अरुण चौधरीलाई चिट्ठा: विद्याबाट माफी, रामचन्द्रबाट राज्यमन्त्री ! « Khabarhub

राजनीति

अरुण चौधरीलाई चिट्ठा: विद्याबाट माफी, रामचन्द्रबाट राज्यमन्त्री !


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


28k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्या भण्डारीबाट आममाफी पाएका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीमा आवद्ध सांसद चौधरीलाई राष्ट्रपति पौडेलले शुक्रबार सरकारको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवनियुक्त राज्यमन्त्री चौधरीले ०७९ फागुन ७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रजातन्त्र दिवसको उपलक्ष्यमा आममाफी पाएका थिए ।

तत्कालीन समयमा उनी १७ दिनदेखि कैलाली कारागारमा बन्दी जीवन बिताइरहेका थिए । चौधरीलाई अदालतले कैलालीकै लम्की–चुहा क्षेत्रमा २०६६ मा भएको ट्रयाक्टर आगजनीको घटनामा दोषी प्रमाणित गरेको थियो ।

थरुहट आन्दोलन क्रममा आह्वान गरिएको बन्द अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा आन्दोलनकारी समूहले लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको थियो । कैलाली जिल्ला अदालतले घटना भएको तीन वर्षपछि २०७० वैशाख ९ गते सांसद चौधरीसहित तीन जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो ।

६ महिना कैद भुक्तान नगरेको भन्दै सांसद चौधरीलाई प्रहरीले २०७९ माघ १९ मा बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको थियो । उनीविरुद्ध नेकपा (एमाले) का नेता महादेव बजगाईंले २०६७ भदौ २ गते ट्रयाक्टर जलाइएको भन्दै जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेका थिए ।

आगजनी भएको ट्रयाक्टरका मालिक बजगाईंसँग चौधरी २०७४ मा लम्कीचुहा नगरपालिकाको मेयर पदमा निर्वाचन लडेका थिए । उनी स्थानीय तह निर्वाचन लड्नु अगावै अदालतबाट दोषी ठहर भइसकेका थिए ।

तर, बजगाईंले तत्कालीन समयमा आफूविरुद्ध चुनावी प्रतिष्पर्धामा उत्रिँदा पनि अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने भन्दै केही ‘एक्सन’ लिएका थिएनन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेपछि नेपालगञ्जबाट पक्राउ पर्दा चौधरीले ‘पहिले कुनै मतलब नगरेको र अहिले पदमा पुगेपछि मात्र खोजीनीति सुरु भएको देख्दा अचम्म लागेको’ प्रतिक्रिया दिएका थिए ।

मेयरमा चुनाव लड्नेदेखि प्रतिनिधि सभा सदस्यमा चुनाव लडेर जित्ने बेलासम्म प्रहरी र कसैले कुनै वास्ता नगरेको चौधरीको भनाइ थियो ।
२०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली–२ बाट २१ हजार ८७१ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिष्पर्धी एमाले उम्मेदवार झपटबहादुर रावलले १६ हजार १२८ मत ल्याएका थिए ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा चुनाव लडेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार भगतबहादुर बडुवाल १५ हजार ११६ मतका साथ तेस्रो भएका थिए ।

लम्की–चुहा नगरपालिकाको मेयरका लागि प्रतिष्पर्धामा उत्रिएका चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा भने तेस्रो भएका थिए । तत्कालीन समयमा उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का तर्फबाट उम्मेदवार थिए ।

थरुहट आन्दोलनका क्रममा जलाइएको ट्रयाक्टरका मालिक बजगाईं ७ हजार १८८ मतसहित लम्की–चुहा नगरपालिकाको मेयरमा विजयी हुँदा तेस्रो भएका चौधरीले ६ हजार २२२ मत पाएका थिए । दोस्रो भएका कांग्रेस उम्मेदवार भक्तबहादुर थापाले ६ हजार ५२१ मत ल्याएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ३ : ०८ बजे

किसान सूचीकरण गर्दै माडी नगरपालिका

चितवन– माडी नगरपालिकाले किसानको सूचीकरण गर्न सुरु गरेको छ ।

के थियो महान्यायाधिवक्ता र उनकी छोरी जोडिएको डिम्ब बेचबिखनको मुद्दा ?

काठमाडौं- यतिबेला उमेर नपुगेका किशोरीहरूबाट अवैध रुपमा डिम्ब सङ्कलन गरी

ब्याटिङ थोरै उकासेर पोखराका जेम्स निशम आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोग वार्षिक प्रतिवेदन पेस

मोरङ– मधेसी आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज आफ्नो