तीन महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प « Khabarhub

तीन महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध रहेका छन् । मनसुन सुरु भएयता वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएका सडक खुल्न नसकेकका हुन् ।

चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा अधिकांश बस्तीसम्म सडक पुगे पनि बर्खाको करिब चार महिना ठप्प हुने गरेका छन् । बर्खामा सबैभन्दा कम तमानखोला गाउँपालिकामा सवारी साधन सञ्चालन हुने गरेको स्थानीय बताउँछन् ।

तमानखोलामा गाउँपालिकाको केन्द्र बोङ्गा दोभान बजारबाट वडा नम्बर १ को स्याउला, पहिरागाउँ, वडा नम्बर ३ को तमान, ४ को हिले लाम्मेला, वडा नम्बर ५ को खुङ्खानीथास्पुरी र वडा नम्बर ६ को नर्जाखानी, भित्रिवन पात्लेलगायत गाउँमा पुग्ने सडक ठप्प भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । जिल्लाका ग्रामीण सडकमा स्थानीय खोलामा पानीको बहाव नघट्दासम्म सञ्चालनमा आउनसक्ने स्थिति नरहेको उनको भनाइ छ ।

असोजको अन्तिम सातासम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको सडक खुलाएपछि सवारी साधन सञ्चालनमा आउने बुढामगरले बताए ।

अहिले पालिकाको केन्द्रबाट वडा नम्बर २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन । वडा नम्बर ३ को तमान गाउँ पुग्नका लागि बुर्तिबाङबाट खुङ्गा हुँदै सिधा यातायात सञ्चालन भए पनि पालिकाको केन्द्रबाट भने हुन सक्दैन । सबैभन्दा टाढाको गाउँ नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँच वटा मोटरेबल पुलको आवश्यकता पर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष बुढामगरले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर ५ को खुङ्खानी पुग्न तीन, पहिरा पुग्न तीन, स्याउला र हिजा पुग्न एउटा पुल आवश्यक छ । अहिलेसम्म एक स्थानमा पुल बने पनि अरु स्थानमा पुल नबन्दा स्थानीय मर्कामा परेको अध्यक्ष बुढामगरले बताए ।

जिल्लाको बडिगाड गाउँपालिकामा यस वर्ष पहिरोले सडकमा ठूलो क्षति पुर्‍याएकाे गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् । यस वर्षको वर्षाले ग्रामीण सडक भत्किँदा करिब १५ करोडको क्षति भएको उनको भनाइ छ ।

पालिकाले बर्खाले बिगारेको सडक मर्मतका लागि ६० लाख विनियोजन गरे पनि उक्त बजेटले केही ठाउँमा मात्रै सडक सञ्चालनमा ल्याउन सकिने अध्यक्ष अधिकारीले बताए । गाउँपालिकाभित्र रहेका दर्लिङ, नयाँ गाउँ, मालारानी, आरुपाटा, निगल पानी पुग्ने सडक पूर्ण रुपमा ठप्प भएको उनले जानकारी दिइन् ।

जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा बागलुङ, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् ।

तीन महिनादेखि गाउँमा आउने सडक पूर्ण रुपमा बन्द हुँदा सामान ढुवानी गर्न समस्या भएको तमानखोला गाउँपालिका–६ का पूर्णबहादुर छन्त्यालले बताए । हिउँदको समयमा जसोतसो गाडी सञ्चालन भए पनि बर्खामा ठप्पै हुने बताउँदै दशक अगाडि गाउँमा सडक नपुग्दा पैदल हिँडेरै बजार पुगेर सामान ल्याउने गरेको उनले स्मरण गरे । 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ११ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर २६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ