ईभी चार्जिङ स्टेशन कति सुरक्षित र पहुँचयोग्य ? | Khabarhub Khabarhub

ईभी चार्जिङ स्टेशन कति सुरक्षित र पहुँचयोग्य ?

देशभर ४०८ स्टेशन जडान, आवश्यकताको १० प्रतिशतमात्रै



काठमाडौं– पछिल्लो समय देशभर विद्युतीय सवारी साधन (इलेक्ट्रिक भेहीकल-ईभी) प्रयोग बढिरहेको छ । स्वदेशमै उत्पादित बिजुली खपत बढाउन र वातावरणमैत्री सार्वजनिक यातायात विस्तार गर्ने सरकारको नीति अनुसार विद्युतीय सवारी साधनको उपयोग बढ्दै जान थालेको हो ।

विद्युतीय सवारी चार्ज गर्न मिल्ने गरी नेपाल विद्युत् प्राधिकरणले ५१ वटा, निजी कम्पनीहरूले ३५० वटा र प्रदेश सरकारहरूले ७ वटा चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएका छन् । निजी क्षेत्रबाट थप चार्जिङ स्टेशनहरू निर्माण गर्न बुकिङ आइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेका चार्जिङ स्टेशनबाट मात्रै दैनिक ६ करोड रुपैयाँ आम्दानी हुने गरेको छ ।

ईभी गाडीतर्फ आकर्षण बढ्दै गए पनि त्यसका लागि आवश्यक चार्जिङ स्टेशन लगायत पूर्वाधार अपर्याप्त रहेको र सुरक्षाका हिसाबले जोखिमपूर्ण रहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष मिलनबाबु मल्ल बताउँछन् ।

‘विद्युतीय सवारी साधन बिक्री गर्ने कम्पनीहरूले आफ्नै चार्जिङ स्टेशन राख्नुभएको छ । प्राधिकरणले पनि विभिन्न ठाउँमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ,’ उनले भने, ‘तर, अहिले विद्युतीय सवारी साधनको चाप बढ्दै गएकाले पर्याप्त हुन सकेको छैन । अहिलेको चार्जिङ स्टेशनहरू विद्युतीय सवारी साधनका लागि आवश्यकताको १० प्रतिशतजति मात्रै हो ।’

पेट्रोल पम्पको गुणस्तर मापदण्ड नापतौल विभागले गर्ने गरे पनि विद्युतीय चार्जिङ स्टेशनको गुणस्तर र सञ्चालनका लागि छुट्टै मापदण्ड र संयन्त्र बनाउनुपर्ने उनको भनाइ छ ।

‘चार्जिङ स्टेशन मात्र राखिदिएर भएन । त्यसको गुणस्तर कस्तो छ ? कति पार्किङ गर्न सकिन्छ ? कति सुरक्षित छ ? आगलागी हुने खतरा छ/छैन ? हेर्नुपर्छ ’ उनले भने, ‘त्यसका लागि सरकारले गुणस्तर र सुरक्षा मापदण्ड निर्धारण गर्ने संयन्त्र बनाउनुपर्छ ।’

जुन कम्पनीले विद्युतीय सवारीसाधन बिक्री गर्छन्‌- त्यस्ता कम्पनीहरूले आफैँ चार्जिङ स्टेशन राख्ने गरेका छन् । कतिपय व्यवसायी तथा उद्योगीहरू पनि व्यवसायिक प्रयोजनका लागि चार्जिङ स्टेशन निर्माण गर्न अग्रसर भइरहेका छन् ।

ऊर्जा मन्त्रालयले विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापनासम्बन्धी कार्यविधि अनुसार चार्जिङ स्टेशन सार्वजनिक स्थल, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, व्यापारिक, व्यवसायिक तथा आवासीय स्थलमा स्थापना गर्ने उल्लेख छ । विद्युतीय चार्जिङ सेवा उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणबाट स्वीकृति लिनुपर्ने प्रावधान छ ।

प्राधिकरणको विद्युत् वितरण विनियमावली, २०७८ अनुसार लामो दूरीका विद्युतीय सवारी र हेभी ड्युटी सवारीसाधन आदिका लागि प्रत्येक १०० किलोमिटरमा चार्ज गर्न सकिने पूर्वाधार हुनुपर्ने व्यवस्था गरेको छ । लामो रुट र बढी सवारीसाधन चल्ने सडकमा आवश्यकता हेरेर चार्जिङ स्टेशन बन्नुपर्ने निजी क्षेत्रको माग छ ।

प्राधिकरणले अध्ययन बिना नै चार्जिङ स्टेशनको अवधारणा बनाएकाले त्यसको सुरक्षा मापदण्ड, पार्किङ क्षेत्र र आवश्यक नै नपर्ने ठाउँमा चार्जिङ स्टेशन बनेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाको तर्क छ ।

हालसम्म निकै कम रुटमा मात्र चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको, तर बढी रुट हुने सडक तथा राजमार्ग आसपासमा चार्जिङ स्टेशन निर्माण हुनुपर्ने उनको माग छ ।

‘अहिले आवश्यकता नै नभएको ठाउँमा चार्जिङ स्टेशन राखिएको छ । जहाँ आवश्यक छ- त्यहाँ चार्जिङ स्टेशन राख्नुपर्छ,’ उनले भने, ‘हालका चार्जिङ स्टेशनबाट सर्वसाधारणले सेवा लिन सकिरहेका छैनन् । प्राधिकरणले स्थापना गरेका चार्जिङ स्टेशनमा सुरक्षा मापदण्ड नअपनाइएको, पर्याप्त पार्किङ नभएको र चौबीसै घण्टा खुल्ला हुनुपर्नेमा त्यस्तो छैन ।’

उनका अनुसार प्राधिकरणले सामाखुसीमा सञ्चालन ल्याएको चार्जिङ स्टेशन पेट्रोलपम्प नजिकै छ । चार्जिङ स्टेशन कम्तिमा ३/४ वटा गाडी पार्किङ हुने खालको बन्नुपर्ने माग भइरहेको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय रहेको रत्नपार्क हाताभित्र पनि चार्जिङ स्टेशन सञ्चालनमा छ । तर, उक्त चार्जिङ स्टेशन तथा पोर्टबाट प्राधिकरणका कर्मचारीकै विद्युतीय सवारीसाधन मात्र चार्ज गर्न मिल्छ । प्राधिकरणकै कर्मचारीका सवारी साधन पार्किङ गर्न नपुग्ने ठाउँमा राखिएकाले आम सर्वसाधारणले उक्त चार्जिङ स्टेशन प्रयोग गर्न नसकिरहेको थापाको भनाइ छ ।

त्यस्तै; महेन्द्र पुलिस क्लबभित्र रहेको चार्जिङ स्टेशनबाट सर्वसाधारणले विद्युतीय गाडी चार्ज गर्न नै पाइरहेका छैनन् । सरकारी कर्मचारीले पनि कार्यालय समयबाहेक अरू बेला गाडी चार्ज गर्न नपाएको उनको भनाइ छ ।

फाइल फोटो

अहिले प्राधिकरणले सञ्चालनमा ल्याएका चार्जिङ स्टेशनबाट सम्पूर्ण समस्या समाधान नहुने विद्युतीय चार्जिङ स्टेशन आयोजना प्रमुख सागरमणि ज्ञवालीले खबरहबलाई बताए । विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण र सञ्चालनलाई थप व्यवस्थित गर्न प्राधिकरणले पहल गरिरहेको उनको भनाइ छ ।

‘ईभी प्रयोग बढाउँदै यससम्बन्धी व्यवसाय ‘बुमिङ’ गराउनका लागि प्राधिकरणले चार्जिङ स्टेशन राखिदिएको हो । ‘शोकेस’ को रूपमा राखेका हौं । पहिला मान्छेलाई थाहै थिएन । तर, त्यो नै सम्पूर्ण समाधान भने होइन,’ उनले भने, ‘अहिलेको अवस्थामा धेरै चार्जिङ स्टेशनहरू बन्नुपर्छ । हामीले राखेका ठाउँमा चार्ज गर, हेर, अनि तिमीहरूले आफ्नो बिजनेस गर भनेर शोकेस गरिएको मात्रै हो ।’

प्राधिकरणका ५१ चार्जिङ स्टेशन
नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ५१ वटा स्थानमा विद्यूतीय सवारी साधन चार्ज गर्न मिल्ने चार्जिङ स्टेशन निर्माण गरिसकेको छ ।

धादिङको धार्केमा २, चितवनको मुग्लिङमा १, साझा सेवा बल्खु काठमाडौंमा २, साझा सेवा पुल्चोक ललितपुरमा १, नेपाल विद्युत प्राधिकरण, रत्नपार्क काठमाडौंमा १, नेपाल पुलिस क्लब भृकुटीमण्डप काठमाडौंमा १, पारस बसपार्क चितवनमा २, खुर्कोट सिन्धुलीमा २, सिन्धुली बसपार्क सिन्धुलीमा १, इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीमा २, हरिवन सर्लाहीमा २, इनरुवा बसपार्क सुनसरीमा १, प्रहरी पेट्रोल पम्प, लाहान सिराहमा २, कालिका फ्युल सेन्टर मालेपाटन पोखरा कास्कीमा २ वटा चार्जिङ स्टेशन जडान गरिएको छ ।

पर्यटक बसपार्क पोखरा कास्कीमा १, दमक बसपार्क झापामा २, बेलका नगरपालिका उदयपुरमा २, बिर्तामोड बसपार्क झापामा २, सुर्खेत बसपार्क सुर्खेतमा २, हेटौंडा, रातमाटे मकवानपुरमा २, विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुरमा १, प्रहरी पेट्रोल पम्प सामाखुसी काठमाडौंमा २, बेगनास ताल पोखरा कास्कीमा १, बुटवल बसपार्क रुपन्देहीमा २, इटहरी सुनसरीमा १, विराटनगर मोरङमा १, कोहलपुर नयाँ बसपार्क बाँकेमा २, धनगढी कैलालीमा २, त्रिशूली हावा घर नुवाकोटमा १, बट्टार त्रिशूली नुवाकोटमा १, कुश्मा पर्वतमा १, लमही बसपार्क दाङमा २ र लम्की कैलालीमा १ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : १७ बजे

जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको

दलितलाई मन्त्री नबनाएका दलहरूले पश्चाताप गर्नुपर्छ

प्रतिनिधि सभामा दलित महिला र सीमान्तकृत समुदायको आवाज बुलन्द पार्ने

काठमाडौंको ढल मिसिएको पानीमा भेटियो पोलियोको भाइरस

काठमाडौं- काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड

अर्थसंक्षेप : माइक्रोसफ्टमा समस्या आउँदा विश्वभरका आर्थिक क्षेत्र प्रभावित, निर्माण व्यवसायीको भुक्तानी नरोकीने

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तानी नरोकिने

नेपालले ऐतिहासिक जित निकाल्दा चम्किएकी सम्झना

काठमाडौं- नेपाली महिला टोलीले यूएईविरुद्ध ऐतिहासिक जित हात पार्दा ओपनर