अर्थसंक्षेप : धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश, शेयर बजारमा उछाल | Khabarhub Khabarhub

अर्थसंक्षेप : धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश, शेयर बजारमा उछाल


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज शेयर बजारमा ४८ अंकले बढेको छ । पछिल्लो समय देशभर विद्युतीय सवारी साधन (इलेक्ट्रिक भेहीकल–ईभी) प्रयोग बढिरहेको छ । स्टार्टअप कर्जा पाउन सर्ट लिस्टमा परेका १८३ मध्येबाट १९ उद्यमीले स्टार्टअप कर्जा पाएका छन् ।

राजनीतिसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा– १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ । सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

आजका मुख्य आर्थिक समाचारहरू  : 

२ पटक सर्किट लागेर ४७ अंकमा सीमित शेयर बजार 

साताको तेस्रो दिनको कारोबारमा शेयर बजारमा उछाल आएको छ । शेयर बजार खुलेको एक मिनेटमै सकारात्मक सर्किट हानेर २० मिनेट बन्द भएको बजारमा खुल्ने बित्तिकै पुन दोस्रो पटक पनि सर्किट हानेको थियो ।

त्यसपश्चात् घट्दै गएको शेयर बजार अन्तिम समयसम्म ४७ दशमलव ०४ अंकमा सीमित भएको छ । अन्तिम समयमा नेप्से परिसूचक २ दशमलव २९ प्रतिशतले बढेर २१०० को विन्दुमा पुगेको हो ।

आज २२७ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १७ वटाको घट्यो । आज सबैभन्दा धेरै एनआरएनको १२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको ११ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, यूनाइटेड इर्दी मर्दीको पनि १० करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज ३१५ कम्पनीका ६० हजार ७ सय २० कारोबारबाट ११ करोड ६४ लाख ५ हजार ९ सय ५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आजको कारोबार रकम ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० पुगेको छ ।

सरकार परिवर्तन हुने उत्साह सँगै  शेयर बजारमा देखिएको छ । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ गठबन्धनको सरकार बन्ने भएपछि शेयर बजारमा उछाल आएको हो ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने सरकारको निर्णयमा असहमति जनाउँदै एकजना प्रतिस्पर्धी सन्तोषनाराणय श्रेष्ठले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले यस्तो आदेश दिएको हो ।

श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइपछि न्यायाधीश मुसलमानको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतका विपक्षीविरुद्ध कारण देखाऊ आदेश पनि जारी गरेका छन् । सर्वोच्चको यो आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने सरकारको निर्णय तत्काललाई रोकिएको छ ।

सर्वोच्चले सरकारको निर्णयलाई सदर गर्ने या नयाँ प्रक्रियामा जाने ढोका खोलिदिन अन्तरिम आदेशका लागि दुवै पक्षलाई झिकाउने पनि निर्णय गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले गत शुक्रबार सबै प्रक्रिया रद्द गरेको जनाएको थियो ।

तर छनौट प्रक्रिया रद्द गर्नु कानुनसंगत नहुने भएकाले यथाअवस्थामा रहन दिई प्रक्रिया अघि बढाउनुपर्ने मागसहित श्रेष्ठले रिट हालेका थिए ।

ईभी चार्जिङ स्टेशन कति सुरक्षित र पहुँचयोग्य ?

पछिल्लो समय देशभर विद्युतीय सवारी साधन (इलेक्ट्रिक भेहीकल–ईभी) प्रयोग बढिरहेको छ । स्वदेशमै उत्पादित बिजुली खपत बढाउन र वातावरणमैत्री सार्वजनिक यातायात विस्तार गर्ने सरकारको नीति अनुसार विद्युतीय सवारी साधनको उपयोग बढ्दै जान थालेको हो ।

विद्युतीय सवारी चार्ज गर्न मिल्ने गरी नेपाल विद्युत् प्राधिकरणले ५१ वटा, निजी कम्पनीहरूले ३५० वटा र प्रदेश सरकारहरूले ७ वटा चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएका छन् । निजी क्षेत्रबाट थप चार्जिङ स्टेशनहरू निर्माण गर्न बुकिङ आइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेका चार्जिङ स्टेशनबाट मात्रै दैनिक ६ करोड रुपैयाँ आम्दानी हुने गरेको छ ।

ईभी गाडीतर्फ आकर्षण बढ्दै गए पनि त्यसका लागि आवश्यक चार्जिङ स्टेशन लगायत पूर्वाधार अपर्याप्त रहेको र सुरक्षाका हिसाबले जोखिमपूर्ण रहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष मिलनबाबु मल्ल बताउँछन् ।

१८३ स्टार्टअपमध्ये १९ परियोजनाले पाए पहिलो किस्ताको कर्जा 

स्टार्टअप कर्जा पाउन सर्ट लिस्टमा परेका १८३ मध्येबाट १९ उद्यमीले स्टार्टअप कर्जा पाएका छन् । स्टार्टअप कर्जाबापत १९ उद्यमीलाई १ करोडभन्दा बढी रकम वितरण गरिएको हो ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कजा पाउन योग्य रहेका १८३ उद्यमीहरूलाई कर्जा वितरण गर्न सुरु गरिएको बताएको छ । उक्त कर्जा राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट रकम वितरण गरिएको प्रतिष्ठानले बताएको छ ।

स्टार्टअप उद्यम कर्जामा छनोट भएका परियोजनालाई यो साताभित्रमा कर्जा वितरण गरिसक्ने योजना रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले बताएका छन् । छनोटमा परेको परियोजनाले राष्ट्रिय वाणिज्य बैंकबाट तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा पाएका छन् ।

छनोटमा परेका १८३ परियोजनालाई ५ लाख रुपैयाँदेखि २० लाख रुपियाँसम्म सहुलियत पूर्ण ऋण दिइएको छ । प्रतिष्ठानका अनुसार पहिलो किस्ताबापत ५लाख रुपैयाँ दिइने छ ।

पहिलो किस्ताको प्रगति विवरणको प्रतिवेदनपछि दोस्रो किस्ता दिइने छ । सरकारले दिने ऋण भएकाले बैंकले बिना धितो र धरौटी आयोजनालाई ऋण प्रवाह गर्ने छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंकले परियोजना र सञ्चालक कालोसूचीमा परे नपरेकोलगायतका विवरणहरू हेर्ने छ ।

‘ड्रागन’ खेतीबाट मनग्य आम्दानी 

राजनीतिसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा– १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ ।

राजनीतिसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए ।

यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले तीन वर्षअघि सात लाख लगानी गरेर व्यवसाय सुरु गरेका थिए। उनले दाङ र बाँकेबाट आठ सय बिरुवा ल्याएर खेती सुरु गरेको बताए। ती बिरूवाले यतिखेर प्रशस्त उत्पादन दिइरहेका छन् ।

‘भूमिपुत्र कृषि तथा पशुपक्षी फर्म ड्रागन पार्क’ नामक फार्म स्थापना गरेर ड्रागनको खेती सुरू गरेका ढकालले एक वर्षमै फल र बिरूवा बेचेर मनग्य आम्दानी भइरहेको बताए। उनको फार्ममा ‘मलेसियन रेड’ प्रजाति (रातो फल) को ड्रागन लटरम्मै फलेको छ ।

साथै यो वर्षदेखि उनले ‘हाईब्रेड सि’ रेड प्रजाति (रातो फल) को ड्रागन फलसमेत लगाएको जानकारी दिए । ‘यस क्षेत्रमा कसैले पनि ड्रागन खेती गरेका थिएनन् तर माग भने बढ्दो थियो, त्यसै कारण तीन वर्ष अगाडि व्यवसाय सुरुआत गरेँ । पहिलो पटक खेती गर्न लागेकाले सफल होला वा नहोला भन्ने अन्योल र चिन्ता थियो तर अहिले राम्रो आम्दानी दिइरहेको छ, यति छिटो आम्दानी देला भन्ने सोचैकै थिइन’, ढकालले भने ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई करिब २७ लाख अनुदान

मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई २६ लाख ८३ हजार अनुदान प्रदान गरेको छ । चालु आर्थिक वर्षमा नगरका १५ वडामा रहेका आठ सय ३३ किसानलाई तोरीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो ।

कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउने उद्देश्यले तोरी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको र कृषकलाई प्रोत्साहनका लागि अनुदान सहयोग प्रदान गरेको बताए । उनका अनुसार नगरले तोरी खेती प्रवर्द्धनका लागि किसानलाई उत्पादनसँग जोड्न एक किलोग्राम तोरी उत्पादनमा १५ अनुदानको व्यवस्था गरेको थियो ।

कम्तीमा पाँच कठ्ठादेखि बढीमा एक बिघा जमिनमा तोरीखेती गर्ने किसानलाई अनुदान रकम भुक्तानी गरिने व्यवस्थाअनुसार आठ हजार नौ सय ९० कठ्ठा जग्गामा तोरीखेती गरेका किसानलाई अनुदान रकम वितरण गरिएको कृषि शाखा प्रमुख प्रधानले जानकारी दिए ।

जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार दुई सय ५० पर्यटक नेपाल भित्रिएका थिए ।

नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार आठ सय ३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस्तै, दोस्रोमा अमेरिकाबाट आठ हजार दुई सय ८१, चीनबाट सात हजार चार सय ९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

बङ्गलादेशबाट तीन हजार आठ सय ५७, बेलायतबाट एक हजार नौ सय ६९, अष्ट्रेलियाबाट एक हजार पाँच सय ८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट नौ सय ५३ र दक्षिण कोरियाबाट आठ सय ७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा नेपालमा ७४ हजार आठ सय ८३ विदेशी पर्यटक आएका थिए । सन् २०२४ सुरु भएयता नेपालमा पाँच लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् ।

फुस्रेखोला देउराली सडक : सात वर्षसम्म ५१ प्रतिशत मात्रै काम 

आर्थिक वर्ष २०७३–७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङजाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ ।

यस क्षेत्रको समृद्धिसँग जोडिएको आयोजना सुस्त गतिमा अगाडि बढ्दा स्थानीयवासी निराश छन् । सडक अनुगमन समितिका सदस्यसमेत रहेका स्थानीय राजकुमार गुरुङले सडक निर्माणमा स्थानीय बासिन्दाको सहयोग हुँदासमेत सरकारीस्तर र निर्माण व्यवसायीका कारण ढिलासुस्ती भएको गुनासो गरे।

‘यो सडक यस क्षेत्रको समृद्धिसँग जोडिएको छ । हामीले छिटो निर्माणका लागि दबाब दिँदासमेत निर्माणकार्यले गतिलिन सकेको छैन । त्यसैले तत्काल कामलाई तीव्रता दिन हाम्रो आग्रह छ’, उनले भने।

संघीय सरकारले सुरु गरेको उक्त आयोजना तीन वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । कूल १३ दशमलव चार किलोमिटर सडक निर्माणका लागि ३१ करोडमा सिरुवा श्यामश्याम जेभी काठमाडौंले ठेक्का पाएको छ ।

पूर्वाधार विकास कार्यालयका कन्सल्टेन्ट इञ्जिनियर धनप्रसाद सुवेदीले एकतर्फी पक्की नालासहितको सडक तोकिएको समयमा सम्पन्न नहुँदा पटक–पटक समय थप गरिएको बताए ।

पछिल्लोपटक २०८१ सालभित्र कार्यसम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । सम्झौताअनुसार तीन सय मिटर ढलान र सबै सडक कालोपत्र गरिने योजना छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ११ बजे

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै परिवर्तन गर्न खोजियो : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं – शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारवाही गर्न

यसै वर्ष भारतीय अर्थतन्त्र ४ खर्ब डलर पुग्ने

काठमाडौं – भारतीय प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्य सञ्जिव सन्यालले

वर्षाले पुष्पलाल लोकमार्गमा क्षति

बागलुङ – वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको

आगामी तीन दिन पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं – आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको

रास्वपाले आफ्नो वेवसाइटबाट हटायो मुकुल ढकालको नाम

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल