काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर छाडेर रोजगारीका लागि विदेश जान अहिले काठमाडौंको म्यानपावर अफिसमा धाइरहेका छन् । ती युवामा कमाई औसत नेपालीको भन्दा राम्रो हुँदा पनि स्वदेशको जागिर छाडेर विदेश जाने सोच विकास भएको छ ।
उनी मिले युरोपियन देश नभए खाडी मुलुक भएपनि रोजगारीको लागि जाने भनेर कस्सिएका छन् । नेपालमा भविष्य नदेखेर विदेश हानिन लागेका ती युवाका अन्य साथिहरुले विदेशमा गएर राम्रो कमाइ गरेको, घर जग्गा किनेको देखेर उनमा पनि त्यो सोच आएको हो ।
‘म पहिले नेपालमै केही गर्नुपर्छ भन्थे तर, नेपालमा केही नहुने रहेछ’, उनी भन्छन्, ‘म सँगैका साथीले घर जग्गा जोडिसके, त्यसैले अब भयो लघुवित्तको जागीर नखाने विदेश नै जाने हो ।’
काठमाडौंको पुतली सडकको एक कार्यालयमा काम गर्ने सुनसरीका एक युवाले अहिले मासिक ३५ देखि ४० हजारसम्म कमाई गरिरहेका छन् । उनले पनि सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा बढी नै कमाई गरिहेका छन् । तर, उनी पनि आफ्नो कमाईका हिसावले चित्त बुझाउन भने सकेका छैनन् ।
उनी कोहीसँग नक्कली विवाहा गरेर भएपनि युरोपका देशमा जान चाहान्छन् । उनी त्यो अवसरको पर्खाइमा छन् । त्यस्तो अवसर आउनासाथ विदेश जाने सोच उनको छ । अहिले काठमाडौंमा बस्ने बेलासम्म खर्च धानिरहेको र जसरीपनि विदेश जाने उनी बताउँछन् ।
‘म अबको एक वर्षभित्र जसरी भएपनि विदेश जान्छु, नेपालमा बसेर के गर्नु केही छैन’, उनी निरास हुँदै भन्छन्, ‘जति सकिन्छ चाँडै देश छाड्ने हो ।’
सुदुरपश्चिमका एक युवाले निकै मिहेनत गरेर कोरियन भाषा पढिरहेका छन् । उनीसँगैका साथिहरु कोही कोरिया त कोही जापान पुगिसके । उनले कोरियन भाषामा २ पटक परिक्षा दिए तर, उनको नाम भने निस्केन । अहिले पनि उनले हार नमानीकन पढीरहेका छन् । जसरीपनि कोरिया जाने उनको सोच छ ।
‘२ पटक परिक्षा दिसके नाम निस्केन, अब तेस्रो पटक त कसो ननिस्केला’, उनी आफ्नो कोरिया जाने सपना देख्दै भन्छन्, ‘यो पटक जसरी भएपनि नाम निकाल्छु ।’
माथिका व्यक्तिहरु प्रतिनिधि पात्र मात्र हुन् अहिले दैनिक ३ हजार बढी नेपालीहरु रोजगारीका लागि विदेश जाने गरेका छन् । कसैले आफूले पाएको पारिश्रमिक कम भएर त कोही काम नपाएर पनि विदेश जान्छन् । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि भनेर जानेको संख्या पनि बढ्दै गएको छ । व्यक्तिगत रुपमा धेरै ती विद्यार्थीहरुसँग कुराकानी गर्दा उनीहरुको उद्देश्यपनि विदेशमा गएर कमाउने नै हो ।
युवाहरु वा काम गर्ने उमेर समूहका मानिसहरु विदेशीने क्रम यसरी बढेको छ की नेपालमा काम गर्ने श्रमिक नै पाइन छाड्ने समस्या सिर्जना भएको छ । कामदार नपाएर आफ्नो व्यवसाय नै कतिपय अवस्थामा बन्द गर्नुपर्ने अवस्था आएको उद्योगी बताउन थालेका छन् ।
नेपालका जुत्ता उद्योगमा मात्र १० हजार भन्दा बढी विदेशी कामदारहरुले काम गर्ने गरेको पूर्वेली सुज उद्योगका सञ्चालक तथा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल बताउँछन् । नेपालमा सञ्चालनमा रहेका ७०० भन्दा बढी जुत्ता उद्योगमा ९० प्रतिशत कामदार विदेशी भएको उनको भनाइ छ ।
उनकाअनुसार कमाईको हिसावले पनि जुत्ता उद्योगमा काम गर्नेको त्यति नराम्रो भने छैन । तरपनि नेपालीले कामको सम्मान गर्न नसक्दा विदेशी मजदुरले जुत्ता उद्योग धान्नु परेकोमा कटुवाल दुखेसो पोख्छन् ।
‘नेपालीमा कामलाई सम्मान गर्ने सोच छैन, नेपालमा निचो भनिएको काम विदेशमा गएर गर्दा केही हुँदैन’, कटुवाल आक्रोशित हुँदै भन्छन्, ‘हाम्रो अहिले विदेश जाने एउटा संस्कार नै बसिसकेको छ, नेपालमै केही गर्छु भन्नेले छोरी नपाउने खालको वातावरण भएको छ ।’
जुत्ता उद्योगमा काम गर्ने अर्धदक्ष क्षमता भएकाले पनि खाना र आवास सहित मासिक ५० देखि ७० हजार सम्म कमाई गरिरहेको कटुवाल बताउँछन् । युवाहरुलाई बेलैमा सरकारले ध्यान नदिए गलत संस्कार बस्ने कटुवालको भनाइ छ ।
जुत्ता उद्योगमा जस्तै फर्निचर उद्योगमा पनि कामदारको उस्तै समस्या छ । नेपलको अधिकांश फर्निचर उद्योग विदेशी मजदुरहरुले नै धानेका छन् । फर्निचर क्षेत्रमा कतिपय अवस्थामा कामदार नपाएर पनि व्यवसाय नै बन्द गर्नुपरेको फर्निचर व्यवसायी महासंघका पूर्व अध्यक्ष सुजिल श्रेष्ठले बताए ।
‘कामदार अभावले गर्दा काम नै पाउन छाडिएको छ, कामदारको अभाव त छँदै छ, कच्चा पदार्थ ल्याउने, विदेशका तयारी सामग्रीले बजार लिने समस्याले पनि व्यवसाय नै छाडेका थुप्रै घटना छन्’, श्रेष्ठले भने, ‘अहिले फर्निचर उद्योगमा जतिले काम गरिरहेका छन् अधिकांश विदेशी नै छन् ।’
फर्निचरको काममा सीप भए मनग्य आम्दानी र सिक्नेले पनि सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउने अध्यक्ष श्रेष्ठले बताए । ‘हाम्रो क्षेत्रमा न्यूनतम १७ हजार देखि एक लाख कमाउनेसम्म छन्’, श्रेष्ठ भन्छन्, ‘तरपनि काम गर्ने मान्छे नेपाली भेट्न गाह्रो पर्छ ।’
सरकारको नीति सबै युवालाई विदेश पठाउनेजस्तो भएको उनलाई लागेको छ । देश रेमिट्यान्सले भन्दा पनि उद्योग धन्दाबाट आएको पैसाले चल्नुपर्ने भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।
त्यस्तै, नेपालको निर्माण क्षेत्रमा पनि नेपाली भन्दा विदेशी कामदारहरु नै बढी हुने गरेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । निर्माण क्षेत्रमा आयोजनामा २ देखि १० महिनासम्म विदेशी कामदार आएर काम गर्ने गरेको सिंह बताउँछन् ।
‘अहिले नेपालको निर्माण क्षेत्रमा ५ लाख भन्दा बढी विदेशी कामदारहरु छन्, प्राय तिनीहरु भारतीय र बंगालादेशी छन्’, सिंह भन्छन्, ‘उनीहरुले मासिक ४० हजार देखि एक लाख ५० हजारसम्म कमाई गरेर लैजान्छन् ।’
निर्माणको क्षेत्रमा नेपाली कामदार लगाउनु भन्दा विदेशीलाई लगाउनुमा निर्माण व्यवसायीलाई फाइदा भएकापनि उनले बताए । नेपालीले लगनशील भएर काम नगर्ने, एक दिन काम गरे ३ दिन नआउने खालको प्रवृति बढी हने गरेको उनको भनाइ छ ।
सामाजिक र राजनीतिक संस्कारले गर्दापनि नेपालमा श्रमलाई सम्मान नदिएको उनको गुनासो छ । ‘विना काममा राजनीति गरेर हिड्नेलाई हाम्रोमा बढी सम्मान हुन्छ’, सिंह भन्छन्, ‘अनि श्रम गर्नेलाई सानो काम भन्दै अपमान ।’
व्यवसायीको भनाइ मात्र होइन नेपालले विदेशीलाई दिएको श्रम स्वीकृतको तथ्यांक हेर्दा पनि नेपालमा विदेशी कामदारको संख्यामा वृद्धि हुँदै गएको देखिएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार २०८१ बैशाख १८ गतेसम्म २० हजार ५६४ जना नेपालमा श्रम स्वीकृति लिएर काम गरेका छन् ।
त्यसरी स्वीकृति लिएर काम गर्नेमध्ये १८ हजार ६३ जना पुरुष छन् भने २ हजार ४८१ जना महिला रहेका छन् । तर, भारत र बंगलादेशबाट आउने अधिकांश श्रमिकले भने श्रम स्वीकृत गराउँदैनन् । भारत र बंगलादेशबाट नेपाल आउन भिसा लगाउनु पर्दैन । विशेषगरी नेपालमा भारतका मजदुरको संख्या लाखौंमा भएको अनुमान गरिएको छ ।
नेपाला श्रम स्वीकृत लिएर अन्य देशबाट आउनेमा सबैभन्दा बढी प्राविधिक अन्तर्गतका इन्जिनियर, चिकित्सक, पाइलट, व्यवस्थापक र आयोजनाका काममा आउने विज्ञ रहेको विभागको भनाइ छ । त्यसरी श्रम स्वीकृत लिएर नेपालमा काम गर्न आउनेमा चिनियाँ बढी रहेको देखिन्छ । ९ हजार ८१ जना चिनियाँले नेपालमा श्रम स्वीकृत लिएर काम गरिरहेका छन् ।
नेपालमा सञ्चालन भएको प्रतिष्ठानले ५ प्रतिशत मात्र विदेशी कामदार राख्न पाउने व्यवस्था छ । आर्थिक वर्ष २०७७–७८ देखि २०८०–८१ को बैशाख १८गतेसम्मको तथ्यांकले नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउने विदेशीको संख्या वृद्धि हुँदै गएको देखाएको छ ।
प्रतिक्रिया