काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार सिंहदरबारमा दुई घण्टावार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच बिहान ११.४० देखि झन्डै दुई बजेसम्म संवाद भएको हो ।
प्रधानमन्त्रीसँगको भेटपछि अध्यक्ष ओलीले समसामयिक राजनीतिसहित बजेटबारे पनि कुरा भएको बताएका छन् ।
बजेट अधिवेशनबारे पनि कुरा भएको उनले जानकारी दिए । ओलीले बजेट अधिवेशन आह्वान गर्ने जिम्मा सरकार र संसद्को रहेकाले त्यसबारे चाँडै निर्णय हुन सक्ने उल्लेख गरे ।
भेटवार्तामा दुई नेताले उपनिर्वाचनको समीक्षा पनि गरेका छन्। उपनिर्वाचनमा इलाम र बझाङ दुवैमा एमाले विजयी भइसकेको छ ।
भेटमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको असन्तुष्टिबारे छलफल भएको स्रोतले जनाएको छ । नेपालले पछिल्लो समय सरकार र एमालेविरुद्ध आक्रमक भनाइ राखिरहेका छन् ।
प्रतिक्रिया