विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

आज पुस १८ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी ३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

इरानी जनरल सुलेमानीको चिहाननजिकै दुईवटा विस्फोट हुँदा ७३ जनाको मृत्यु

बुधबार इरानमा रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको वार्षिकी मनाउन जम्मा भएको भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । सन् २०२० मा सुलेमानीको हत्या भएको वार्षिकी मनाउन भेला भएको समूहलाई लक्षित गरी भएका विस्फोटमा परी ७३ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो ।

विस्फोट दक्षिणी सहर केरमानस्थित साहेब अल–जमान मस्जिदमा इरानका रिभोल्युसनरी गार्डका विदेशी अभियान प्रमुख सुलेमानीको चिहान नजिकै भएको थियो । केही समयअघि मस्जिद नजिकै लगातार दुई वटा विस्फोटको सूचना प्राप्त भएको थियो ।

विस्फोटको कारणका बारेमा तत्काल कुनै जानकारी प्राप्त भएको छैन । सरकारी टेलिभिजनका तस्बिरहरूमा उक्त क्षेत्रमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ । बीबीसीका अनुसार विस्फोटमा १७१ जना घाइते भएका छन् ।

सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गरेका थिए । उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो । उनी बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा मारिएका थिए ।

इजरायली ड्रोन आक्रमणमा हमासका उपनेता अरौरी मारिए

इजरायलले गरेको आक्रमणमा प्यालेस्टाइनी लडाकु समूह हमासका उपनेता सालेह अल–अरौरी मारिएका छन् ।

समाचार संस्था बीबीसीका अनुसार लेबनानको राजधानी बेरुतस्थित दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन हमलामा सालेह मारिएका हुन् । इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये उनी सबैभन्दा ठूला नेता हुन् ।

इजरायलले सो आक्रमणमा अरौरीसहित अन्य ६ जना समेत मारिएको दाबी गरेको छ । ५७ वर्षीय अरौरी हमासको सैनिक विङ्ग इज एड–डिन अल क्वासेव ब्रिगेडका संस्थापक हुन् । यसअघि इजरायलले गत अक्टोबरमा अरौरीको निवास ध्वस्त पारेको थियो ।

यस्तै, सन् २०१५ मा अमेरिकाले अरौरीलाई विश्वकै आतंककारीको घोषणा गर्दै उनको बारेमा जानकारी दिनेलाई ५ मिलियन डलर पुरस्कार दिने जनाएको थियो।

उता, लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफूहरूलाई इजरायल–हमास युद्धमा तान्न खोजेको आरोप लगाएका छन् ।

हुथी विद्रोहीद्वारा कार्गो जहाजमा आक्रमण

यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सी रणनीतिक बाब अल-मन्डेब क्षेत्र नजिकै यात्रा गरिरहेका व्यापारिक जहाजलाई लक्षित गरी मङ्गलबार राति दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बेलायती सामुद्रिक सुरक्षा निकाय (यूकेएमटीओ)लाई उद्धृत गरी अमेरिकी सेनाले जनाएको छ ।

संयुक्त अधिराज्यको समुद्री व्यापार सञ्चालनले सुरुमा इरिट्रिया र यमनको तटको बीचमा यात्रा गरिरहेको कार्गो जहाज नजिकै विस्फोट भएको थियो । अमेरिकी सेन्ट्रल कमान्डले हुथी विद्रोहीले दक्षिणी रेड सीमा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने विषयमा बुधबार बैठक आयोजना गर्ने भएको छ, जसमा फ्रान्सेली कूटनीतिज्ञहरूले रेड सीमा हुथी आक्रमणको मुद्दालाई सम्बोधन गर्ने बताएका छन् ।

हालैका हप्ताहरूमा हुथी विद्रोहीहरूले रेड सी र यसलाई एडेनको खाडीसँग जोड्ने बाब अल–मान्डेब स्ट्रेटमा रोकिने व्यापारिक जहाजहरूलाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन् । इजरायलले हमास लडाकुसँग लडिरहेको गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यवद्धता जनाउन उनीहरूले आक्रमण गरेको बताएका छन् ।

यमनको राजधानी साना र रेड सीको यमनी क्षेत्रको अधिकांश तटीय क्षेत्र नियन्त्रण गर्ने हुथी विद्रोहीले इजरायलसँग सम्बन्ध भएका रेड सीमा यात्रा गरिरहेका जहाजलाई निशाना बनाउने चेतावनी दिएका छन् । उक्त क्षेत्रमा गस्ती गरिरहेका अमेरिकी, फ्रान्सेली र बेलायती युद्धपोतले कैयौँ क्षेप्यास्त्र र ड्रोन खसालेका छन् ।

पेन्टागनका अनुसार हुथी विद्रोहीले एक दर्जन व्यापारिक जहाजलाई लक्षित गरी दर्जनौं ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन् । रेड सीको आक्रमणले विश्वव्यापी व्यापारको १२ प्रतिशतसम्म ओगट्ने पारवहन मार्गलाई खतरामा पार्छ । आक्रमणका कारण रेड सीको जल यातायातको सुरक्षाको लागि भन्दै बहुराष्ट्रिय नौसैनिक कार्यबल गठन गर्न आवश्यक परेको अमेरिकाले जनाएको छ ।

आइतबार अमेरिकी सेनाले डेनमार्कको मास्र्क लाइनको कन्टेनर जहाजमा भएको आक्रमणपछि हुथीका तीनवटा डुङ्गा डुबेको बताएको थियो ।

विद्रोहीले उक्त घटनामा आफ्ना १० लडाकू मारिएको बताएको छ ।

युक्रेनलाई लामो दुरीका मिसाइल उपलब्ध गराउन पोल्याण्डको आग्रह

पोल्यान्डका विदेशमन्त्रीले बुधबार सहयोगीसमक्ष युक्रेनको लागि लामो दुरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान गरेका छन् । कीएभका प्रक्षेपण क्षेत्र तथा नेतृत्व केन्द्रहरू लक्षित गरी रूसले गरिरहेको आक्रमणबाट बच्न मद्दत गर्न यस्तो आह्वान गरेको जनाइएको छ ।

युक्रेनी राजधानी कीएभ र उत्तरपूर्वी सहर खार्किभमा मंगलबार गरिएको घातक क्षेप्यास्त्र आक्रमणका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं सर्वसाधारण घाइते भएका छन् ।

बुधवार, पोल्याण्डका शीर्ष कूटनीतिज्ञ राडोस्लाव सिकोर्स्कीले सामाजिक सञ्जालमार्फत पुटिनले बुझ्ने भाषामा जवाफ दिनुपर्ने बताएका छन् ।

आफ्ना तथा युक्रेनका सहयोगीहरूलाई युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रहरू प्रदान गर्न आग्रह गर्दै यसले प्रक्षेपण क्षेत्र तथा सैन्य केन्द्रहरू हटाउन सक्षम बनाउने उनले विश्वास व्यक्त गरे ।

पोल्याण्ड युक्रेनको कट्टर सहयोगी हो र नयाँ प्रशासनले आफ्नो छिमेकी मुलुकका लागि राजनीतिक समर्थन दोब्बर बनाएको छ ।

सिकोस्र्कीले रूसले युक्रेनलाई निरन्तर रुपमा गरिरहेको र प्रतिक्रियामा मस्को विरुद्धका पश्चिमी प्रतिबन्धहरू कठोर हुनुपर्ने बताएका छन् । परिणामस्वरूप हात हतियार निर्माण तथा तस्करीलगायतका क्रियाकलापहरू फस्टाउन नपाउने उनीहरूको भनाइ छ ।

गत डिसेम्बरमा पोल्याण्डको विदेश मन्त्रीको रूपमा नियुक्त, सिकोर्स्कीले आफ्नो पहिलो विदेश भ्रमणको लागि युक्रेनलाई रोजे । उनले युक्रेनलाई सशस्त्र बनाउनको लागि पश्चिमले आफ्नो अर्थतन्त्रलाई चलायमान गराउनुपर्ने बताएका छन् ।

डिसेम्बरमा टर्कीको मुद्रास्फीति दर २०२३ कै उच्च विन्दुमा

टर्कीको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६५ प्रतिशत अर्थात् सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । मुद्रास्फीति दर मे महिनासम्ममा ७०-७५ प्रतिशत पुग्ने प्रक्षेपण अर्थशास्त्रीले गरेका छन् ।

यद्यपि, राष्ट्रपति रेसेप तैयप एर्दोगानको बजारमामिला अध्ययन गर्ने अर्थशास्त्रीहरूले नयाँ टोलीले आगामी चार महिनाभित्र मुद्रास्फीति अहिलेसम्मकै उच्च विन्दुबाट घट्न थाल्ने बताएका छन् ।

दशकौँ लामो उच्च मुद्रास्फीति दर सन् २०२२ को अक्टोबरमा ८५ प्रतिशत पुगेको थियो र त्यसपछि स्थिर आरोहण सुरु हुनुअघि नै यो दर घटेको थियो । टर्कीको आधिकारिक वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६४.७७ प्रतिशत सम्म पुगेको छ, जुन नोभेम्बरमा ६१.९८ प्रतिशत रहेको थियो ।

तर मासिक २.९३ प्रतिशतको वृद्धि दर विगत छ महिनामा सबैभन्दा कम हो । कोनोटोक्सिया इन्भेस्टमेन्ट हाउसका बजार विश्लेषक बार्टोस्ज साविकीले भने, ‘मुद्रास्फीतिको प्रवृत्तिमा केही सुधार आएको छ र पछिल्ला महिनाहरूमा मुद्रास्फीति दर स्थिर भएको छ ।’

क्यापिटल इकोनोमिक्सका लियाम पीचका अनुसार पछिल्लो तथ्यांकले केन्द्रीय बैंकलाई सामान्यतया सान्त्वना दिनेछ । उच्च ब्याज दरलाई ‘सबै दुष्टहरूको आमा र पिता’ भनेका एर्दोगानलाई विश्लेषकहरूले यसका लागि जिम्मेवार देखेका छन् ।

राष्ट्रपति एर्दोगानले सन् २०२१ मा ‘नाम मात्रको स्वतन्त्र’ केन्द्रीय बैंकलाई उधारो लागत घटाउन निर्देशन दिनुलाई विश्लेषकहरूले मुद्रास्फितिको श्रृङ्खलालाई बढाउने वर्तमान समस्याको जड मानेका छन् ।

गत वर्षको मे महिनामा पुन: चुनाव जितेपछि आफ्नो पुरानो प्रतिवद्धतालाई उल्टाउँदै अर्थतन्त्र सुधारका लागि अग्रसरता लिन उनले टर्कीका चर्चित अर्थविद् मेहमेट सिम्सेकलाई अर्थमन्त्रीको रूपमा र पूर्व वाल स्ट्रिटका कार्यकारी प्रमुख हाफिज गए एर्कानलाई केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गर्नुभएको थियो ।

एर्दोगानको उच्च ऋण लागतको विगतको घृणालाई तोड्दै केन्द्रीय बैंकले महत्वपूर्ण ब्याज दरलाई ४२.५ प्रतिशतबाट ८.५ प्रतिशतमा झारेको छ । दुई दशकभन्दा बढी सत्तामा रहेपछि आर्थिक नीति उल्टाउने बृहत् संकेत एर्दोगानले नयाँ कार्यक्रमलाई समर्थन गरेका छन् ।

टोकियो विमानस्थलमा दुर्घटनाबारे अनुसन्धान सुरु

जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मंगलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका छन् ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका थिए ।

हवाईजहाज, रेल र पानीजहाजमा भएका गम्भीर दुर्घटनाको अनुसन्धान गर्ने सरकारी निकाय जापान यातायात सुरक्षा बोर्डले बुधबार दिउसो विमानको भग्नावशेषको जाँच गरेको छ भने प्रहरीले पनि दुर्घटनास्थलको निरीक्षण गरेको थियो ।

सुरक्षा बोर्डले सामुद्रिक सुरक्षा गार्डको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू भेट्टाएको र होक्काइदो प्रान्तको न्यू चिटोस विमानस्थलबाट उडेको जापान एयरलाइन्सको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू खोजी गरिरहेको स्थानीय सञ्चार माध्यमहरू अधिकारीलाई उद्धृत गरी जनाएका छन् ।

‘हनेदा एयर ट्राफिक कन्ट्रोलरले दुर्घटना हुनुअघि यात्रुवाहक विमानलाई धावनमार्गमा अवतरण गर्न अनुमति दिएका थिए र कोस्ट गार्ड विमानलाई ‘छोटो समयका लागि धावन मार्गमा पर्खिन’ निर्देशन दिएका थिए,’ जापानको यातायात मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारणकर्ता एनएचकेले जनाएको छ ।

जापानको राष्ट्रिय समाचार एजेन्सी क्योदोले जापान एयरलाइन्सलाई उद्धृत गर्दै भनेको छ, ‘विमानका चालक दलका सदस्यले एयर ट्राफिक कन्ट्रोलको पुष्टि भएपछि अवतरण प्रक्रिया अघि बढाएको र उडानका क्रममा विमानमा कुनै असामान्यता नभएको बताएका थिए ।’

दुर्घटनाका कारण विमानस्थलका सबै धावनमार्ग केही घण्टाका लागि बन्द गर्नुपरेको थियो जसका कारण हनेदाबाट आउने र जाने २२६ उडान रद्द भएका थिए जसका कारण ४० हजारभन्दा बढी यात्रु प्रभावित भएका थिए ।

बुधबार तीनवटा धावनमार्ग खुला गरिए पनि दिनभरि करिब १०० वटा उडान बन्द हुने अनुमान गरिएको छ, जसका कारण १९ हजार यात्रुको यात्रा योजना प्रभावित हुनेछ ।

स्थानीय समयअनुसार मङ्गलबार साँझ ६ बजे एआरएल फ्लाइट ५१६, एयरबस ए–३५० हानेदाको सी–रनवेमा अवतरण गर्ने क्रममा कोस्ट गार्डको विमान एमए–७२२ र बम्बार्डियर ड्यास–८ दुर्घटना हुँदा दुवै विमानमा आगो लागेको थियो ।

मङ्गलबार टेलिभिजन फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा गुडिरहेको बेला त्यसको छेउबाट ठूलो मात्रामा आगो लागेको देखिएको थियो । त्यसपछि विमानको पखेटा वरपरको क्षेत्रमा आगो लागेको थियो । त्यसको एक घण्टापछि देखिएको फुटेजमा विमान आगोले जलेको देखिएको छ ।

एमए–७२२ विमानमा सवार चालक दलका छ सदस्यमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुर्घटनापछि विमानबाट उम्कनसफल क्याप्टेन गम्भीर घाइते भएका छन् ।

कोस्ट गार्डका प्रवक्ता योशिनोरी यानागिशिमाका अनुसार मध्य जापानमा सोमबार अपराह्न ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि हनेदा विमानस्थल बेससँग सम्बन्धित कोस्ट गार्डको विमान निगाता प्रान्तको भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री ढुवानी गर्न धावनमार्गमा विस्तारै गुडिरहेको थियो ।

यात्रुवाहक विमानमा सवार सबै ३६७ यात्रु र चालक दलका १२ सदस्य विमानबाट उम्कन सफल भएका छन् । टोकियोको दमकल विभागका अनुसार दुर्घटनापछि आगो निभाउन आठ घण्टाभन्दा बढी समय लागेको थियो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ५९ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले