३० वडाध्यक्षको नतिजा : कांग्रेसले ६ गुमायो, एमालेले २ कमायो « Khabarhub

उपचुनावको नतिजा

३० वडाध्यक्षको नतिजा : कांग्रेसले ६ गुमायो, एमालेले २ कमायो

माओवादी, रास्वपा, नेमकिपा, जसपा र एकीकृत समाजवादीमा खुशी थपियो


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार सम्पन्न ३३ वडाध्यक्षको उपनिर्वाचनमध्ये सोमबार बिहानसम्म ३० वटा वडाको चुनावी नतिजा प्रकाशित भएको छ । उदयपुरको बेलका–९, कीर्तिपुरको वडा नम्बर ४ र डोल्पाको त्रिपुरासुन्दरीको भने परिणाम आउन बाँकी छ ।

निर्वाचन प्ररिणाम आइसकेका ३० वटा वडामध्ये नेपाली कांग्रेसले ०७९ को स्थानीय चुनावमा १९ वडा जितेको थियो । यसमा अहिले कांग्रेसले १३ वडा जितेको छ भने ६ वटा वडाहरु गुमाएको छ ।

उपचुनावमा कांग्रेसले जितेका वडाहरुमा तेह्रथुमको लालीगुराँस–८, सुनसरीको गढी–६, रौतहटको ईशनाथ–७ र राजपुर–६ रहेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ मा पनि जित हात पारेको छ । उसले हेटौडा उपमहानगर–१२, रुकुमपश्चिमको सानीभेरी– ५, रोल्पाको रुन्टीगढी–४, बर्दियाको ठाकुरबाबा–४, जारकोटको कुसे–७, बझाङको सूर्मा–४, डोटीको पूर्वचौकी–६, दार्चुलाको दुहु–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष जितेको छ ।

कांग्रेसलाई धक्का

कांग्रेसले ०७९ मा जितेका केही वडाहरु गुमाउनुपरेको छ । जस्तो काठमाडौंको १६ नम्बर रास्वपाले खोसेको छ । ताप्लेजुङको सिरिजंगा ३ पनि कांग्रेसले गुमाएको छ । ओखलढुंगाको मोलुङ ५ पनि कांग्रेसले गुमाएको छ ।

धनुषाधाम नगरपालिका १ पनि कांग्रेसले गुमाएको छ । सप्तरीको डाक्नेशवरीका दुबै वडाहरु कांग्रेसले गुमाएको छ । नुवाकोटको ककनी–२ कांग्रेसबाट माओवादीले खोसेको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ कांग्रेसले गुमाएको अर्को वडा हो ।

केही वडाहरुमा भने कांग्रेसले एमाले र माओवादीलाई हराउँदै जित निकालेको छ । जस्तै– दार्चुलाको दुहु–५ मा माओवादीलाई हराउँदै कांग्रेसले जीत निकालेको छ । यसअघि एमालेले जितेका बझाङको सूर्मा, सुनसरीको गढी र रौतहटको ईशनाथका वडाध्यक्षहरु कांग्रेसले एमालेबाट खोसेको छ ।

समग्रमा यो उपनिर्वाचनमा नेपाली कांग्रेसले विगतको भन्दा गुमाउनुपरेको छ । उसले पहिले जितेका सिटहरु एमाले मात्रै नभएर रास्वपा, जसपा र माओवादीले समेत खोसेर लगेका छन् ।

एमालेको झिनो उपलब्धी

चुनावी नतिजा आइसकेका ३० वडाहरुमध्येबाट नेकपा एमालेले अघिल्लो स्थानीय निर्वाचनमा ४ सिट जितेको थियाचे । अहिले २ सिट बढाएर ६ सिटमा जित दर्ता गरेको छ । सत्ताको नेतृत्व गरिरहेको एमालेका लागि यो खासै ठूलो उपलबधी भने होइन ।

नेकपा एमालेले महोत्तरीको रामगोपालमा माओवादीबाट वडाध्यक्ष खोस्न सफल भएको छ भने पहिले कांग्रेसले जितेको सिजंगा, मोलुङ र शुद्धोधनमा नयाँ जित हात पारेको छ ।

तर, एमालेले केपी ओलीको गृहजिल्ला झापाको कन्काइबाट वडाध्यक्ष गुमाएको छ । त्यहाँ स्वतन्त्र उम्मेदवारले जितेका छन् । त्यस्तै, एमालेले गोरखा–१२ मका हारेको छ । त्यहाँ माओवादीले जितेको छ । बझाङको सूर्मा पनि एमालेले गुमाएको छ, जहाँ कांग्रेसले जितेको छ ।

वडामा माओवादी यथास्थितिमै

नेकपा माओवादी केन्द्रले ३० मध्ये पाँचवटा वडामा यसअघि जित हात पारेको थियो । यसपालि पनि उसले पाँचैवटा जितेको छ । तर, पहिले जितेका केही वडाहरु माओवादीले गुमाएको छ । रुकुम–रोप्लामा समेत उसले जित निकाल्न सकेको छैन ।

हेटौंडा उपमहानगरमा माओवादीले वडाध्यक्ष गुमाएको छ । त्यस्तै, पहिले जितेको महोत्तरीमा पनि उसले हार व्यहोरेको छ । कालिकोटमा माओवादीले ०७९ मा जितेको वडा नेमकिपाले खोसेको छ । उपत्यकाबाहिर नेमकिपाको यो पहिलो जित हो । दार्चुलाको दुहुमा पनि माओवादीले पहिले जितेको वडा गुमाएको छ । उदयपुरको त्रियुगा र गोरखा नगरपालिकामा माओवादीले जित निकालेर शक्ति आर्ज नगरेको छ ।

०८४ को चुनावमा ठूलो जीत हात पार्ने बताइरहेको माओवादीले यसअघि जितेका वडाहरु गुमाउनुपरेको छ । रकुम रोल्पाजस्तो जनयुद्धको उदगम स्थलमा पनि उसले कांग्रेसलाई उछिन्न सकेन । तर, उसले केही नयाँ ठाउँमा भने जित हात पारेको छ ।

वडाको चुनावमा माओवादी यथास्थितिमै देखिए पनि पालिकास्तरमा भने उत्साही देखिएको छ ।

साना पार्टीको जित

उपचुनामा प्राप्त ३० वडाको परिणाममध्ये यसअघि शून्य सिट रहेका नेमकिपा, रास्वपा र एकीकृत समाजवादीले समेत एक–एक सिट जितेर खाता खोलेका छन् ।

काठमाडौं १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

रास्वपाले काठमाडौंको मुटुमा जित निकालेर कांग्रेस–एमालेलाई चुनौती दिएको छ भने भक्तपुरमा सीमित मानिएको नेपाल मजलुर किसान पार्टीले कालीकोटमा जीत निकालेको छ ।

त्यस्तै, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले रौतहटको गढीमाई–८ मा वडाध्यक्ष जितेको छ । यहाँ जनता समाजवादी पार्टीले सीट गुमाएको छ ।

तर, सप्तरीको डाक्नेश्वरीमा कांग्रेसले जितेका दुबै वडाहरुमा जसपाले जित निकालेको छ । पहिलेको एक सिट गुमाएको जसपाले अन्ततः दुई सिटमा बाजी मारेको छ ।

पछिल्लो समय मधेसमा वैकल्पिक शक्तिका रुपमा उदाएको भनिएको सिके राउतको पार्टीले भने जित निकाल्नु त परै जाओस् उत्साहजनक मतसमेत पाउन सकेन ।

ठूला दललाई चुनौती, कांग्रेसलाई चोट

आगामी ०८४ को चुनावमा बहुमत ल्याउने भन्दै सत्ता सहकार्य गरिरहेका कांग्रेस र एमालेले यो उपचुनावमा साना भनिएका दलहरुबाट चुनौतीको सामना गर्नुपरेको छ । जस्तो– काठमाडौंमा कांग्रेस र एमाले एक्लाएक्लै लड्ने हो भने रास्वपा चुनौती बनेर उभिने स्थिति प्रष्ट देखिएको छ । मधेसमा पनि कांग्रेस र एमालेको उपस्थिति कमजोर देखिएको छ ।

कांग्रेसले मोरङ, दैलेख, बाजुरा जस्ता जिल्लामा समेत चुनौतीको समना गर्नुपरेको छ । झापामा पनि त्यस्तै देखिएको छ । झापामा कांग्रेस–एमालेलाई स्वतन्त्रले चुनौती दिएको छ भने मोरङमा माओवादीले ।

आगामी ०८४ को चुनावमा बहुमत ल्याउने भन्दै सत्ता सहकार्य गरिरहेका कांग्रेस र एमालेले यो उपचुनावमा साना भनिएका दलहरुबाट चुनौतीको सामना गर्नुपरेको छ । जस्तो– काठमाडौंमा कांग्रेस र एमाले एक्लाएक्लै लड्ने हो भने रास्वपा चुनौती बनेर उभिने स्थिति प्रष्ट देखिएको छ

कांग्रेस–एमालेको गठबन्धनप्रति जनतामा असन्तुष्टि बढ्दै जाने हो भने ०८४ को चुनावमा यी दुई दलको विकल्पमा अन्य पार्टीहरु नआउलान् भन्ने स्थिति देखिएन, यो उपचुनावको परिणामले ।

आइतबार सम्पन्न उपचुनावमा ८ वटा पालिकाहरुमा समग्र मतदान भएको थियो । ४ वटा पालिका प्रमुख र ४ वटा उपप्रमुखमा भएको उपचुनावमा नेपाली कांग्रेसले धक्का व्यहोरेको छ । माओवादी चाहिँ मोरङमा कांग्रेस–एमालेलाई हराउँदै पालिका प्रमुख जितेर उत्साहित देखिएको छ ।

जाजरकोटको नलगाढमा पनि माओवादीले जितेको छ । त्यहाँ पनि पहिले कांग्रेसले नै जितेको थियो ।

यसअघि कांग्रेसले जितेको दैलेखको महाबु अध्यक्ष एमालेले खोसेको छ । बाजुराको स्वामीकार्तिक खापर गाउापालिकाको अध्यक्ष पनि कांग्रेसबाट एमालेले खोसेको छ ।

यो पनि-

मधेसका ७ वडाको परिणाम : सिके राउतलाई धक्का, उपेन्द्र यादव र माधव नेपाललाई फाइदा

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १० : ३० बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ