नर्देन रुम्बा : गीत, कविता र नाटकका त्रिवेणी | Khabarhub Khabarhub

नर्देन रुम्बा : गीत, कविता र नाटकका त्रिवेणी


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

ऊ मूलतः कवि हो । जसका लागि ऊ कवि होइन उसको लागि गीतकार । जसको लागि ऊ गीतकार पनि होइन, उसको लागि नाटककार । जसको लागि नाटककार पनि होइन, उसको लागि ऊ नर्देन रुम्बा ।

नर्देन अहिले बाँचेको भए ७५ वर्ष पुगिसक्थे तर नियतिले उनलाई ४३ वर्ष बाँच्न दिएन । बेजोड गीतकार नर्देन रुम्बाका धेरै सपना अधुरो नै रहे । सायद उनको सपना पूरा हुन अझै धेरै बलिदान दिनु पर्छ होला दार्जिलिङले ।

ईस्वी संवत १९४९ मे १३ तारिखका दिन पश्चिम बङ्गालको दार्जिलिङमा जन्मिएका नर्देन रुम्बा १९९० मे २८ का दिन अस्ताएका थिए । जन्म र मृत्युको हिसाबमा उनको उमेर साह्रै कम हो । तर उनले पुर्‍याएको योगदान अमूल्य र अतुलनीय छ । उनी एक कुशल गीतकार वैभव, आफ्नो शब्द प्रस्तुति अनि शैलीमा नविनता–प्रखरता भएका गीतकार हुन् । उनले नेपाली सिनेमाको क्षेत्रमा गीत लेखेर लगाएको गुन पनि अद्वितीय छ ।

गीतकार नर्देन रुम्बा जसरी नेपाली गीत आकाशमा आएका थिए, जाँदा पनि त्यस्तै ढंगले गए । भारतका प्रसिद्ध संगीतकार हेमन्त कुमारको निधन हुँदा फिल्म लेखक निर्देशक चलचित्रकर्मी सत्य जितले रवीन्द्र सङ्गीतको यो दोस्रो अवसान हो भनेर भनेका थिए ।  नर्देन रुम्बाको निधन हुँदा र अन्त्य हुँदा अर्को इश्वर वल्लभको निधन भएको हो । इश्वर वल्लभकै शैलीमा गीत लेख्न सक्ने अर्को गीतकारको निधन हो ।

नर्देन रुम्बालाई धेरै गीतकारहरूले आफ्नो आदर्श मान्छन् । तर त्यस्तै गीत लेख्न सकिँदैन । नर्देन रुम्बालाई नेपालका प्रसिद्ध गीतकार राजेन्द्र थापाले समेत प्रशंसा गरेका छन् । नर्देन रुम्बा गीतकार र कवि दुवै हो । तर कविता खोलामा कुनै ढुङ्गा हिर्काए जस्तो हो, त्यसको लहर फैलिँदै जान्छ । गीत पोखरीको बीचमा ढुङ्गा हाने जस्तै हो । जहाँ ढुङ्गा खस्यो त्यहाँ नै केन्द्रीकृत भएर त्यो लहर हराउँछ । त्यसैले गीतमा पनि मूल विषय केन्द्रित हुन्छ । त्यो शक्ति थियो नर्देन रुम्बामा ।

‘फूललाई सोधेँ कहाँ गयो, कता गयो भमरा, लजाएर फूलले भन्यो’ कर्म योञ्जनको सङ्गीतमा अरुणा लामाले गाउँदा यो गीतले नर्देन रुम्बालाई परिचय दियो । तर जब चन्दन लम्जेलको  संगीतमा नारायण गोपालले ‘मेरा सबै रातहरू’ भन्ने गीत गाउनु भयो, त्यसपछि नर्देन परिचय एउटा विशिष्ट गीतकारको रूपमा भयो ।

नारायण गोपालको यो गीत उनले आफैं पनि ठाउँठाउँमा गाउने र नारायण गोपालको स्मृतिमा हुने कार्यक्रममा पनि युवा पुस्ताका गायकले धेरै गाउने गीत हो । यही गीतमा सम्भवत ‘बारातहरु’ भन्ने शब्द पनि प्रयोग भयो ।

रेडियो नेपालले उर्दू शब्दलाई प्रवेश निषेध गरेको समयमा यो शब्दले सहज प्रवेश पयो । जब कि रेडियो नेपालको गीतमा सुनिल शर्माले ‘अलबिदा’ भन्ने गीत प्रयोग गर्दा अलबिदाको ठाउँमा नयाँ पंक्ति ल्याउनुपर्ने भएको थियो ।

‘फूललाई सोधेँ कहाँ गयो कता गयो भमरा’ देखि ‘मेरा सबै रातहरू’ सम्मका गीतको बीचमा नर्देन रुम्बाका गजब गजब गीतहरू सिर्जना भएका छन् । उनको लेखन बारे प्रशंसा गर्दा अन्य गीतकारहरू ठिक ठिकै लाग्न सक्छन् ।

नर्देन रुम्बा गीतकार मात्र नभएर नाटककार पनि हुन । उनले म मरे पछि भन्ने नाटक लेखे र त्यो नाटकमा लेखिएको गीत बद्री दुर्गा खरेलले दुई दाजुभाइले संगीत गरेर दावा ग्याल्बोले गाएका थिए । यो गीत रेकर्ड भएपछि कर्म योञ्जनले बद्री दुर्गाको यो गीत सबै गीतको बराबर लाग्छ हामीलाई भनेर भनेका थिए । ‘शुभकामना खाली खाली दिनेलाई दानी भनेर जाँदैछु, लिएर आँचलभरि मायाको निशानी’ यो गीतको अन्तरा कोमल र सार्थक छ ।’ तिम्रो विश्वास पाउन म कति शूलीमा चढें । पहिरो गएर छातीमा म मूल बाटोमा लडें, हार्नु जित्नु त केही थिएन ।’

यो गीतमा पनि रुम्बाले ‘आँचल’ शब्द प्रयोग गर्नुभएको छ । आँचल यस भन्दा अगाडि नेपाली गीतमा प्रयोग भएको पाइँदैन । तर यसमा उनले  प्रविष्टि दिएका छन् ।  अहिले त हाम्रो राष्ट्रगानमा पनि सरल शैलीमा आँचल शब्द प्रवेश भएको छ ।

रुम्बाका गीत हेर्दा उनी शब्द मेल अनमेलको रूपमा वा संगति विसङ्गतिका रूपमा खेल्छन् जस्तो लाग्छ । यही गीतमा उनले मैला पानीको प्रयोग गरेका छन् । हामी मैला पानी भन्ने बित्तिकै धमिलो पनि भनेर चिन्छौँ । तर दार्जिलिङको परिवेशमा त्यो नालीको पानी भनेर बुझिन्छ ।

नर्देन रुम्बाको बद्री दुर्गा खरेलको सङ्गीतमा ‘मेरो माया मर्स्याङ्दी झैँ सलल’ यो गीत निकै लोकप्रिय भयो । मर्स्याङ्दी खोला नै नदेखेका मान्छेले मर्स्याङदी बारेमा लेखेको यो गीतको बेला बेलामा दुर्गा खरेल चर्चा गर्छन् ।

बद्री दुर्गा खरेलको सङ्गीतमा नै कुमार सुब्बाले गाएका गीतहरू रुम्बाका चर्चित छन् । रुम्बालाई हामीले केवल आधुनिक गीतका गीतकारका रूपमा मात्र चिन्यौँ भने अन्याय हुन्छ । उनी प्रिय निर्देशक प्रताप सुब्बाद्वारा निर्देशित चलचित्र ‘बाँच्न चाहनेहरूका सफल गीतकार पनि हुन् ।  प्रताप सुब्बा जसले ‘परालको आगो’मा संगीतकारको हैसियतमा शान्ति ठटाललाई पहिलो पटक ब्रेक  दिए । त्यो  एउटा ऐतिहासिक कदम थियो । त्यसपछि पनि महिला संगीतकार आधा शताब्दीसम्म पनि फिल्ममा आउन  सकेनन् ।

सुब्बाले नै यस फिल्ममा गीतकार नर्देन रुम्बालाई ब्रेक दिए । रुम्बाले ‘बाँच्न चाहनेहरू’मा म त भाग्दिन विमला सेन्चुरी प्रधानको स्वरमा, मिठो मिठो तिम्रो श्वास मिठो पेमा लामा र विमला सेन्चुरीको स्वरमा नयाँ नयाँ घामको किरण विमला सेन्चुरी र पेमा लामाको स्वरमा र सामूहिक गीत हरबर हरबर दार्लेजिङ लेखे । यो गीत शान्ति ठटालको सङ्गीतमा पेमा लामा, ध्रुव लामा, कुन्ती सुन्दास, विमला सेन्चुरीलगायत धेरैले गाए । बाँच्न चाहनेहरूमा रुम्बाको शब्द शान्ति ठटालको संगीतमा गायिका अरुणा लामा थिइन् तर विमलाले गाइन् ।

अरुणा लामा र निर्देशक प्रताप सुब्बाका बीचमा केही मनमुटाब भएर लामाले गीत नगाउने भइन र विमला सेन्चुरीले गाएर नेपालको पार्स्व गायिकाको कुशल भूमिकामा देखा गरिन् ।

यस फिल्ममा रुम्बाले गीत गाउँदा सुब्बाले दार्जिलिङका अन्य गीतकारलाई सम्झिए पनि साथ दिएनन् । जस्तो  नन्दा हांखिम, मनबहादुर मुखिया, पी अर्जुनलगायतका धेरै गीतकारहरू थिए । तर नर्देन रुम्बालाई गीतकारको रूपमा ल्याउनु र मञ्च दिनु चलचित्रको ठूलो जित थियो ।

रुम्बाले यो चलचित्रमा गीत लेखेपछि नेपाली चलचित्रको गीत लेखन राम्रो भएको पाइन्छ । यस कारण पनि नेपाली चलचित्रमा रुम्बाको योगदान महत्वपूर्ण मानिन्छ ।  नेपाली चलचित्रलाई गहिरोसँग बुझ्ने गीतकारहरूको भीडमा रुम्बाको उपस्थिति भावशाली थियो ।

रुम्बाले अन्य धेरै गीतहरू लेखेका छन् । मित्र टासिवाङ चुले संगीत गरेका गीतहरू अरुणा लामा, पेमा लामाले पनि गाएका छन् । रुम्बा मिहिन शब्दमा गीत लेख्न सक्ने कुशल गीतकार हुन् । उनका गीतहरूको उपस्थिति वरिष्ठ गीतकारलाई पनि चुनौतीपूर्ण बनिसकेको थियो ।

अंग्रेजी साहित्यका ज्ञाता रुम्बाले लेखेका कयौँ गीतहरू पछिल्लो समयकी गायिका डेजी बराइलीले पनि गाएकी छन् । रुम्बाको चर्चा यस कारण पनि महत्वपूर्ण छ, उहाँ देवकोटा वा किरण खरेल र राममान तृषित शैलीको गीतकार हैन । उनले आफ्नै एउटा बाटो बनाए । जसलाई एउटा कठिन मार्ग मान्न सकिन्छ । तर त्यसलाई उनले शिष्ट तरिकाले परम्परा बनाए ।

रुम्बाको गीत गाउन कलाकारलाई गाह्रो जे भए पनि गाइसकेपछिको आनन्द मिठो छ । यसको उदाहरणका लागि बद्री दुर्गा खरेलको सङ्गीतमा दावा ग्याल्मोको स्वरमा शुभकामना खाली खाली दिनेलाई दानी भनेर  । यहाँ अघिल्लो खाली केवल र पछिल्लो खाली शून्य राखिएको छ । एउटा गीतकारको यो प्रयोगलाई गीतकारहरूले कति मर्मान्त रूपले बुझ्नु भएको छ भन्ने कुरा गीत सुनेपछि थाहा हुन्छ ।
बद्री दुर्गा खरेलले अन्य गीतहरू पनि ‘निर्मोहीका मायाहरू’ भन्ने एलबममा प्रकाशित भएका छन् । र बैनीको नामै के होला जस्ता अन्य गीतहरू पनि छन् ।

अँगालोमा आऊ भन्ने रुम्बाको लेखन रहेको गीत रेडियो नेपालले अश्लिल भन्दै त्यतिबेला प्रतिबन्ध लगायो । तर कविको सोचाइलाई गीतमा समावेश गर्दा गीत पारिवारिक रूपमा सुनिने विद्या भएकाले रेडियो नेपाल डराएको हुन सक्छ । तर अहिले गीत सुन्दा हामीलाई अँगालोमा आऊ एउटा मिठो अन्याय गर मेरी मायालु राम्रो लाग्छ ।

रेडियो नेपालको आधुनिक गीतमा विभिन्न कलाकार गायक गायिका संगीतकारको सजावटमा सजिएका नर्देन रुम्बालाई पछिल्लो पुस्ताका गायक नेपथ्यबाट अमृत गुरुङले पनि गाए । नर्देन रुम्बा एक गीतकार, कवि र अनुवादकका रूपमा सदा परिचित छन् । तर दार्जेलिङको त्यो पहाड चढ्दै गर्दा बाँच्न चाहनेहरूको हरबर हरबर दार्जेलिङको रेल झ्वास्स सम्झना आउँछ । धेरै गीतकारहरूले प्रयोग गरेको गीतको उपमा नयाँ नयाँ घामको किरण उनको पनि त्यतिकै लोकप्रिय भयो । जसरी रत्नशम्शेर थापाको अन्यायमा नयाँ नयाँ लाग्छ भन्ने गीत पनि लोकप्रिय भयो । गीतकारको आफ्नै परिचय हुन्छ गीतमा । त्यो नर्देन रुम्बा अन्तरात्मा मुखडामा वा गीतको शब्दमा बेला बेलामा दिने गर्छन् ।

नर्देन रुम्बा चन्दन लम्जेल र नारायण गोपालको त्यो त्रिकोणिक शब्दले बनेको मेरा सबै रातहरू भन्ने गीत गीति यात्राको एउटा महत्त्वपूर्ण गीत हो ।

तर रमाइलो र अनौठो दुखद कुरा के छ भने गायक नारायण गोपाल र गीतकार नर्देन रुम्बाको कहिल्यै भेट भएन, वा भेट्ने इच्छा हुँदाहुँदै पनि नर्देन रुम्बाले नारायण गोपालसँग भेट्न पाएनन् । साह्रै कम उमेरमा निधन भएका नर्देन रुम्बा नेपाली गीत आकाशमा ठूलो उचाइ बोकेका गीतकार हुन् । मे महिनामा जन्म भएको हो र मे महिना नै उनको  निधनको महिना भयो ।

हामीले उनको चर्चा गर्दा धेरै कुराहरू छन् । हिमाल पहाड फूलहरू प्राप्य दुर्लभ बन्यजन्तुहरु  धेरै कुराहरू छन् । त्यसै गरी हाम्रो गीति आकाशमा सङ्गीतको सागरमा नर्देन रुम्बाका जस्ता अमूल्य गीतहरू पनि छन् । यी सबै कुरा सम्झेर महान् गीतकार नर्देन रुम्बाप्रति हार्दिक श्रद्धाञ्जली

 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १२ : ५१ बजे

चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास

काठमाडौं– चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा जापान, अस्ट्रेलिया

बागमती प्रदेशमा ६७ करोडका योजना थप

हेटौँडा– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि

‘महाजात्रा’को उत्साहजनक व्यापार कायमै

काठमाडौं– नयाँ वर्षको दोस्रो दिन पनि प्रदीप भट्टराईको लेखन तथा

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपा रन्जिता पक्षका कैलाशको पनि दाबी पेश

काठमाडौं–सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपा रन्जिता श्रेष्ठ पक्षका कैलाश चाैधरीको पनि दाबी

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स, ६६ स्कुल बस

काठमाडौं– भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र