अन्तर्राष्ट्रिय

गुगल भारतमा थप अवसरको खोजीमा छ : प्रमुख कार्यकारी पिचाइ

By खबरहब

October 01, 2024

काठमाडौँ– गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाइले आफ्नो कम्पनीले भारतमा थप अवसरको खोजी गरिरहेको जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका क्रममा प्रमुख कार्यकारी पिचाइले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा रहेका बेला पिचाइसँग भेटवार्ता भएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो समय गुगल कृत्रिम बुद्धिमत्ता एआईलाई अझ उन्नत बनाउन क्रियाशील छ ।

यस्तो अवस्थामा एएआईको विकासका लागि भारतले आफ्नो कम्पनीलाई राम्रो अवसर दिने पिचाइको अपेक्षा छ ।

भारतमा थप अवसरका लागि भारतीय सरकारी संयन्त्रहरुसँग सहकार्य गर्न आफ्नो कम्पनी तयार रहेको उनले उल्लेख गरेका छन् । पछिल्ला केही वर्षयता गुगलले भारतमा आफ्नो लगानी वृद्धि गरिरहेको छ । हाल भारतमा गुगलको पिक्सल फोनको समेत उत्पादन हुँदै आएको छ ।