अर्थमन्त्रीलाई सत्तारुढ सांसदकै सुझाव : बजेट आएको महसुस गरिबलाई पनि गराउनुस्‌ | Khabarhub Khabarhub

अर्थमन्त्रीलाई सत्तारुढ सांसदकै सुझाव : बजेट आएको महसुस गरिबलाई पनि गराउनुस्‌

‘खरको छानो हटाउन ७ अर्ब चाहिन्छ, ८० करोडले केही हुँदैन’


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सांसद् एवम् पूर्व सहरी विकासमन्त्री मेटमणि चौधरीले बजेट आएको महसुस गरिबलाई पनि गराउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् ।

प्रतिनिधि सभा बैठकमा जारी बजेट छलफलमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री चौधरीले अत्यावश्यक कार्यक्रममा कम बजेट विनियोजन गरिएको भन्दै घुमाउरो ढंगले अर्थमन्त्रीको आलोचना पनि गरे ।

‘म केही विषयमा अर्थमन्त्रीको ध्यान आकर्षित गर्न चाहन्छु, आज हामीसँग राम्रा योजनाहरू छन्, जसले नेपाली जनताको मनमुटु छोएको छ, तर पैसा छैन,’ चौधरीले भने, ‘ खरको छाना विस्थापन योजना एउटा उदाहरण हो । देशभरबाट खरको छानो विस्थापन कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्न ७ अर्ब रुपैयाँभन्दा बढी बजेट चाहिन्छ, हामीले ८० करोड रुपैयाँ ८० करोड रुपैयाँ बजेट विनियोजन गर्‍यौं ।’

फाइल फोटो

गरिबका लागि, कमजोर वर्गका लागि, दुर्गम क्षेत्रका लागि बजेटमा राम्रो व्यवस्थापन गर्न नसकेको चौधरीको टिप्पणी छ । अर्थमन्त्री स्वयम् रोल्पाजस्तो दुर्गम जिल्लाको प्रतिनिधि भएकाले हरेक गरिबलाई बजेट आएको महसुस गराउनुपर्ने उनले बताए ।

‘खरको छानो विस्थापन गर्न जुन ७ अर्ब रुपैयाँ आवश्यक छ, यसका लागि २ खर्ब रुपैयाँभन्दा बढी राखिएको (अर्थ मन्त्रालय) बजेटबाट भए पनि यो परियोजना सम्पन्न हुनेगरी काम अघि बढाउनुहोला,’ चौधरीले थपे, ‘यसै वर्षभित्र देशभरका घरबाट खरको छानो विस्थापन गर्नुपर्छ ।’

बजेट भन्नासाथ आम्दानी खर्चको विवरण भनेर बुझ्ने गरिएको, तर आधुनिक अर्थशास्त्रीहरूले बजेटलाई संवैधानिक तथा राजनीतिक दस्तावेजको रूपमा लिने गरेका चौधरीले बताए । त्यसैले आम जनताका रुचिका विषय र सरकारका नीतिबीच संयोजन पनि बजेटले गर्नुपर्नेमा उनले जोड दिए ।

आफ्नो निर्वाचन क्षेत्रको उदाहरण दिँदै पूर्वमन्त्री चौधरीले खरको छाना विस्थापन योजना अन्तर्गत स्थानीय पालिकाहरुले ६ हजार ३३६ घरधुरीसँग सम्झौता गरेका जानकारी दिए । एउटा घरधुरीलाई ७५ हजार रुपैयाँ दिने भनिएको र समग्रमा ४७ करोड ५२ लाख रुपैयाँ खर्च हुने देखिएको चौधरीले बताए ।

देशैभर २ लाख १४ हजार २२३ वटा घरधुरी सूचीकृत भएको र स्थानीय पालिकाले सम्झौता गरेकाले ८० करोड रुपैयाँ अपर्याप्त रहेको भन्दै उनले आवश्यक व्यवस्था मिलाउन अर्थमन्त्री पुनलाई भनेका हुन् ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ३ : ३७ बजे

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कञ्चनपुर– गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी

अझै पुनःस्थापना हुन बाँकी छन् मुक्त हलिया

अत्तरिया– आज हलिया मुक्तिको १७ वर्ष पूरा भएको छ ।