बीपी राजमार्गमा फसेका ६०० मजदुर भोकै, मन्त्रीलाई प्रश्न– बाटो दशैंअघि खुल्छ ? | Khabarhub Khabarhub

बीपी राजमार्गमा फसेका ६०० मजदुर भोकै, मन्त्रीलाई प्रश्न– बाटो दशैंअघि खुल्छ ?

सिडियोलाई फोन गरेर गृहमन्त्रीले भने– खाने बस्ने व्यवस्था गर्नू



बाढी पहिरोका कारण काभ्रेको नार्के, कालढुंगा र आँपटारी भन्ने ठाउँमा ४९२ सवारी साधनका करिब ६ सय यातायात मजदुर अहिलेसम्म फसिरहेका छन् । आज करिब पाँच दिन भयो ।

रोशीदेखि मुलकोटसम्म विभिन्न ठाउँमा बाटो भत्किएको छ । सबै जोड्दाखेरि विभिन्न ठाउँमा साढे ४ किलोमिटर बाटो भत्किएको छ । विशेष गरी तीन ठाउँमा यातायात श्रमिकहरु फस्नुभएको छ ।

असोज १० गते सबै गाडीहरु झापा, मोरङ र सुनसरीबाट काठमाडौंका लागि छुटे । काठमाडौंबाट पूर्व जाने गाडीहरु कमै छन्, तर उताबाट काठमाडौं आउनेहरु धेरै परे । उहाँहरुको उद्धारका लागि हामीले सरकारसँग हारगुहार गरिरहेका छौं ।

अहिले त्यहाँ विशेष गरी खानेपानीको समस्या छ । अन्य खाद्यान्नको अभाव भएको छ । त्यस्तै शौचालयको पनि ठूलो समस्या छ । खुल्ला ठाउँमा दिसा–पिसाब गर्नुपर्ने अवस्था छ । यसले स्वास्थ्यलाई पनि असर पर्ने स्थिति देखिन्छ ।

सुरुमा त्यो बाटोमा ५/७ हजार मानिसहरु फसेका थिए । प्रायः यात्रुहरु पैदलै हिँडेर काठमाडौं छिरिसक्नुभएको छ । कतिपयलाई हेलिकोप्टरबाट पनि रेस्क्यु गरियो । तर, यातायात मजदुरहरुले सवारी साधन छाडेर हिँड्न मिलेन । उहाँहरु त्यहीँ बसिरहनुपर्ने भयो । त्यसो हुनाले उहाँहरु गाडीमै बसिराख्नुभएको छ ।

मैले त्यहाँ बा ५ ख ७३७ नम्बरका चालक मैनालीसँग टेलिफोनमा कुराकानी गरें । उहाँका अनुसार अहिले त्यहाँको स्थिति अत्यन्तै नाजुक छ । त्यहाँ साथीहरुसँग भएको पैसा पनि सिद्धियो । खाद्यान्न पनि छैन । र, त्यहाँ सहयोग लिने ठाउँ पनि सकियो । त्यसो भएको हुनाले हामीलाई जतिसक्दो चाँडो उद्धार गर्नुपर्‍यो, उद्धार नहुँदासम्म खाद्यान्नको व्यवस्था गर्नुपर्छ भन्ने उहाँको कुरा छ ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेट्यौं । मंगलबार यातायात व्यवस्था विभागमा पनि छलफल भयो । मूलतः अहिले मजदुरहरुलाई उद्धार गर्नुपर्छ भन्ने कुरा हो । उद्धार गर्नका लागि बाटो बनाउनुपर्‍यो । यो बाटो एउटा मजदुरको उद्धारसँग जोडियो, अर्को दशैंमा पूर्व जाने यात्रुहरुको जीवनसँग जोडियो । यी दुईवटै कुरालाई हेरेर सरकारले प्राथमिकताका साथ भत्किएको बाटो पुनर्निर्माण गर्नुपर्ने देखिन्छ ।

कतै डाइभर्सन बनाएर जान सकिने ठाउँ छ भने त्यो बनाउनुपर्छ । अब राज्यले आफ्नो समग्र स्रोत साधन र शक्ति त्यहाँ प्रयोग गर्नुपर्छ भनेर हामीले मन्त्री दाहाललाई भनेका छौं ।

बुधबार पनि यातायात व्यवसायी महासंघका पदाधिकारी, हेभी इक्युपमेन्ट महासंघका पदाधिकारी र प्रमुख तीनदल सम्वद्ध यातायात मजदुर संगठनका पदाधिकारीले संयुक्त रुपमा गृहमन्त्री रमेश लेखकलाई भेटेर मजदुरहरुको तत्काल उद्धारका लागि पहल गर्न भनेका छौं । साथै, दशैंको टीकाअघि नै बाटो मर्मत गर्न गृहमन्त्रीलाई भनेका छौं ।

गृहमन्त्रीले हाम्रै अगाडिबाट काभ्रे र धादिङका सिडियोलाई फोन गर्नुभयो र बाटोमा फसेका यातायात मजदुरलाई उद्धार नहुञ्जेल सरकारका तर्फबाट खाने, बस्ने प्रवन्ध गर्न निर्देशन दिनुभयो ।

त्यस्तै, भौतिक पूर्वाधार मन्त्री दाहालले पनि बन्द भएकै दिनदेखि मन्त्रालयका तर्फबाट पुननिर्माणको काम प्रारम्भ गरेको बताउनुभएको छ । यसका लागि सेनासँग पनि हारगुहार मागिएको उहाँले हामीलाई बताउनुभएको छ । सेनाले केही राहत पनि लिएर गएको भनिएको छ ।

मानवीय सम्वेदनाको हिसाबले हेर्ने हो भने पूर्वबाट आउँदा यात्रुहरुले गाडीमा ल्याएको चामल साथीहरुले पकाएर खानुभयो । अहिले त्यो पनि सिद्धिएको अवस्था छ । वर्तिर पर्तिर गाउँबाट लिन सक्ने सहयोग पनि सबै सिद्धियो ।

सरकारले त्यहाँ बाटो मर्मतका लागि स्काभेटर, तेल र स्टाफहरुका लागि केही खाद्यान्न पनि पठाइएको जानकारी गराएको छ । पानीको पनि व्यस्थापन गरिएको कुरा मन्त्री दाहालले हामीसँग गर्नुभयो । साथीहरुलाई हामीले बुझ्दा चाउचाऊ र पानी चाहिँ पुगेको छ ।

योचाहिँ वीपी राजमार्गको कुरा भयो ।

मुग्लिनतर्फको स्थिति

नागढुंगादेखि लिएर मुग्लिनसम्मको बाटो अहिले हिँडिसक्नु छैन । सरकारले एकतर्फी खोले तापनि ठाउँ–ठाउँमा पहिरो गएर रोकिने गरेको अवस्था छ । त्यहाँ चारजना ट्यांकर चालकहरु काठमाडौंमा पेट्रोलियम पदार्थ भण्डारण गरेर फर्कने क्रममा अहिल्लो दिन ३ बजे यहाँबाट हिँटेको भोलिपल्ट दिउँसो ३ बजेमात्रै नारायणघाट पुग्नुभयो । भनेपछि, बाटोको स्थिति कस्तो छ, यसैबाट थाहा हुन्छ ।

समग्रमा मुग्लिनको बाटो पनि सहज ढंगले चल्न सक्ने स्थिति रहेन । तर, वीपी राजमार्गजसरी त्यहाँ बीच बाटोमै यातायात मजदुरहरु फसेको स्थितिचाहिँ अहिले छैन । जाम हुने गरेको छ तर पहिरो पन्छाउँदै आउने–जाने काम भइराखेको छ । तर, सवारी साधनको चाप बढी भएको हुनाले बिहान काठमाडौंबाट हिँडेको गाडी बेलुका मात्रै चितवन पुग्ने स्थिति छ ।

झ्याप्ले खोलामा तीनवटा सवारी साधन परे । त्यसमा मृत्यु हुने ३५ जनामध्ये चालक मदन दमाईले समेत ज्यान गुमाएको अवस्था छ । सहचाहकको पनि मृत्यु भएको छ । बुटवल, नारायणगढबाट आएको माइक्रोका साथीहरु पनि त्यहाँ पर्नुभएको छ ।

काभ्रेको पनौती आसपासमा दुईजना यातायात मजदुर साथीहरुको पनि घर पहिरोमा परेको छ । त्यहाँ एकजना टिप्पर चालक साथीको खोलाले बगाएर मृत्यु भएको छ । त्यस्तै, पाल्पाबाट हिँडेको एउटा गाडी पनि सम्पर्कविहीन छ भन्ने हामीले सुनेका छौं । त्यसको पनि हामीले यकिन गर्ने प्रयास गरिरहेका छौं ।

दशैंमा के होला ?

पश्चिमतर्फको सन्दर्भमा वैकल्पिक बाटाहरु पनि छन् । ढीलो-चाँडो जसरी भए पनि नागढुंगाबाट गाडीहरु काठमाडौं बाहिर गइराखेकै छन् । सीमभञ्ज्याङबाट हेटौंडा निस्कने बाटो पनि छ । बैकल्पिक रुटका रुपमा सीतापाइलाबाट जाने रामघाटको बाटो पनि छ । कतिपय सवारी साधन नुवाकोट हुँदै त्रिशुलीबाट पनि गइराखेका छन् । तर, पूर्णतया बन्द भएको भनेको काठमाडौंबाट पूर्व जाने बाटो हो । काठमाडौं र पूर्वलाई जोड्ने लाइफलाइन भनेकै वीपी राजमार्ग हो ।

यो बाटोले कोशी प्रदेश मात्र होइन, मधेस प्रदेशलाई पनि काठमाडौंसँग जोड्छ । त्यसैगरी बागमती प्रदेशका पहाडी जिल्लाहरु, सिन्धुली, रामेछाप, काभ्रे आदिलाई पनि काठमाडौंसँग जोड्ने भएकाले यो बाटोको तत्काल मर्मत गर्न सकिएन भने लाखौं मानिसको दशैं प्रभावित हुन सक्छ । त्यसकारण यो हाम्रो जीवनका निमित्त अत्यन्तै महत्वपूर्ण छ ।

तर, वीपी राजमार्ग बन्न तीन महिना लाग्छ भनेर सडक विभागले भनेको हामीले सुन्यौं । यसलाई पूर्णतः निर्माण गर्न तीन महिना लाग्ला, तर हाम्रो माग के हो भने कमसेकम दशैं अगाडि नै एकतर्फी रुपमा भए पनि सञ्चालन गर्नैपर्छ ।

चाडको मुखमा भएको हुनाले यदि बाटोलाई सरकारले दशैंअघि नै सहज गर्न सकेन भने सरकारको औचित्यमाथि नै जनताबाट प्रश्न उठ्न सक्ने जोखिम देखिन्छ । जनतालाई अप्ठ्यारो परेका बेला सहजीकरण गर्न सकिएन भने फेरि प्रश्न त सरकारमाथि उठ्छ   

मैले अघि पनि भनें, जम्माजम्मी मुटकोटदेखि रोशीसम्म विभिन्न ठाउँमा गरी करिब साढे ४ किलोमिटर बाटोको कुरा छ । त्यसलाई राज्यले सम्पूर्ण स्रोत शक्ति लगाएर कमसेकम एकतर्फी नै भए पनि दशैंअगाडि बनाउनैपर्छ भनेर हामीले भनिराखेका छौं । सरकारले पनि सकेसम्म यो बाटो दशैं अगाडि खुलाउनका निमित्त प्रयत्न गर्छौं भनेको छ । हाम्रो जोड पनि सकेसम्म दशैं अगाडि नै खुलोस् भन्ने छ ।

तर, त्यहाँको स्थिति हेर्दा दशैंअघि बाटो खुलाउनका लागि निकै जोडबल गर्नुपर्ने देखिन्छ । सामान्य हिसाबले सोचेर हुने स्थिति छैन । तर, पनि हामीले सरकारको ध्यानाकर्षण गराएका छौं । त्यसक्षेत्रका जनप्रतिनिधिहरुले पनि सरकारको ध्यानाकर्षण गराइरहेको हामीले देखेका छौं ।

यो बाटो तत्काल खोल्नु अति आवश्यक छ । किनभने, नेपालीहरुको वर्ष दिनको चाड दशैं आइरहेको छ । जनताले म चाड मनाउन घर जान्छु भन्दाखेरि जनताको अभिभावक भनेको सरकार हो ।

चाडको मुखमा भएको हुनाले यदि बाटोलाई सरकारले दशैंअघि नै सहज गर्न सकेन भने सरकारको औचित्यमाथि नै जनताबाट प्रश्न उठ्न सक्ने जोखिम देखिन्छ । जनतालाई अप्ठ्यारो परेका बेला सहजीकरण गर्न सकिएन भने फेरि प्रश्न त सरकारमाथि उठ्छ । त्यसो हुनाले यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ ।

( नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईसँग खबरहबले गरेको कुराकानी )

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ४३ बजे

१६ बर्षपछि पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी

काठमाडौं – अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी

बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप

धादिङ । साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत

काठमाडौंबाट २९ जुवाडे पक्राउ, साढे ११ लाख नगद बरामद

काठमाडौं – प्रहरीले अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा काठमाडौँको कागेश्वरी

एभरेष्ट महिला भलिबल काठमाडौंले गण्डकीलाई हरायो

काठमाडौं – जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले

ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा

वासिङ्टन – ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले