सहरमा पुनर्जागरण- चिसो छाड्ने, मही पिउने ! | Khabarhub Khabarhub

सहरमा पुनर्जागरण- चिसो छाड्ने, मही पिउने !

समारोहकै प्रतिष्ठा बन्दै मही, ब्राण्डिङमा प्रतिस्पर्धा


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिखेर देशका सहरहरूमा रेनेसा (पुनर्जागरण) भइरहेको छ । हो, पुनर्जागरण नै !

किनकी जे भइरहेको छ – त्यसले ग्रामीण किसानदेखि सहरमा केही गर्न खोजिरहेका नयाँ पुस्तासम्मलाई एउटा नयाँ बाटो देखाएको छ । मानिसहरूको स्वास्थ्य, धन र जीवन जोगाउँदैछ । त्यसैले यसलाई रेनेसा अर्थात्‌ पुनर्जागरण नै भन्नुपर्छ ।

रेनेसा यस अर्थमा कि – नेपालका सहरदेखि गाउँ दशकौंदेखि स्वास्थ्यका लागि हानिकारक बोतलबन्द कृत्रिम चिसो झोल अर्थात्‌ कोल्ड ड्रिङ्सको हानिकारक गुलियो झोलमा डुब्दै थियो, स्वदेशकै परम्परागत स्वस्थकर पेय पदार्थ मही पिएर सहरवासीहरूले त्यो लत हटाउन खोज्दैछन्‌ ।

रक्तचापदेखि पाचन प्रणालीसम्मलाई हानी पुर्‍याउने कोल्ड ड्रिङ्क्स छाड्दै मही पिउने अभियान सहरहरूमा छेडिइसकेको छ । ग्रामीण क्षेत्रका पशुपालक किसानदेखि दुग्ध पदार्थ संकलक र बिक्रेतासम्मलाई पेय पदार्थमा हुँदै गरेको पुनर्जागरणले खुशी तुल्याएको छ ।

सबैभन्दा खुशी त कोल्ड ड्रिङ्स छाडेर मही पिउनेहरू नै देखिन्छन्‌ । अबलाई मही तिर्खा मेटाउन मात्र किन, समारोहकै प्रतिष्ठा बनिसक्यो ।

यो सामग्रीमा आज हामी सहरमा पेयपदार्थमा कसरी पुनर्जागरण भइरहेको छ भनी चर्चा गर्दैछौं ।

पछिल्लो केही समययता नेपाली उत्पादनहरूलाई ब्राण्डिङ गर्ने अभ्यास विकास हुँदैछ । जसमध्ये नेपालको हिमालदेखि तराई र पूर्वदेखि पश्चिमसम्मका किसानहरूले उत्पादन गर्ने महीले पनि अवसर पाउन थालेको छ ।

केही किसान र केही डेरी व्यवसायीहरूले महीलाई ब्राण्डिङ गरेर बजारमा बिक्री गर्न थालेका छन् । जसमा उपभोक्ताको आकर्षण पनि बढ्न थालेको छ ।

सामान्यतयाः सबै नेपाली समुदायमा मही भनेको पोषिलो चिसो र खाजाको साथीको रूपमा प्रयोग हुँदै आएको वस्तु हो । मकै र मही, रोटी र मही तथा हरेक परिकारसँग साथीको रूपमा महीको प्रयोग धेरै समुदायको खाना सभ्यताभित्र रहँदै आएको पाइन्छ

विभिन्न कृत्रिम रसायनयुक्त चिसो पेय रोज्नेहरूले पनि पछिल्लो समयमा महीलाई आफ्नो रोजाइ बनाउन थालेका छन् । उपभोक्ताहरूको रुचिकै कारण अहिले पार्टी प्यालेसदेखि होटेल रेष्टूराँसम्म चिसो पेय पदार्थको रूपमा मही बेच्न थालिएको छ ।

झापाको दमक–६ बेलडाँगीका काजी राउतले ‘काजी खाजा घर’ सञ्चालन गर्दै आएका छन् । उनले आफ्नो खाजा घरमा रैथाने उत्पादनमा आधारित विभिन्न खाजा बेच्ने गर्छन् ।

काजी खाजा घरका सञ्‍चालक काजी राउतले आफ्नो होटलमा रैथाने परिकारका अर्गानिक खाजा बनाउने र बेच्ने गर्छन् । राउतले पछिल्लो सातादेखि कोदो र फापरको मिक्स पीठोको रोटी सेट, गहुँको रोटी सेट, गुन्द्रुकको अचार, चनाको सब्जी, जौको सातु र साथमा महीलाई पनि परिकारको रूपमा थप्न सुरु गरेका छन् ।

उनले खाजा घरबाट अहिले कृतिम पेय पदार्थलाई हटाइदिएका छन् । होटेल-रेष्टूराँमा चिसोको रूपमा पहिचान गराएका पेयपदार्थ अहिले काजी खाजा घरमा पाइँदैन । उनले चिसोको रूपमा महीलाई अघि सारेका छन् । मही नै अहिले उनको खाजा घरको पहिचान बन्न लागेको छ ।

खाना खाइसकेपछि मही पिउँदा पेटलाई शीतल गराउँछ । निद्रा नलाग्ने समस्याबाट पनि यसले मुक्ति दिन्छ । त्यस्तै महीको नियमित सेवन गर्दा आन्द्रा र पेटसम्बन्धी रोगको जोखिम न्यून गराउँछ

मही पिउनकै लागि स्थानीयहरू खाजा घरमा थप आकर्षित भएको राउत बताउँछन् । परिकार बनाउनदेखि सेवा गर्न उनी आफैँ खटिन्छन् । साथै उनले कामको लागि सहयोगी पनि राखेका छन् । खाजाका प्राकृतिक परिकार र चिसोको रूपमा थपिएको महीले गर्दा राउतले सोचेभन्दा राम्रोसँग अहिले व्यवसाय चल्न थालेको छ ।

‘मैले सोचेभन्दा बढी र मजाले चल्न थालेको छ, अहिले त बिहानदेखि बेलुका सम्म नै ग्राहकहरू हामीलाई पनि खाजा खुवाउनुस् भनेर आइपुग्नु हुन्छ’, उनी भन्छन्, ‘जिब्रो फड्कार्ने स्वादको गुन्द्रुकको अचार र कोदो–फापरको रोटीले त मानिसको मन झनै लोभ्याएको छ ।’

राउतले परिकारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिएर तयार गरेका छन्, जसले गर्दा स्थानीय कृषकहरूको उत्पादन बिक्रीलाई पनि प्रोत्साहन गरेको छ । चिसोको रूपमा महीको बिक्री सुरु गर्दा त्यसले गाईभैंसी पालनलाई पनि प्रोत्साहन गर्ने वातावरण समेत बन्दै गएको छ ।

सामान्यतयाः सबै नेपाली समुदायमा मही भनेको पोषिलो चिसो र खाजाको साथीको रूपमा प्रयोग हुँदै आएको वस्तु हो । मकै र मही, रोटी र मही तथा हरेक परिकारसँग साथीको रूपमा महीको प्रयोग धेरै समुदायको खाना सभ्यताभित्र रहँदै आएको पाइन्छ ।

कृत्रिम चिसो पिउने युवाहरू पनि आकर्षित भएर मही पिउन आउन थालेपछि आफूलाई खुसी लागेको बताउँछन् बजगाईं

अधिकांश ग्रामिण समुदायका मानिसहरूमा तिर्खा लागेको बेला पहिलो रोजाइ मही नै हो । केही समय चिसोको नाममा रसायनयुक्त तयारी पेयले लिएको सहरी क्षेत्रमा पनि पछिल्लो समय महीको ब्राण्डिङ सुरुवात भएको देख्न सकिन्छ ।

कोल्ड ड्रिङ्कसको अर्को विकल्प छैन भन्ने युवा जमातको सोचलाई चिर्न ‘चिसो भनेकै सञ्जिवनी मही’ नाराका साथ मही बजारमा ल्याएका छन् ज्ञानेन्द्र बजगाईंले ।

ज्ञानेन्द्र कास्कीको पोखरामा स्थापित बजगाईं डेरी उद्योगका मालिक हुन् । उनी डेरी व्यवसायम १० वर्षअघिबाट सक्रिय रहँदै आएका छन् । पुस्तौं पुस्तादेखि पिउँदै आएको अर्गानिक तरिकाले नै तयार गरिने मही बजारमा ल्याएको उनी बताउँछन् ।

कृत्रिम चिसो पिउने युवाहरू पनि आकर्षित भएर मही पिउन आउन थालेपछि आफूलाई खुसी लागेको बताउँछन् बजगाईं । ‘अहिले त कोकाकोला खाने युवाहरू पनि मही पिउन आउँछन्,’ उनी भन्छन्, ‘मही खाने ट्रेन्ड नै चलेको देखेर एकदमै खुसी लागेको छ ।’

बजगाईंले पहिले प्याकेटमा मही तयारी गरेर बिक्री गर्ने गर्थे । तर, उपभोक्ताले बोतलमा पिउन सजिलो हुने प्रतिक्रिया दिएपछि अहिले बोतलमै मही बेच्न सुरु गरेको उनी बताउँछन् । अहिले दैनिक रुपमा ५ सय भन्दा बढी बोतल मही खपत हुने गरेको उनले बताए ।

बजगाईंले पातलो भन्दा पनि पिउँदापनि स्वाद आओस भनेर बाक्लो मही बनाउने गरेका छन् । उनको महीको कास्की बाहेक पनि अन्य ४ जिल्लामा पनि माग छ । दूध दहीको तुलनामा महीको उत्पादन सस्तो पर्ने भएपनि बोतलमा प्याकेजिङ गरेर बजारमा पुर्‍याउँदा प्रति बोतल ७० रुपैयाँसम्म पर्ने गरेको उनी बताउँछन् ।

महीको ब्राण्डिङ गर्नको लागि बजगाईंले आफूँ आवद्ध संघ संस्थाकादेखि विभिन्न क्षेत्रले आयोजना गर्ने कार्यक्रमा मही लिएर जाने गर्छन् । उनले धेरै आम मान्छेहरू जम्मा हुने महोत्सवहरूमा महीलाई थप स्वादिलो बनाएर उपभोक्तालाई आकर्षित गर्न घिउ जिरामा झानेर पनि बिक्री गरे । महीलाई विभिन्न स्वादमा उपलब्ध गराउन सके बजारमा मागमा थप वृद्धि हुनसक्ने उनको भनाइ छ ।

अहिले उनले उत्पादन गरेको मही रुपन्देही र कपिलवस्तुका विभिन्न बजारका उपभोक्ताले विवाह, ब्रतबन्ध तथा अन्य शुभ कार्यमा चिसो पेय पदार्थको विकल्पमा प्रयोग गर्न थालेका छन्

तर, पहिले महीलाई बजारीकरण गर्न निकै प्रयास गर्दा पनि उनी सफल भने हुन नसकेको उनी सुनाउँछन् । जबकी अहिले उपभोक्तामा आएको सचेतनाकै कारणले उनलाई महीको बजारीकरण गर्न सजिलो भएको छ ।

‘मैले धेरै वर्ष अगाडि नै यसलाई बजारीकरण गर्न प्रयास गरेको थिएँ तर, त्यस बेला खै किन सकिन, महीको अपेक्षित बिक्री हुन सकेन, अहिलेजस्तो टाढाटाढाका मान्छेले पनि थाहा पाउने माध्यम थिएन र त्यसलाई बन्द गरेँ,’ उनले भने ।

अहिलेका युवाहरूले पनि नेपाली उत्पादनलाई जोड दिइरहेका कारण पनि महीले बजार पाएको उनको बुझाइ छ । तर, अहिले महीको बजारीकरण गर्न थालेको दुई महिनामा नै आफूलाई अपेक्षित सफलता मिलेको बजगाईं बताउँछन् ।

‘हाम्रो मही त घरहरूमा हुनेभन्दा पनि बाक्लो भएको भन्दै आउँछन्, यसबाट मलाई आत्मसन्तुष्टि मिल्छ,’ उनी सुनाउँछन्, ‘अहिले मही उत्पादन गर्न नेपाल डेरी एसोसिएशनले पनि हामीलाई महीको ब्राण्डिङ गर्न प्रेरित गरेको छ, मलाई लाग्छ, सबैको साथ पाउँदा हामीले यसमा अवश्य सफलता हासिल गर्छौं ।’

यस्तै, कपिलवस्तुका थानेश्वर न्यौपानेले पनि महीको ब्राण्डिङ सुरु गरेका छन् । बौद्ध धर्मालम्बीहरूको मूख्य थलो भएको सो ठाउँमा राम्रो सम्भावना देखेरै निकै सोच विचार गरेर महीको बजारीकरण प्रारम्भ गरिएको उनी बताउँछन् ।

उपभोक्ताहरूलाई मही पिउने बानी पार्न न्यौपानेले निकै तरिका अपनाए । उनले सुरुका १० दिनजति उपभोक्ताहरूलाई निःशुल्क मही बाँड्ने समेत काम गरे । अहिले भने उनले उत्पादन गरेको मही रुपन्देही र कपिलवस्तुका विभिन्न बजारका उपभोक्ताले विवाह, ब्रतबन्ध तथा अन्य शुभ कार्यमा चिसो पेय पदार्थको विकल्पमा प्रयोग गर्न थालेका छन् ।

न्यौपानेले अहिले एक लिटर महीलाई ५० रुपैयाँमा उपलब्ध गराएका छन् । नाफा भन्दा पनि बजारीकरण गरेर खपत बढाउने उद्देश्यले सो मूल्य कायम गरिएको उनको भनाइ छ ।

स्वदेशमै उत्पादन भएको महीको खपत बढाउन सके यसले पेय पदार्थको आयात प्रतिस्थापन र व्यापार घाटा कम गर्न पनि टेवा पुर्‍याउन सक्छ

बैशाख १ गतेबाट सुरुवात गरेको मही व्यवसाय अहिले दैनिक २५ सय लिटर खपतसम्म विस्तार भइसकेको न्यौपाने बताउँछन् । मही स्वादिलो र पोषिलो पेय पदार्थमा पर्ने शुद्ध उत्पादन भएकाले यसलाई देश तथा विदेशमा समेत बजारीकरण गर्न सकिने सम्भावना देखिएको उनले बताए ।

मही व्यवसायले स्थानीय किसादेखि लिएर देशको अर्थतन्त्रसम्म प्रभाव पार्ने भएकाले यसलाई ब्राण्डिङ गर्नु अत्यन्तै आवश्यक रहेको उनको भनाइ छ ।

‘हामीले उत्पादन गरेको मही कुनै रासायनिक पदार्थ नमिसाइ विशुद्ध प्राकृतिक दहीबाट बनेको हो, यसैले मानव स्वास्थ्यका लागि यसले कुनै असर गर्दैन हितकर मात्रै छ,’ उनी भन्छन्, ‘स्वदेशमै उत्पादन भएको महीको खपत बढाउन सके यसले पेय पदार्थको आयात प्रतिस्थापन र व्यापार घाटा कम गर्न पनि टेवा पुर्‍याउन सक्छ ।’

नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले पनि महीमा उपभोक्ताको आकर्षण बढाउन लामो समयदेखि अभियान नै सञ्चालन गर्दै आएका छन् । गाउँ-घरमा मही पिउने राम्रो प्रचलन छँदैछ । सहरमा पनि मही पिउनेलाई पछिल्लो समय सचेत मान्ने नगरिएको दाहालको अनुभव छ ।

दूध तथा दुग्ध पदार्थ बालकदेखि वृद्धसम्मले खान आवश्यक रहेकाले आफूले त्यसको अभियान नै सञ्चालन गरेको उनी बताउँछन् । ‘डेरी एसोसिएसनले सुरु गरेका अभियानले आज सार्थकता पाएको छ । हिजोसम्म अन्य ठाउँमा गएर अन्य पेय पदार्थ नखाई मही खाँदा नराम्रो दृष्टिले हेरिन्थो भने आजभोलि प्रशंसा गर्दै सम्मानका साथ हेरिन्छ,’ उनी भन्छन् ।

अहिले नेपालका विभिन्न ठाउँमा डेरी व्यवसायीले महीलाई व्यवस्थित तरिकाले उत्पादन गर्न थालेको दाहालले बताएका छन् । यस्तै मही उत्पादनसँगै माग पनि उत्तिकै बढेको व्यवसायीहरूको भनाइ छ । महीको ब्राण्डिङले हाम्रो स्थानीय उत्पादनलाई समेत विस्तार गर्न सकिने हुनाले यसतर्फ उत्प्रेरित गर्न आवश्यक रहेको उनको भनाइ छ ।

यस्ता छन् महीका फाइदा
पोषणविद्‌ अरुणा उप्रेती मही पिउँदा धेरै फाइदा हुने बताउँछिन् । ‘खाना खाइसकेपछि मही पिउँदा पेटलाई शीतल गराउँछ । निद्रा नलाग्ने समस्याबाट पनि यसले मुक्ति दिन्छ । त्यस्तै महीको नियमित सेवन गर्दा आन्द्रा र पेटसम्बन्धी रोगको जोखिम न्यून गराउँछ,’ उनी भन्छिन् ।

महीको सेवनले झाडापखाला, कब्जियत र पायल्सको समस्या स्वतः समाधान हुने उनको भनाइ छ । महीले मुटुको रोग, उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्नुका साथै यस्तै कोलेस्टेरोल र मुटुसम्बन्धी समस्यामा पनि मही फाइदाजनक उनी बताउँछिन्‌ ।

सामान्यतयाः गाउँघरमा बनाएको मही २–३ दिनसम्मका स्वास्थ्यवर्द्धक मानिन्छ । त्यसपछि अमिलो हुने सम्भावना हुन्छ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ८ : २८ बजे

मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै

बाँके – मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख

इन्द्रपुर नमुना विद्यालयलाई ‘आइएसओ सर्टिफिकेट’

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा १२ मा रहेको इन्द्रपुर नमुना माध्यमिक

बागमतीको मुहानस्थल बाग्द्वारमा सफाइ

काठमाडौं – बागमती सफाइ महाअभियान सुरू भएको १२ वर्षपछि नदीको

कांग्रेस सत्ताको पछि लाग्दैन : पूर्णबहादुर खड्का

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको

 कोशीको बजेट ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण केन्द्रीत

विराटनगर ।  ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण गर्ने अठोटसहित