अलैँचीको भाउ लाख नाघ्यो, उत्पादन आधा घट्यो | Khabarhub Khabarhub

अलैँचीको भाउ लाख नाघ्यो, उत्पादन आधा घट्यो

रोग नियन्त्रणमा विशेषज्ञता नहुँदा बगान मास्दै किसान


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अलैँचीलाई ‘नेपालको कालो सुन’ भनिन्छ । विश्वका थोरै देशमा मात्रै अलैँची उत्पादन हुन्छ । विश्वभर उत्पादन हुनेमध्ये ६० प्रतिशत अलैँची नेपालमै फल्छ ।

यस वर्ष अलैँचीको भाउ राम्रो आएको छ । उत्पादन कम हुँदा भाउ आकासिएको व्यवसायीहरूको भनाइ छ । अहिले किसानले नै प्रतिमन (४० केजी) को एक लाखदेखि एक लाख पाँच हजार रुपैयाँसम्म भाउ पाएका छन् । उत्पादन घटेसँगै अलैँचीको भाउ महँगो भएको हो ।

अघिल्ला वर्षमा किसानले बेच्ने बेलामा अलैँचीको मूल्य सामान्य हुने र केही समयपछि भाउ बढ्ने गथ्र्यो । त्यसो हुँदा किसान सधैँ मर्कामा पर्ने गरेका थिए ।

तर, यो वर्ष समयमै अलैँचीको भाउ बढेपछि किसान उत्साहित भएको अलैँची व्यवसायी इन्द्रबहादुर लिम्बूले बताए । वर्षेनी समयमै भाउ बढेर आए किसानलाई मर्का नपर्ने उनको भनाइ छ ।

लिम्बूका अनुसार, अलैँची उत्पादन गर्न धेरै खर्च लाग्ने र त्यसअनुसार भाउ नपाउँदा किसान मर्कामा परिरहेका थिए । पहिले गाँउमा धेरै क्षेत्रफलमा अलैँची खेती हुने गरेकामा अहिले धेरै किसानले अलैँची खेती मासेर तरकारी खेती थालेको उनले जानकारी दिए ।

अलैँची खेती गरिरहेका लिम्बूले यस वर्ष सो फसलबाट चार लाख रुपैयाँ कमाएका छन् । बगानमा विभिन्न रोग लागेका कारण पहिलेजति उत्पादन नहुने उनले बताए । पहिले–पहिले उनको बगानमा २५० केजीको हाराहारीमा अलैँची हुन्थ्यो । अहिले मुस्किलले २०० किलोग्राम उत्पादन हुने गरेको छ ।

विभिन्न रोगका कारण अलैँचीका बोट मर्दै गएका छन् । यसमा लागेको रोगको उपचार के हो भनेर पत्ता लगाउन नसक्दा पनि उत्पादन घटेको लिम्बू बताउँछन् ।

उत्पादन घट्दै जाँदा अलैँचीको मूल्य भने ह्वात्तै बढेको छ । यस अघिका तीन वर्षको तुलनामा उत्पादन ४० प्रतिशत नै घटेको अलैँची उत्पादक सङ्घका अध्यक्ष निर्मल भट्टराईको भनाइ छ । अहिले नेपालमा पाँच हजार मेट्रिकटनदेखि आठ हजार मेट्रिकटनसम्म अलैँची उत्पादन हुँदै आएको छ ।

गत दुई वर्ष यताको तथ्याङ्क हेर्दा पाँच हजारभन्दा पनि कम उत्पादन भइरहेको भट्टराईले बताए । यो वर्ष भने चार हजार मेट्रिकटनमात्रै अलैँची उत्पादन भएको उनको भनाइ छ ।

नेपालका पहाडी ४३ जिल्लामा व्यवसायिक अलैँची उत्पादन हुँदै आएको छ । सबैभन्दा बढी अलैँची उत्पादन हुने पकेट जिल्ला ताप्लेजुङ र सङ्खुवासभा हुन् । ती जिल्लामा पनि अलैँची उत्पादन घटेको उनको भट्टराईको भनाइ छ ।

अहिले मुख्यतः नेपाल, भारत र भुटानमा बढी अलैँची उत्पादन हुने गरेको छ । अलैँचीको मुख्य प्रयोग मसलाको रूपमा हुने गरेको छ । केही प्रतिशत औषधीको रूपमा पनि प्रयोग हुन्छ ।

नेपालमा अलैँची उत्पादनमा ह्रास आउनुमा यससम्बन्धी विज्ञ जनशक्ति अभाव कारण रहेको भट्टराईले बताए । उनले भने, ‘अलैँचीको उत्पादन वर्षेनी घट्नुमा हामीकहाँ विज्ञ नभएर हो । अहिले अलैँचीमा धेरै प्रकारका रोग लाग्न थालेको छ । उत्पादन क्षेत्रफल पहिलेजति नै भए पनि त्यसलाई निर्मूलीकरण गर्न नसक्दा उत्पादन भने घट्दो छ ।’

सरकारी बजेट एकद्वार नहुँदा समस्या

सरकारले अलैँचीको व्यवसायिक उत्पादनमा केही लगानी गरे पनि विनियोजन छरपष्ट रहेको व्यवसायीहरूको भनाइ छ । लगानी छरिँदा अलैँची उत्पादन र बजारीकरणतर्फ प्रभावकारी काम हुन नसकेको भट्टराई बताउँछन् ।

‘अलैँची खेतीमा सरकारको केही लगानी त भएको छ, तर बजेट चारैतिर बाडिँदा प्रभावकारी भएन,’ भट्टराई भन्छन्, ‘अलैँची जोन, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना लगायत विभिन्न शीर्षकमा बजेट छुट्याउँदा समस्या भएको छ । यसरी विभिन्न बजेट छरिँदा अलैँचीको मुख्य क्षेत्रमा लगानी हुन सकेको छैन ।’

तस्बिरः ईसीमोड ।

पाँच वर्षमा कति निर्यात ?

नेपालमा अलैँची अक्सर आयात गरिँदैन । नेपालबाट भने हरेक वर्ष निर्यात हुने गरेको छ ।

चालु आर्थिक वर्षको चार महिना अवधिमा नेपालबाट एक अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँ बराबरको १२ लाख ६ हजार २५० किलोग्राम अलैँची निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा नेपालबाट ५० लाख १८ हजार ३३५ किलोग्राम अलैँची निर्यात भएको थियो । निर्यात गरिएको अलैँचीको मूल्य सात अर्ब ९४ करोड नौ लाख ६४ हजार रुपैयाँ बराबर हो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ९९ लाख ९१ हजार १४९ किलोग्राम अलैँची निर्यात भएको भन्सार तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको ५३ लाख ६७ हजार ४४३ किलोग्राम अलैँची निर्यात भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा सात अर्ब दुई करोड २४ लाख ९३ हजार रुपैयाँ बराबरको ८५ लाख ५७ हजार ३४२ किलोग्राम अलैँची निर्यात भएको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७६/०७७ मा चार अर्ब एक करोड ९२ लाख १४ हजार रुपैयाँ बराबरको ५० लाख १२ हजार ६९४ किलोग्राम अलैँची निर्यात भएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : १३ बजे

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२

शिवम् सिमेन्टको नो कम्प्रोमाइज अन्तर्गतको चौथो भिडियो सार्वजनिक

काठमाडौं– शिवम् सिमेन्टले चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रोमाइजअन्तर्गतको

प्रतिकूल मौसमले देशभरको हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ

एभरेष्ट बैंकको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा