वडाध्यक्ष रोजिना भन्छिन्- खासमा म व्यावसायी हुँ, समाजसेवाले राजनीतिमा तान्यो | Khabarhub Khabarhub

वडाध्यक्ष रोजिना भन्छिन्- खासमा म व्यावसायी हुँ, समाजसेवाले राजनीतिमा तान्यो

काठमाडौं १६ का जनता भगवान् हुन्, मुकुन्द दाइले छाडेका अधुरा योजना पूरा गर्छु



काठमाडौं – पहिलोपटक स्थानीय तह उपनिर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं वडा नम्बर-१६ मा जित हासिल गरेको छ । ४४ मध्ये २६ ठाउँमा उम्मेदवारी दिएको रास्वपाले काठमाडौंको शहरी इलाकामा जीत निकालेको हो ।

काठमाडौं १६ को वडाध्यक्षमा विजयी रोजिना श्रेष्ठले १५८४ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३०४ मत पाए । एमालेकी लक्ष्मीरत्न तुलाधरले १२१८ मतका साथ तेस्रो भए ।

काठमाडौं १६ मा माओवादीको साथ पाएका नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ मत पाए । राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाए । स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ मत पाउँदा अर्का स्वतन्त्र सम शाक्यले ११८ मत ल्याए ।

काठमाडौं १६ यसअगाडि चर्चित कांग्रेस नेता मुकुन्द्र रिजालले जितेका थिए । उनको निधन भएपछि यो वडा रास्वपाले खोसेको छ । यति मात्र होइन, रोजिना अब काठमाडौंका ३२ वटा वडाध्यक्षमध्ये पहिलो महिला वडाअध्यक्ष बन्न पुगेकी छन् ।

को हुन् रोजिना ?

रोजिना स्थानीय समाजसेवी तथा औद्योगिक क्षेत्रमा काम गर्दै आएकी व्यक्ति हुन् । काठमाडौं– १६ मै जन्मेकी उनी चमती चोक निबासी हुन् । उनको हार्डवेयर पसल भने बालाजु चोकमा छ र उनी उतै बस्छिन् ।

उमेरले ४६ वर्ष पुगेकी रोजिनाले काठमाडौं– १६ मै रहेको तरुण माविबाट एसएलसी उत्तीर्ण गरिन् । उनले व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन् । तथ्याङ्कशास्त्रमा स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण गरेकी उनले कानुनमा पनि स्नातकसम्मको अध्ययन गरेकी छन् ।

कानुन पढेर वकिल बन्नुपर्ने मान्छे कसरी राजनीतिमा आउनुभयो नि भन्ने खबरहबको प्रश्नमा उनी भन्छिन्, ‘खासमा मैले कानुन आफ्नो वौद्धिक विकासका लागि र जनताको हक अधिकारबारे बोल्नका लागि पढेकी हुँ । यो पेसा गर्नु भन्ने त थिएन तर महिलाले अनिवार्य कानुन पढ्नुपर्ने रहेछ ।’

आमाबाट समाजसेवा गर्नुपर्छ भन्ने ज्ञान पाएकी उनले नर्सिंङ होममा काम गर्दागर्दै बालाजु बाईसधारा लगायत क्षेत्रको टोलमा हेल्थ क्याम्प सञ्चालन गरिन् । गुठी, जात्रा, पर्वहरुमा अग्रस्थानमा खटेर उनले महिला समूहमार्फत स्वयंसेवा गर्दै आएकी छिन् ।

रोजिना आफूलाई जनताको सेवक भएको बताउँदै अब काठमाडौं–१६ लाई विकास र आय आर्जनमा जोड्नतर्फ लाग्ने दाबी गर्छिन् । काठमाडौं–१६ मा बाहिरबाट बसोबास गर्न आउने व्यक्तिहरू पनि भएकाले उनीहरूको समस्या पनि हल गर्न आफू तयार भएको बताउँछिन् ।

श्रीमानबाट राजनीतिमा पूरा साथ पाएकी रोजिना महिलाहरु सफल हुनुमा जीवनसाथीको साथ महत्त्वपूर्ण हुने बताउँछिन् । उनी चुनावी अभियानबाट थाक्न खोज्दा पनि आफ्नो साथीले साथ दिएको सम्झन्छिन् । रोजिनाका एक छोरा छन् ।
‘श्रीमानको साथले नै अगाडि बढेकी छु । उहाँ दह्रो गरी मेरो साथमा नभएको भए मलाई गाह्रो हुने थियो’ उनी भन्छिन्, मेरा वडावासी भगवान् हुन् । म यी भगवानको सेवक भएर काम गर्ने छु ।’

श्रेष्ठ यो दुई वर्षको अवधिमा आफूलाई परीक्षण गरेर जनतालाई वडाको काममा देखिनेगरी नतिजा दिने तयारीमा छन् ।

राजनीतिक यात्रा

रोजिना राजनीतिमा खासै चासो नराख्ने व्यक्ति भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनापछि पार्टीसँगको सम्पर्कमा थिइन् । ०७९ को संघीय चुनावका बेला उनी रास्वपामा जोडिएकी हुन् । उनी रास्वपा क्षेत्र–७ की क्षेत्रीय सभापतिसमेत हुन् ।

ज्येष्ठ नागरिकहरूले पाउने निःशुल्क स्वास्थ्य बिमाका बारेमा वडाले जानकारी नगरेको भन्दै उनले पटक–पटक आवाज उठाउँदै आएकी थिइन् ।

उनले यस अभियानअन्तर्गत ज्येष्ठ नागरिकहरूको घर घरमा पुगेर नागरिकताको फोटो खिचेर वडामा गएर फारम भरिन् र बिमाको कार्ड बनाएर घर घरमै पुर्‍याइन् । ज्येष्ठ नागरिकमाथि गरेको यो सेवाले पनि उनलाई अहिले चुनाव जित्न सजिलो बनायो ।

रोजिना आफूलाई कानुनको विषयमा केही जानकारी रहेको बताउँदै स्थानीय सरकार सञ्चालन ऐन अनुसार वडा अध्यक्षको जिम्मेवारी सम्हाल्न आफू कटिबद्ध रहेको बताउँछिन् ।

पार्टीभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्ने कुरालाई विश्वास गर्ने उनी जनप्रतिनिधिले फरक राजनीतिक दलको जस्तो व्यवहार गर्न नहुने र आफू पनि नगर्ने तर्क गर्छिन् ।

प्रस्तुत छ वडाध्यक्ष रोजिनासँग खबरहबले गरेको संक्षिप्त कुराकानी–

बधाई छ नयाँ यात्राका लागि । राजनीतिमा यसरी लागिएला भन्ने थियो ?

धन्यवाद । खास त राजनीति गर्छु होला, गर्नुपर्छ होला भन्ने त थिएन । मैले कानुन पनि आफ्नै रुचीमा पढेँ । खास म व्यवसायी मान्छे हो । तर, जनताको सेवक हुन र समाजसेवा गर्न मन थियो । म समाजमा सेवा गरेर रमाइरहेकै थिएँ । तर ०७९ को निर्वाचनमा रास्वपाका जोडिएँ । यो मेरा लागि अवसर भयो । त्यसपछि मैले वैकल्पिक राजनीति सुरु गर्नुपर्छ भन्ने सोचेँ ।

अहिले वडाबासीको साथले म यहाँ छु । पार्टी त माध्यम हो । वडावासीको साथ नभएको भए म यहाँ हुने थिइनँ । म उहाँहरूको सेवक बनेर १६ नम्बर वडालाई केही योगदान गर्न चाहन्छु । अवसर र चुनौतीलाई सामना गर्छु भन्ने आँट छ ।

काठमाडौं महानगरमा एकमात्र महिला वडाअध्यक्ष बन्नुभएको छ । महानगरमा कसरी प्रस्तुत हुने योजना बनाउनुभएको छ ?

यो अवसरका लागि मेरो पार्टी र जनतालाई म हार्दिक धन्यवाद दिन्छु । महिलालाई विश्वास गर्नुभएको छ । म निस्वार्थ भएर काम गर्छु । खासमा म काम गर्न आएका कारण जनताको बीचमा गएर उहाँहरूका समस्या सुन्ने र समाधानका लागि वडाले कस्तो कदम चाल्न उचित हुन्छ, त्यसको विषयमा काम गर्ने योजना छ । म निर्वाचित मात्र भएकी छु । आज बल्ल प्रमाणपत्र पाएँ । भोलि शपथ ग्रहण होला । त्यसपछि त्यहाँको परिस्थित हेरेर बाँकी रहेका काम पूरा गर्ने छु । पहिलाको हाम्रो मुकुन्द दाइले के–के काम गर्न छाडेर जानुभएको छ, योजनाअनुसार अगाडि बढ्छु ।

 

युवामाथि जनताले धेरै आश गरेका छन्, मैले यो कामचाहिँ गर्नै पर्छ भन्ने त्यस्तो कुनै योजना छ ?

छ नि । थुप्रै काम छ । सेवाग्राहीहरु वडामा काम गर्न आउने बित्तिकै अलमलिने गरेका छन् । त्यसका लागि एउटा हेल्प डेक्स स्थापना गर्ने छु । त्यसबाट सेवाग्राहीलाई काम गर्न सजिलो हुन्छ । त्यसपछि त्यहाँ भएको समस्या हटाउन मैले के सुधार गर्नुपर्ने हो, त्यो हेरेर गर्नेछु । युवालाई आत्मनिर्भर र सक्षम बनाउने मैले गर्नुपर्ने सहयोग पर्याप्त गर्नेछु । सबैलाई सेवाको पहुँचमा पुर्‍याउने छु ।

हिजोसम्म म एउटा सामान्य व्यक्ति थिएँ । चुनिएर आएपछि म सार्वजनिक व्यक्ति छु । मैले पनि धेरै ठाउँमा काम गर्दा जनताका गुनासाहरु सुनेको छु । त्यस कारण म यसलाई मेरो कार्यकालमा पस्न दिन्नँ । यो व्यक्ति, त्यो व्यक्ति नभनेर सेवाग्राहीहरुलाई समानरूपले सेवा प्रवाह गर्छु ।

स्थानीय सरकारले आफ्नो कार्यक्षेत्र अनुसार सेवा प्रवाह गर्न सकेन, वडाअध्यक्षहरु जनताको सेवक भएनन्, टोलमा पुगेनन्, कर्मचारी जस्तै भए भन्ने पनि गुनासा छन् नि ?

हो । यो कुरोमा मेरो पहिलो प्राथमिकता छ । काठमाडौं १६ सहरी इलाका भएकाले टोल–टोलमा के समस्या छ, त्यो पहिला बुझ्छु । अनि जनप्रतिनिधि र टोलवासीलाई बोलाएर समस्या समाधानका लागि छलफल गरिने छ । टोलका समस्या कति पूरा गर्न सक्छु, तर म जनताको सेवक भएकाले सबैको समस्या सुनेर प्राथमिकता निर्धारण गरेर समाधान गर्नेछु । उहाँहरूलाई नै अगाडि राखेर समाधानका लागि छलफल हुने छ । कति ठाउँमा यहाँले गरेको प्रश्नजस्तै समस्या भएको सुनेकी छु । म त्यो गर्दिनँ भनेर दाबी नै गर्छु ।

यहाँको वडामा मुख्य समस्या के–के देख्नुभएको छ ?

टोलअनुसार फरक–फरक समस्या छन् । बाटोको अवस्था पनि सुधार गर्नुपर्ने छ । खाल्डाखुल्डी, धुलो, धुँवाले पनि समस्या दिएको छ । कतै सिसी क्यामेरा नभएको गुनासो छ । कसैको पोलमा बत्ती छैन । कसैको वडाको सुविधा भएन भन्ने छ । सानादेखि ठूलासम्म थरिथरिका समस्या छन् त्यही भएर कुनचाहिँ टोलमा कसरी काम गर्ने भन्ने कुरा निर्धारण गर्छु ।

महानगरमा रास्वपाबाट एकजना मात्र निर्वाचित हुनुहुन्छ, अन्य सदस्यहरू अरू दलका हुनुहुन्छ । काम गर्न गाह्रो हुँदैन ?

हामी काम गर्दै जाने प्रतिनिधि हो । हिजो एउटा दलबाट निर्वाचित भए पनि हामीले खोजेको पनि सुशासन र जनताको सेवा हो । उहाँहरूले खोजेको पनि त्यही हो । जनप्रतिनिधिको सेवा गर्ने र टोलको विकास गर्ने नै हो । यो कुरा गाह्रो हुन्छ जस्तो लाग्दैन । उहाँहरूले अनुभव लिइसक्नु भएको कारण कति कुरा उहाँहरूलाई सोध्छु । कति कुरा मलाई थाहा भएको हुन सक्छ । समन्वय गरेर अगाडि बढ्छु । उहाँहरू पनि मेरा मार्गनिर्देशक बन्नुहुने छ । किनकि मेरो भन्दा धेरै अनुभव छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  २ : ३९ बजे

प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : कृषिमन्त्री

काठमाडौं – कृषि तथा पशपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको

बेइजिङ पुगे प्रधानमन्त्री ओली, उपमन्त्री सुनले गरे स्वागत

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन्

लीलावल्लभको पद गएपछि रेवतीरमण बने कोशीका आन्तरिक मामिलामन्त्री

काठमाडौं– कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद

राजा फर्काउँछु भन्ने राप्रपा उपचुनावमा उत्तानो !

काठमाडौं– अघिल्लो साता केराबारीमा भेटिएका राप्रपाका मोरङ जिल्ला अध्यक्ष गोपाल

बजेट अभावमा खानेपानी योजना रोकिँदैनन् : खानेपानीमन्त्री

सुर्खेत – खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन