अन्तर्राष्ट्रिय

इजरायलमाथि इरानको मिसाइल आक्रमण: तेहरानमा खुशी मनाइयो

By खबरहब

October 02, 2024

काठमाडौं- इजरायलमा मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरूले खुसी मनाइरहेका छन् ।

बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएर उत्सव मनाइरहेको तस्बिर सामाजिक सञ्जालमा आएका छन् ।

यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको फोटो पनि देखियो । कतिपयले पटाकासमेत पड्काएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यसैबीच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा तीव्र स्वरमा राखेका छन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलले यदि प्रतिउत्तर दिए उचित जवाफका लागि तयार रहेको चेतावनी दिएका छन् ।

इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने बताएका छन् ।

उनले भने, ‘इरानले आज ठूलो गल्ती गरेको छ, त्यसको मूल्य चुकाउनुपर्नेछ । हामी हाम्रो नियममा अडिग रहनेछौँ। जसले हामीलाई आक्रमण गर्छ, हामी उसलाई आक्रमण गर्नेछौँ ।’