मधेस सरकार हाँक्न जनमत ढुक्क, लोसपा र एकीकृत समाजवादी कता ? | Khabarhub Khabarhub

मधेस सरकार हाँक्न जनमत ढुक्क, लोसपा र एकीकृत समाजवादी कता ?

केन्द्रीय सत्ता गठबन्धन समाजवादीको महाधिवेशनसम्म सुरक्षित



काठमाडौं – मधेस प्रदेशमा आफ्नो पक्षको सरकार बन्नेमा डा. सिके राउत नेतृत्वको जनमत पार्टी ढुक्क देखिएको छ । सो पार्टीका प्रवक्ता शरदसिंह यादवले आफ्नो पार्टी नेतृत्वमै प्रदेश सरकार बन्नेमा कुनै दोधार नभएको बताएका छन्‌ ।

खबरहबसँग कुराकानी गर्दै यादवले भने, ‘हामी लोसपा र एकीकृत समाजवादीका साथीहरूसँग छलफलमा छौँ । एकीकृत समाजवादीले हामीलाई साथ दिने कुरामा दुई मत छैन । लोसपाका साथीहरू पनि हामीलाई सहयोग गर्न सकारात्मक हुनुहुन्छ ।’

डा. राउतले लोसपा अध्यक्ष महन्त ठाकुरलाई बिहीबार भेटेर मधेस सरकार गठनमा सहयोग मागेका थिए । पार्टी कार्यालयमै पुगेर सहयोग मागेको कुरा लोसपा महासचिव मनिष मिश्रले पनि पुष्टि गरे । तर, पार्टीले कुनै निर्णय नगरेको उनले बताए ।

मधेशमा २५ प्रदेश सांसदसहित एमाले पहिलो दल हो । प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ८, माओवादीका ९ र एकीकृत समाजवादीका ७ सदस्य छन् । लोसपाका ९ सांसदमध्ये १ जनाअभिराम शर्मा निलब्ति छन् । राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको १–१ जना सांसद छन् ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ । यहाँ एमाले, जनमत, लोसपा, एकीकृत समाजवादी र माओवादी मिल्दा बहुमतको सरकार बन्छ । यसका लागि नै डा. राउतको पार्टीले प्रधानमन्त्रीलाई चौथो पटक विश्वासको मत दिएको त्यस बेला जनमतका नेताहरूले बताएका थिए ।

माधवले देउवालाई भेटेपछि…
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशकेन्द्रित दलका नेताहरूलाई गत बुधबार बालुवाटारमा बोलाएका थिए । रौतहट गृहजिल्ला भएका समाजवादी अध्यक्ष माधवकुमार नेपाल पनि सो बैठकमा सहभागी भए ।

सभापति देउवा निवास बूढानीलकण्ठमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर पुगेका थिए । उनले जसपाका यादवलाई सहयोग गरेर मधेसमा सरकार बनाउन पहल गर्न भनेका थिए ।

जसपा अध्यक्ष यादवले पनि मधेसमा आफूलाई सहयोग गर्न ठाकुर र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सहयोग याचना गरे । तर, नेपाल र ठाकुर यादवलाई तत्काल सहयोग गर्ने पक्षमा देखिएनन्‌ ।

यसबारे नेपालसँगै बूढानीलकण्ठ पुगेका एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले खबरहबलाई भने, ‘उपेन्द्रजीले सहयोग माग्नुभएको हो । तर, अध्यक्षज्यू (माधवकुमार नेपाल)ले आफूहरू सत्ता गठबन्धनमा रहेकाले तत्काल सहयोग गर्न नसक्ने भन्नुभयो ।’

लगत्तै शुक्रबार एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटघाट भएको थियो ।

ओली र प्रधानमन्त्री दाहालले नेपालसँग बूढानीलकण्ठमा देउवासँग भएको भेटबारे चासो राखेका थिए । तर, नेपालले निर्वाचनका बेला सँगै सहयात्रा गरेको दल भएका कारण देउवाले भेट्न बोलाउँदा गएको बताएका थिए ।

नेता नेपालको सचिवालयका अनुसार देउवाले भेट्न बोलाउँदा ओली र प्रधानमन्त्रीलाई सोधेर जाने कुरा नभएको पनि नेपालले प्रतिक्रिया दिएका थिए । त्यसपछि ओली र प्रधानमन्त्रीले समीकरणमा विश्वासको वातावरण आवश्यक हुनुपर्ने बताएका थिए ।

यता नेपालले ठट्यौली पारामा ‘विश्वास नभए उहिल्यै गठबन्धनबाट निस्किएर जान्थें, विश्वास भएकै कारण सरकारलाई समर्थन गरिरहेको छु नि !’ भनेका थिए । उनले भोलिका दिनमा पनि दाहाल र ओलीले विश्वास कायम राख्नुपर्ने समेत बताएका थिए ।

उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरू पनि मलाई शंका गर्ने वातावरणमा नपार्नुहोस् । म पनि पार्दिनँ । भोलिका दिनमा विश्वास रहेन भने सहकार्यमा पनि बाधा पुग्छ । दाहालजीले त मलाई पटक–पटक धोका दिइरहनु भएको छ ।’

यादवको जिकिर : मधेशमा हाम्रै सरकार !
यता जसपा अध्यक्ष यादव मधेसका आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकार सुरक्षित भएको जिकिर गर्छन्‌ । खबरहबसँग उनले भने, ‘हामी मधेसमा सुरक्षित छौँ । केन्द्रको गठबन्धन पनि केही महिनामा ढल्छ, हामी विपक्षीले ढाल्नु पर्दैन ।’

माधव नेपाल कांग्रेससँग नजिकिँदा झलनाथ रुष्ट, महाधिवेशनको मुखमा बढ्दै किचलो

लोकतान्त्रिक समाजवादीका नेता सुरेन्द्र झाको भनाइअनुसार उपेन्द्रले महन्तलाई पहिला पनि पटकपटक धोका दिएकाले महन्त उपेन्द्रलाई सहयोग गर्ने पक्षमा छैनन् ।

मधेशमा जसपा नेतृत्वको सरकार टिकाउन उपेन्द्रलाई महन्तको समर्थन अत्यावश्यक हो । पार्टी विभाजन पछि अशोक राई नेतृत्वको जसपालाई प्रधानमन्त्रीले स्पेस दिएपछि ओली र प्रचण्डसँग यादव रुष्ट छन् ।

सिकेको चाल, महन्थको बार्गेनिङ
जसपा विभाजनपछि मधेशमा हातमा आएको सरकार नगुमाउने र कुरा नभड्काउने मनसाय साथ सिकेले राजनीतिक चाल चलेका थिए । जेठ १७ गते मधेस सरकारको नेतृत्व लिन जनमत पार्टीले विज्ञप्ति सार्वजनिक गरेको थियो ।

डा. राउतले ५ दलबीच मधेस प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउने गरी दलबीच सहमति भएको भन्दै सहमति पत्र सार्वजनिक गरेका थिए । सो पत्र सार्वजनिक गरेर एक कार्यक्रम उद्घाटन गर्न डा. राउत संयुक्त राज्य अमेरिकाको वाशिङटन डिसीतर्फ उडिसकेका छन्‌ ।

कसको पोल्टामा जाला मधेश सरकार ? दलहरुबीच तानातान

उनले पाँच दलीय गठबन्धनमा लोसपा र एकीकृत समाजवादी पनि जोडिएको उल्लेख गरे पनि सो पत्रमा दुवै दलको हस्ताक्षर भने छैन ।

यसबारे दुवै पार्टीका नेताहरू अहिले छलफल चलिरहेको बताउँछन् । लोसपामा महन्त निकट नेताले भने, ‘उहाँहरूलाई कस्तो सहयोग गर्ने भन्नेबारे हामी छलफलमा छौँ । नयाँ साथीहरूलाई झ्याप्पै सहयोग गर्न मिलेन ।’

महन्थ ठाकुर नेतृत्वको लोसपाले मधेश प्रदेशको सत्तालाई समर्थन दिन सिके र उपेन्द्रसँग विभिन्न विषयमा बार्गेनिङ गरिरहेको स्रोतहरूको दाबी छ । ठाकुरले माधवले प्रचण्ड र ओलीलाई घुकाइरहेको बताइन्छ ।

उपेन्द्रलाई छैन सहज
केन्द्रीय गठबन्धनमा कुनै नाटकीय परिवर्तन नआए मधेसमा जनमतकै सरकार बन्ने अवस्था बन्दैछ । सिकेलाई ओली र दाहालले दरिलो साथ दिएका छन् । जनमतका अध्यक्ष उपेन्द्रको प्रतिस्पर्धी रहेका सिकेलाई अझ एमाले अध्यक्ष ओलीले रुचाएका छन् ।

यता लोसपा नेता ठाकुर पनि उपेन्द्रले गरेका पहिलेका घातहरूको घाउ आलो भएकाले उपेन्द्रलाई भन्दा जनमतलाई साथ दिने पक्षमा रहेका उनीनिकट स्रोत बताउँछ ।

एकीकृत समाजवादी पार्टी पछिल्ला केही घटनाक्रमका कारण उपेन्द्रसँग नजिक भएको बताइए पनि केन्द्रीय गठबन्धनमा रहेकाले मधेशमा जसपालाई साथ दिने पक्षमा नभएको देखिन्छ ।

तर, नेपालले गठबन्धनमा अपमानित भएको भनी गुनासो गरिरहेकाले यसै भन्न सकिने अवस्था भने छैन । नेता झलनाथ खनालले चाहिँ वर्तमान सत्ता गठबन्धनको विकल्प नभएकाले यसैले निरन्तरता पाउने बताइरहेका छन् ।

यता जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव जेठ २३ गते विश्वासको मत लिने तयारीमा छन् । गत वैशाख ३० मा एमाले र माओवादीले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले जेठ २९ सम्म विश्वासको मत लिइसक्नु संवैधानिक बाध्यता छ ।

तर, त्यो भन्दा अगाडि नै केन्द्रको गठबन्धन अनुसार नयाँ सरकार बन्ने एमाले मधेस संसदीय दलका नेता सरोज यादव बताउँछन् । उनले खबरहबलाई भने, ‘छिटै केन्द्रको सर्त अनुसार नयाँ सरकार बन्छ । जनमतको सरकार ढलिसकेको छ । सरोजकुमारले ठाउँ मात्र ओगटेर बसिरहनु भयो ।’

माओवादी नेता भरतप्रसाद साह पनि बिहीबार बसेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीको बैठकले जनमत पार्टीक
नेतृत्वमा सरकार बनाउने सहमति गरेको बताउँछन् ।

मधेशमा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन ३० वैशाखमा फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले अहिलेसम्म विश्वासको मत लिएका छैनन्‌ ।

तर, मधेस प्रदेश सरकार टिकाउन नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को सहयोग लिने प्रयासमा काँग्रेसले गृहकार्य गरिरहेको देउवा निकट नेताहरू बताउँछन् ।

समाजवादीको महाधिवेशनसम्म केन्द्रीय सत्ता गठबन्धन ढुक्क
नेपालको बूढानीलकण्ठ दौड र शीर्ष नेताबीच सिंहदरबारमा विश्वासबारे कुरा भएपछि सत्ता गठबन्धन टिक्ने/नटिक्नेबारे संशय पैदा भएको थियो ।

समाजवादीका नेता प्रकाश ज्वालाले भने, ‘हामी असारमा हुने पार्टी महाधिवेशनको तयारीमा छौं, सरकार परिवर्तनबारे कुनै छलफल भएको छैन ।’

एकीकृत समाजवादीको १०औं महाधिवेशन असार १६ देखि २० सम्म काठमाडौंमा हुँदैछ । महाधिवेशन अघि सत्ता समीकरण परिवर्तन गर्ने मनसायमा नेताहरू नभएको देखिएको हो ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ३ : ०३ बजे

केजरीवाललाई ठूलो राहत,अदालतले दियो जमानत

काठमाडौं – मदिरा घोटाला प्रकरण पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द

धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्न रास्वप सांसद् ढकालको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा काठमाडौं प्रहरीमा जाहेरी

काठमाडौं- उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत

रक्षा सहकार्यलाई निरन्तरता दिन भारत र इटाली सहमत

काठमाडौं – रक्षा सहकार्यलाई निरन्तरता दिने विषयमा भारत र इटाली

आजका समाचार : संसद्‌मा आफूलाई हेपेको प्रधानमन्त्रीको गुनासो, जीबीलाई मलेसियाबाट ल्याउने गृहमन्त्रीको दाबी 

प्रतिनिधि सभामा बैठक  प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा आफ्नो अवमूल्यन भएको