आरतिमा दन्किएको राजनीतिको आगो | Khabarhub Khabarhub

आरतिमा दन्किएको राजनीतिको आगो

‘आप्पा’ जिल्ला नेता, छोरी अखिलकी अध्यक्ष



काठमाडौं– नेपाली राजनीतिमा युवापुस्ताको चर्चा बेलाबखत भइरहन्छ । बालेन्द्र शाह, हर्क साम्पाङ, तोसिमा कार्कीजस्ता युवाले राजनीतिमा हस्तक्षेप बढाएपछि पुराना पार्टीहरु संकटमा छन् । अब ती दलभित्र पनि युवाहरुले हस्तक्षेप गर्न आवश्यक रहेको विश्लेषण हुने गरेको छ । राजनीतिको यही भुँवरीमा विगत लामो समयदेखि उपस्थित छिन्– आरति लामा ।

रामकुमारी झाँक्री अखिलको केन्द्रीय अध्यक्ष रहेका बेला आरती केन्द्रीय सदस्य थिइन् । अहिले उनी अखिलको केन्द्रीय अध्यक्ष छिन् । ०६२/०६३ को आन्दोलनका बेला काठमाडौंको सडकमा आरती अग्रमोर्चामा प्रायः प्रहरीसँग भिडिरहेको अवस्थामा भेटिन्थिन् ।

तर, आरतिले आन्दोलनसँग मात्र खेलिनन्, आफ्नो पढाइलाई पनि निरन्तरता दिइन् । उनी पढ्लेखेकी युवा राजनीतिज्ञ हुन् । अरु देशमा आफ्नै उमेरका युवा राष्ट्रपति बनिसके, आफूचाहिँ अहिलेसम्म विद्यार्थीको नेता भएर बस्नुपरेको गुनासो उनले सार्वजनिक कार्यक्रमहरुमा पोख्दै आएकी छिन् ।

७४ वर्षे झलनाथ भन्छन्-३० वर्षे जोस छ, परिआउँदा जिम्मेवारी लिन्छु

सर्लाहीको गाउँमा जन्मेकी आरतीको तीनपुस्ता राजनीतिमा छ । उनी अहिले एकीकृत समाजवादी निकट अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष हुन् ।

पुराना दलमा कार्यरत युवाले अहिलेको परिस्थितिलाई कसरी हेरिरहेका होलान् ? विद्यार्थी आन्दोलन अहिले किन सेलाएको होला ? देशको समसामयिक परिस्थितिबारे युवा पुस्ताको बुझाइ के छ ? नेकपा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा लागेका कार्यकर्ताको वाम एकतासम्बन्धी बुझाइ के छ ? यावत प्रश्नको जवाफ खोज्न हामीले अखिल अध्यक्ष आरति लामासँग लामो कुराकानी गरेका छौं ।

पुराना दलको काम गराइ सही नहुँदा बालेन्द्र, हर्क र रवि लामिछानेहरु सतहमा आएको आरतिको बुझाइ छ ।

कक्षा ८ मा पढ्दा नै आरती सर्लाहीको हरिवनबाट विद्यार्थी संगठनमा आबद्ध भइन् । बुबाले गाएको जनवादी गीतले उनलाई राजनीतिमा तान्यो । पाँच पुस्तादेखि सर्लाहीमा बसोबास गर्दै आएको आरतिको परिवार तीनपुस्ते कम्युनिष्ट परिवार हो । हजुरबा अहिले साथमा नभए पनि बुबा जिल्ला पार्टी नेता छन्, छोरी भने विद्यार्थीको केन्द्रीय अध्यक्ष । कार्यक्रममा भेट हुँदा बाबुछोरीले एकापसमा ‘कमरेड’ भन्छन् । पुस्तान्तरणका कारण बेलाबखत बाबुछोरीवीच राजनीतिक कुरो मिल्दैन ।

आफूलाई ०६२/०६३ सालको राजनीतिक पुस्ता बताउने आरति भन्छिन्, ‘समाजवादको सपना पूरा गर्ने हो भने अब वामहरूको एकता नै आजको आवश्यकता हो ।’

तपाईको बाल्यकाल कहाँ, कसरी बित्यो ?

हामी अहिले पनि निरन्तर सर्लाहीमा बसिरहेका छौँ । मेरा ५ जना भाइबहिनी हुनुहुन्छ । पारिवारिक वातावरण नै राजनीतिमा हुर्कियौँ । म बुबाले गाउने जनवादी गीतबाट प्रभावित भएँ । गीत सुन्दै हुँकिए । जिल्लामा कम्युनिष्ट पार्टीका कार्यक्रम हुँदा बुबाले लिएर जानुहुन्थ्यो । नेताहरूलाई स्वागत गर्न फूलमाला लिएर म आफैं पनि खटिएकी हुन्थेँ । यी कुराले प्रभावित भएँ । मूलतः जनवादी गीतले पनि मलाई राजनीतिमा प्रभावित बनायो । विभेदका कुराहरू पनि सुनिन्थे । त्यहाँबाट पनि प्रशिक्षित भएँ । स्कुलमै संगठनमा आवद्ध भएँ । विद्यालयमा हुने बेतिथि विरुद्ध विद्यार्थी संगठन आवश्यक छ भनेपछि संगठनमा लागियो ।

म ८ कक्षामा पढ्दा अनेरास्ववियूमा जोडिएँ । परिवारबाटै प्रशिक्षण पाएकी थिएँ । त्यसबेला बुबाले, ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भइ, सुखको सधैं प्यासी बनेर’ भन्ने गीत गाउनुहुन्थ्यो । विभेदको अन्त्य हुनुपर्छ भनेर म प्रशिक्षित भइसकेकी थिएँ । म महादेव जनता माध्यमिक विद्यालय हरिबन सर्लाहीबाट विद्यार्थी संगठनमा आवद्ध भएँ । मैले त्यहीँबाट एसएलसी दिएँ । प्लस टु मदन भण्डारी कलेजबाट गरेँ । ब्याचलर चतुर्भुजेश्वर, सर्लाहीबाट गरेँ । त्यसपछि मास्टर्स शंखरदेवबाट । मैले म्यानेजमेन्ट पढेको हो । अहिले फेरि बुद्धिजम ज्वाइन गरेकी छु ।
म ०५५/०५६ सालमा अनेरास्ववियुमा आवद्ध भएँ । भूगोलबाट राजनीति गरेँ । रामकुमारी झाँक्री केन्द्रमा अध्यक्ष हुँदा म केन्द्रीय सदस्य थिएँ ।

राजनीतिमा जोडिएको मान्छे, राजनीतिशास्त्र किन नपढेको ?

यो सैद्धान्तिक कुरा हो, यसमा विमति छैन । पढ्ने कुरा जे पढे पनि हुन्छ । तर, राजनीतिशात्र पढ्नेले मात्र राजनीति गर्छ भन्ने मान्यतामा मेरो विमति छ । समाज र वरिपरिको घटना अनि विकृतिको विरोधमा बोल्न सक्नुपर्छ । पढ्ने कुरामा आपत्ति छैन ।

यहाँले हजुरबुवा, ठुलोबुवा र बुवा नै राजनीतिमा हुनुहुन्छ भन्नुभयो उहाँहरु के गर्दै हुनुहुन्छ ?

मेरो ठुलोबुवा पञ्चायतकालमा भारत निर्वासनमा जानुभएको थियो । भारतमा उहाँले धेरै समय बिताउनुभयो । समाजमा राजनीति गर्नुपर्छ र मार्क्सवादी हुनुपर्छ भन्ने थियो । अहिले ठूलोबुबा र हजुरबुवा हामीबीच हुनुहुन्न ।

बुबा अहिले नेकपा एकीकृत समाजवादीको सर्लाही जिल्ला अध्यक्ष हुनुहुन्छ । जिल्लाको नेतृत्व बुबाले गर्नुभएको छ । म अनेरास्ववियू केन्द्रीय अध्यक्षको जिम्मेवारीमा छु ।

राजनीतिमा क्रियाशील बाबुछोरीबीच कस्ता गफ हुन्छन् ?

म एउटा घटना सुनाउँछु । हाम्रो पार्टीको केन्द्रीय परिषद् बैठक भर्खरै सकियो । मैले त्यहाँ बुबालाई ‘सुरेन्द्र कमरेड’ भनेर सम्बोधन गरेँ । मलाई केही नेताहरूले के हो, बुबा र छोरीमा पनि नेता र कमरेड भन्नुभयो । म र आप्पा (बुबा) बैठकमा छौँ भने दुबैले कमरेड भन्छौं, बाहिर छौँ भने बाबुछोरी छौँ ।

दुई पुस्ताको सोचाइमा भिन्नता हुन सक्छ, बाबु र छोरीबीच कहिलेकाहीँ राजनीतिक–वैचारिक मतभेद देखिँदैन ?

यो चाहिँ भन्ने कि नभन्ने भयो । तर, म भन्छु ।

एमालेबाट पार्टीले विद्रोह गर्ने भएपछि, त्यसअघि माले र एमाले फुट्दा । उहाँ पार्टी फुटको पक्षमा हुनुहुन्नथ्यो । एमालेबाट विद्रोह हुँदा बाबुछोरीको वैचारिक बहस भएको थियो । पार्टी नीतिप्रधान भएन, नेताप्रधान भयो । एमालेलाई कम्पनीकरण गरियो त्यसैले, केपी ओलीले गरेको कुकर्मको विरुद्ध लाग्नुपर्छ र विचारलाई नै प्राथमिकतामा राख्नुपर्छ भनेर हिँड्यौं ।

विसं. २००६ सालमा पुष्पलालले निर्माण गरेकै पार्टीमा छौँ । त्यसबारे पार्टी फुटाउने भन्दा पनि निर्माण गर्ने चरणमा जाऊँ भनेर आप्पा र मैले सल्लाह गरेका थियौँ । हामी आफैंले पार्टी निर्माण गरौँ भनेर सुरुदेखि नै लागेका छौँ । कतिपय अवस्थामा आप्पा र मबीच धेरै नै मतभेद तथा विचारको लडाइ हुन्छ । तर, छलफल बहस गर्छौं र निर्णय लिन्छौँ ।

परिवारभित्र र परिवार बाहिर राजनीतिक कुरा गर्न कहाँ सहज ?

केही हिसाबले सहज पनि छ, परिवारसँग केही हिसाबले असहज पनि छ । कम्प्रोमाइज गर्नुपर्छ । बाहिर यो हो भनेर राख्नुपर्छ र फरक फरक बाटो र मत भए पनि हिँड्न सकिन्छ । तर, परिवारभित्र एउटै विचार र मत राखेर जानुपर्छ । परिवारभित्र कोही न कोहीले कम्प्रोमाइज गर्नुपर्ने हुन्छ । कि कन्भिन्स कि कम्प्रोमाइज गरेर जानुपर्छ ।

एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा लाग्दा बुवाले कि तपाईले कम्प्रोमाइज गर्नुभयो ?

यो कुरामा कम्प्रोमाइज भएन । किनभने यो आन्दोलन हो । विद्रोह र आन्दोलन सामान्य कुरा होइन । हामी आफैं कन्भिन्स भएका थियौँ । विचार प्रधान भएकाले कन्भिन्स भयौँ ।

अब अलिकति विद्यार्थी आन्दोलनको कुरा गरौँ । यहाँ अनेरास्ववियुमा आवद्ध हुँदाको विद्यार्थी आन्दोलन र अहिलेको विद्यार्थी आन्दोलनमा कति फरक छ ?

०६२/०६३ को जनआन्दोलन हेर्दा हामीले हिजो व्यवस्था परिवर्तनको आन्दोलन गरेका थियौँ । जुन ढंगले त्योबेला विद्यार्थी संगठन र नेताले काम गरे, त्यसमा धेरै योगदान छ । हिजो तल्लो कमिटीमा हुँदा पनि हामीले आन्दोलन हेरेका थियौँ । त्यो आन्दोलन इतिहास हो । त्यो आन्दोलनमा विद्यार्थी संगठन अग्रमोर्चामा थिए । अहिले हामी व्यवस्था परिवर्तनको आन्दोलनमा छैनौं । आज आन्दोलनका मुद्दा फरक छन् ।

अनेरास्ववियु २०२२ सालमा स्थापना हुँदै गर्दा विद्यार्थीको हितको लागि निर्माण गरेको हो । त्योबेला पार्टीहरु भूमिगत थिए । पञ्चायतकालमा पार्टीको आवाज बाहिर ल्याउन विद्यार्थी संगठन लागेको थियो । समय अवस्था अनुरूप विद्यार्थी संगठनको भूमिका परिवर्तन भयो ।

हिजो हामी सत्ताविरुद्ध आन्दोलनमा हुन्थौं । त्योबेला राजनीतिक कुरामा आन्दोलन हुन्थ्यो तर अहिले आन्दोलनको स्वरूप र माग परिवर्तन भएको छ । हामी अब शैक्षिक मुद्दामा केन्द्रित छौं ।

तर, हिजोको विद्यार्थी आन्दोलनको साख अहिलेका विद्यार्थी संगठनले गुमाउँदैछन् कि भन्ने प्रश्न आमरूपमा छ । विद्यार्थी संगठनले हिजोको आन्दोलनको साख जोगाउँदै आजका मुद्दा र मागहरुमा लाग्नुपर्छ, विश्वविद्यालय खाली भइरहेको छ, गाउँहरू रित्तिएका छन् । यस्ता मुद्दामा केन्द्रित भएर नयाँ ढंगले जानुपर्छ भनेर हामी लागिरहेका छौँ ।

हिजो विद्यार्थी संगठनहरुमा जुनखालको आकर्षण थियो, त्यो अहिले घटेको देखिन्छ, कसरी यस्तो भयो ? अहिले विद्यार्थीमा पदात्रिकारी नै नपाइने अवस्था आउन लागेको हो कि ?

पहिलो कुरामा मेरो सहमति छ । दोस्रो कुरामा मान्छे नभाको होइन बढी छन् तर यो विद्यार्थी संगठनको मात्र कुरा होइन, मूलतः आज राजनीतिप्रति जनताको विश्वास कम भएको छ । मूलधारका पार्टीमा पनि जनताको आकर्षण घटेको छ । त्यसको असर यता पनि छ ।

अहिले यो चुनौती विद्यार्थी सङ्गठनलाई मात्र हैन, यो चुनौती मूलतः राजनीतिप्रति नै छ । राजनीति गर्ने नेताहरू र मूलधारका पार्टीहरूप्रति जनताको विश्वास र आकर्षण अहिले छैन । त्यस कारणले हामीले एकचोटि फेरि पनि हामीलाई नै हेर्न जरुरी छ । हामी कहाँ चुक्दै छौँ ? हाम्रो कमी कमजोरी कहाँ भएको छ ? हामी के गर्न हिँडिरहेका छौँ र के गरिरहेका छौँ ? यी कुरामा एकदमै निर्मम समीक्षा गर्न जरुरी छ ।

आज म नेतृत्वमा भएको नाताले पनि भन्नु पर्दा जनताको जुन ठूलो अपेक्षा थियो, त्यो पूरा गर्न सकियो कि सकिएन त भन्दा त्यो सकेको अवस्था छैन ।

हाम्रा तमाम विश्व विद्यालयमा समस्या छन् । विद्यार्थीले समयमा जाँच दिन नपाएका छैनन् । क्यालेन्डर अनुरूप ३/४ वर्षमा कोर्ष पूरा गर्न नसक्ने, समयमा नतिजा प्रकाशन नहुने आदि समस्या छन् ।

आज विद्यार्थीले स्नातक, स्नातकोत्तर पास गरिसकेपछि पनि दराजमा सर्टिफिकेट थन्क्याएर रोजगारीको लागि भौंतारिरहनुपर्ने, विदेसिनुपर्ने तमाम बाध्यता छन् । यी विषयमा केन्द्रित भएर विद्यार्थी सङ्गठनहरू बोलिरहेका छन् कि छैनन् भन्ने कुरा नै महत्वपूर्ण हो ।

म आफैं आत्माआलोचित हुन्छु । हामीले बोलिरहेका छौँ तर यसलाई अझै प्रभावकारी ढङ्गले दबाब दिने गरी, समस्याबाट विश्वविद्यालयहरुलाई मुक्त गर्नका निमित्त निर्णायकखालको आन्दोलन हामीले गर्न नसकेको कुरा सत्य हो । तर, हामीले आन्दोलन नै गरेनौं, विद्यार्थीको बीचमा नै छैनौँ भन्ने कुराचाहिँ गलत हो ।

तर पहिलाको भन्दा आन्दोलनको स्वरूप, माग र आवश्यकताहरू भने परिवर्तन भएका छन् । किनभने, हिजो विद्यार्थी सङ्गठनहरु सडकमा आन्दोलन गर्थ्यौं, टायर बाल्थ्यौँ, मसाल बोक्थ्यौँ । त्यसबेला आन्दोलन भएको छ भन्ने थाहा पाइन्थ्यो । आज हामी प्रविधिको प्रयोग गरेर सडकमा भन्दा सामाजिक सञ्जालमा आफ्ना माग र मुद्दालाई रचनात्मक ढङ्गले राखिरहेका छौँ । त्यसैले हिजोको आन्दोलन देखेको पुस्ताले आज यिनीहरु के गरिरहेका छन् भन्न सक्छन् ।

हामीले निर्णायक ढङ्गले वार कि पार गर्न नसकेको चाहिँ हो तर निरन्तर आन्दोलन गरिरहेका छौँ । त्रिभुवन विश्वविद्यालयको कुरा गर्दा हामीले भीसी नियुक्तिको सन्दर्भमा राजनीतिकरण गर्नुहुँदैन भनिरहेका छौँ । आज निरन्तर विद्यार्थी सङ्गठनहरूले गरेको दबाबका कारण खुला प्रतिस्पर्धाबाट भीसी नियुक्ति प्रक्रियामा छ । त्यसैले हामी मुद्दामा, आन्दोलनमै छौँ । आन्दोलनको स्वरूप मात्र फरक हो ।

आरती लामा कुन पुस्ताकी विद्यार्थी नेता हो ?

२०६२/०६३ पछिकै हो । अगाडि पनि हामी आन्दोलनमा थियौँ तर नेतृत्वमा थिएनौँ । त्यसैले ०६२/०६३ पछि भन्दा उपयुक्त होला ।

२०७१/०७२ पछि विद्यार्थी आन्दोलन शिथिल भएको हो ?

त्यस्तो देखिन्छ । हामीले ०६५ सालमा स्ववियुको निर्वाचन गर्दा म आफैं पनि केन्द्रीय कमिटीमा थिएँ । रामकुमारी झाँक्री अध्यक्ष हुनुहुन्थ्यो । स्ववियुको त्यो निर्वाचनपछि ठूलो ‘ग्याप’ भयो । योबीचमा पनि स्ववियुको निर्वाचन त भयो, तर एकदमै आंशिक रूपमा । नविना लामाले नेतृत्व गर्दैगर्दा निकै आंशिक रूपमा भयो, देशव्यापी ढङ्गले हुन सकेन । अहिले हाम्रो नेतृत्वका बेलामा १४ वर्षको ग्याप देखिएको छ । हामीले क्यालेन्डरमा नै स्ववियुको निर्वाचनलाई राखेर नियमित गराउनुपर्छ भनिरहेका छौँ ।

क्याम्पस र विश्वविद्यालयहरुमा सङ्गठन गतिशील भएको, विद्यार्थी नेताहरू उत्पादन गर्न नसकिएको र समस्यामा केन्द्रित भएर मुद्दाहरू उठाउन नसकेका कारणले पनि यो ग्याप देखियो । विद्यार्थीको हितका निम्ति आफ्नै कलेजमा लागिरहने संस्था स्ववियु नै नभएका कारणले पनि यो शिथिलता आएको हो ।

विद्यार्थीहरु ठूलो संख्यामा विदेशिँदा पो समस्या आएको हो कि ?

विश्वविद्यालयमा विद्यार्थी कम भए भन्ने कुरा आजको निकै दर्दनाक छ । यसमा सबै राजनीतिक दलहरूले गम्भीर हुन जरुरी छ । सरकार र राज्यले नयाँ ढङ्गले नसोच्ने हो भने निक्कै ढिलो हुन्छ । किनभने, हाम्रा नेताले समृद्ध समाजवादका कुरा गरिरहेका छन् तर आज जसले बनाउने हो, त्यो पुस्ता नै देशमा नरहँदा यो देश बन्दैन । देश बन्न युवा नै चाहिन्छ । त्यस कारण यो कुरामा सबै राजनीतिक दलले एउटा साझा धारणा बनाएर केही न केही ठोस कार्यक्रम ल्याउनुपर्छ ।

ठोस कार्यक्रमको कुरा गर्दा युवा विद्यार्थी नेताहरुमा आक्रोश मात्रै छ, भिजन भएन भन्ने आरोप लाग्ने गर्छ नि ?

हाम्रो विद्यार्थी सङ्गठनको सन्दर्भमा हामी त दबाब दिने हो । हामीले हाम्रो ठाउँबाट सरकार, राज्यसत्तालाई आवश्यक पर्ने ठाउँमा दबाब दिने हो र रचनात्मक सुझाव पनि दिने हो । हिजो युवाले गरेका ठूला ठूला आन्दोलन छन्, जहाँ धेरै विद्यार्थी लाभान्वित पनि भएका छन् । हामीले जनतालाई जागरण पनि गर्छौँ । यस्तो भइरहेको छ है, यो गलत हो र यसका निम्ति लागि पर्नुपर्छ भनेर पनि भन्ने गर्छौँ ।

आज हाम्रो देशमा विश्वविद्यालयहरू जुन ढङ्गले खालि भइरहेका छन् र हाम्रा युवा जसरी विदेशिनुपरेको छ, यसलाई रोक्न कुन–कुन ठाउँबाट वा कुन कुन तहबाट हामीले के योजना बनाउन सकिन्छ वा कसरी रोक्न सकिन्छ ? उनीहरूको मनोविज्ञान के हो ? कस्तो सामाजिक मनोविज्ञान निर्माण भएको छ ? आज देशमा केही हुँदैन, बिग्रियो, राजनीति गर्ने नेताले देश बिगारे भन्ने ढङ्गको भाष्य निर्माण हुँदै छ ।

यो गलत हो । देश निर्माण गर्ने त नेताको मात्र दायित्व हैन, हामी सबैको हो । सबैले आ–आफ्नो दायित्व त निर्माण गर्नुपर्छ । नेताले नीति बनाउने, योजना बनाउने होला तर हामीले पनि हाम्रो समाज कस्तो बनाउने, हाम्रो देशमा नै हाम्रा भाइबहिनीको भविष्य बनाउन के–के गर्नुपर्छ भन्ने कुरामा हामी सबैले बराबरी योगदान गर्नुपर्छ ।

आज एउटै गल्लीमा ४/५ वटा कन्सल्टेन्सी खुलेका छन् । तिनले गाउँ–गाउँमा गएर नेपालमा अब केही हुँदैन, बाहिर जानुपर्छ भन्ने भाष्य सिर्जना गरेका छन् । देशमा समस्या छन् तर समाधान गर्ने बाटो पनि खोज्नुपर्छ । देश नै सकियो भन्ने भाष्य राम्रो हैन । यसबाट हामी कहाँ पुग्दैछौँ भन्ने कुरा हो । अहिले हाम्रा विश्व विद्यालयमा चरम बेतिथि छ । समस्या बयान गर्न नै सकिँदैन । त्रिवि मात्रै होइन, सबै विश्वविद्यालयमा चरम राजनीतिकरण भएको छ । यो राजनीतिबाट पहिला शैक्षिक संस्थालाई मुक्त गराउनुपर्छ ।

हो, हामी एउटा पार्टीको बिचारबाट प्रभावित छौँ । हामी त्यहाँका प्राध्यापक वा त्यहाँ आवद्ध कर्मचारीले राजनीतिक गर्नुहुँदैन भनेर भन्दैनौँ । राजनीतिक विश्वास आस्था बिचार राख्न पाउँछ तर त्यो संविधानले दिएअनुरूप ठिक ठाउँमा त्योखालको राजनीतिक अधिकार प्रयोग गर्न पाइन्छ । तर, सबै कुरा आफ्नो ड्उटी र कर्तव्यबाट च्युत भएर सबै कुरा राजनीति हो भन्नेखालको राजनीतिकरण गरियो । त्यसबाट विश्वविद्यालयलाई मुक्त गराउनुपर्छ । विश्वविद्यालयलाई अहिलेको विश्व बजारमा बिक्न र प्रतिस्पर्धा गर्न सक्ने नयाँ कुरामा अपडेट भएर नयाँ शिक्षा कार्यक्रम लागू गर्नुपर्छ ।

हाम्रो देशमा अहिले डाक्टर, इन्जिनियर कति चाहिन्छ ? हाइड्रो, रेल र जहाजको कुरा गरिरहेका छौँ, त्यो कुा ठाउँमा कति चाहिन्छ भनेर हामीले पहिला तथ्यांक निकाल्नुपर्छ । यो कुरामा हामीसँग कुनै अध्ययन, डाटा छैन । आज नर्समा स्कोप छ भनेपछि सबै विद्यार्थी त्यहाँ जाने भएका छन् । सबै क्षेत्रमा माग र सप्लाई कति हुनुपर्छ भन्नेमा छैनौँ ।

यो ढङ्गले हामीले कति विद्यार्थी, कस्तो दक्ष जनशक्ति चाहिन्छ र कति आवश्यकता छ भन्ने निक्र्यौल गरेर कोर्षहरू त्यस्तै बनाउनुपर्छ । आज कुनै नयाँ विषय पढ्नुपर्‍यो भने निकै खर्चिलो छ । १२ देखि १५ लाख खर्च गरेर पढिरहेका छौँ । मार्केटमा गएपछि हामी बेरोजगार छौँ । रोजगारीलाई मार्केटसँग जोड्ने बाटो पनि छैन । यसमा राज्यले, सरकारले रोजगारीको वातावरण बनाउनुपर्छ ।

विदेश जान विद्यार्थी तात्नुको कारण उसले पढ्दै कमाउँदै गर्छ । परिवारले लगानी गरेको १५/२० लाख उसले तिरिसकेको हुन्छ । हामीले त्यो लेबलमा त गर्न नसकौंला तर विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने वातावरण सिर्जना गराउन सक्नुपर्छ । आफूले आफ्नो जीवनलाई आर्थिकरूपले पनि व्यवस्थित हुने र स्नातक पास गर्दै गर्दा त्यस्तो जनशक्ति बाहिर निकाल्न सकौँ ।

विशेष गरी प्राविधिक शिक्षा पढ्नेहरू त थ्यौरीमा मात्र छन् । फिल्डमा नै हिँडेका छैनन् । सिकाई प्रयोगात्मक छैन । ऊ आफैं बाहिर बजारमा जाँदा केही नपाउने अवस्था छ । यसमा पनि मूल कुरा भनेको राजनीति नै हो ।

हामी प्रविधिमैत्री पनि भएनौँ । लाइनमा बसेर काम गर्नुपर्ने । देश सङ्घीयतामा गइसक्यो, अझै पनि ट्रान्सक्रिप्ट लिन केन्द्रमा धाउनुपर्ने स्थिति छ । सुदूर पूर्वबाट आउने साथीहरूले एउटा ट्रान्सक्रिप्ट लिन हजारौँ खर्च गर्नुपर्ने, दुःख पाउनुपर्ने स्थिति छ । यो आज केही व्यवस्थित त हुँदैछ, तर राम्रो नै भयो भन्ने चाहिँ छैन ।

आज विश्वविद्यालयभित्र आशा जगाउने खालका राम्रा कुराहरू पनि छन् । ती राम्रा कुरालाई पनि देख्नु र भन्नुपर्छ । हरेक नराम्रो भन्ने भाष्यले सामाजिक ट्रेन्ड कस्तो भयो भने छोराछोरीलाई जसरी अष्ट्रेलिया पठाउनैपर्ने सामाजिक मानसिकता बनिरहेको छ । राज्यको नीति, नेता, देश अनि परिवार र समाजले मान्छेलाई यहाँ केही छैन विदेश नै जाऊ भनेर प्रेरित गरिरहेको अवस्था छ ।

यी त समस्याका कुराहरु भए । यो बिचल्ली अवस्थालाई फेर्न तपाई युवाहरुले सबैलाई एक ठाउँमा ल्याउनुपर्ने होइन ?

हाम्रो विश्वास भनेको हामीले अझै पनि समाजवाद भनिरहेका छौँ। हामीले आधारहरू निर्माण गर्नुपर्छ र गर्न सक्छौँ भन्नेमा छौँ । आज सपनाहरू पूरा गर्ने हो भने सबै पार्टीहरू मिल्नुपर्छ। त्यसैले वामहरूको एकता नै आजको आवश्यकता हो भनिरहेका छौँ । आजको संकटबाट देशलाई अगाडि बढाउनुपर्छ भनेर हामीले भनिरहेका छौँ ।

धेरैले हामीलाई तपाईँ बिद्रोह गरेर जानुभयो, अखिलको अध्यक्ष बन्न गएको हो कि भन्ने आरोप पनि लगाउँछन् । त्यस्तो हैन । हामीले विद्रोह किन गर्यौं भनेर पुष्टि गरिसक्यौँ । विद्रोह हिजोको आवश्यकता थियो । विधि विधान र नीतिलाई जोगाउन हामीले त्यो कुरा पूरा गर्याै । तर, आज साँच्चै नै समाजवाद उन्मुख भनिरहेका छौँ । आज देशको सबै संकटलाई समाधान गर्ने र त्यो बाटोमा जाने हो भने आजको आवश्यकता भनेको बाम एकता नै हो ।

अब कम्युनिष्ट पार्टीहरु मिल्नुपर्छ भन्न खोज्नुभएको हो ?

कम्युनिष्ट मिल्नु नै पर्छ हामी टुटेर फुटेर कुनै ठाउँमा पुग्न सक्दैनौँ । यदि साँच्चै नै हिजो २००६ सालमा पुष्पलालले निर्माण गर्दाको पार्टी जुन उद्देश्य साथ बन्यो, आज मुलुकको ६३ प्रतिशत जनतामा कम्युनिष्टको आस्था र विश्वास छ । आज पनि जनतामा कम्युनिष्ट पार्टीले नै यो मुलुकलाई हाँक्न सक्छ वा संविधानमा लेखेको समाजवाद यही पार्टीले ल्याउँछ भन्ने छ । सबै शुभचिन्तकहरू कम्युनिस्ट पार्टी टुटेर हैन, मिलेर नै जानुपर्छ भन्नेमा छन् । यसमा मेरो पनि एक मत छ ।

कांग्रेस र कम्युनिस्टको सम्बन्धलाई यहाँले कसरी हेर्नुहुन्छ ?

हिजोदेखि नैे व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा कम्युनिष्ट वा कांग्रेसले एक्लै गरेका आन्दोलनहरु छैनन् । इतिहासका हरेक आन्दोलनमा कम्युनिस्ट र कांग्रेस मिलेरै सफल बनाएको हो । एक्लै लड्दा कहिल्यै पनि सफल भएको देखेको छैन । त्यस कारणले एउटा व्यवस्था परिवर्तनको आन्दोलनमा कांग्रेस र कम्युनिष्टको साझा प्रयास र आन्दोलनले आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ ।
हामीले युवाको दृष्टिकोणबाट यो मुलुकलाई अझै समृद्ध बनाउन संविधानमा समाजवादउन्मुख भनेका छौँ ।

त्यस्तो समाजवादको मुद्दालाई कांग्रेसले बोक्न सक्दैन कि भन्ने हामीलाई लाग्छ । समाजवाद भन्ने कुरा नै कम्युनिष्ट, सोशियोलिष्टले बोक्न सक्छन् त्यसैले यो हाम्रो मुद्दा हो भन्ने लाग्छ । त्यस कारण आज माओवादी, एकीकृत समाजवादी र कांग्रेस सबै मिलेर साझा सरकार चलाइराखेका छन् । मोर्चामा आवद्ध छन् । संयुक्त सरकार छ ।

तर, यो भनिरहँदा हामीले कल्पना गरेको हिजो धेरै मान्छेले रगत र पसिना बगाएर जीवन दान दिएर ल्याएको संविधानमा लेखिएको त्यो समाजवादी व्यवस्था ल्याउनको निम्ति कांग्रेस अब्बल नहोला कि भन्ने हो । त्यसकारण त्यो समाजवाद ल्याउने हामी कम्युनिस्ट नै हो भन्ने हामी युवाको विश्वास हो ।

त्यसकारणले अब समाजवादी व्यवस्थालाई ल्याउन युवाले नै, कम्युनिस्ट पार्टीले नै लिड गर्नुपर्छ । कांग्रेसले यो मुद्दालाई बोक्न सक्दैन । हामीले एउटा कम्युनिस्ट भएको हिसाबले हेर्दा र विश्वमा समाजवादको अभ्यासलाई पनि हेर्दा र हामीले कल्पना गरेको र ल्याउन चाहेको समाजवाद कम्युनिस्टले मात्र ल्याउन सक्छ भन्ने हो ।

तपाई सर्लाहीमा जन्मेर विद्यार्थी सङ्गठनबाट राजनीतिमा आएको मान्छे, अहिले पाको भइसक्दा पनि विद्यार्थी सङ्गठनमै बस्नुपरेको छ । अब पार्टीमा युवाको भूमिका कस्तो हुनुपर्छ ?

पार्टीलाई परिचालन गर्न विचार, सिद्धान्त र नीति चाहिन्छ । त्यो बोक्नेखालको उत्साह र ऊर्जा युवामा हुन्छ भन्ने लाग्छ । कम्युनिस्ट पार्टीलाई २००६ सालमा पुष्पलालले पार्टी स्थापना गरेपछि विभिन्न आन्दोलन हामीले हेरेका छौँ । हाम्रा पार्टी र नेतालाई हेर्दा हाम्रो उमेर समूहमा सिङ्गो पार्टीको नेतृत्व र आजको देशलाई यो अवस्थामा पुर्‍याउने योजना भिजन हामीले त्यही उमेरमा देखेको हो । त्यस कारण यसलाई द्वन्द्वात्मक ढङ्गले हेर्नुपर्छ जस्तो लाग्छ ।

आज अमेरिकामा ७७ वर्ष कटेका जोवाइडेनले राष्ट्रपतिको भूमिका निर्वाह गरेका छन् । चीनमा पनि हामीजस्तै विचार बोकेका ३५ वर्षका पनि छन् । त्यसैले, उमेरले म्याटर गर्छ गर्दैन भन्दा हिजो माधव, केपी, प्रचण्डहरू हाम्रो उमेरमा सिंगै पार्टीको नेतृत्व गरेर अगाडि बढिसक्नुभएको थियो । त्यसैले पार्टीमा युवाको आवश्यकता छ । तर, सँगसँगै पुरानो अनुभव, अभिभावकीय भूमिका र पुरानो पुस्ताको आवश्यकता पनि म हेर्न चाहन्छु ।

हामीले नेतृत्वलाई निरन्तर दबाब दिइराखेका थियौँ । युवाको परिभाषामा नेपालमा २५/४० वर्ष सम्मलाई भनेका छौँ । यस पटकको केन्द्रीय परिषद्को बैठकमा पनि हामीले विधानको सन्दर्भमा हाम्रो घनिभूत छलफल गर्‍यौं । त्यसमा हामीले २५/४० उमेर समूहका २० प्रतिशत युवालाई कमिटीमा समावेश गराउनुपर्छ भनेर विधानमा लेखाउन सफल भयौँ ।

पार्टीमा हिजो युवाहरूले ४० वर्ष मुनिकाले धेरै सोच्नु वा त्यो ठाउँमा पुग्न निकै सङ्घर्ष गर्नुपर्थ्यो तर आज हाम्रो विधानले ३५ देखि ४० का युवाले पार्टीको नेतृत्वमा पुगेर भोलि पार्टीलाई हाँक्न सक्नेमा हामी आशावादी छौँ । अझै पनि सोचेको जस्तो त भएको छैन । हामीले ४० प्रतिशत युवा २५ देखि ४० वर्षका समावेश हुनुपर्छ भनेको थियौँ, त्यो हुन सकेन ।

अहिलेका विद्यार्थी नेताको दलीय राजनीतिमा स्थापित हुने सम्भावना कत्तिको छ ?

ठाउँ छ । हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीमा प्रशस्त ठाउँ छ । २५ वर्ष देखि ४० वर्षका साथीहरूले २० प्रतिशत केन्द्रीय कमिटीमा जाने कुरा भनेको सानो कुरा होइन । यो हाम्रा निम्ति उपलब्धिमूलक नै लाग्छ । हामीले गरेको दबाबका कारणले गर्दा यो भएको हो ।

हामीले अलि अगाडि फर्केर हेर्दा जुन ढङ्गले नेपाली जनताले कम्युनिस्ट पार्टीप्रति विश्वास गरेर करिब २ तिहाइ विश्वासको मत आएको थियो र केपी ओलीले सरकारको नेतृत्व गरेका थिए, त्यो बेलादेखि जनताको विश्वासमाथि जुन कुठाराघात गर्ने काम गरियो । जनताको विश्वासमाथि हाम्रो नेतृत्वले काम गर्न छोडेदेखि अन्य पार्टीको उदय भएको हो ।

स्वतन्त्रका नाममा हर्क साम्पाङ, बालेन शाहदेखि रवि लामिछानेसम्म, जसको कुनै विचार छैन, संगठन छैन र भोलि यसको भविष्य के भन्ने रोडम्याप छैन । त्यस्ता पार्टी आउनु भनेको हामी जस्तै पार्टीले गर्दा हो ।

वाम एकता सम्भव छ त ? 

किन नहुने हो र ? अहिले हामीले प्रयास गरिरहेका छौँ । मोर्चा, संगठन र पार्टी भनेर प्रयास गरिरहेका छौँ ।

एकलकाँटे भएर काम छैन : माधव नेपाल

तर एमालेले त वाम एकतामा भूमिका नै खेलेन नि ?

एमालेभन्दा भन्दा बाहिर छौँ । एमाले घोर दक्षिणपन्थी भयो भन्ने हाम्रो आरोप छ । तर, एमाले सच्चिएर आउँदा एमालेलाई पनि लिएर जाने हो । आज हामी सँगै जान सक्छौँ भनेर बाटो निर्माण गरिरहेका छौँ । भोलि सच्चिएर आउनेलाई पनि पार्टीमा मिलाउने वा मोर्चामा समावेश गर्ने कुरामा दुई मत छैन ।

वृहत् वाम आवश्यक रहेको देशमा टुक्रिएर बसेका सबै कम्युनिस्ट पार्टीलाई सेन्टर बनाउने अभियानमा छौँ । एमाले सुध्रिएर आउँछ र समाजवादी बाटोमा लाग्छ भने एमालेबाट छुट्टिनुपर्छ भन्ने छैन, सबैलाई एकै ठाउँमा राखेर जानुपर्छ । हामीले युवाको ठाउँबाट दबाब दिइरहेका छौँ । वैचारिक र संगठनिक हिसाबले लागिरहेका छौँ ।

अन्तिममा, माओवादी त कम्युनिष्ट एकताको पक्षमा लचिलो छ तर मूल समस्याचाहिँ एमाले र एकीकृत समाजवादीमा छ भन्छन् नि ?

नेतृत्व सुध्रिनु पर्छ । समीक्षा गर्ने, आत्माआलोचना गर्ने, सुध्रिने र मिल्ने आउने गर्नुपर्छ । त्यति धेरै वैचारिक मत भिन्नता छैन, सैद्धान्तिक छैन । उहाँहरूले पनि मार्क्सवाद– लेनिनवाद मानुहुन्छ, हामी पनि मान्छौँ । जबज मान्ने कि नमान्ने, समाजवादको नयाँ कार्यक्रम बनाउने कि नबनाउने ? यी कुराको निष्कर्ष छलफल र बहसबाट आउँछ ।

यो पनि…

गठबन्धन र एमाले दुबैले देश लुटिरहेका छन् : प्रभु साह

माओवादी महासचिवको प्रस्ताव : मिलिजुली सरकार चलाऔं

रास्वपा महामन्त्रीसँग विशेष वार्ता : सहकारीको लफडादेखि मिसन ८४ सम्म

‘देउवामा निरंकुशता देखियो, बोल्न नसक्नेहरु दास हुन्’

लामो कपाल विद्रोहीको स्वभाव हो : सिके राउत

‘बालेन्द्रलाई सम्मान गर्छु, नयाँ पुस्ता आउनुपर्छ’

 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ५ : १४ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

आज यी स्थानमा हुनेछ ठूलो वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कपको अभ्यासमा महिला क्रिकेट टिम : पहिलो प्रतिस्पर्धा यूएईसँग

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली

आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै

काठमाडौँ– सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार सन्