्घटना भयो । २०५७ सालको कुरा हो । त्यो दिन छोरी मामाको घर गएकी थिइन् ।

म दिनभर टेम्पो चलाएर कोठामा फर्किएको थिएँ । त्यतिबेला शुक्रबार नेपाल टेलिभिजनबाट ‘हिजो आजको कुरा’ आउँथ्यो । खाना पकाएर छिटो–छिटो खाएर कार्यक्रम हेर्नुपर्छ भनेर लागेको थिएँ ।

स्टोभ अन गरेर बाल्न खोजेको लाइटर भेटिनँ । स्टोभ बन्द नगरी घरबेटीसँग लाइटर माग्न गएँ । छिटो–छिटो लाइटर लिएर आएको थिएँ । स्टोभबाट मट्टितेल निस्किएको रहेछ । लाइटर के बालेको थिएँ । ह्वात्तै आगो टिप्यो ।

आगोले मेरो हात, घाँटी र अनुहार पोलियो । आँखा धमिलो भएको थियो । के गर्ने, कसो गर्ने मेसो नपाउँदा  धेरै जल्न पुगेँ । कोठामा साथी कोही नभएकाले पनि जलेँ । कोही भएको भए आगो निभाइदिन्थ्यो होला ।

सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरें ।दुर्घटना भएपछि छोरा होस्टलबाट फिर्ता आयो । राख्न सकिन, उसलाई भाइबुहारीले हेरे । छोरीलाई क्षेत्रपाटी बालविकास स्कुलको प्राध्यापक केशरी गुरुङले जिम्मा लिनुभयो । उहाँले आफ्नै घरमा राखेर पढाइदिनु भयो ।

१४ महिना अस्पतालमा बसेर उपचार गरेपछि यो नर्मल जस्तो भएको हो । जर्मनीबाट डाक्टर ल्याएर उपचार गरेका थिएँ । तर पोलिएको दाग लुकाउन त कसरी सकिन्छ ? अस्पतालबाट घर फिर्ता आएपछि दुबै छोराछोरीलाई फिर्ता ल्याएँ ।

सबै परिवार जम्मा भएर कोठा लिएर सँगै बस्न थाल्यौ । मलाई संघर्ष गर्नुभन्दा बाँच्नु नै ठूलो लाग्यो । घाउ भएपनि म जिउँदो थिएँ । जिउँदोले कहिँबाट पनि सुरु गर्छ । छोराछोरीको लागि बाउ पनि मै थिएँ र आमा पनि मै थिएँ ।  संघर्षलाई स्वीकार गरेर अगाडि बढे ।

अस्पतालबाट फिर्ता आउँदा म पहिले जस्तो थिइन् । घाउ पुरै रातो थियो । सलले छोपेर फेरि टेम्पो चलाउन गएँ । त्यतिबेला निलो टेम्पो भन्ने थियो । त्यहिपनि महिला भनेर साहुहरुले टेम्पो चलाउन नदिने ।

अस्थायी रुपमा मेडिकल कलेजको गाडी पनि चलाएँ । त्यहाँ पनि आइमाई मान्छे भनेर स्थायी चलाउन नदिने रहेछन् । महिलालाई पत्याइँदैन रहेछ भनेर मैले त्यतिखेर जाने । सीप भएको भएपछि महिला र पुरुष किन विभेद गर्नुपर्छ ? तर समाजले महिलालाई दोस्रो दर्जाको नागरिक नै मान्ने रहेछ ।

पुरुषले छोडेको काम गर्नुपर्ने रहेछ । त्यो पनि कसैले दया गर्‍यो भने मात्रै पाइने । श्रमिक भएर लडें, महिला भएर लडें । जे –जे पर्छ, कसैसँग हार मानेर पछाडि फर्किइन । मत स्थायी चलाउन दिन्छ कि भनेर गएको थिए । नपाएपछि फेरि टेम्पो मै फर्किएँ । यता राम्रो हुन्छ कि, कता राम्रो हुन्छ भन्दै भौँतारिए ।

२०६२-६३ को आन्दोलनपछि समय केही फक हुँदै गयो । १९ दिने जनआन्दोलनसँगसँगै संगठनमा लागें । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको बागमती अञ्चल महिला कमिटीको अध्यक्ष भएर आन्दोलनको नेतृत्व लिएँ ।

ठुलाबडादेखि सरकार सबैले मजदुरलाई दमन गरेका थिए । त्यसकारण आन्दोलनमा होमिएँ । म ठुलो नेता हुन संगठनमा लागेको होइन । मेरो क्षेत्रमा धेरै समस्या छ । ट्राफिकले अनावश्यक दुख दिने, बढी जसो महिला चालकसँग त प्रहरीले फोन नम्बर मागेर दुख दिएका छन् ।

लाइसेन्स समाउने फोन नम्बर माग्ने । त्यसको लागि कसले बोल्ने त ? म उनीहरुको हक अधिकार सुरक्षाको लागि संगठनमा लागेको हो । जथाभावी चिट काट्ने लगायत सडकमा हुने हरेक प्रकारका हिंसा र विभेदका विरुद्ध काम गर्नुपर्छ भनेर लागेको हुँ ।

पहिले चार कक्षा पढेँ । पछिफेरि चार कक्षामै भर्ना भएर आठ कक्षासम्म पढेंबुढो भएपछि पढ्न गाह्रो हुँदो रहेछ । अब पढाइ अघि बढाउन सक्दिनँ । तर धेरै पढ्न नसकेपनि मलाई गुनासो छैन । छोरीले पढ्ने भए पढ्नु भनेकी छन् । तर अब सक्दिन भन्ने लागेको छ ।

संघर्षले नै धेरै कुरा सिकायो । श्रीमानको भर बसेको मान्छे, एकैपटक सबै व्यवहार र छोराछोरी जिम्मा लिनु पर्‍याे । नबोली र डराएर बसेर सुखै थिएन । पहिले बोल्न पनि सक्दिनथे । संगठनले आफ्नो र अरुको पनि हकको लागि लड्न सिकायो ।

आन्दोलन सकिएपछि बस चलाउँछु भनेर स्वयम्भू यातायातमा एक वर्ष सहचालकको काम गरें । बिहान पाँच बजेदेखि बेलुका ९ बजेसम्म ढोका उभिएर काम गरें । लाइसेन्स बनाउन घुस खुवाउनुपर्ने रहेछ । 

साथीहरुले घुस खुवाएर लाइसेन्स निकाले तर मलाई घुस खुवाउन मन लागेन । हेभी गाडीको लागि पनि लिखित परीक्षामा पास हुन सकिन । त्यसपछि ट्याक्सी चलाएँ। दुई वर्ष अगाडि सम्म चलाएँ । 

केन्द्रिय कमिटीको उपाध्यक्ष भएपछि यता पनि समय दिनुपर्ने भयो । महिला कमिटीको सातै प्रदेशको अध्यक्ष भएँ । त्यसपछि छोराछोरीले पनि अब काम गर्नुपर्दैन भन्न थाले । त्यसपछि दुई वर्ष अगाडिबाट ट्याक्सी चलाउन छोडें । 

छोराले होटल म्यानेजमेन्ट पढ्यो र अहिले दुबईमा छ । छोरी एयरहोस्टेज हुन् । उनले दुबई एयरलाइन्समा काम गर्थिन् । ५ वर्ष उनले काम गरेपछि बिहे गरिन् । अहिले अमेरिकामा दश महिनाको छोरा हुर्काउँदै छिन् । ज्वाईं अमेरिकी सेनामा कार्यरत हुनुहुन्छ । 

छोराछोरीलाई आ–आफ्नो खुट्टामा उभिने बनाएँ । छोरीको पढाई असाध्यै राम्रो थियो । प्लस टु ब्रिटिस कलेजमा पढाएकी हुँ । टेम्पो चलाएर त्यति महङ्गो कलेज पढाएँ । पढाइ राम्रो हुन्छ भनेर पढाएको । छोरीले चाहेको विषय र चाहेको कलेजमा पढोस् भनेर हिम्मत नहारी भर्ना गरेँ । गाह्रो भने निकै भएको थियो । 

गतवर्षको पुसमा जर्मनी गएँ छोरीलाई भेट्न । ज्वाइँको मिसन जर्मनमा थियो । एकपटक घुम्न बोलाइन् र अर्कोपटक छोरी सुत्केरी हुँदा हेरचाह गर्न गएँ । दुख पर्दा दिदी भाइ बुहारीले साथ दिए । साना केटाकेटी उनीहरूले हेरिदिँदा काममा जान पाए । 

पैसा कमाउन पाए । छोराछोरीलाई पढाउन पाए । मैले कमाएको भनेको छोराछोरीलाई उनीहरुले सोचे अनुरुपको शिक्षा दिन सके त्यही हो । अरु घर गाडी सम्पत्ति जोड्न सकिन । अहिले छोराछोरीले नै काठमाडौंको माछापोखरीमा चार तलाको घर बनाइदिएका छन् । 

अहिले घरमा एक्लै बस्छु । एक तला भाडामा दिएकी छु । बाँकी सबैमा आफै बसेको छु । पहिले पाँच सय कोठा भाडा पनि तिर्न नसक्ने अवस्था थियो मेरो । ऋण छैन, भाडामा दिन पर्दैन भन्छे छोरी । 

अब संगठनमै बसेर श्रमिकहरुको लागि काम गर्छु । उनीहरुकै लागि जीवन समपर्ण गर्छु । 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १० : ११ बजे

गण्डकी प्रदेशद्वारा दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक

गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगले गण्डकी प्रदेशको

युरो २०२४ खेल्ने पोर्चुगलको टोली घोषणा

काठमाडौं- आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने

प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका भुटानका

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका

आजका समाचार : कैलाश सिरोहियाको गिरफ्तारीदेखि मन्त्रीहरूको सम्पत्ति विवरणसम्म

कांग्रेसको नाराबाजीबीच संसद्‍मा नीति तथा कार्यक्रम टेबल प्रमुख प्रतिपक्षी नेपाली