काठमाडौं- नेपालमा संस्कृतिको नयाँ याम शुरू भएको छ । हाल जारी रातो मत्स्येन्द्रनाथ (मछिन्द्रनाथ) बाट शुरु भएको जात्रायाम चैत्र शुक्लचतुर्दशीका दिन बौद्ध क्षेत्रमा लाग्ने तेमाल जात्रासम्म जारी रहनेछ । त्यसपछि केही समयका लागि किसानहरू बर्खे खेतीपातीमा व्यस्त हुन्छन् ।
यहाँ शुरूमै जात्रासँग किसान र खेतीपातीको सन्दर्भ जोडियो । यो सामग्रीमा सभ्यता विकास र संस्कृति विस्तार क्रममा शुरू भएका जात्रा, कृषिसँग जात्राको सम्बन्ध र रातो मछिन्द्रनाथको जात्राबारे चर्चा गरिन्छ।
हामीले रोमनदेखि मेसोपोटामियन हुँदै विभिन्न सभ्यता (सिभिलाइजेसन)बारे सुनेका छौं । मानिसहरूले जंगली अवस्थालाई छाडेर विकास, वैभव र सुविधाहरूको उपभोग गर्न जाने । त्यही उत्कर्ष अवस्थालाई नै हामी सभ्यता भन्छौं ।
नेपालका वरिपरि पनि धेरै उप–सभ्यताहरू विकास भए । नेपालसँग सम्बन्ध राखेको सभ्यतालाई हामी सिन्धुघाटी सभ्यता अर्थात् ‘इन्डस भ्याली सिभिलाइजेसन’ भन्छौं । यो सभ्यता सिन्धुघाटी किनारमा विकास भएको थियो । घाटी भनेको उपत्यका हो । सिन्धुघाटी उपत्यका सिन्धु नदीको दायाँबायाँ रहेका पाकिस्तान र भारतका केही भागमा पर्छ ।
दक्षिण एसियाका सन्दर्भमा त्यही क्षेत्रमा मानिसहरूले शुरुवाती सभ्यता विकास गरेका इतिहासकारहरूले बताउने गरेका छन् । त्यहाँबाट नै मानिसहरू पश्चिम, उत्तर, दक्षिण र पश्चिमतर्फ फैलिँदै गए । त्यही क्रममा पश्चिमतर्फ फैलिएका मानिसहरू अफगानिस्तानको बामियान उपत्यकासम्म पुगेर सभ्यता विस्तार गरेका थिए ।
पूर्वतर्फ हिँडेका मानिसहरू नेपाल हुँदै भारत, बर्मा, भुटान र म्यानमारसम्म पुगे । त्यही सभ्यताबाट फैलिएका मानिसहरूलाई नै आर्यन भनिएको छ । सोही सिन्धुघाटी सभ्यताबाटै फैलिएका मानिसहरूले नेपालमा पनि विभिन्न उप–सभ्यताहरू विकास गरे । ती उप–सभ्यताहरू वैदिक, मिथिला, बुद्ध, कोशल र विदेह हुन् ।
मानवशास्त्री र इतिहासकारहरूका अनुसार यिनै उप–सभ्यताबाट फैलिएका मानिसहरूको समूह नेपालको दक्षिण भू–भागबाट पहाड हुँदै उत्तरतर्फ प्रवेश गरे । त्यही क्रममा एउटा टोली काठमाडौं उपत्यकामा प्रवेश गरी बस्ती विकासमा लाग्यो ।
उपत्यका पहिले ताल रहेको र सो तालबाट पानी बाहिर पठाउन उत्तरतिरबाट आएका महामञ्जुश्री र दक्षिणतिरबाट आएको श्रीकृष्णले चोभारको गल्छी काटेको, त्यसपछि खेतीपाती र बसोबासका लागि योग्य भएको कथा त हामीले सुनेकै छौं । जे होस्– काठमाडौं उपत्यकामा मानव बसोबास नै कृषि प्रयोजनसँग जोडियो ।
कृषि समाजको सन्दर्भ
मानव सभ्यता विकास क्रममा संसारमा घुमन्ते युगपछि करेसे समाज (हर्टिकल्चर सोसाइटी) विकास भयो । जनसंख्या बढ्दै जाँदा करेसाबारीबाट हुने उत्पादन अपुग भयो । सानो क्षेत्रफलमा खेती लगाउँदा मानिसलाई पुगेन । पशुमा मात्र निर्भर हुनुपर्ने भयो । कहिलेकाहीँ खडेरी पर्दा गाह्रो भयो ।
यसपछि एग्रिकल्चर सोसाइटी (कृषि समाज) विकास भयो । वर्षदिनसम्म पुग्ने खानेकुरा जोहो गर्न मानिसहरूले फराकिला क्षेत्रमा खेती गर्न थाले । त्यसरी खेती गर्ने समुदायलाई कृषि समाज भनियो ।
भारतीय उपमहाद्वीपमा विकास भएका उप–सभ्यताहरू पनि कृषिमै निर्भर हुने भैहाले । गङ्गा किनारको मलिलो माटो र काठमाडौं उपत्यकामा तालको पानी बाहिर पठाएपछि निस्किएको उब्जाउ माटो कृषिकै लागि उपयोगी रहे ।
सभ्यताको आधारसँग संस्कृति जोडिन्छ । मौजुदा नेपालको सरहद समेतमा विकास भएको वैदिक उप–सभ्यताको आधार कृषि नै थियो । युगौंदेखि नेपाल कृषिप्रधान देश रह्यो । हाम्रा सबै संस्कृति कृषिसँग नै सम्बन्धित हुने भइहाले ।
नेपालमा कृषि आधारित समाज भएकाले हाम्रा चाडपर्व उत्सवहरू कृषि र पशुपालनमै आधारित भए । खेती लगाउँदा, काट्दादेखि भित्र्याउँदासम्म विभिन्न किसिमका गीत गाउने, रमाइलो गर्ने र चाड मनाउने चलन कृषिमा आधारित समाजकै उपज हुन् ।
संस्कृति भनेका हाम्रा पुर्खाहरूले आफ्ना तत्कालीन आवश्यकता परिपूर्ति गर्न सिर्जना गरेका बस्तु तथा विचारहरू हुन्, जो पुस्ता हस्तान्तरण हुँदै अहिलेसम्म हामी अबलम्बन गरिहेका छौं । हामी नेपालीहरूले मुख्यतः उत्सव, जात्रा, चाडपर्व र लोकनाच मनाउने गर्छाैं । यो सामग्री जात्राकेन्द्रित भएकाले त्यसैबारे चर्चा गरौं ।
ज्यापु समुदाय र रातो मछिन्द्रनाथ
नेपालका हकमा जाति नै एउटा सांस्कृतिक तत्व हो । हरेक जातजातिका आफ्नै संस्कार छन् । कुनै पनि जातजातिको बस्तीमा पुगेर त्यो जातिको सांस्कृतिक विषयलाई प्रकाश पार्नका लागि हामीले विभिन्न पक्षबारे जानकारी राख्नुपर्ने हुन्छ ।
हामीकहाँ जात्राका बेला देवीदेवतालाई रथमा राख्ने र नगर परिक्रमा गराउने चलन छ । जाइजात्रा, मछिन्द्रनाथको जात्रा, इन्द्रजात्रा, कुमारीजात्रा आदि नेपालका प्रमुख प्रमुख जात्राहरू हुन् ।
वर्षाको देवताको रूपमा इन्द्रलाई सम्मान गर्न इन्द्रजात्रा मनाइन्छ । इन्द्रले पानी पार्छन् र हाम्रो खेतीपाती राम्रो हुन्छ । मछिन्द्रनाथलाई पनि वर्षा र सहकालको देवता मानिन्छ । कृषिसँग सम्बन्धित देवीदेवताहरूलाई समयसमयमा आह्वान गर्ने गरिन्छ ।
खोकना र बुङमती क्षेत्र नेवारहरूको प्राचीन बस्ती हो । यो बस्तीमा प्राचिन पेशा पनि कृषि नै थियो । जसको निरन्तरता अहिलेसम्म पनि कायमै छ । तोरी उत्पादन र तेलका लागि खोकना प्रसिद्ध छ । मानिसको पेशा परिवर्तन भएकाले यो बस्ती पनि विस्तारै कृषिबाट अन्यत्र पेशातिर उन्मुख हुँदैछ ।
मछिन्द्रनाथ जात्रा पनि नेवारभित्रका कृषक अर्थात् ज्यापु समुदायसँग जोडिन्छ । त्यसैले ज्यापुहरू रातो मछिन्द्रनाथ अर्थात् करुणामयमा विशेष श्रद्धा र आस्था राख्छन् ।
प्रचलित कथाअनुसार मछिन्द्रनाथलाई कामाक्षबाट ल्याइएको हो । त्यसैले मछिन्द्रनाथलाई हिन्दु देवता मानिन्छ । बौद्धमार्गीहरूले करुणामयका रूपमा निकै अघिदेखि मान्दै आएको बताउने गरेका छन् । नामाकरणमा मात्र फरक देखिन्छ । ती देवताको काम, किन पूजा गर्ने, किन आराधना र स्थापना गर्ने भन्ने मान्यता समान छ । रातो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा मानिन्छ । रातो मच्छिन्द्रनाथलाई वैष्णवले विष्णु, शैवले शिव, शाक्तले शक्ति, ब्राह्मणले ब्रह्मा, नाथ सम्प्रदायले मच्छिन्द्रनाथका रूपमा मान्छन् ।
कथा र बुङमती
अब बुङमतीतिर लागौं ।
बुंगमतिस्थित रातो मछिन्द्रनाथको मन्दिर लिच्छिवीकालमा बनेको हो । राजा नरेन्द्रदेवसँग बुंगमतिको इतिहास जोडिएको छ ।
प्रचलित कथा अनुसार नरेन्द्रदेवले काठमाडौं उपत्यकामा खडेरी परेपछि तान्त्रिक ज्योतिषकहाँ देखाउन गए । ती ज्योतिषीले नागहरूलाई खिचेर गोरखनाथले आशन बनाई बसेको र नागहरू बन्धनमा परेकाले खडेरी चलेको बताइदिए । नागलाई गोरखनाथबाट मुक्त गराउन सकिएमात्र वर्षा हुन्छ भनेपछि नरेन्द्रदेवले उपाय सोधे । ती ज्योतिषीले योगीहरू हठयोगी हुने र गोरखनाथ सिद्धयोगीमा पर्ने हुनाले उनलाई अरूले ध्यान भंग गराउन नसक्ने बताइदिए ।
ध्यान भंग गराउन गोरखनाथका पनि गुरु मछिन्द्रनाथलाई यहाँ ल्याउन उनले सुझाए । मछिन्द्रनाथलाई ल्याउन सके गोरखनाथले उठेर दर्शन गर्ने र त्यही मौकामा नागहरू स्वतन्त्र भए भने पानी पार्ने उपाय पनि ती ज्योतिषीले सुझाए । कामरुकामक्षमा मछिन्द्रनाथ अवतरित भएको र उनलाई ल्याउन राजालाई उनले राजालाई सुझाव दिएका थिए ।
राजाले तान्त्रिकहरू बन्धुदत्त अचाजुसहित ललित ज्यापुलाइ लिएर कामरुकामोक्ष गए । बाटोमा कर्कोटक नागले बाटो छेक्यो । ती तान्त्रिक ज्योतिषले कर्कोटक नागलाई मन्त्रोच्चारण विधिद्वारा भुसुनो बनाएर सलाईको बट्टामा हाली उनीहरू कामोरुकामोक्ष हिँडे । जाँदै गर्दा बाटोमा शिलानदी भेटियो । सो नदी जसले छोयो, त्यो व्यक्ति शिला भएर जल्ने गर्थे । नदी तर्ने विकल्पको रूपमा तिनै कर्कोटक नागको पुल बनाएर कामोरुकामक्ष पुगे भनिन्छ ।
कामोरुकामोक्षमा दन्त्यराजाको कान्छा सुपुत्रका रूपमा मछिन्द्रनाथ अवतरण भएका थिए । तर दरबारको सुरक्षामा खटिएका गार्डहरूले छेकेपछि नरेन्द्रदेवको टोलीले उनलाई भेट्न सकेनन् । त्यसपछि नेपालबाट गएका तान्त्रिकले भित्र बसेका त्यहाँका राजालाई नै बिरामी बनाइदिए । त्यसपछि भित्र राजा बिरामी रहेकाले उपचारका लागि आएको बताए । भित्र गएर दन्त्यराजालाई सोधेपछि आफु बिरामी भएको स्वीकार गरे । तान्त्रिक र वैद्य आएको बताएपछि राजाले उनीहरूलाई भित्र प्रवेश गर्न दिए ।
यही मौकामा राक्षसराजका कान्छा छोरालाई ल्याउन खोज्दा राक्षसले दिएनन् । अनेक उपाय गरेर झारफुक गर्ने निहुँले राजालाई निको बनाए । निको भएपछि दन्त्यराजले आफुलाई स्वस्थ बनाएबापत केही माग्न आग्रह गरे । नेपाली तान्त्रिकहरूले पनि वाचा गराएर कान्छो सुपुत्र आफुहरूलाई चाहिएकाले दिन माग राखे । देशमा लगेर राजा बनाउँछुु भनेर समेत फकाए । तर राक्षसराजले आफ्नो कान्छोछोरा आफ्नो अधिकारभित्र नपर्ने र त्यसैले रानीलाई सोध्नुपर्ने बताए ।
त्यसपछि रानीलाई छोरा माग्दा कुुनै हालतमा जान नदिने अड्डी लिइन् । अन्तिममा करुणामय अर्थात मछिन्द्रनाथलाई टुनामुना गरेर नेपाल जाऊँजाऊँ लाग्ने बनाए । त्यति गर्दा पनि रानीले दिइनन् । केही उपाय नलागेपछि तन्त्रमन्त्रले भमरा बनाएर कलशमा हालेर उडाएर नेपालमा ल्याए । यहाँ ल्याइसकेपछि गोरखनाथले ध्यान गरिरहेको स्थानमा मछिन्द्रनाथलाई लगियो ।
गोरखनाथ उठेर आफ्ना गुरु मछिन्द्रनाथकोे दर्शन गरे । त्यही बेला नागहरू मुक्त भए र यहाँ ठूलो पानी पर्यो । सबैमा हर्षोल्लास छायो । किसानहरूले पानी परेपछि खेतीपाती गर्न पाए । त्यही उपलक्ष्यमा खुशी भएर मछिन्द्रनाथको जयजयकार मनाए । त्यही समयदेखि मछिन्द्रनाथको जात्रा शुरु भयोे बार्षिक रूपमा जलका देवताको रूपमा पुजाआजा गर्न थालियो । विभिन्न धार्मिक ग्रन्थहरूमा यो विषयलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ ।
मछिन्द्रनाथको मन्दिर बुंगमतिमै किन स्थापना गरियो भन्नेबारे पनि रमाइलो विषय जोडिएको छ । नरेन्द्रदेव भक्तपुरका राजा, ललित ज्यापु ललितपुरका किसान र बन्धुदत्त अचाजु काठमाडौंका मानिस थिए ।
तीनै जिल्लाका मानिस मिलेर मछिन्द्रनाथलाई ल्याएकाले यहाँ मन्दिर बनाउनुपर्ने भयो । त्यो मन्दिर कहाँ बनाउने भन्नेबारे विवाद भयो । तीनजनाको घमासान द्वन्द भयो । द्वन्द समाधान गर्न एउटा सोझो किसानलाई सोध्ने र उसले जे निर्णय दिन्छ : त्यसलाई मान्न उनीहरू सहमत भए । भोलिपल्ट त्यो निर्णय दिनका लागि एउटा सोझो किसानलाई बोलाइयो ।
ती किसानले राजाको विरुद्धमा पनि बोल्न नसक्ने, ज्यापुको पक्षमा काम गर्दा राजा रिसाउने र अन्तत: सबै मानिस रिसाउने जोखिम देखे । यो द्वििधाका कारण किसान बोल्न नसकेपछि उनलाई एउटा ओखलमाथि बसेर सत्य र न्यायपूर्ण निर्णय गर्न आग्रह गरियो । झुठो बोलेमा ओखल नै भासिएर मर्नुपर्ने शर्त राखियो ।
जसका विरुद्ध बोले पनि मरिने स्थिति आएपछि अन्तिममा ती सोझा किसानले बुंगमतिमै स्थापना गर्नुपर्छ र देवताले यही स्थापना हुने इच्छा जाहेर गरेको बताए । त्यो न्यायोचित कुुरा नभएको पुष्टि भएपछि ती किसान त्यही स्थानमा ओखली भाँचिएर मरे । पाटनको स्वर्ण मन्दिरनजिक ललित ज्यापु ओखली भाँचिएर मरेका थिए । त्यसैअनुसार त्यहाँ स्तम्भ पनि बनाइएको छ ।
मछिन्द्रनाथको मन्दिर बनाउन काठमाडौंका तीनै शहरका मानिसको योगदान छ । बुङमतीमा रहेको मन्दिर लिच्छिवीकालिन मानिन्छ र त्यसबेलादेखि नै यहाँ रातो मछिन्द्रनाथको जात्रा लाग्ने गरेको वंशावली एवम् अभिलेखहरूमा उल्लेख छ ।
भोटोजात्राको कथा र सुशासन
भोटो जात्रा पनि रातो मछिन्द्रनाथको जात्रासँगै जोडिएको छ ।
नागराजाकी छोरी बिरामी भएपछि वा आँखा पाकेपछि उनले धेरै वैद्य र तान्त्रिकहरू खोजे । तर, कसैले पनि निको पार्न नसकेपछि आफ्ना सेनाहरूलाई आँखो निको पार्ने वैद्यहरू खोजेर ल्याउन खटाए । सेनाहरूले कहीँ पनि आँखा निको पार्ने मानिस नभेटेपछि खेतमा काम गरिरहेको एकजना किसानलाई लिएर आए ।
सेनाहरूले पक्रेर दरबारमा ल्याइसकेपछि भाग्ने र उम्कनसक्ने अवस्था रहेन । बिरामी निको पार्न के गरौं के गरौं भएपछि ती व्यक्तिले नाकको सिँगान, थुक र कानेगुजी आँखामा लगाइदिए । त्यसो गर्दा राजकुमारीको पाकेको आँखा निको भयो । राजा खुशी भएर ती ज्यापु किसानलाई उपहार माग्न भने ।
ती किसानले आँखा घुमाउँदा मणिमाणिक्यजडित एउटा भोटो झुन्डिरहेको देखे । त्यही भोटो मागेपछि नागराजले खुशी भएर किसानलाई भोटो दिएर पठाए । ती ज्यापु किसानलाई काम गरिरहनुपर्ने भएकाले भोटो लगाउन अप्ठ्यारो हुने भएपछि खेतको आलीमा राखेर काम गर्न थाले । त्यसरी काम गरिरहँदा एउटा भुतले देख्यो र सो मणिमाणिक्य जडान भएको भोटो चोरेर लिएर हिँड्यो ।
किसानले पनि सित्तैमा पाएको वस्तु हराएकाले चित्त बुझायोे । तर अचानक सोही वर्ष भएको मछिन्द्रनाथको जात्रा हेर्न जाँदा आफ्नो भोटो लगाएर भूत आएको देख्यो । उनले भुतसँग आफ्नो भोटो फिर्ता दिन आग्रह गरे । भूतले आफ्नै भोटो भएको जिकीर गर्यो । झगडा नै परेपछि जात्रामा उपस्थित भएका राजाहरूलाई सो कुरा जाहेर भयो । त्यो जाहेर भईसकेपछि विवाद मिलाउन आउँदा भूतले भोटो छाडेर भाग्यो । भूत भागेपछि किसानले भोटो मागे, तर उनले पनि आफ्नै भएको प्रमाण देखाउन सकेनन् ।
कसैले प्रमाण दिन नसकेपछि सो भोटो मचिन्द्रनाथको रथमा बुझाइयो । त्यसपछि हरेक वर्ष सो भोटो जसको हो, उसले प्रमाण ल्याएमा पाउनेछ भनी सूचना जारी गरियो । त्यही सूचनाबमोजिम हरेक वर्ष प्रमाण लिएर आएको छ कि भनी भोटो देखाउने चलन शुरु भयो । त्यो परम्पराकै रूपमा विकास भयो ।
अहिले पनि रथको चारसुरबाट तीनपटक परिक्रमा गराएर यो भोटो कसको हो ? यदि कसैको हो भने प्रमाण लिएर आउनुस् र लानुस् भनी भोटो देखाउने गरिन्छ । यो किंवदन्तीहरूले पछि सांस्कृतिक स्वरुप नै पाए ।
कथाहरूले किवंदन्तीहरूलाई मात्र प्रतिनिधित्व गर्दैन । बरु त्यतिखेरको समाज, समाजको समस्या र जटिलताहरूलाई पनि बुझ्न मद्दत गर्छ । त्यतिखेर समाजमा भुतप्रेतप्रति विश्वास रहेछ, खेतीपाती र कृषियुगमा मछिन्द्रनाथको शुरुवात भएको रहेछ भन्ने विषयहरू यी कथाहरूसँग जोडिएर आएको देखिन्छ ।
भोटोकै सवालमा कुरा गर्दा मानिसहरूले सम्पति जोड्ने क्रममा विभिन्न मणिमाणिक्यहरू संकलन गर्ने गर्थे । गरगहनाको प्रचलन मानिसहरूले आफ्नो सम्पतिको संरक्षणका लागि शुरुवात गरेका थिए ।
मानिसहरूले संकलन गरेका बहुुमूल्य पत्थरहरू, मणिमाणिक्य र सुनचाँदीहरू उनीहरूले साथमै राख्न पाउँथे । दिनदुखी गरिबहरूले संकलन गरेको यस्ता सामानहरू थोरै हुन्थ्यो र उनीहरूले नाककानमा झुण्ड्याउँथे ।
राजा महाराजाहरू र सामन्तहरूले चाहिँ यस्ता महंगा मणिमाणिक्यका कपडाहरू नै बनाउने गर्थे भन्ने पनि यो कथाबाट देखिन्छ । त्यस्ता बहुमूल्य वस्तु बनाएर मन्दिरमा अर्पण गर्ने चलन पनि थियो । राजा र धनीहरूले हरेक गहना बनाउँदा एकप्रति आफुलाई र एकप्रति भगवानलाई चलाउने अभ्यास अहिले पनि छ । यो परम्परादेखि नै चलिआएको विषय हो ।
हरेक मन्दिरको ढुकुटीमा अहिले पनि लाखौंको संख्यामा त्यस्ता गरगहनाहरू संकलन भएका छन् । दानको त्यही प्रक्रियाअन्तर्गत नै राजाहरूले मणिमाणिक्यजडित सो भोटो मछिन्द्रनाथलाई अर्पण गरेको हुन सक्ने र देवताको नाममा यति गरगहनाहरू छन् भनी देखाउने प्रक्रियासँग पनि यसलाई जोडेर हेर्न सकिन्छ ।
सर्वसाधारणलाई मन्दिरमा भएको सम्पत्तिबारे जानकारी दिने अर्थात् पब्लिक अडिटका रूपमा पनि यसलाई अर्थ्याउन सकिन्छ । यसलाई पुरानो सार्वजनिक लेखापरीक्षण पनि भन्न सकिन्छ । भगवानको नाममा यति सम्पति छ भनी देखाउँदा त्यसले पारदर्शीता कायम हुन्थ्यो भने धार्मिक व्यवस्थाप्रति मानिसहरूको आकर्षण पनि बढ्न सक्थ्यो ।
त्यसले यस्ता कुराहरूले सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक र व्यवसायिक विषयहरूलाई पनि सङ्केत गरिरहेको हुन्छ । परम्पराहरू कुन पक्षसँग नजिक छन् भनी हेर्न सक्दा हामी तथ्यनजिक पुग्न सक्छौं ।
मछिन्द्रनाथको मूर्तिलाई ६ महिनामा शहर र ६ महिना मन्दिरमा राखिन्छ । १० वर्षमा एकपटक निकै ठूलो जात्रा लाग्छ । नियमित जात्रा हरेक वर्ष लाग्ने गर्छ । वार्षिक जात्रा बैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असार शुक्ल चौथी (करिब) दुई महिनासम्म मनाइन्छ ।
रातो मछिन्द्रनाथको रथयात्रा पाटनका प्रथम स्वतन्त्र राजा सिद्धिनरसिंह मल्लका पालादेखि चलाउन थालिएको हो । भोटो देखाउने जात्रामा राष्ट्रप्रमुख उपस्थित हुने प्रचलन चाहिँ राजा नरेन्द्रदेवकै पालादेखि शुरू भएको हो ।
नाथ सम्प्रदायसँग सम्बन्ध
माथि नै उल्लेख गरियो कि कथामा रातो मछिन्द्रनाथको सम्बन्ध गोरखनाथसँग छ । नाथ सम्प्रदाय हिन्दुधर्ममा धेरैपछि शुरुवात भएको सम्प्रदाय हो ।
१५/१६औं शताब्दीदेखि मात्रै नाथ सम्प्रदाय नेपालमा बढी लोकप्रिय भएको देखिन्छ । नेपालमा नाथ सम्प्रदायका तीर्थहरू गोरखनाथ (गोरखा), मछिन्द्रनाथ (काठमाडौं), मीननाथ, चन्दननाथ (जुम्ला) र रतननाथ हुन् ।
प्रतिक्रिया