अर्थसंक्षेप : बजेटमा नुवाकोटको बाटोको पैसा काटिएको प्रकाशशरणको गुनासोदेखि एमालेको असन्तुष्टिसम्म | Khabarhub Khabarhub

 अर्थसंक्षेप : बजेटमा नुवाकोटको बाटोको पैसा काटिएको प्रकाशशरणको गुनासोदेखि एमालेको असन्तुष्टिसम्म


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा नुवाकोटका सडकका रकम काटिदिएको भन्दै पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले गुनासो गरेका छन् । आगामी आवको बजेट निर्माण प्रक्रियामा सत्तारुढ दलहरुसँग आवश्यक छलफल नगरिएको भन्दै एमाले सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले वृद्धि भएको छ । सुनचाँदी व्यवसायीले सुनमा गरिएको भन्सार शुल्क वृद्धिको विरोध गरेका छन् । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । 

हेर्नुहोस आजका मुख्य आर्थिक समाचारहरू : 

प्रकाशशरणको गुनासो : अर्थमन्त्रीले रिस फेरे, नुवाकोटका सडकको बजेट काटिदिए

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा अर्थमन्त्री वर्षमान पुनले आफूसँग रिस फेरेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै महतले यस्तो बताएका हुन् ।

‘अर्थमन्त्रीजीले बजेट ल्याउँदा नुवाकोटको सडकमा रिस फेर्नु भएछ, नुवाकोटको एउटा निर्वाचन क्षेत्रको आधाभन्दा धेरै जनसंख्याले सदरमुकामदेखि गोल्फु भञ्ज्याङसम्म हुँदै समुद्रटारबाट सिन्धुपाल्चोक नजिक हुँदै जाने सडकलाई कोल्याप्स हानिएछ’, उनले भने, ‘भौतिक तथा प्राविधिक सर्भेसहितका सबै काम सकिएको सडकलाई बजेट नै दिइएन छ । अर्थमन्त्री र भौतिक मन्त्रीले रोकेको सुनेँ । सायद बजेट नै राख्नु भएन होला ।’

उनले उक्त सडक आफू मात्रै हिँड्ने जस्तो गरेर रिस फेरिएको बताए । ‘म मात्रै हिँड्ने बाटो हो त्यो, म एक्लै हिँड्ने बाटो हो । एमाले र माओवादीले त्यो बाटो प्रयोग गर्दैनन् ? के गर्न खोजेको हो ?’, उनले भने, ‘छहरे–टोखा सुरुङमार्गले पृथ्वी राजमार्गलाई पनि जोड्छ । त्यसलाई पनि अलपत्र पारिए छ । जसलाई चिनियाँसँग कुरा गरेर अघि बढाउने भनेको थिएँ । म हुँदा अघि बढाएको तर अहिले उहाँले राख्नु भएन ।’

बजेटमा एमाले सांसदहरूको असन्तुष्टि

सरकारले ल्याएको आगामी आवको बजेटमा एमालेका सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्ने क्रममा मुख्य सत्तारुढ दल एमालेका सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।

एमाले उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले बजेटमा केही कमजोरी र समस्या देखिएको भन्दै तयारीकै बेला अर्थमन्त्रीले सल्लाह गरेको भए ती नदेखिने बताए ।

‘हामीलाई थाहा छ अर्थमन्त्री व्यस्त हुनु भयो, उहाँको व्यस्तता हामीले बुझेका छौँ’, उनले भने, ‘व्यस्तताका कारण सरकारमा रहेका दलका नेताहरूसँग सुझाव लिन भ्याउनु भएन । म अर्थमन्त्रीको व्यस्तता बुझ्छु’, उनले भने, ‘तर हामीसँग, सत्ता साझेदारहरूसँग बजेट बनाउँदा सल्लाह लिनु भएको भए राम्रो हुन्थ्यो ।’

त्यस्तै, अर्का एमाले सांसद गोकुल बास्कोटाले बजेटमा सरकारले केपी ओली नेतृत्वको सरकारका पालामा प्राप्त उपलब्धि नसमेटिएको गुनासो गरेका गरे । प्रतिनिधि सभा बैठकमा आगामी बजेटमाथि भएको छलफलमा धारणा राख्दै एमाले नेता बास्कोटाले अर्थमन्त्री पुनलाई ओली सरकारका पालाको उपलब्धि दुई वर्ष पछिको बजेटमा भए पनि समेट्न समेत आग्रह गरे ।

सीबी लामामाथि दुई सहकारीको डेढ अर्बभन्दा बढी ठगी आरोप, ९०० जनाले दिए उजुरी

प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ गरेका चन्द्रबहादुर तामाङ (सीबी लामा) लाई आइतबार सार्वजनिक गरेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमा बचतकर्ताको डेढ अर्बभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।

कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामाविरुद्ध कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ८५२ जना र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध ५४ जनाको निवेदन परेको जानकारी दिए ।

प्रहरी वृत्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भई दुई(तीन महिनादेखि फरार रहेको अवस्थामा लामालाई जेठ १८ गते चितवनबाट पक्राउ गरिएको उनले बताए । प्रहरीले सार्वजनिक गर्ने क्रममा पक्राउ परेका लामाले आफूमाथि झुटो आरोप लगाइएको भन्दै अदालतले न्याय दिने दाबी गरे ।

२०५५ देखि ७६ सालसम्म कान्तिपुर सहकारीको अध्यक्ष रहेका लामा एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष हुन नपाउने नियम लगाएपछि राजीनामा दिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध विभिन्न प्रहरी इकाइहरूमा गरि अन्य चारवटा बैंकिङ कसुरको मुद्दा चलेको खुलेको छ । उनी अरू तीन वटा मुद्दामा फरार रहेको पाइएको प्रहरीले जनाएको छ ।

१३ अंकले बढ्यो शेयर बजार, ४ अर्बमाथि कारोबार 

साताको पहिलो कारोबारको दिन आइतबार आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ६५ प्रतिशतले बढेर २ हजार ८३ को बिन्दुमा पुगेको हो । आजको कारोबारमा १७४ कम्पनीको शेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ ।

आज नेप्सेमा ३२५ कम्पनीको ६५ हजार ६ सय ५४ कारोबारबाट ९६ लाख ९७ हजार कित्ता शेयर किनबेच भएको छ । त्यस्तै, आज ४ अर्ब ३१ करोड १० लाख १५ हजार रकम बराबरको कारोबार भयो ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २२ करोड ६४ लाख, पोखरा फाइनान्सको १८ करोड ७० लाख र फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाए ।

बजेटमा भन्सार शुल्क बढाएको भन्दै सुनचाँदी व्यवसायीहरूको प्रदर्शन 

सुनचाँदी व्यवसायीले बजेटमार्फत् सुनमा गरिएको भन्सार शुल्क वृद्धिको विरोध गरेका छन् । केही व्यवसायीले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पु¥याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीको दाबी छ ।

भन्सार तिरेर आउने सुन धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै व्यवसायीले फिर्ता लिन माग गरेका छन् ।

नेपालमा लगानी गर्न ढकालद्धारा बेलायती राजदुतसँग अनुरोध 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीको लागि अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावनाबारे जानकारी गराए ।

उनले सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि उल्लेख गरे ।

नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवर्द्धन गर्न आग्रह गरे । निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्‍याइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराए । नेपालमा वैदेशिक लगानी आएमा निजी क्षेत्रले थप योगदान दिन सक्ने ढकालले बताए ।

ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि बताए । नेपाल उद्योग वाणिज्य महासंघको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन आठ वटा लगानी ऐन परिमार्जन गरेको उनले राजदूत फेनलाई जानकारी गराए ।

एक वर्षमा १६ लाख पर्यटक भित्र्याउँछौ : पर्यटनमन्त्री 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् । २०२३ मा १० लाख पर्यटक आएका थिए भने अब २०२४ मा १६ लाख पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।

‘सन् २०२३ मा १० लाख पर्यटक मात्र आएका थिए,’ मन्त्री तामाङले भने, ’सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य साथ काम भइरहेको छ ।’

लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दु धर्मावलम्बी पर्यटकको संख्या धेरै रहेको र बाँकी यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

नेपाल लाइफ इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने 

नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।

इन्स्योरेन्सको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५% अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल बिमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

बजेटले भान्साको मूल्य कम गर्छ : सांसद पराजुली

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ६ : ५८ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार