घिमिरे युवराज : बाका किताब पढेर रङ्गमञ्चसम्म ! | Khabarhub Khabarhub

कला

घिमिरे युवराज : बाका किताब पढेर रङ्गमञ्चसम्म !


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 10 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घिमिरे युवराज ‘शिल्पी थिएटर’का सञ्चालकमध्ये एक हुन् । जीवनको पूराका पूरा उर्वर याम रङ्गमञ्चमै लगानी गर्ने कमै व्यक्तिमा उनी पर्छन् ।

रङ्गमञ्चमा उनलाई चिनाउन कुनै विशेषण आवश्यक छैन । उनी थिएटर सञ्चालक मात्रै होइनन्, नाटक लेखक एवम् निर्देशक, कलाकार हुन् । सयौं थिएटर कलाकारका मार्गदर्शक पनि हुन् ।

आज स्थापित यिनै युवराज एक समय त्यस्ता थिए- जोसँग मोरङबाट वि.सं. २०५३ मा काठमाडौं आउँदा खास सपना थिएन । शहरको भीडभाडमा पनि एक्लो महसुस गर्दै उनी गाउँ सम्झिरहन्थे ।

शहरमा भविष्य खोज्दै गर्दा युवराज रङ्गमञ्चमा संयोगले ठोकिए । त्यसपछि उनको चिनारी, पेसा र अपेक्षा नै रङ्गमञ्च बन्यो । अझ भनौं- उनी रङ्गमञ्चको लतबाट उम्कनै सकेनन्/चाहेनन् ।

रङ्गमञ्चमा के ले तान्यो ? उनीसँग यसको सटिक जवाफ त छैन, तर आफ्नो विगतदेखि वर्तमानसम्म नियाल्दा उनलाई प्रमुख कारण बुवाको साहित्यप्रतिको रुचि जस्तो लाग्छ ।

जानौं- घिमिरे युवराजलाई रङ्गमञ्चमा प्रवेश गराउन कुन तत्वको भूमिका रहेछ !

कर्जुनामा बाल्यकाल
मोरङस्थित कर्जुनाका सामान्य कृषक परिवारमा जन्मिएका युवराजको बाल्यकाल अन्य साथीको भन्दा तात्विक फरक थिएन । खेतीपाती, घाँस दाउरा र वस्तुभाउ पालनमा परिवारलाई सकेको सहयोग गरे ।

ठूला अपेक्षा केही नभएकाले बाल्यकाल सुखद नै बिताएको उनलाई महसुस हुन्छ । यद्यपि स्कुल पढ्दा ताका पैसा नहुँदा बजारिया खानेकुरा किन्न नपाएका सम्झना चाहिँ उनको स्मरणमा ताजै रहेछन् ।

‘रङ्ग मिसाएको बरफ सस्तो पर्थ्यो, दूधबाट बनेको भनेर सेतो बरफ चाहिँ महँगो थियो । पैसा हुँदा त्यही खाइन्थ्यो,’ उनले सुनाए, ‘स्कुलमा खाजा खाने भन्ने हुँदैनथ्यो । बेला-मौकामा चार आना हात परे चक्साला किनेर खाइन्थ्यो ।’

घरबाट आधा घण्टाको पैदल दूरीमा विद्यालय थियो, पढ्नलाई समस्या थिएन । ‘लय समातेर पढ्नुपर्ने’ परिवारको सोचाइ भएकाले वातावरण पनि त्यही अनुसारको थियो ।

‘काम नगरी पढ्नुमात्रै पर्छ भन्ने चाहिँ मानसिकता थिएन । पढ्ने वातावरण राम्रो थियो,’ उनी भन्छन्, ‘घरको काम गर्ने र खेल्ने समय पनि थियो । मोबाइल र टीभी गाउँमा नआइसकेकाले भौतिक उपस्थितिका खेलहरू खेलिन्थ्यो ।’

भित्ताको रेडियो र ‘बा’का किताब
बाल्यकालका दुई वस्तुले युवराजको मस्तिषकमा गहिरो छाप पार्‍यो । ती थिए– पुरानो रेडियो र बाका साहित्यका किताब !

घरको काठे भित्ताको काँटीमा झुन्डाएको दुई दशक पुरानो रेडियोलाई उनी बाल्यकालको हिस्सा मान्छन् । त्यो रेडियोसँग उनको स्मृति गहिरो छ ।

‘६ बिहान शङ्खध्वनिबाट सुरु हुने रेडियो राति ११ बजे राष्ट्रिय गान बनेर प्रसारण बन्द नहुँदासम्म चल्थ्यो,’ उनी भन्छन्, ‘त्यहाँ बज्ने गीत र समाचारहरू सुनिन्थ्यो । त्यो मेरो मात्रै होइन, घरको सबैको जीवनको हिस्सा हो जस्तो लाग्छ ।’

टीभी, रेडियो, क्यासेट र साहित्यको मिश्रणले दिमागको कुरा कहाँ पोख्नुजस्तो भएछ । अनि नाटक गर्ने सोचेँ र लेखेँ, साथीहरूसँग मिलेर नाटक गरेको थियौं । फिल्मकै कथा जस्तो गुण्डाले पैसा चोरेर हिरोले फर्काउने वाला थियो

तीन ब्याट्री लाग्ने रेडियो दैनिक बजाउन कयौं ब्याट्री सुकाएर राखिन्थ्यो। भन्छन्, ‘चार्ज गर्न ब्याट्री सुकाउने चलन थियो । ब्याट्री सकेर रेडियो बज्न छोडेपछि घाममा सुकाइन्थ्यो । घरमा दशौं ब्याट्री थिए ।’

बुवा कृषक भए पनि साहित्यका किताब औधी पढ्ने ! विराटनगरबाट बुवाले नयाँ किताब ल्याउन थालेपछि साहित्यमा झुकाव बढेको उनलाई स्पष्ट याद छ ।

भन्छन्, ‘बुवाले अनेक किसिमका किताबहरू ल्याउनुहुन्थ्यो । कथा, कविता गजल र विभिन्न विद्याका किताबहरू घरमा टन्नै हुने । अगाडि जुन किताब देखियो,  त्यही पढ्ने बानी भयो ।’

यसरी साहित्यको रसमा डुबेपछि कविता, गजल, निबन्ध लेखनमा रुचि बढेको उनी बताउँछन् । भन्छन्, ‘स्कुल पढ्दै कविता र गजलको अन्तरविद्यालयदेखि जिल्लास्तरीय प्रतिस्पर्धामा जान थालियो ।’

‘हामी सजिलै यो व्यक्तिबाट प्रभावित भएको भन्छौं । त्यो उत्तर दिनकै लागि मात्र भनिएको हो जस्तो लाग्छ । कति कुराले जीवनमा प्रभाव पारेको छ- त्यो एकदमै गहन विषय हो । एउटै कुराले प्रभाव पारेको हुँदैन । नाटकमा प्रवेश गर्नुका धेरै कारण होलान्, जुन मलाई थाहा छैन । एउटा कारण चाहिँ बुबाको किताब हो ।’

टेलिभिजनको प्रवेश
वि.सं. ०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भयो । युवराजको टोल कर्जुनामा बिजुली पुगेको थिएन । अति सम्रान्त परिवारले सोलार प्यानल जोडेर टिभी राख्न थाले ।

छिमेकी गाउँका सुवेदी बाले टीभी राखे । सुवेदी बाको टीभी अब युवराजको पनि पहुँचमा भयो ।

‘राति बरान्डमा टेलिभिजन राखिदिन्थे । हामी आगनमा बसेर रामायण, महाभारत हेर्थ्यौं,’ उनी भन्छन्, ‘सुवेदी बाको घर हाम्रो घरदेखि टाढै थियो। एक्लै जान अनुमति थिएन । काका, दाइ अथवा कोही ठूलो मान्छेको पछि लाग्नुपर्थ्यो ।’

वि.सं. २०४८ मा गाउँमा बिजुली आयो । क्यासेट र टेलिभिजन बाक्लिँदै गयो । चक्का ल्याएर हिन्दी फिल्मका गीत र संवाद (डायलग) कन्ठै हुनेगरी सुन्थे ।

‘घरमा टीभी त आएन, तर क्यासेट आयो । विराटनगरमा ठूलीआमाका छोरासँग हिन्दी फिल्मका गीतको चक्का धेरै हुन्थ्यो । बीचमा फिल्मको डायलग पनि हुन्थ्यो,’ युवराज स्मरण सुनाउँछन्‌, ‘उनीसँग मागेर चक्का लान्थेँ । स्कुलबाट फर्केने बेला साथीहरूसँग कन्ठ पारेको डाइलग बोलिन्थ्यो ।’

‘कविता त सानै उमेरदेखि लेख्न सुरु गरेको हुँ । ठ्याक्कै समय बिर्सिएँऽ तर ३ वा ४ मा पढ्दा शुरू गरेको हुँ । ६ मा पढ्दा हवाई पत्रिकामा पहिलोपटक छापिएको थियो ।’

यो ०५१ सालको कुरा हो । युवराज ८ कक्षामा पुगे । त्यसअघि उनमा बुवाको किताबले कविता र गजल लेखन बानी पारेको थियो । बिजुली बत्ती आएपछि घरमा नभए पनि टीभीमा पहुँच सहज बनेको थियो । त्यसबाट उनमा अभिनयको गर्ने सोच पलायो ।

‘टीभी, रेडियो, क्यासेट र साहित्यको मिश्रणले दिमागको कुरा कहाँ पोख्नुजस्तो भएछ । अनि नाटक गर्ने सोचेँ र लेखेँ,’ उनी भन्छन्, ‘साथीहरूसँग मिलेर नाटक गरेको थियौं । फिल्मकै कथा जस्तो गुण्डाले पैसा चोरेर हिरोले फर्काउने वाला थियो ।’

सोही नाटक उनको विद्यार्थी जीवनकालमा कार्यक्रममा देखाएको पहिलो र अन्तिम बन्यो । एसएलसीको तयारी गर्नुपर्ने भएकाले कक्षा ९–१० मा पुगेपछि नाटक गर्ने वातावरण नमिलेको उनी बताउँछन् ।

‘साथीहरूसँग मिलेर नाटक त गर्न छोडिएन, तर कार्यक्रममै देखाउने महोल मिलेन,’ उनी भन्छन्, ‘तर, अहिले सरहरू तिमीमा नाटक गर्ने लक्षण चाहिँ त्यही बेला थियो है युवराज भन्नुहुन्छ ।’

पत्रिका मोह, छापाको लोभ
०५३ मा एलएलसी दिएपछि युवराज काठमाडौं आए । शहर छिर्नुमा उनका न लक्ष्य थिए र न कुनै विशेष योजना ! दाइ काठमाडौंमै भएकाले उनी आएका थिए ।

दाइको संरक्षण भएकाले उनले बस्न र खानका लागि सङ्घर्ष गर्नुपरेन । तर उनको मर्का आफ्नै थियो ।

‘कहिल्यै घर छोडेर टाढा नहिँडेको मान्छे ! नयाँ ठाउँ, चिनजानका खासै थिएनन्‌, १ देखि १० कक्षासम्म पढेका साथीहरूसँग छुट्टिएर एक्लो भएको थिएँ । गाउँकै मात्र याद आउँथ्यो,’ युवराजले काठमाडौं आएपछिको ‘होम सिक’ सुनाए ।

काठमाडौंमा छँदै एसएलसीको नतिजा आयो, पहिलो श्रेणीमा पास भएपछि उनी नेपाल कमर्स क्याम्पस व्यवस्थापन पढ्न भर्ना भए । तर, जे-जस्तो परिवेश भए पनि उनको साहित्यतर्फको झुकावमा कमी आएको थिएन ।

‘लेख्न इच्छा चाहिँ तीव्र हुँदै गयो । स्वतन्त्र विद्यार्थी युनियनले कविता प्रयोगिता गराउँथ्यो, लगातार तीन वर्ष म प्रथम भएँ,’ उनी भन्छन् ।

क्याम्पस पढ्न थालेपछि उनले आफ्ना रुचिका पत्रिका पढ्ने स्थान भेटे । बानेश्वरको फुटपाथमा बेच्न राखेका पत्रिका निःशुल्क पढ्न पाइने थाहा पाएपछि उनको दैनिकीमा अर्को विषय थपियो । सुनाए, ‘दिउँसो ३ बजे क्याम्पस छुटेपछि सडकमै उभिएर पत्रिका पढ्न गइन्थ्यो । कविता, गजल जे मनपर्छ- त्यही अनुसारको पत्रिका पढिन्थ्यो ।’

कविता छाप्न मन लागेपछि त्यसबेला चल्तीका सबै पत्रिकाको ठेगान टिपे । ‘आफ्ना कविता, कथा, गजल पठाउन मैले सबै पत्रिकाको ठेगाना राखेको थिएँ । पत्रिकाको प्रकृति हेरेर सामाग्री पठाउँथेँ,’ उनी भन्छन्, ‘छापिने प्रक्रिया केही थाहा थिएन । कविता नछापिएपछि सम्पादकलाई नै भेट्न गएका घटना पनि छन् । अहिले सम्झँदा लाज लाग्छ ।’

त्यसबेला निस्कने दैनिक, साप्ताहिक, मासिक सबै पत्रिकामा आफ्ना रचना पठाएको युवराज बताउँछन् । तर, धैरैजसो नछापिए पनि उनी निराश भएनन्‌ । निरन्तर सिर्जनाकर्म गरी नै रहे ।

लेखनबाट पहिलो कमाइ
आफ्ना रचना नछापिए पनि सबै पत्रिकामा पठाइरहन्थे युवराज ! थाहै नपाउनेगरी रचना पठाउनुsf प्रमुख दुई कारण थिए रे– पत्रिकामा नाम छापिने लोभ र खतरै कविता लेख्छु भन्ने भ्रम !

०५६ मा जाडो बिदामा जाँदा विद्यालयको एक साथीले सुनाएको कुरा उनी सम्झन्छन्‌, ‘युवराज तिम्रो ‘लिडेबाको कथा’ त मुना पत्रिका छापिएको थियो नि है ! मैले पढेँ ।’

०५५ सालमै छापिएको थाहा नपाए पनि साथीसँग ठूलो बन्न ‘अँ हो’ भन्ने जवाफ फर्काएको उनले बिर्सिएका छैनन् ।

‘साथीले सुनाएपछि कहिले काठमाडौं गएर पत्रिका हेरौं भन्ने भयो,’ उनी भन्छन्, ‘काठमाडौं फर्केर सुरुमै गोरखापत्र संस्थान गएर आफ्नो कथा छापिएको पुरानको पत्रिका हेरेँ । स्केचसहित छापिएको रहेछ । नामको तल घरको ठेगान मोरङ, कर्जना पनि लेखेको रहेछ ।’

उनलाई पत्रिकामा आफ्नो कथा छापिएको खुसी थियो । त्यही घटनाले युवराजको दाइलाई पनि खुसी बनायो । ‘त्यो कथा छापिएपछि ५५० रुपैयाँ पारिश्रमिक पाएँ । एक बोरा चामल किनेर लगेँ,’ उनी भन्छन्, ‘दाइ पनि खुसी हुनुभयो । भाइले लेखेर कमायो भन्ने भयो । त्यहाँबाट दाइले मेरा लागि पत्रिकाहरू किनिदिन लाग्नुभयो ।’

रङ्गमञ्चको यात्रा
काठमाडौं छिरेपछि युवराजलाई टेलिभिजनमा देखिने अर्को ठूलो सौख पलाएको थियो । उनले क्याम्पसका साथीहरूलाई आफ्नो इच्छा सुनाउन भ्याएका थिए ।

०५६ मा आईकमको परीक्षा दिएर फुर्सदले बसेका बेला झापाको साथी विजय लुइँटेलले अभिनय सिक्न राष्ट्रिय नाचघरमा जान सुझाएको उनी बताउँछन् ।

‘उनको एक आफन्तले नाटक सिकेका रहेछन्‌ । १ वर्षे अभिनयको कक्षा सञ्चालन हुन लागेको थाहा पाएका रहेछन्‌,’ उनले भने ।

अभिनयका सिक्न फारम भरे । तर, सीमित कोटा भएकाले अन्तर्वार्ता पास गर्नुपर्ने बाध्यकारी नियम भएको थाहा पाए । बुझ्दा अन्तर्वार्ता लिने व्यक्तिहरू हरिहर शर्मा, वीरेन्द्र हमाल र सुनील पोखरेल रहेका थाहा भयो ।

सुनील पोखरेल विराटनगरका, अझ फुपुको छिमेकी भएको थाहा भयो । भान्दाइ बाबुराज कोइरालालाई अन्तर्वार्तामा नाम निकाल्नका लागि भनसुन गरिदिन आग्रह गरेको उनी बताउँछन् ।

भान्दाइले भनसुन गरिदिनेमा उनी विश्वस्त थिए । तर, अन्तरवार्तामा सुनीलले चिनेको जस्तो व्यवहार गरेनन् ।

‘मलाई त भन्दाइले भनिदिए भन्ने लागेको थियो, भनेनछन् । उहाँहरूको पनि त्यो पहुँच थिएन रहेछ क्यार !’ युवराजले सुनाए, ‘त्यसपछि उहाँहरूको दिएको अभिनय गरेँ । के गरेँ मलाई थाहा छैन । जसो तसो गरेर निस्किएँ ।’

अन्य प्रतिस्पर्धी झैँ अन्तर्वार्ता सकेर फर्किए । अन्तर्वार्ताको नतिजा १० दिन/२ सातापछि आउने भएकाले बस्नुको औचित्य थिएन । तर, युवराज र सुनीललाई भेट्न कुरेर बसे । सुनील पोखरेललाई भन्नु थियो, ‘म तपाईंको छिमेकीको आफन्त ! मेरो नाम निकालिदिनू !’

उनले सो कुरा भने पनि ! तर, सुनील पोखरेलबाट सिधा जवाफ आयो, ‘भित्र राम्रो गरेको भए तिम्रो नाम निस्कन्छ ।’

अन्ततः युवराजको नाम निस्कियो । राष्ट्रिय नाच घरमा एक वर्षका लागि उनले अभिनय सिक्न पाउने भए । उनको रङ्गमञ्चको यात्रा यहीँबाट सुरु भएको हो ।

नाटकसँगै पत्रकारिता

अभिनयको कक्षाको सुरुवातमै सुनील पोखरेलले कडा शैलीमा भनेका थिए रे, ‘तिमीहरू फिल्म खेल्ने सोचले यहाँ आएका छौ भने गलत हो ।’

सुनीलको यही बोलीका कारण हिरो बन्न आएका साथीहरू छाँटिए । युवराजलाई पनि टीभीमा आउन त मन थियो, तर सुनीलसँग अभिनय सिक्ने अवसर उनी गुमाउन चाहँदैनथे ।

उनी भन्छन्, ‘मलाई त हिरो बन्नु भन्दा पनि अभिनय गर्नुछ भन्ने लाग्यो । कक्षालाई निरन्तरता दिएँ ।’

नाचघरमा दैनिक दुई घण्टा कक्षा थियो । बाँकी फुर्सदको समय सदूपयोग गर्न पत्रिकामा काम गर्न थाले । काठमाडौंको डेरामा सँगै बस्ने भान्दाइले एक पत्रिकामा काम लगाइदिए ।

‘तलबमा त हैन, यसो चिया खाजा खर्च दिन्थे । मैले पहिलो रिपोर्टिङ गौथली फिल्मको सुटिङ रिपोर्ट गरेको थिएँ । भक्तपुरमा सुटिङ भएको थियो । त्यसभन्दा अघि पनि पत्रिकामा लेख त छापियो नियमित रूपमा चाहिँ नाचघरमा जोडिएपछि लेख्न लागेको हुँ,’ युवराजले सुनाए ।

यता पत्रिकाको कामले लेख्ने बानीको विकास हुँदै थियो, उनी अभिनय पनि सिक्दै थिए । १ वर्षे कोर्स सकिन लाग्दा वीरेन्द्र हमालले निर्देशन गरेको नाटक ‘अन्ध युग’ मा अभिनय गर्न पाए । यही नाटकबाट उनले रङ्गमञ्चमा पाइला टेकेका हुन् ।

‘नाचघरमै भएको थियो नाटक । कस्तो भयो त थाहा छैन, तर सरहरूले जे भन्नुहुनथ्यो- त्यही गरियो,’ उनी पहिलो पटक रङ्गमञ्चमा चढ्दाको अनुभव सुनाउँछन् ।

पत्रिकामा काम गर्ने भएकाले रङ्गमञ्चमा पनि आफूलाई सरहरूले विशेष महत्त्व दिएको उनको बुझाइ छ । ‘नाच घरमा गएपछि रङ्गमञ्चबारे पनि केही थाहा पाएँ । यसबारे लेख्न लागेँ । सरहरूले पनि विशेष स्थान दिन लाग्नुभयो,’ उनी भन्छन् ।

अनि हरायो पर्दामा देखिने इच्छा

टाढा–टाढाका चिनजानका मानिस पनि अभिनयमा थिएनन् । काठमाडौं आएर आफूले बनाएको ‘पीआर’ पनि साहित्य र पत्रकारिता क्षेत्रका व्यक्तिसँग थियो ।

नाचघरमा अभिनय सिक्न गएपछि चाहिँ उनले पर्दामा देखिने बाटो थाहा पाए । जुन हो– सन्तोष पन्तको सिरियल ‘हिजो आजको कुरा’को छायाङ्कनस्थल बसुन्धारा धाउने !

पन्तको घरअघि अभिनयका लागि पालो कुरेर बस्ने ४०–५० जना युवाको भीड मिसियो । तर, तीन साताबाट बढी धाउन मन लागेन ।

‘त्यहाँ कलाकार बन्न जाने केटाहरूलाई गरेको रुखो वचन मन परेन । सेटमा अन्यन्तै हेपाहा प्रवृत्ति देखेँ,’ उनी भन्छन्, ‘सुरुमै सुनील सरले हिरो बन्ने ठाउँ होइन भनेको पनि सम्झिएँ । जान छोडेँ । पर्दामा देखिने रहर मर्‍यो । अभिनय गर्न रङ्गमञ्चको बाटो समातेकै थिएँ ।’

यता पत्रिकामा पनि राम्रै हुँदै थियो । लेखनसँगै चिनजान बढ्दै थियो । तलबी काम नभएकाले उनी अन्य पत्रिकामा लेख पठाउने गर्थे । सोहीकारण उनलाई ०५८ सालमा ‘नयाँ सडक’ पत्रिकाबाट जागिरको अफर आयो ।

‘सांस्कृतिक संस्थानले राष्ट्रिय नाटक महोत्सव गरेको थियो । मैले त्यहाँ मञ्चन भएको नाटकहरूको समीक्षा जस्तो लेख लेखेको थिएँ । नयाँ सडकलाई दिएको थिएँ,’ उनी भन्छन्, ‘त्यो लेख सम्पादक किशोर नेपालले मन पराउनुभएछ । अनि जागिर दिनुभयो । तलब ३५०० रुपैयाँ थियो ।’

गुरुकुलमा जोडिने संयोग
युवराजले नाचघरमै अभिनय सिक्ने क्रममा सुनील पोखरेलको ‘थिएटर स्कुल’ परिकल्पना सुनेका थिए । तर, सो परिकल्पना सुनीलकै मस्तिष्कमा सीमित थियो । यसको कुनै प्रक्रिया सुरु भएको थिएन ।

नाचघरको प्रशिक्षणपछि युवराजले पत्रिकामा काम गरे पनि सुनील पोखरेलसँग सम्पर्क छँदै थियो । कारण– सुनीलले एकेडेमीमा एक वर्षमा ६ वटा नाटक गर्दै थिए ।

‘सुनील सरको टिम हामी नै भएका थियौं । नाटक गर्ने भइयो । दोस्रो नाटक कुमारी गरेँ, जुन सुनील सरले निर्देशन गर्नुभएको थियो,’ उनी भन्छन् ।

यही दौरान युवराजले नाटक ‘आरुको फूलको सपना’ लिएर सुनील पोखरेलसँग बंगलादेश जाने अवसर पाए ।

नाटकले युवराजलाई सुनीलबाट टाढा जान दिएको थिएन । यही क्रममा ०५९ सालमा गुरुकुल स्थापना तयारी अन्तिम चरणमा पुग्यो । यही संयोगले सुनील पोखरेलसँगै अग्रमोर्चामा रहेर ‘गुरुकुल थिएटर’ स्थापना लागिपर्ने पात्र हुन्– युवराज ।

‘म विद्यार्थीको रूपमा मात्रै गुरुकुल गएको होइन । त्यहाँको मिडिया पनि हेर्थेँ,’ उनी भन्छन्, ‘आर्थिक स्रोत व्यवस्थापन लगायतका जिम्मेवारी पनि थियो । अर्थात् सुनील सरसँगै अग्रस्थानमा म खट्थेँ ।’

२०५३ सालमा पहिलो श्रेणीमा एसएलसी पास भएँ । आईकम पनि राम्रै भयो । रङ्गमञ्चमा दौडँदा स्नातक पार गर्न चाहिँ सहज भएन ।

गुरुकुलको किस्सा

गुरुकुल तयार भएपछि युवराजको बसाइ अन्य साथीको जस्तै त्यहीको होस्टलमा भयो ।

जेनतेन ‘गुरुकुल’ त ठडियो, नाटक देखाउन मिल्ने भयो, तर दर्शक थिएनन् । कुनै बेला १७ जना कलाकार भएको नाटक ३ जना दर्शकलाई देखाएको अनुभव पनि युवराजसँग छ ।

त्यसबेला सुनील पोखरेलले भन्थे रे, ‘हाम्रोमा नाटक हेर्ने कल्चर छैन । ५ वर्ष हामीले दर्शक नै नआए पनि निरन्तर गर्नुपर्छ । त्यसपछि एउटा माहोल बन्छ ।’

युवराजका अनुसार गुरुकुलमा दर्शक ओइरिन समय लागेन । तीन वर्षमै उचाइ लियो । उनी भन्छन्, ‘सुरुमा पत्रकार, लेखक, कवि, साहित्यकार दर्शक थिए । विस्तारै विद्यार्थी आउन लागे । तीन वर्षमा त उल्लेख्य संख्यामा दर्शक आउन लाग्नुभयो ।’

व्यक्तिगत रूपमा युवराजको व्यस्तता गुरुकुलमै हुँदा थियो । पत्रिकाको जागिर छोडे पनि उनले ‘फ्रिलान्सर राइटर’का रूपमा लेख्न छाडेका थिएनन् ।

‘त्यो बेला म एकदमै व्यस्त थिएँ । समीक्षाहरू लेखेर पत्रिकालाई देन्थेँ । व्यस्त र राम्रो आम्दानी हुने समय थियो त्यो,’ उनी भन्छन्, ‘यता गुरुकुलको माहोल पनि लेख्नुपर्छ भन्ने नै थियो ।’

गुरुकुलमा उनको यात्रा ०६४ सम्म मात्रै रह्यो । पाँच नाटक, तीन–चार देश विदेश भ्रमण र सुनील पोखरेलसँगको सिकाइ र अनुभवले नयाँ थिएटर खोल्न उनी टाढिए । त्यसपछि स्थापनका भएको हो, शिल्पी थिएटर !

उनी भन्छन्, ‘यो क्षेत्रमा लागेपछि केही गर्नुपर्छ भन्ने युवा जोश थियो । धेरै कुरा गुरुकुलबाट सिकिएको थियो । नाटकको माहोल तातेको थियो । साथीहरूसँग मिलेर खोलियो ।’

रङ्गमञ्चमै बित्यो उर्वर उमेर
युवराज २० वर्षको हुँदा रङ्गमञ्चमा प्रवेश गरेका हुन् । उनको पछिल्लो २५ यही क्षेत्रमा लगानी छ । अहिले उनको परिचय विस्तार भएको छ । उनी रङ्गमञ्चका बलियो खम्बा हुन् ।

खम्बा यस अर्थमा कि– ५० को दशकमा मृत बनेको रङ्गमञ्चलाई ६० को दशकमा ब्यूँत्याउन उनको भूमिका अग्रस्थानमा छ ।

साथै शिल्पी थिएटर खोलेर उनले निर्देशन यात्रा मात्रै सुरु गरेनन्, सयौं विद्यार्थीलाई अभिनयमा दीक्षित पनि गराएका छन् । शिल्पी खुलेको डेढ दशक भयो । अझै थपलाई दीक्षित गराउने क्रम जारी छ ।

उनले दुई नाटकका पुस्तक ‘विमोक्ष’ र ‘आँधीको मनोरम नृत्य’ प्रकाशन गरेका छन् ।

‘तपाईंले रङ्गमञ्चलाई जवानी दिनुभयो, रङ्गमञ्चले के दियो ?’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘जे दियो- त्यो अरू क्षेत्रले दिँदैन थियो । घिमिरे युवराजको परिचय दियो, जीवन बाँच्न सिकायो । आर्थिक हैसियत पनि दियो । सबैभन्दा ठूलो कुरा सन्तुष्ट हुन सिकायो ।’

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १२ : ०५ बजे

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

बनियानी– झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र

फुलहामसँग चेल्सी पराजित

लन्डन – इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा दोस्रो

रवि लामिछानेको बयान आज पनि

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद

संघीय संसद्का दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद्का दुई वटा समितिको बैठक बस्दै छ ।

कोशीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु

झापा–कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना