चीनसँग तनाव चुलिएसँगै फिलिपिन्सले चाल्यो कडा कदम | Khabarhub Khabarhub

चीनसँग तनाव चुलिएसँगै फिलिपिन्सले चाल्यो कडा कदम


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय फिलिपिन्स र चीनबीच दक्षिण चीन सागरको विवादित जलक्षेत्रलाई लिएर तनाव चुलिँदै गएको छ । चीनसँग दक्षिण चीन सागरमा तनाव बढ्दै गएका बेला हालैमात्र फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले महत्वपूर्ण सैन्य स्तरोन्नतीलाई स्वीकृत गरेका छन् । साउथ चाइना मर्निङ पोस्टले प्रकाशित गरेको समाचार अनुसार राष्ट्रपति मार्कोस जुनियरले अघि सारेको सैनिक स्तरोन्नतीको कदममा मुलुकको पहिलो पनडुब्बी पनि समावेश छ ।

पछिल्ला केही महिनायता चिनियाँ तटरक्षकहरले दक्षिण चीन सागरमा माछा मार्ने फिलिपिनी माझीहरुलाई बारम्बार दुःख दिने गरेका छन् । पछिल्लो घटनामा स्क्यारबोरो शोल भनिने विवादित क्षेत्रमा चिनियाँ तटरक्षकले फिलिपिनी माझीलाई लखेटेका थिए । चिनियाँ तटरक्षकले भने अवैधानिक हिसाबमा प्रवेश गरेका फिलिपिनोहरुलाई त्यहाँबाट लखेटेको बताएको छ ।

यसअघि सोही क्षेत्रमा फिलिपिन्सले रोकेर राखेको दोस्रो विश्वयुद्धकालीन जहाजमा तैनाथ फिलिपिनी नौसैनिकलाई आपूर्ति गरिने बन्दोबस्तीका सामान लैजान चीनले रोक लगाएको थियो । यद्यपि गत जनवरी २८ मा साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारअनुसार चीनले त्यहाँ तैनाथ फिलिपिनी नौसैनिकलाई बन्दोबस्तीका सामान आपूर्ति गर्न खुला गरेको छ । यस क्षेत्रलाई फिलिपिन्समा दोस्रो थोमस शोल र चीनमा रेनाइ रिफ भनेर चिनिन्छ । फिलिपिनी तटबाट केबल १ सय ९० किलोमिटरको दूरीमा रहेको सो क्षेत्रलाई फिलिपिन्सले सैनिक अखडाका रुपमा स्थापित गरेको छ ।

दक्षिण चीन सागरमा अवस्थित यही क्षेत्रलाई लिएर दुई मुलुकबीच तनाव उत्पन्न हुँदै आएको छ । त्यहाँ तैनाथ फिलिपिनी नौसैनिक मुख्यभूमिबाट आपूर्ति हुने खानेकुरा र अन्य बन्दोबस्तीका सामानमा निर्भर छन् । केही समयअघि चिनियाँ नौसैनिक युद्धपोतले सो क्षेत्रमा आपूर्ति गर्ने फिलिपिनी डुंगालाई पानीको फोहोरा प्रहार गरेको घटना सार्वजनिक भएको थियो ।

दक्षिण चीन सागरको ठूलो हिस्सामा चीनले आफ्नो सार्वभौमिकता दाबी गर्ने गरेको छ । यद्यपि चीनबाहेक भियतनाम, फिलिपिन्स, ताइवान, इण्डोनेशिया, मलेशिया, ब्रुनाइजस्ता मुलुकले पनि दक्षिण चीन सागरका विभिन्न क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्छन् । दक्षिण चीन सागरमा विभिन्न खनिज स्रोतको अथाह भण्डार रहेको विश्वास गरिन्छ । यहाँबाट ठूलो परिमाणमा व्यवसायिक जहाजले पनि ओहोर दोहोर गर्दै आएका छन् । सन् २०१६ मा संयुक्त राष्ट्रसंघीय समुद्री नियमसम्बन्धी अभिसन्धि अन्तर्गतको न्यायालयले फिलिपिन्सको पक्षमा फैसला सुनाएको थियो, जसलाई चीनले खारेज गर्दै आएको छ ।

भू उपग्रहमार्फत प्राप्त तस्बिरमा चीनले दक्षिण चीन सागरको विवादित क्षेत्रमा नयाँ टापुहरु निर्माण गरिरहेको र भएका टापु पनि विस्तार गरिरहेको देखिएको छ । त्यसबाहेक ती टापुहरुमा चीनले सैनिक पूर्वाधार पनि विकास गरिरहेको पाइएको छ । दक्षिण चीन सागरमा रहेको उडी टापुमा चीनले रडार प्रणाली, लडाकु विमानजस्ता सैन्य सामग्री राखेसँगै तनाव थप बढेर गएको छ । त्यसैको जवाफमा फिलिपिन्सले सेकेण्ड थोमस शोललगायत नौ वटा अखडाको स्तरोन्नतीको तयारी गरेको छ । यद्यपि चीनले भने यसलाई यथास्थितीको उल्लङ्घन मान्दै आएको छ ।

फिलिपिनी राष्ट्रपति मार्कोस जुनियर भने रक्षा क्षेत्रको स्तरोन्नतीका लागि दृढ देखिएका छन् । उनले जापान, अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, दक्षिण कोरिया, बेलायत र अमेरिकाजस्ता मुलुकसँगको रक्षा सम्बन्धलाई पनि बलियो बनाउँदै लगेका छन् । लामो समयदेखि चीन र फिलिपिन्सबीच जारी अविश्वास र दुई फरक राजनीतिक प्रणाली (लोकतान्त्रिक फिलिपिन्स र अधिनायकवादी चीन) का कारण दक्षिण चीन सागरमा जारी तनावपूर्ण अवस्था अझ खराब बन्दै जाने यस मामिलाका जानकारहरु बताउँछन् । त्यसबाहेक फिलिपिन्स र अमेरिकाबीच आपसी रक्षा सन्धि पनि कायम छ । सन् १९५१ मा हस्ताक्षर भएको सन्धिअनुसार फिलिपिन्समा कुनै पक्षले आक्रमण गरे अमेरिकाले जवाफ दिनुपर्ने प्रावधान रहेको छ ।

पछिल्लो घटनाक्रम हेर्दा अमेरिकाले तीन विकल्पबारे विचार गरिरहेको जानकारहरु ठान्छन् । पहिलो लाल सागरमा हुथीविरुद्ध अमेरिकी आक्रमण । लाल सागरमा चीन प्रत्यक्ष रुपमा संलग्न नभएपनि अमेरिकाले यमनका हुथी विद्रोहीले अमेरिकी जहाजमा गर्ने आक्रमणको जावाफ कस्तो दिन्छ भनेर चीनले नियालिरहेको धेरै जानकारहरुको विश्वास छ । अमेरिकाले हुथी विद्रोहीविरुद्ध कामजोर प्रतिक्रिया दिए त्यसले अमेरिका कमजोर भएको सन्देश जाने र चीनलाई थप आक्रामक कदम चाल्न उक्साउने धेरैको विश्वास छ ।

अर्को विकल्प भनेको शोलमा फिलिपिन्सको पूर्ण समर्थन गर्दै अमेरिकी नौसैनिक जहाज दक्षिण चीन सागरतर्फ पठाउने । यसले चीनको ‘वैधानिक युद्ध’ को जवाफ दिने जानकारहरुको भनाइ छ ।

तेस्रो विकल्प चाहिँ जापान र चीनबीच जारी सेनकाकु टापु विवादमा जापानलाई दिएजस्तै दक्षिण चीन सागरमा जारी विवादमा फिलिपिन्सलाई साथ दिने रहेको जानकारहरु बताउँछन् । यस्तो अवस्थामा अमेरिकाले आपसी रक्षा सन्धि अनुसार आफू फिलिपिन्सको साथमा रहेको विषयमा स्पष्ट पार्ने र चीनले एकपक्षीय रुपमा दक्षिण चीन सागरमा तनाव नबढाउने जानकारहरुको विश्वास छ ।

केही समयपछि चीनको सिङ्ताओमा हुन लागेको पश्चिम प्रशान्त नौसैनिक सम्मेलनमा अमेरिकाले उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने बताइएको छ । यसबाट अमेरिका र चीनबीच उच्चस्तरीय सैन्य सम्पर्क कायम हुने अपेक्षा गरिएको छ । १० वर्षपछि चीनले आयोजना गर्न लागेको यस सम्मेलनमा अमेरिकाले सर्वोच्च सैन्य प्रतिनिधि नपठाएपनि तुलनात्मक रुपमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने अपेक्षा गरिएको छ । हालै अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिन्पिङबीच भएको वार्तापछि दुबै मुलुकको सैन्य नेतृत्वले सम्पर्क विस्तार गरेको बताइएको छ । यससँगै सन् २०२१ यता अवरुद्ध वार्षिक द्विपक्षीय सैन्य वार्ता पनि सुरु भएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १२ : ४२ बजे

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी