पृथ्वीराजमार्गमा अलपत्र सवारी साधन र यात्रु । तस्बिरः रासस

देश/प्रदेश

बाढी र पहिरोपछिको राजमार्ग : दृष्य एक, पीडा अनेक

By खबरहब

October 01, 2024

मलेखु – सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ। तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ। कतै सडक पुरिएका छन् कतै भासिएका छन्।

त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो। एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाए। झण्डै दर्जन सवारीसाधनहअ क्षति पुग्यो।

झ्याप्ले खोला क्षेत्र आइतबार बेलुकादेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा-मुग्लिन खण्डमा पनि सोमबार बिहानदेखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने भइसकेको छैन।

राजमार्गको घुम्तीघुम्तीमा झरेको पहिरोले यात्रा जोखिमपूर्ण बनेको छ। चार दिनसम्म निरन्तर परेको वर्षापछि पाइलैपिच्छे झरेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट पूर्वपश्चिमका जिल्ला जाने सवारी छोड्नु अघि पहिरो पन्छाएर भ्याउने लक्ष्यसहित तीनै तहका सुरक्षा निकाय लागिरहेका बताउँदै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले छ सबै पहिरो सफा गरिसक्न अझ केही समय लाग्ने जानकारी दिए।

राजमार्गका विभिन्न क्षेत्रमा रोकिएका सवारीसाधन सोमबार बिहानदेखि काठमाडौँ प्रवेश गरेका छन्। काठमाडौँतर्फ जानका लागि चार दिनदेखि सडकमा रोकिएका सयौँ सवारीसाधनलाई दिनभर लगाएर प्रहरीले काठमाडौँ प्रवेश गराएको हो।

गल्छीबाट माथिल्लो क्षेत्रमा रहेका साना तथा हल्का सवारीसाधनलाई भने धार्के शीतापाइला सडकखण्डबाट काठमाडौँ प्रवेश गराइएको छ। अतिआवश्यकीय सामग्री (पशुचौपाया, दूधजन्य, मासुजन्य, तरकारी, खाद्यान्न) बोकेका सवारीसाधन र यात्रुवाहक बसलाई भने नौबिसे–नागढुङ्गा सडकखण्डको प्रयोग गरी काठमाडौँ प्रवेश गराइएको छ।

नबिग्रिने सामान बोकेका मालवाहक तथा ठूला लामो दूरीका सवारीलाई भने खुला स्थानमा सुरक्षित भएर बस्न सहजीकरण गरिएको प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। पहिरोको आसपासमा रोकिएर बसेका सवारीसाधनको सङ्ख्या धेरै भएकाले सोमबार दिनभर काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई काठमाडौँतर्फ रोकेर अलपत्र परेका सवारीको उद्धार गरिएको उनको भनाइ छ।

काठमाडौँबाट पूर्वपश्चिम जाने सवारीसाधनलाई सोमबार साँझदेखि मात्रै नागढुङ्गा नौबिसे सडकबाट छोडिएको छ।

राजमार्गको यात्रामा ढुक्क छैनन् चालक र यात्रु

सडकमाथि भित्ताबाट खसेका गेग्रान ढुङ्गा, नाली थुनिएर सडकमा बगेको पानी, पन्छाउँदै गरेको पहिराले साना सवारी र दुईपाङ्ग्रे सवारीलाई जोखिमपूर्ण छ। दुईपाङ्ग्रे सवारीलाई भने निकै कष्ट छ। निरन्तर पहिरा जाने क्रम रहेकाले पनि सवारी चालक र यात्रु यात्रामा ढुक्क छैनन्।

नुवाकोटको बाटो प्रयोग गरेर पृथ्वी राजमार्ग आइपुगेका चालकको अनुभव पनि फरक छ। सोमबार दिउँसो काठमाडौँबाट नुवाकोटको छहरे हुँदै धादिङ जाँदै गरेका सरकारी सवारीका चालक विजयराज गिरी ‘रोशन’ भन्छन्, “सवारीको चाप नहुँदा नुवाकोटको बाटो ठिकै होला तर, अहिले जोगिएर हिँड्नै मुस्किल छ।” पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालनमा आएको भए पनि राजमार्ग क्षेत्रमा दुईतर्फी सवारी सञ्चालनका लागि अझै समस्या रहेको उनले बताए।

त्रिभुवन राजपथको झ्याप्ले खोला क्षेत्र, पृथ्वी राजमार्गको थाक्रे, गल्छी, गजुरीको जहरे, घाटबेंसी, बेनीघाटको चरौँदी र जोगिमारा क्षेत्रमा रहेका एक दर्जनभन्दा बढी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सिलवालले जानकारी दिए। दुईतर्फी सवारी सञ्चालन गर्न अझै केही समय लाग्ने बताउँदै पहिरा पन्छाउने काम भइरहेकाले ठाउँठाउँमा यात्रुले जामको सामना गर्न बाध्य रहेको उनको भनाइ छ।

लामो समयसम्म जाममा बसेका यात्रुले शौचालयको प्रयोग गर्न नपाउँदा पनि सास्ती बेहोर्नु परेको छ। बिजुलीका खम्बा ढलेर विद्युत् अवरुद्ध हुँदा सञ्चार सम्पर्कविच्छेद हुने स्थानमा पुग्दा यात्रुलाई समस्या छ। बस्ती नभएका ठाउँमा सवारी रोकियो भने यात्रुले किनेर पनि खान पाउँदैनन् भने बजार क्षेत्रमा रोकिएका सवारीका यात्रुले महँगो मूल्य तिर्न बाध्य छन्।

दुईतर्फी बाटो सञ्चालन गर्ने क्रममा ठाउँठाउँको जाम छिचोल्दै आइपुगेका एम्बुलेन्स चालक र बिरामीका आफन्त निकै आक्रोसित देखिन्थे। ट्राफिक व्यवस्थापन नभएकाले आवश्यकताभन्दा बढी जाममा बस्नुपरेको उनीहरुको गुनासो थियो। सवारी र यात्रु सडकमा अलपत्र नपरोस्, यात्रामा कसैलाई अप्ठ्यारो नपरोस्, परिहाले समयमै उद्धार होस् भन्नाका लागि सशस्त्र प्रहरीलेसमेत राजमार्गमा सक्रियताका साथ गस्ती गरिरहेको छ।