एमालेसँग सजिलै भागबन्डा गरेको कांग्रेसलाई गुट मिलाउन ‘महाभारत’ | Khabarhub Khabarhub

कोशी

एमालेसँग सजिलै भागबन्डा गरेको कांग्रेसलाई गुट मिलाउन ‘महाभारत’

कोशीमा पूर्वमुख्यमन्त्रीबाहेक कांग्रेसका २७ सांसद मन्त्रीको दौडमा



विराटनगर– कोशी प्रदेशमा नेकपा (एमाले)ले नेतृत्व गरेको सरकारमा नेपाली कांग्रेस सहभागी हुन लागेको छ । तर, गुटगत विवादका कारण सरकारमा जाने प्रदेशसभा सदस्यहरूको नाम टुङ्गो लगाउनै सकस भएको नेताहरूले बताएका छन्‌ ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै कोशी प्रदेश सरकारबाट गत साउन ११ गते नेकपा (माओवादी केन्द्र) बाहिरिएको थियो । त्यसअघि प्रदेशमा पनि केन्द्रकै साविक सत्तारुढ माओवादी र कांग्रेस गठजोडको सरकार थियो ।

नयाँ सत्ता गठजोड गरेका एमाले र कांग्रेसबीच चार-चार मन्त्रालय भागबण्डा गर्ने सहमति भइसकेको छ ।

माओवादीले साउन ११ सम्म सम्हालेका भौतिक पूर्वाधार विकास, स्वास्थ्य र पर्यटन वन तथा वातावरण गरी ३ मन्त्रालय अहिले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको जिम्मामा छन्। कार्की एमालेका तर्फबाट मुख्यमन्त्री भएका हुन्‌ ।

तर, कांग्रेसले ती तीन मन्त्रालयसँगै थप एउटा मागेर मन्त्री पठाउन सकेको छैन । सहमतिअनुसार ४ वटा मन्त्रालयको नेतृत्व गर्न कांग्रेसले थप अर्थात्‌ उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकासमध्ये एक छान्नुपर्ने हुन्छ ।

भाग मिलाउन एमालेसँग सजिलो, पार्टीभित्रै अप्ठेरो

नयाँ सत्ता सहयात्री एमालेसँग प्रदेश सरकारमा मन्त्रालय भागबण्डा सहजै टुङ्गयाए पनि कांग्रेसलाई आफनै दलभित्र चाहिँ भागबण्डा मिलाउन सकस परिरहेको छ ।

माओवादी सरकारबाट बाहिरिएको एक साता बित्न लाग्दा पनि गुटगत विवादका कारण प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नाम टुङ्ग्याउनेबारे पार्टी अनिर्णित अवस्थामा  छ ।

‘सांसद् भएपछि मन्त्रीको आकाङ्क्षा राख्नु स्वाभाविक हो,’ कांग्रेस नेता एवम्‌ पूर्वमुख्यमन्त्री केदार कार्की भन्छन्‌, ‘केन्द्रीय समितिबाट प्याकेजमै सबै प्रदेशको मन्त्री छनोट गर्ने तयारीले केही दिन ढिला भएको हो। यो बिषय चाँडै टुङ्गिन्छ ।’

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको विषयमा निर्णय गर्न सोमबार बिहान महाराजगञ्जमा कांग्रेस केन्द्रीय पदाधिकारीको बैठक बसेको थियो । त्यसपछि पनि पटक-पटक समितिको बैठक बसे पनि बिनानिष्कर्ष टुङ्गिएको का‍ंग्रेस नेताहरूले बताएका छन्‌ ।

नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठक सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा बसेको थियो । उक्त बैठकले एमालेको नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुने लगायतका निर्णय गरेको थियो ।

हिक्मतकुमार कार्की नेतृत्वको सरकारसँग समन्वय गरेर अगाडि बढ्न संसदीय दललाई निर्देशन दिने निर्णय पनि कार्यसम्पादन समिति बैठकले गरेको छ ।

दुई पूर्वमुख्यमन्त्रीबाहेक सबै दौडमा

कोशी प्रदेश सभामा नेपाली कांग्रेसका २९ सांसद्‌ छन्‌ । २९ मध्ये २७ जना मन्त्रीमा दाबी गरिरहेको छन् ।

उनीहरूले आफूलाई मन्त्री बनाउन निकट नेतामाथि दबाब बढाइरहेका छन् । कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता रहेको उद्धव थापा र नेता केदार कार्की यसअघि नै मुख्यमन्त्री भएकाले उनीहरूबाहेक सबै सांसद्‌ मन्त्रीका आंकाक्षी रहेका कांग्रेसका प्रदेश उपसभापति रमेशजङ्ग रायमाझीले बताए । उनले भने, ‘राज्यमन्त्रीसमेत गरी ४ देखि ६ जनासम्म सरकारमा जाने सम्भावना छ ।’

रायमाझीले प्रदेश कार्यसम्पादन समितिले गरेको निर्णयको आधारमा दलका नेता उद्धव थापा र मुख्यमन्त्री कार्की काठमाडौं गएर शीर्ष नेतासँग छलफल गरेपछि मन्त्रिमण्डल विस्तार हुने बताए ।

‘यहाँका मुख्यमन्त्री र हाम्रो दलका नेताले काठमाडौँमा गएर नेतृत्वसँग छलफल गर्नुहोला,’ रायमाझीले भने, ‘गण्डकीको मुख्यमन्त्री पनि उपचार गराउन भारत जानुभएको छ । सुदूरपश्चिममा पनि अन्योल रहेको कारणले तीनैवटा प्रदेशको एकैपटक सक्ने भन्ने भएको छ । अब अझै ५–७ दिन लाग्न सक्ने देखिएको छ ।’

यसरी हुँदैछ गुटगत भागबण्डा

कोशी प्रदेशमा कांग्रेसको भागमा चार मन्त्रालय परेका छन् । यद्यपि मन्त्री आकांक्षी धेरै देखिएपछि गुटगत रूपमै मिलाउने प्रयासमा नेतृत्व लागिपरेको छ ।

कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुईजना, डा. शेखर कोइराला गुटबाट एक जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जना मन्त्री बनाउने गरी छलफल भइरहेको एक नेताले बताए ।

ती नेताका अनुसार देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदीपकुमार सुनुवार र सांसद्‌ खगेनसिं हाङ्गाम मन्त्रीका दाबेदार हुन्‌ ।

कार्की अघिल्लो प्रदेश सभाको कार्यकालमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए । सुनुवार प्रदेश सभाको यही कार्यकालमा तीनपटक मन्त्री भइसकेका छन् । हाङ्गामले भने लाभको पद लिएका छैनन्।

उता, कोइराला गुटबाट मोरङका मानबहादुर लिम्बू, उदयपुरका रामकुमार खत्री र इलामका गोविन्द गिरीमध्ये दुईजना मन्त्री हुने पक्कापक्की रहेको ती नेताले बताए ।

कांग्रेसका प्रदेश नेताहरूका अनुसार लिम्बू चाहिँ कोइराला गुटमा पनि सुनील शर्मानिकट नेता हुन्‌ । उदयपुरका खत्री दुईपटक मन्त्री बनेका छन् । केदार कार्की नेतृत्वको सरकारमा उनी उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका थिए । इलामका गिरी नयाँ हुन् ।

यस्तै नेता सिटौला समूहबाट मन्त्री बन्ने लाइनमा कांग्रेस केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुली र खोटाङका भुपेन्द्र राईमध्ये एक छन् ।

कोशी प्रदेश कांग्रेस कार्यसम्पादन समितिको बैठकले लैङ्गिक र समावेशीतालाई ख्याल गरेर मन्त्री बनाउने निर्णय गरिसकेको छ । तर अहिले मन्त्री बन्न चर्चामा रहेकामा कोही पनि महिला छैनन् ।

संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेश सभाबाट कार्की तेस्रो पटक वैशाख २७ गते मुख्यमन्त्री बनेका हुन् । गत असार १७ गते नयाँ गठबन्धन (एमाले-कांग्रेस) बनेसँगै असार ३० गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन् । त्यहीअनुसार कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी हुँदैछ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ६ : १७ बजे

संविधानको पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी

संविधानले नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार सन्