एकसाथ दुईवटा डुंगामा सवार माधव नेपाल | Khabarhub Khabarhub

एकसाथ दुईवटा डुंगामा सवार माधव नेपाल

न मधेश सरकार छाड्न सक्छन्, न त सिंहदरबार


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम्‌ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता समीकरणलाई लिएर दोहोरो चरित्र देखाएका छन् । उनले केन्द्र र मधेश सरकारबारे आफूलाई ‘यता न उता’को अवस्थामा उभ्याएका हुन् ।

एमालेबाटै चोइटिएर तीन वर्षअघि बनेको एकीकृत समाजवादीको नेतृत्व गरिरहेका नेपाल सत्ता समीकरणमा रहेर प्रमुख प्रतिपक्षी गठबन्धनको बैठकमा पनि पुगिरहेका छन् ।

उनी एमालेको नेतृत्वमा हुँदा जुन नीतिले पार्टी सञ्चालन गर्थे, अहिले पनि त्यही ढुलमुले नीति एकीकृत समाजवादीमा पनि दोहोर्‍याइरहेका छन् । अर्थात् उनी केन्द्रमा एमाले–माओवादी गठबन्धनमा छन् भने गृह प्रदेशसमेत रहेको मधेशमा भने विपरीत ध्रुवमा !

केन्द्रका सत्ता सहयात्री एमाले र माओवादी दुवै मधेश सरकारबाट बाहिरिएको एक महिना हुन लाग्दा माधव नेपालले भने आफ्नो दलका मन्त्रीलाई निरन्तरता दिइरहेका छन् । यही ढुलमुले प्रवृत्ति र अनिर्णय बन्दी बनेको अवस्थालाई लिएर पार्टी बैठकमै नेताहरूले उनीमाथि प्रश्न र आलोचना गरेका थिए ।

गत जेठ १४ गते बसेको एकीकृत समाजवादी सचिवालयको बैठकमा अध्यक्ष नेपालको भूमिकालाई लिएर उपाध्यक्ष प्रमेश हमालले कडा प्रश्न गरेका थिए । उनले पार्टीको पक्षमा माहोल बनिरहेका बेला माधव नेपालले जथाभावी बोलेर कुरो बिग्रिएको भन्दै आलोचना गरेका थिए ।

‘अध्यक्ष कमरेडले सार्वजनिक रुपमा जथाभावी बोलेर कुरा बिग्रेको छ’, हमालले सचिवालय बैठकमै भनेका थिए, ‘यसरी तपाईंले किन बोल्नुपरेको ? कतिपय कुराहरू नबोलेर पनि बनाउन सकिन्छ । तपाईंले बोलेकै कारण हाम्रो पक्षमा बनेको परिस्थित भाँडियो ।’

बैठकमा प्रश्न उठे जस्तै एकीकृत समाजवादी अहिले संघीय सत्ता समीकरण र विपक्षी मोर्चामा रहेका दुवै खेमाहरुको फरक–फरक डुंगामा एकसाथ सवार छ ।

केन्द्रमा उनी नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार र मधेस प्रदेशमा प्रतिपक्षमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकारमा सहभागी छन् ।

उनले दुवै तहका सरकार छोड्न सकेका छैनन् । त्यहीकारण केन्द्रमा सत्ता गठबन्धनतिरका उनी प्रतिपक्षी दलहरुको बैठकमा पनि पुगिरहेका छन् । कांग्रेसले डाकेको प्रतिपक्षीको बैठकमा भाग लिन बूढानीलकण्ठ पुग्ने उनी सिंहदरबार छिरेर सत्तारुढ नेताहरुसँग पनि संवाद गरिरहन्छन् ।

केन्द्रमा सत्ता समीकरणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट उनी जेठ १६ गते कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । त्यो पनि प्रतिपक्षी दलको बैठकमा भाग लिन ।

देउवाले प्रतिपक्षी दलहरूको बैठक राखेर नेपाललाई पनि निम्तो दिएका थिए । अध्यक्ष नेपाल प्रतिपक्षी दलको मोर्चामै मिसिएर बूढानीलकण्ठ बैठकमा सहभागी भए ।

प्रतिपक्षीसँग बाक्लो संवादमा रहेका अध्यक्ष नेपालले केन्द्र सरकारमा सांसदहरु भानुभक्त जोशी र धनबहादुर बुढालाई क्रमशः संघीय मामिला तथा सामान्य प्रशासन र सहरी विकास मन्त्रालय सम्हाल्न पठाएका छन् ।

संघीय सत्ता गठबन्धनमै रहेको जसपा नेपाल विभाजन भएर अर्को पार्टी बनेपछि अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएर प्रतिपक्षमा बसेका छन् ।

उनले मन्त्रीबाट राजीनामा दिएपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारबाट समर्थन पनि फिर्ता लिइसकेका छन् ।

गत वैशाख ३० गते सरकार छोडेसँगै जसपा नेपालबाट मुख्यमन्त्री रहेका यादव नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । संघीय सत्ता समीकरणका मुख्य दुई दल एमाले र माओवादी मधेश प्रदेश सरकार छाडेर प्रतिपक्षमा बस्दा नेपाल नेतृत्वको एकीकृत समाजवादीले छोड्न चाहिरहेको छैन । उसले मधेशमा सरकार नछाडेर केन्द्रमा सत्ता र प्रतिपक्ष दुवैसँग बार्गेनिङ गरिरहेको छ ।

मधेशसमा एकीकृत समाजवादीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली अझै पनि मन्त्रीको भूमिकामा छिन् ।

मन्त्रीसमेत रहेका मधेशमा एकीकृत समाजवादी दलका नेता न्यौपानेले सरकार छाड्ने या बसिरहनेबारे अहिलेसम्म कुनै निर्णयमा नपुगेको बताएका छन् । उनले खबरहबसँग भने, ‘हामी अझै केन्द्र र मधेस सरकार दुवैमा रहेकोले मुख्यमन्त्री यादवलाई समर्थन गर्ने–नगर्ने पेचिलो विषय छ । यो राजनीतिक कुरा हो, १–२ घण्टामा परिस्थिति फेरबदल हुन सक्छ ।’

तर न्यौपानेले मधेश प्रदेश सरकारमा बसिरहने या केन्द्रको समीकरण जस्तै बाहिरिएर तीन दलले गरिसकेको जनमतको नेतृत्वमा बन्ने सरकारलाई सघाउने भन्ने निर्णयमा पुग्न नसकिएको बताए ।

यद्यपि, नेकपा एकीकृत समाजवादीको मनसाय भने जता–जता सत्ता जान्छ उतैतिर ढल्किने देखिएको छ ।

संघीय सरकारमा सत्तापक्षीय समीकरण र मधेश प्रदेशमा विपक्षी समीकरणलाई साथ दिएर अध्यक्ष नेपालको पार्टी दुईवटा डुंगामा एकसाथ सवार छ । यद्यपि, उनी आफूले आफैँलाई भनिरहेका छन्– हामी दुई नाउमा खुट्टा राखेर चल्दैनौँ ।

संघीय सरकार र मधेश सरकारमा एकसाथ पार्टीले सघाइरहेकोबारे उनले आइतबार पार्टीको दसौँ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामी दुईवटा नाउमा खुट्टा राखेर चल्दैनौँ । हामी पहिलेदेखिको सरकारमा निरन्तरताका रुपमा सामेल भएको मात्रै हो ।’

अध्यक्ष नेपालले आफ्नो दललाई दुईवटा डुंगामा खुट्टा राख्ने पार्टी नभएको जिकिर गरिरहँदा व्यवहारमा भने एकीकृत समाजवादी त्यसको ठीकविपरीत देखिएको छ ।

यसबारे उनले आइतबार काठमाडौंमा पत्रकारलाई प्रष्टीकरण दिए, ‘संवाद भइरहेको छ, छलफल चलिरहेको छ । एउटा नयाँ सिलसिला चलिरहेको छ । हाम्रो पार्टीले यसबारे के गर्नुपर्ने हो, यसको अन्तिम निर्णय गर्न बाँकी नै छ ।’

एमाले र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण मधेशका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने बताइसकेका छन् । उनले जेठ २९ भित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।

विश्वासको मतको समय आएसँगै सरकार टिकाउने र ढाल्ने राजनीतिक खेल तीव्र भएको छ । तर, एकीकृत समाजवादीले प्रदेश सरकारलाई सघाउने–नसघाउने निर्णय गर्न सकेको छैन ।

जसपा नेपाल नेतृत्वको प्रदेश सरकार जोगाउन केन्द्रको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलहरू लागि परेका छन् । अर्कातिर यो सरकार ढालेर जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, जनमत पार्टी र माओवादीले सबै तागतसहित खटिएका छन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा २५ प्रदेश सांसदसहित एमाले पहिलो दलका रुपमा छ । प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ८, माओवादीका ९ र एकीकृत समाजवादीका ७ सदस्य छन् ।

लोसपाका ९ मध्ये १ जना सांसद अभिराम शर्मा निलम्बित छन् । उनी संसदीय दलको नेता हुँदै सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विक हत्या प्रकरणमा अदालतबाट दोषी पाइएपछि निलम्बित भएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका पनि मधेश प्रदेशसभामा १–१ जना सांसद छन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सांसदको समर्थन चाहिन्छ । त्यसमध्ये एमालेका रामचन्द्र मण्डल अहिले सभामुख छन् । त्यसबाहेक ४६ सांसद रहेको तीन दलीय गठबन्धनलाई सरकार बनाउन थप ८ जना आवश्यक छ ।

संघीय सत्ता समीकरणमा रहेको नेपाल नेतृत्वको एकीकृत समाजवादीले केन्द्रीय गठबन्धनअनुसार तीन दललाई समर्थन गरे सांसदहरुको संख्या ५३ पुग्नेछ । अझै सरकारका लागि १ सांसद अपुग हुन्छ ।

राप्रपाले एमालेसहितको गठबन्धन सरकारलाई मधेश प्रदेशमा पनि समर्थन नगर्ने बताइसकेको छ । यद्यपि नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले केन्द्रीय गठबन्धनलाई समर्थन गर्ने दाबी एमालेका नेताहरूले गरिरहेका छन् ।

एकीकृत समाजवादीले समर्थन गरे पनि तीन दलीय गठबन्धनलाई आवश्यक बहुमत संख्या नपुग्दा थप संख्या पुर्‍याउन एमाले, माओवादी र जनमतका नेताहरू एकजुट भएर काठमाडौंमा बालुवाटार, बालकोटदेखि नेपाल निवास कोटेश्वरसम्म धाइरहेका छन् ।

उता सत्ता टिकाउन संघर्षरत जसपा नेपाल एकीकृत समाजवादीको साथ पाउने आशमा देखिन्छ । मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा अहिले एकीकृत समाजवादीका २ जना मन्त्री छन् ।

लोसपाले भने जसपा नेतृत्वको सरकारलाई कुनै हालतमा समर्थन नगर्ने बताइसकेको छ । लोसपा महासचिव मनिष मिश्रले केन्द्रदेखि नै विपक्षी गठबन्धनमा रहेको बताउँदै त्यसबाट अहिले नै दायाँबायाँ हुने अवस्था नरहेको बताए ।

केन्द्रदेखि नै कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकाले मधेश प्रदेशमा एमालेसमेतको समर्थन लिएको जनमत नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्न नसकिने मिश्रले बताए ।

थप समाचार

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ६ : ३१ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार