५ नोभेम्बरमा अमेरिकीले जो बाइडेनको उत्तराधिकारी चयन गर्नेछन्। यस पटकको निर्वाचनमा डेमोक्र्याटको तर्फबाट कमला ह्यारिस र रिपब्लिकको तर्फबाट डोनाल्ड ट्रम्प मैदानमा छन्। जमैकाका बाबु तथा भारतीय आमाकी छोरी ह्यारिसको उम्मेदवारी विविध कारणले चर्चामा छ। डेमोक्र्याटले जो बाइडेनलाई उम्मेदवार चयन गरिसकेपछि उम्मेदवारी त्याग गरेका कारण ह्यारिस उम्मेदवार भएकी हुन्।
संसारको अर्को शक्ति बेलायतमा पनि ठ्याक्कै त्यस्तै त होइन। तर मिल्दोजुल्दो घटना भएको थियो। २५ अक्टोबर २०२२ का दिन ऋषि सुनक बेलायतका प्रधानमन्त्री भएका थिए। कन्जरभेटिभ पार्टीका सुनक पनि सो पोर्टीका नेतृ तथा तत्कालीन प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएपछि प्रधानमन्त्री भएका हुन्।
मानिसको योग्यता र दक्षतालाई विश्वास गर्ने शक्तिशाली देशका यी केही उदाहरण हुन्। यहाँका नागरिकले आप्रवासी मूलका नागरिकलाई सहजै देशको नेतृत्वको रूपमा स्वीकार गरेका छन्।
सुनकको कार्यकाल भने लामो समय रहेन। सन् २०२४ को निर्वाचनमा लेबर पार्टीले जित हात पारेपछि उनको कार्यकाल सकिएको थियो। सुनकको कार्यकाललाई बेलायती मतदाताले कसरी हेरे थाहा छैन। तर सिङ्गो कन्जरभेटिभ कार्यकाललाई भने सकारात्मक रूपले नहेरेको पछिल्लो निर्वाचनले प्रष्ट पारेको थियो।
सुनकका आमा र बाबु दुवै पूर्वी अफ्रिकाबाट बेलायत गएका थिए। उनीहरू दुवै भारतीय मूलका हुन्। सुनकले संसदमा समेत गीता छोएर शपथ लिएका थिए।
अमेरिकी इतिहासकै कुरा गर्दा ह्यारिसले जित हात पारेमा ४७ औं राष्ट्रपति हुनेछिन्। १५ औं शताब्दीका क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाउँदा पक्कै पनि अहिलेको जस्तो विशाल अमेरिका पत्ता लगाएका थिएनन्। सन् १४९२ र ९३ को समयमा युरापेलीको चासो सुन लगायत गहनामा मात्र केन्द्रित थिएन। नयाँ बाटो, नयाँ जमिन तथा आफूले दास बनाउनकै लागि मानिसको खोजी समेत भएको इतिहास छ। खासमा युरापेलीको यो खोज क्यारेबियन क्षेत्र तथा एटलान्टिक महासागरको सेरोफेरोमा बढी थियो।
१७८९ को ३० अप्रिलका दिन जर्ज वासिङ्टनले न्यूयोर्कको वाल स्ट्रिटको बल्कोने हलमा बसेर राष्ट्रपति पदको शपथ लिएका थिए। त्यसको तेस्रो शताब्दीमा आइपुग्दा सोही देश संसारको आकर्षण मात्र होइन सुपर पावर भएको कुरा नकार्न मिल्दैन। यसमा त्यहाँको शासकीय दक्षता र प्रतिबद्धता नै पक्कै प्रमुख कारण हो।
यसरी दक्षताकै आधारमा अघि बढेको अमेरिकामा देशको नेतृत्व चयनमा व्यक्तिको वंशजको कुराले कमै प्राथमिकता पाए। यसै कारण कुनै पनि मूलका योग्य व्यक्तिले अमेरिकाको नेतृत्व गर्ने अवसर विगतदेखि नै पाउँदै आएका छन्।
अहिले राष्ट्रपति उम्मेदवार बनेकी ह्यारिस मात्र होइन डोनाल्ड ट्रम्पको पनि धेरै पूर्खा अमेरिकामा बिताएको छैन।
एक जर्मन कपाल काट्ने १६ वर्षीय युवा फ्रेडरिक ट्रम्प सन् १८८५ को ७ अक्टोबरका दिन आफ्नो देश छाड्ने निर्णयमा पुगेका थिए। जर्मनमा तीन वर्षे अनिवार्य सैनिक सेवाको नियम चित्त नबुझे पनि उनी अमेरिका हुइँकिएका थिए। त्यो समयमा अहिलेको जस्तो आप्रवासीका लागि कठोर नियम जर्मनीमा थिएन। तीनै जर्मन युवाका नाति डोनाल्ड ट्रम्प एक शताब्दी भन्दा अलि समयपछि अमेरिकाको ४७ औं राष्ट्रपति भए।
उनको परिवारले भने बारम्बार स्विडेनी आप्रवासी भएको दाबी गरेको थियो। तर इतिहासमा जर्मन पृष्ठभूमि उल्लेख छ। फ्रेडरिक अमेरिका गएको समयमा जर्मन छाड्नेको लस्कर नै थियो। त्यस समयमा मात्र १० लाख जर्मनले अमेरिका रोजेका थिए।
अमेरिकी राष्ट्रपतिको इतिहासलाई हेर्ने हो भने बाराक ओबामा भन्दा अघि युरोपेली पृष्ठभूमि भन्दा बाहेकका आप्रवासी मूलका राष्ट्रपति भएका थिएनन्।
ओबामाको पारिवारिक पृष्ठभूमि अझ अचम्मको छ। १९६१ को फेब्रुअरी २ का दिन दुई परिवारको विरोधका बाबजुद बाराक हुसेन ओबामा सिनियरले २३ वर्षको उमेरमा स्टेन्ली अल डुनहानसँग विवाह गरेका थिए। ओबामा अध्ययनकै लागि केन्या छाडेर अमेरिका पुगेका थिए। यसै जोडीबाट जन्मिएका बाराक हुसेन ओबामा अमेरिकाका पूर्व राष्ट्रपति हुन्। आप्रवासीको प्रभाव रहेको अमेरिकामा युरोप भन्दा बाहिरका आप्रवासीको नेतृत्व रहेको यो घटना आफैमा एउटा कीर्तिमान थियो।
बाबु ओबामा र अल डुनहानको बिचमा सम्बन्ध बिग्रिएपछि छोरा ओबामाले आमा र मावलीका अभिभावकको हेरचाहमा बाल्यकाल बिताएका थिए। त्यही स्थानीय इन्डोनेसियाली स्कुलमा अध्ययन गरेका ओबामा सन् १९७१ मा हजुरबा हजुरआमासँग हवाई फर्किएका थिए।
सन् २००८ मा अमेरिकाको राष्ट्रपति निर्वाचित भएको १०० दिनमा न्यायिक तलब सम्बन्धी विधेयक र अमेरिकन रिकभरी एन्ड रिइन्भेस्टमेन्ट विधेयक प्रमुख मानिन्छन्। अहिले ओबामा पार्टीबाट उम्मेदवार भएकी ह्यारिसको पारिवारिक पृष्ठभूमि पनि ओबामासँग धेरै हदसम्म मिल्दो जुल्दो छ।
आफ्नो सपनालाई साकार रूप दिन अमेरिका पुगेका जमैकाका डोनाल्ड जे ह्यारिस र भारतकी डा. श्यामला गोपलानका लागि त कमलाको जीवनको सफलता सपना जस्तै हुनसक्छ। संसारको विपरीत ध्रुवबाट आएका यी दुईले ६२ वर्षअघि युनिभर्सिटी अफ क्यालिफोर्नियामा भेटेका थिए। यी दुईको अध्ययनको विषय नागरिक अधिकार थियो।
सन् १९६२ मा भेटेका उनीहरूले सन् १९६३ मा विवाह गरेका थिए। सन् १९६४ मा कमलाको जन्म भएको थियो। आमाले नै उनको भारतीय नाम चयन गरेकी थिइन्। सन् १९६७ मा कमलाकी बहिनी माया ह्यारिसको जन्म भएको थियो। सन् १९७२ मा यिनीहरूको पनि सम्बन्ध विच्छेद भएको थियो। आमाबाट हुर्काइएकी कमला सानैमा भारतमा पनि आएकी थिइन्।
उनी मन्दिर र चर्च दुवै उत्तिकै पुज्ने व्यक्ति समेत हुन्। दुःखको कुरा महिलामा बढ्दै गएको स्तन क्यान्सरको बारे अध्ययन गरिरहेकी श्यमलाको भने सन् २००९ मा क्यान्सरकै कारण निधन भएको थियो। कमलाले उपराष्ट्रपतिमा निर्वाचित भएपछि सफलताको श्रेय आफ्नो आमालाई दिएकी थिइन्।
उनले आमाले आफू र बहिनीले सबै मूल्य र मान्यताको कुरा सिकाएको समेत बताएकी छिन्। सुनक र ओबामासँग धेरै मिल्दोजुल्दो ह्यारिस सफल या असफल हुने विषयलाई संसारले हेरिरहेको छ। ५ नोभेम्बरमा नै यस कुराको टुङ्गो अमेरिकीले लगाउने छन्।
अमेरिकामा क्यारियर रोज्न गएकाहरूका सन्तानले पाएको यो सफलता र उपलब्धि त छदै छ। खासमा प्रविधिको क्षेत्रमा भारतीयको उपस्थिति बेजोड नै छ। यस बेजोड उपस्थितिमा कार्यकारीको रूपमा माइक्रोसफ्टको नेतृत्व गरेका सत्य निदेई तथा अल्फाबेटको नेतृत्व गरी सकेका सुन्दर पिछाइ छन्।
एप्पलका भाइस प्रेसिडेन्ट सिभइ खान अर्का उदाहरण हुन् भने भिडियाका कार्यकारी भाइस प्रेसिडेन्ट जय पुरी अर्का उदाहरण हुन्। टेस्लाका वरिष्ठ वित्तीय अधिकृत वैभव तेनजा तथा गुगलका सियिनर भाइस प्रेसिडेन्ट प्रभाकार राघवन प्रविधिको दुनियाँ हाँक्ने नाम हुन्।
खेलकुद, वित्त, प्रशासन, विज्ञान र प्रविधिमा आप्रवासी मूलका व्यक्तिको यो बेजोड उपस्थितिमा ह्यारिस जितेमा राजनीतिमा समेत थप चर्चाको विषय हुनसक्ने छ।
स्रोत : बिबिसी, इकोनोमिक्स टाइम्स, टाइम्स अफ इन्डिया, पोलिटिको, पिपल डटकम र हिस्ट्री डटकम
प्रतिक्रिया