काठमाडौं- कतिपय मानिसको आरोप छ– मिडियाले आँशुको व्यापार गर्छन् । पीडितको कथा–व्यथाका विषयमा समाचार बन्यो भने त्यसलाई ‘आँशुको व्यापार’ गरेको आरोप लगाउने गरिन्छ ।
तर, के आमसञ्चारले काठमाडौं केन्द्रित नेताहरुको भाषणका पछाडि मात्र दौडनुपर्ने हो त ? भुइँमान्छेका दुःखका कथाहरु मिडियामा समेटिनुपर्ने होइन र ? यो बहस ‘अडियन्स’लाई छाडिदिऊँ ।
जब आवाजविहीन भुइँमान्छेहरु सरकार वा राज्यले आफ्नो दुःख सुनिदेओस् भन्दै सडकमा आइपुग्छन्, तिनको आवाजलाई सरकारका कानसम्म पुग्ने गरी ‘कभरेज’ गर्नु मिडियाको धर्म हो ।
यतिबेला देशका दुई ठूला दल काँग्रेस र एमालेको गठबन्धन सरकार चलिरहेको छ । नागरिकका समस्या समाधान गर्न र समृद्धि हासिल गर्न भन्दै ठूला दलले मिलेर सरकार बनाएका छन् । तैपनि, कांग्रेस–एमालेको शासनमा समेत माइतीघर र शान्तिबाटिकामा शान्ति देखिएको छैन ।
माइतीघर मण्डला र रत्नपार्कको शान्तिबाटिकाबाट टिपिएका केही ‘आँशुका कथा’ यस्ता छन्–
गाउँबाट शहर, शहरबाट सडक !
देशभरका महिला दिदीबहिनीलाई तीज लागेको छ । मिठो खाने र राम्रो लगाउने महोत्सव चलिरहेको छ । शहरदेखि गाउँसम्म दिदीबहिनीहरु नाचगान र खानपिनमा झुमिरहेका छन् । चेलिबेटीहरु माइत जाने दिन गन्दैछन् । तर, बाजुराकी जोना लोहाको ‘माइतीघर’ चाहिँ सिंहदरबार नजिकैको सार्वजनिक सडक बन्न पुगेको छ ।
खबरहबकर्मी माइतीघर मण्डलामा पुग्दा त्यहाँ अनौठो दृश्य देखियो । एक अधबैंसे महिला काखमा बच्चा लिएर ब्यानर अगाडि बसेकी थिइन् । प्रहरीले भने उनको ब्यानर तान्दै त्यहाँ नबस्न भनिरहेको थियो ।
खबरहबकर्मीले के भयो ? भनेर प्रश्न गरेपछि प्रहरीहरु हच्किए । प्रहरीले उनको ब्यानर खोसेर जाऊ भनिरहेको थियो । बालबालिका हेर्ने संस्था हुन्छ, त्यहाँ गएपछि हेर्दिन्छ भन्दै प्रहरीले सल्लाह दिइरहेको थियो।
बालबच्चासहित माइतीघरमा भेटिएकी उनी थिइन्– बाजुराकी जोना लोहा (४६) । परिवारको एकमात्र सहारा पति बिरामी भएपछि काम गर्न नसक्ने अवस्थामा पुगेपछि उनी सडकमा उत्रेकी रहिछन् ।
जोनाका पति विष्णु लोहा (४६) को पेटको शल्यक्रिया गर्नुपरेपछि उनी ज्याला मजदुरी गर्न नसक्ने भए । जोनाले भनिन्, ‘उहाँले ज्यामी काम गरेर परिवार पालेका थियौं । अहिले पेटको अप्रेसन गरेर काम गर्न नसक्ने भए ।’
उनका चार सन्तान रहेछन् । एक छोरा, तीन छोरी । जेठो सन्तानको उमेर १४ वर्ष, कान्छी ५ वर्ष । डेराको बसाई, ६ जनाको जहान । श्रीमान पेटेको बिरामी भएपछि परिवारको पेट पाल्नै समस्या भयो ।
‘गरीबलाई कहीँ पनि सुख छैन’ उनी भक्कानिइन्, ‘तड्पीतड्पी बाँच्नुपर्यो, मेरो दुःख बुझ्ने कोही भएन । साना बच्चाकी आमाले समय दिन सक्दिन भनेर भाँडा माझ्ने काम पनि पाइनँ ।’
अब उनको आक्रोश सरकारतिर सोझिएको छ, ‘सरकारले कि मारिदियोस्, कि पालिदियोस् । मलाई यहाँ प्रहरीले बस्न पनि दिएको छैन । स–साना बच्चाहरु लिएर आएकी छु । यहाँ बच्चाहरु आउने ठाउँ होइन भनेर प्रहरीले लखेटिरहेको छ।
उनले थपिन् , ‘एक हप्ता अगाडि छोराछोरी लिएर धर्ना बस्न आएँ, प्रहरीले बस्न दिएन । अरुले ब्यानर लिएर आऊ भनेर सल्लाह दिए । आज शुक्रबार दोस्रो पटक आएको हो ।’
जोनालाई माइतीघरमा धर्ना बस्ने ‘प्रक्रिया’ केही थाहा थिएन । अरुले सिकाएरै उनी माइतीघरको सडकमा आएकी हुन् । उनी भन्छिन्, ‘यहीँ बस्नेहरुले ब्यानरमा मागहरु लेखेर आउनू भनेर सिकाए । ब्यानर बनाइदिनेलाई पैसा तिर्नै बाँकी छ । उधारो ब्यानर बोकेर आएकी छु ।’
जोनालाई गरीबी र दुःखले कहिल्यै छाडेन । सानैदेखि ससुराबा साहुकोमा हलिया बसे । जग्गा जमिन भएका हलियाहरुले पैसा पाए तर आफ्ना श्रीमान् र ससुराले केही नपाएको बताउँदै उनी भन्छिन्, ‘ससुरा त मरेर गइसक्नुभयो । अरु सबै हलियाले पैसा पाए, हामीले पाएनौं ।’
उनी विरह पोख्छिन्, ‘गाउँमा सानो घर थियो, त्यो पनि भत्किएर बस्न नमिल्ने भयो । मामा माइजूहरु पनि यहीँ हुनुुहन्छ । उहाँहरुले नै ज्यामी काम गर्न पाइन्छ भन्नुभयो र काठमाडौं आएको हो । उहाँहरु पनि ज्यामी नै गर्नुहुन्छ । श्रीमानले सक्दासम्म गरेकै थिए । दुःख भए पनि खानै नपाएको अवस्था थिएन । अहिले मेरो परिवार के खाने भन्नेमा पुग्यो ।’
उनले गाउँ सम्झिइन् ‘गाउँमा ढुङगा फुटालेर काम गर्दा पनि खान पुगेन । हलो जोतेर पनि पुगेन । त्यही भएर शहर आएका हौं ।’
उनीहरुको परिवार काठमाडौं छिरेको चार वर्ष भएछ । ज्यामी काम गरेर भए पनि छोराछोरी पाल्ने भनेर आएको तर श्रीमानको स्वास्थ्यले साथ नदिएपछि सडकमा निस्कनु परेको उनको भनाइ छ । हाल उनको परिवार ललितपुरमा भाडामा बस्छ ।
जोनाले एक आँखाले देख्दिनन् । एउटा आँखाको सहाराले संसार नियालिरहेकी छन् । त्यो आँखा पनि मधुरो हुँदै गएकाले उनलाई थप चिन्ता लागेको छ । उनी भन्छिन्, ‘जिल्लामा न्याय पाइनँ, गाउँपालिकाबाट न्याय पाइनँ । हली र अपाङगताका लागि स्थानीय सरकारले दिन सक्ने केही छैन भने । अपाङगता कार्डसमेत दिएनन् ।’
कापी कलम किन्न मुस्किल भएपछि छोराछोरीको पढाइ छुटेको उनले जोनाले गुनासो गरिन् । उनी भन्छिन्, ‘ट्वाइलेट सफा गर्ने काम गर्न दिनू, छोराछोरीले खान पाएनन् भन्दा पनि कसैले काम नदिएपछि सडकमा आएँ । श्रीमान् र छोरा बिरामी छन्, म आफैं पनि पाठेघरमा समस्या छु, डाक्टरले अप्रेसन गर्नुपर्छ भनेको छ । सबैतिरबाट समस्यामा परेर सरकारसँग गुहार माग्न यहाँ आएकी हुँ ।’
शान्तिबाटिकामा सहकारी पीडितको गुनासो- पीडकलाई मात्र सिंहदरबार बोलाइयो
माइतीघरमा जस्तै रत्नपार्कस्थित शान्तिबाटिकामा पनि पीडितहरुको आन्दोलन महिनौदेखि जारी रहँदै आएको छ । त्यहाँ धर्नामा भेटिएका सहकारी पीडित अनुजविक्रम थापाले भने, ‘सरकारले बचतकर्ताको रकम फिर्ता गराउला भन्ने आशा मर्दै गएको छ । संसदीय छानविन समितिले पनि खासै आशा जगाउन सक्ने गरी काम गर्न सकेको देखिएन ।’
थापा भन्छन्, ‘जुन सहकारी संस्थाहरुको सम्पत्ति छ, त्यसलाई बैंकहरुले लिलामीमा लिएर जाने र अत्यन्त कम रकममा बिक्री गरेर धनाढ्यहरुलाई सम्पत्ति बुझाइदिने । समस्याग्रस्त सहकारीको सम्पत्ति खोजतलास गर्दा त्यो उनीहरुले सरकारी मूल्यमै किनेका हुन्छन् । चलनचल्तीको मूल्यमा किनेकाहरु नाफामा जान्छन् । हामी पीडितलाई दिँदा मूल्यांकन कम गरिन्छ, यो रोक्नुपर्छ ।’
‘संसदीय समितिले थुनामा रहेका पीडितलाई हिंदरबारमा बोलाएर वयान लिएको छ । सँगसँगै पीडितहरुको पनि बयान लिनुपर्यो’ धर्ना बसेका सहकारी पीडित भन्छन्, ‘पीडितको बयान कहिले लिने हो ? समितिले पैसा कसरी फिर्ता हुन्छ भनेर खाका दिनुपर्यो ।
पीडितहरुको रकम फिर्ता नगरेका सहकारी सञ्चालकहरुले डिपार्टमेन्ट स्टोर, अस्पताल लगायतमा पैसा लगानी गरेको आन्दोलनकारीको गुनासो छ । उनीहरु भन्छन्, ‘हाम्रै सम्पत्ति लिएर त्यो स्थापना गरेको हो । सरकारले १६ महिना अल्झाएर हामीलाई त्यो अवस्थामा पुर्यायो ।’
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका प्रवक्ता पुरुषोत्तम कार्कीले सहकारी पीडितको धैर्यता अब सकिएको बताए । उनले भने, ‘१६ महिना भयो सडकमा बसेको, जनताले देख्नुभएकै छ । सहकारी पीडितले मृत्युवरण गरिरहेका छन् । अब वार्ताबाट मात्रै न्याय पाइएला भन्ने लाग्न छोड्यो ।’
कार्की अगाडि भन्छन्, ‘संसदीय छानविन समितिले गरेको काम देखिएन । सभापति सूर्य थापाले यो काम सक्नुहुन्न । उहाँले प्रतिवेदन बुझाउनेबाहेक केही गर्नुहुन्न । यो सरकारसँग रौं बराबर आश छैन ।’
शान्तिबाटिकामा सहकारी पीडितको धर्ना सय दिन पूरा भएको छ । अहिले चलिरहेको तेस्रो चरणको धर्ना हो । पहिलो चरणको आन्दोलनबाट ०८० साउन ४ गते सम्झौता भएको थियो । जसमा ०८० चैतभित्र पीडितले न्याय पाउनेछन् भनिएको थियो । तत्कालीन मन्त्री रञ्जिता श्रेष्ठले वार्ताको पहल गरेकी थिइन् । तर, उनको मन्त्री पद गएसँगै सम्झौता पनि सकियो ।
पीडितहरुले प्रधानमन्त्रीलाई बुझाएको कार्यपत्रले पनि काम गरेन । योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वकमा सहकारीसम्बन्धी कार्यदल बन्यो, त्यसले पनि केही काम गरेन ।
दोस्रो चरणको धर्ना चैत १ देखि सुरु भयो । र्याली र अनसन भयो । समितिका अध्यक्ष कुशलबहादुर केसी आमरण अनसनमा बसे । अनसनको ८ औं दिनमा सहकारी मन्त्रालयमा समझदारी भयो । त्यो पनि कार्यान्वयन नभएपछि अहिले सहकारी पीडितहरुले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् ।
आरोपी मन्त्री बने, निर्मलाले न्याय पाइनन्
बाँकेको नेपालगञ्जमा हत्या गरिएकी निर्मला कुर्मीको परिवारका लागि न्यायको माग गर्दै सामाजिक अभियन्ता रुबी खान नेतृत्वको टोली पनि यतिबेला माइतीघरमा धर्नामा भेटियो ।
यो प्रकरणमा पीडितहरुले सडक आन्दोलन गरेको दुई सय दिन कटिसकेको छ । करिब डेढ वर्षदेखि निर्मलाको परिवार न्यायका लागि सडकमा छ ।
बाँकेको नेपालगञ्ज १७ कि निर्मला कुर्मीका श्रीमानको ०६२ मा मृत्यु भएको थियो । श्रीमानको मृत्युको चार वर्षपछि ०६६ मंसिरमा कुर्मीका दुई छोराको दश दिनको अन्तरालमा रहस्यमय मृत्यु भयो ।
श्रीमान र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मी (हाल लुम्बिनी प्रदेशका मन्त्री) ले लालपूर्जा र निर्मलाको नागरिकता लिएर गएको सामाजिक अभियन्ता रुबी खानको दाबी छ । त्यसपछि ०७५ मा निर्मला बेपत्ता भइन् । उनका नाममा रहेको घरजग्गा पनि अरुकै नाममा सारिएको भेटियो ।
अपहरणपछि निर्मलाको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरीसमेत परेको छ । तर, छानविन हुनुको साटो हाल आरोपी बादसाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् ।
कुर्मीको न्यायका लागि महिला अधिकार मञ्चकी रुबी खानसहितका पीडितले ०७८ असोजमा नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका थिए । हाल उनीहरु पाँचौ चरणको आन्दोलनमा छन् ।
रुबीले अहिलेको सरकार जनताका लागि नभएर कार्यकर्ताको बचाउका लागि बनेको बताइन् ।
उनले भनिन्, ‘उदाहरण हेर्नुस्, यहाँ सरकारसँग चार पटक वार्ता भयो । लिखित सहमति नै भएको छ । ०७८ मा पनि नेपाली कांग्रेसकै सरकार थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले छानविन समिति बनाएका थिए । प्रतिवेदन पनि आयो तर त्यो अहिलेसम्म सार्वजनिक गरिएको छैन । मुद्दासमेत अदातल पठाइएको छैन ।’
धर्नामा बसेका पीडित भन्छन्, ‘चारवटा सरकार आए, गए तर सहमति कार्यान्वयन हुन सकेन । उल्टै आरोपीलाई लुम्बिनी प्रदेशको मन्त्री बनाइएको छ । सरकारले कस्तोखालका घटनामा मात्रै न्याय दिने हो ?’
पीडित भन्छन्, ‘घामपानी सहेर बसिरहेका छौं, राज्यले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ । यसपटक कि न्याय लिएर जान्छौं, कि यहीँ माइतीघरमै प्राण त्याग गर्छौंं ।’
कसैलाई राजा चाहियो !
माइतीघर र शान्तिबाटिकामा धर्ना बस्नेहरुका आ-आफ्नै समस्या र व्यथा छन् । उनीहरु आफ्नो, परिवारको वा समुदायको हितका लागि धर्ना बसेका हुन् । तर, कतिपय मानिसचाहिँ आफ्नो चुल्हो बाल्ने समस्या नभए पनि वर्तमान व्यवस्थाको विरोध गर्दै राजतन्त्रको वकालतसहित माइतीघरमा बसेको भेटियो ।
यही लाममा भेटिइन् माया पाण्डे । उनी ‘राष्ट्रवादी अभियान’ को ब्यानरमुनि माइतीघर मण्डलामा धर्नामा भेटिइन् । राजा फर्काउने र हिन्दु राष्ट्र स्थापना गर्ने मागसहित राजावादीहरु माइतीघरमा धर्ना बसेको चार महिना भयो ।
मायाले भनिन्, ‘हामी यो तन्त्र खारेज गर्छौं । ९ वर्षसम्म बिजुली बत्तिको पैसा नतिरी बस्न पाइने दलालहरुको देश हो । म कसैले पठाएर आएकी होइन, मनदेखि यो तन्त्र हुँदैन भनेर आएकी हो ।’
‘दलितलाई खै ?’
माइतीघरको धर्नामा दलित अधिकारकर्मी उमेश सुनार पनि भेटिए । ‘दलितका लागि दलित अभियान’ का अभियन्ता सुनारले ‘दलितलाई खै ?’ भन्ने आन्दोलन थालेको बताए । राज्यका हरेक निकायमा संविधान प्रदत्त अधिकार अनुरुप तत् तत् निकायमा दलितहरुको सहभागिता हुनुपर्ने उनको भनाइ छ ।
सुनार भन्छन्, ‘राज्य व्यवस्थामा भएको अधिकारबाट दलितलाई वञ्चित गरियो भनेर खबरदारी गरिएको हो । देशको जनसंख्याको १४ प्रतिशत हिस्सा भएको दलितको सहभागिता मन्त्रिमण्डल, कूटनीतिक नियोगमा नहुनु दुःखलाग्दो कुरा हो ।’
सुनार भन्छन्, ‘हाम्रा छुट्टै मागहरु छैनन् । नयाँ कुरा लिएर पनि आएका छैनौं । साङलो लगाएर बसेको आज २४ औं दिन भयो । तर, सरकारका तर्फबाट वार्ताका लागि बोलाइएको छैन ।’
प्रतिक्रिया