अर्थसंक्षेप : १२७ अंकले बढ्यो नेप्से, आठ प्रतिशतले बढे विदेशी पर्यटक | Khabarhub Khabarhub

अर्थसंक्षेप : १२७ अंकले बढ्यो नेप्से, आठ प्रतिशतले बढे विदेशी पर्यटक


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातार घटिरहेको शेयर बजार सोमबार भारी अंकले बढेको छ । यता, मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ ।

यस्तै, अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ । यसरी नै सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ ।

आजका प्रमुख आर्थिक समाचारहरू :

१२७ अंकले बढ्यो नेप्से, १३ अर्ब १० करोडको कारोबार

लगातार घटिरहेको शेयर बजार सोमबार भारी अंकले बढेको छ । शेयर बजार बढेसँगै कारोबार रकममा पनि बढेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२७.३२ अंकले बढेको छ ।

आज नेप्से ४.७२ प्रतिशतले बढेर २८२३.२५ विन्दुमा पुगेको छ । आज शेयर बजार बढ्दा २३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भएको छैन ।

सोमबार प्री ओपन सेसनमा २ अंकले बढे शुरु भएको शेयर बजार खुलेको केही समयमै माथि गएको थियो । तर केही माथि जान खोजेपनि १४ मिनेट पछि भने बजार तल झरेको थियो । ११ः२३ बाट माथि उक्लेको बजार चितमा ३ पटक झिनो करेक्सन आए पनि समग्रमा बजार निरन्तर उकालो लागेको थियो । बजार बन्द हुँदा नेप्से १२७ अंकले बढेर बन्द भयो ।

आज शेयरमा उछाल आएसँगै कारोबार पनि १३ अर्ब १० करोड ४६ लाख ३१ हजार रुपैयाँ पुगेको छ । आज एकै दिन ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर किनबेच भएको छ । नेप्से बढेसँगै सेन्सेटिभ इन्डेक्स २२.९४ अंकले, फ्लोट इन्डेक्स ९.०२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ८.१८ अंकले बढेको छ ।

मेची भन्सारबाट निर्यात घट्यो

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ । जुन गत आव २०८०÷८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात् ९३ करोड सात लाख ३५ हजार रुपैयाँले घटेको हो ।

कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आवको साउन महिनामा दुई अर्ब ७३ करोड ९० लाख ३४ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको थियो ।

यहाँबाट चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका मालवस्तु निर्यात हुने गरेका छन् ।

प्राप्त विवरणअनुसार गत साउनमा रु ५१ करोड २२ लाख ७८ हजारको चिया निर्यात हुँदा ३७ करोड ११ लाख १३ हजार बराबरको प्लाइउड निर्यात भएको छ, जुन गत आव २०८०/८१ को तुलनामा क्रमशः ३८ दशमलव ०८ र ४३ दशमलव ४९ प्रतिशतले बढी हो ।

ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, असोजदेखि नै निर्माण सुरु हुने

एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो ।

यो आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका महासचिव बलराम खतिवडादेखि सूचना प्रविधि विज्ञ असगर अलिलगायत रहेको कम्पनीका अध्यक्ष पुर्णलाल श्रेष्ठले जानकारी दिए ।

प्रस्तावित जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ ताँदीमा निर्माण हुनेछ । यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ । यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) २०८० बैशाखमा तयार भएको हो ।

यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो । प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ । यो जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ । उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।

भदौमै खानयोग्य मुस्ताङको स्याउ

विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ ।

‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो’, ७९ वर्षीय हिराचनले भने, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।’

घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् ।

तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ ।

मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेको बताए ।

इलाका प्रशासन कार्यालय सुपौलीले भदौ २३ बाट सेवा प्रवाह गर्ने

जिल्ला प्रशासन कार्यालय पर्साले जिराभवानी गाउँपालिका–४ स्थित सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने भएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले आगामी भदौ २३ गतेबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट हुँदै आइरहेको सेवा प्रवाह पुनः इलाका प्रशासन कार्यालय सुपौलीबाट प्रवाह गर्ने जानकारी दिए ।

‘इलाका प्रशासन कार्यालय सुपौलीको आफ्नै प्रशासनिक भवन निर्माण भएको र यसअघि इलाका प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको सेवा पनि भदौ २३ गतेदेखि पुन सञ्चालन हुनेछ’, उनले भने ।

सेवा प्रवाहका लागि यहाँ इलाका प्रशासन कार्यालय एक करोड पाँच लाख ९९ हजार रुपैयाँ लागतमा निर्माण गरिएको छ ।

अर्थ मन्त्रालयले शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने

अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ ।

दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ ।

चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न सहमति दिइएको हो ।

यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रूपमा लगानी गर्नेछ । दुग्ध विकास संस्थानबाट दूधको भुक्तानी नपाएको भन्दै किसानहरूले भुक्तानीका लागि माग गर्दै आएका छन् ।

पहिलो किस्ताको पाँच अर्ब बुझाएर एनसेलको अनुमतिपत्र नवीकरण

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पछिल्लो पाँच वर्षको सेवा सञ्चालन अनुमतिपत्र नवीकरण गरेको छ ।

गत भदौ १३ गते मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार एनसेलले नवीकरण शुल्कबापत लाग्ने पहिलो किस्ता ५ अर्ब रुपैयाँ बुझाएर अनुमतिपत्र नवीकरण गरेको हो ।

‘एनसेलले मन्त्रिपरिषद्को निर्णयअनुसार पहिलो किस्ताबापत लाग्ने रकम बुझाएर सेवा सञ्चालन अनुमतिपत्रको नवीकरण गरेको छ’, नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले खबरहबसँग भने, ‘बाँकी ३ किस्ता १० प्रतिशत ब्याजसहित बुझाउन सक्नेगरी नवीकरण भएको छ ।’

सुनको मूल्य आज पनि घट्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आठ दशमलव तीन प्रतिशतले बढे विदेशी पर्यटक

सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ ।

नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् ।

सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् ।

अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट चार हजार ८५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ६ : ५७ बजे

अन्धकारमय काभ्रेपलाञ्चोकमा बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक – यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय

माडवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीबीच धकेलाधकेल

काठमाडौं– महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ।

दशैँ बिदामा पनि निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

काठमाडौं– नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका