बाढीपहिरोको विपदमा के गर्दैछन् लाखौँ सदस्य भएका दल ? | Khabarhub Khabarhub

बाढीपहिरोको विपदमा के गर्दैछन् लाखौँ सदस्य भएका दल ?

सडकमा देखिएनन् पार्टीका नेता–कार्यकर्ता


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिक स्वार्थअनुसार हजारौँको संख्यामा कार्यकर्ता सडकमा उतार्दै आएका दलहरू बाढी–पहिरोको विपदमा राहत तथा उद्धार अभियान चलाउने औपचारिक निर्णय गरेर मौन बसेका छन् ।

संघीय राजधानी जोड्ने अधिकांश राजमार्गमा हजारौँ यात्रु भोकै–तिर्खै अलपत्र परेका बेला दलहरूले उनीहरूसम्म आपतकालीन राहत पुर्‍याउने प्रयाससमेत गरेका छैनन् । न त पार्टीका कार्यकर्ताहरू स्वयंसेवकका रुपमा सडकमा देखिएका छन् ।

बाढी–पहिरोले अवरुद्ध सडक खुलाउन सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी संघर्षरत रहँदा १०औँ लाख सदस्य रहेको दाबी गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विपद्का बेला राहत तथा उद्धार कार्यमा चुकेका छन् ।

असोज ११ र १२ गते परेको अविरल वर्षापछि विभिन्न जिल्लामा गएको बाढी–पहिरोमा परेर अहिलेसम्म २१७ जनाको मृत्यु भइसकेको छ भने २८ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार १४३ जना घाइते भएका छन् भने ४ हजार ३३० भन्दा बढीको उद्धार गरिएको छ ।

प्रहरीले अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्कनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिरहेको छ ।

सत्तामा रहेका र प्रतिपक्षमा रहेका दलहरूका देशभर विद्यार्थी, युवादेखि विभिन्न जनवर्गीय संगठनहरू छन् । तर, उनीहरूले बाढी–पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकाे तीन दिन भइसक्दा पनि अवरुद्ध सडक खुलाउन भ्रातृ संगठनहरूलाई परिचालन गरिसकेका छैनन् ।

यद्यपि, सत्ता साझेदार दल नेपाली कांगेस र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भने पार्टी पंक्तिलाई राहत तथा उद्धारमा खटाउने र पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार बेलुका बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले पार्टी पंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

माओवादी पदाधिकारी बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूबाट राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टी पंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको हो । बैठकले दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि गरेको छ ।

यस्तै सत्ता साझेदार कांग्रेस कार्यसम्पादन समिति बैठकले पनि पार्टीको ‘१०० दिने विशेष अभियान’ को पूर्वनिर्धारित कार्यक्रम कोजाग्रत पुर्णिमासम्म स्थगित गर्दै कार्यक्रमका लागि खटिएका केन्द्रीय प्रतिनिधिहरूलाई आफू खटिएको जिल्लामा उद्धार र राहतको कार्यमा आवश्यक समन्वय गर्न/गराउन निर्देशन दिएको छ ।

कांग्रेसले तीनै तहका जनप्रतिनिधि तथा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बनेका नेताहरू र भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै तहका नेता–कार्यकर्ताहरूलाई पनि उद्धार र राहतमा समर्पित ढंगले क्रियाशील हुन भनेको छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार नै स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिएका थिए ।

लगातारको वर्षापछि आएको बाढी–पहिरोले जनजीवन प्रभावित भएपछि उनले शनिबार प्रेस विज्ञप्तिमार्फत् स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिएका हुन् ।

‘स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीका तर्फबाट निर्देश गरिन्छ,’ सभापति देउवाले भनेका थिए, ‘पार्टीका साथीहरूलाई व्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्व गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्दछु ।’

प्रतिपक्षमा रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत वर्ष नै उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली ( र्‍यापिड एक्सस टीम, आरएटी) गठन गरेको थियो । तर, पुराना दलहरूका भ्रातृ संठनहरू जस्तै उसको ‘द्रुत कार्यटोली’ पनि राहत तथा उद्धारमा कतै देखा परेको छैन ।

रास्वपाले आइतबार केन्द्रीय समितिको बैठक बोलाएर सरकार प्राकृतिक विपत्तिको तयारीमा चुकेको निष्कर्ष भने निकाल्यो । चमतीस्थित पार्टी कार्यालयमा बैठकले सरकार रास्वपा सभापति रवि लामिछानेलाई आरोप लगाउन केन्द्रित हुँदा विपत्तिको सामना गर्न चुकेको दाबी गर्‍याे ।

पार्टी प्रवक्ता मनिस झाले सरकार, गठबन्धन, गठबन्धन आबद्ध दल र राजनीतिक कार्यकर्ताले रास्वपा, सभापति लामिछाने र सहकारीबाहेक अरू केही नसोच्दा समस्या आएको आरोप लगाए ।

यस्तै सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले विपदबारे छलफल गर्न सोमबारसम्म पनि पार्टीको औपचारिक बैठक बोलाएको छैन । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली मुलुकबाहिर रहेका कारण एमालेले औपचारिक रुपमा पार्टीको बैठक बोलाउन ढिलाइ गरेको अनुमान गरिएको छ ।

यद्यपि, एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्तिमार्फत् पार्टीका विभिन्न तहका कमिटीहरूलाई निर्धारित कार्यक्रम स्थगन गरी खोज, उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका थिए ।

‘यो विपद्को घडीमा बाढी, पहिरो र डुबानबाट  प्रभावित भएका प्रदेश, जिल्ला र मातहतका पार्टी कमिटीहरूले निर्धारित कार्यक्रम स्थगन गरी खोज, उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ३० बजे

केही सडक आंशिक खुले, केही अझै अवरुद्ध 

काठमाडौं– ट्राफिक प्रहरीले ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले सवारी आवागमन

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ

विपत्तिको क्षति न्यून गर्न सरकार चुक्यो : लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बाढी,

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

भारतीय अभिनेता रजनीकान्त अस्पताल भर्ना

काठमाडौं– भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् ।