अर्थसंक्षेप : गण्डकीमा श्रमाधान रोजगार मेलादेखि बजेटमाथि छलफलसम्म | Khabarhub Khabarhub

अर्थसंक्षेप : गण्डकीमा श्रमाधान रोजगार मेलादेखि बजेटमाथि छलफलसम्म


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशको राजधानीमा पोखरामा सोमबारदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । संघीय सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा सांसदहरुले आफ्नो टिप्पणी राखेका छन् । दोलखाको बैतेश्वर गाउँपालिकाले गरेको छड्के बजार अनुगमनको क्रममा ४ लाख भन्दा बढीको अखाद्य दैनिक उपभोग्य वस्तु जफत गरी नष्ट गरेको छ । यस्तै, लुम्बिनी प्रदेशको नयाँ आर्थिक वर्ष ०८१–८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । 

हेर्नुहोस् आजका मुख्य आर्थिक समाचारहरू :

गण्डकीमा श्रमाधान रोजगार मेला सुरु 

गण्डकी प्रदेशको राजधानीमा पोखरामा सोमबारदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रोजगार मेलाको संयुक्त उद्घाटन गरेका छन् ।

पोखराको पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलामा ३९ वटा स्टल राखिएको छ । मंगलबारदेखि चल्ने रोजगार मेलामा श्रमाधानको बहुआयामिक पक्षका बारेमा छलफल तथा संवाद हुनेछ ।  मेलाको पहिलो दिन श्रम आप्रवासन कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसरहरूका विषयमा संवाद गरिएको आयोजकले जनाएको छ ।

अन्तिम दिन मंगलबार शिक्षा र रोजगारी बीचको सेतुः कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाँठा विषयमा संवाद हुने जनाइएको छ । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरू रहेका छन् ।

बजेटमाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छलफल

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छलफल भएको छ । आइतबारबाट शुरु भएको छलफलमा सांसदहरुले बजेटमाथि आ–आफ्नो टिप्पणी तथा भनाइ राखेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा बोल्ने अधिकांश सांसदहरुले बजेटमा धेरै क्षेत्र समेट्न खोजिएको भएपनि धेरै कार्यक्रम छुटेको साथै बजेटमा तय गरिएको राजस्वको लक्ष्य प्राप्त गर्न कठिन रहेको बताएका छन् ।

लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

लुम्बिनी प्रदेशको नयाँ आर्थिक वर्ष ०८१–८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

लुम्बिनीले अधिकांश पुरानै कार्यक्रमलाई दोहोर्याएको छ । नीति तथा कार्यक्रम कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन विकास, पूर्वाधार विकासलगायतलाई प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रममा किसानको हात, प्रदेशको साथ, व्यावसायिक कृषि लुम्बिनी प्रदेशको समृद्धि, स्वस्थ जीवनको आधार माटोमा सुधार, कृषिको आधार, सिँचाईमा सुधार, प्रदेश प्रमुख शिक्षा सुधार कार्यक्रम, लुम्बिनीका महिला, आत्मनिर्भरतामा पहिला, मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम जस्ता कार्यक्रम समावेश गरिएको छ ।

लुम्बिनीका १२ जिल्लामा सञ्चालित पुराना योजनालाई पूरा गर्ने लक्ष्य, पर्यटक भित्र्याउने, प्रदेशभित्र पर्यटन प्रवर्द्धन गर्दै वन, कृषि, पर्यटन, उद्योग, जडिबुटीलगायत क्षेत्रबाट उद्यमशीलताको विकाससहित आर्थिक समृद्धिमा सम्पन्न प्रदेश बनाउने लक्ष्य सरकारले राखेको छ ।

वैतेश्वरमा ४ लाख बराबरको म्याद नाघेको अखाद्य सामान नष्ट

दोलखाको बैतेश्वर गाउँपालिकाले गरेको छड्के बजार अनुगमनको क्रममा ४ लाख भन्दा बढीको अखाद्य दैनिक उपभोग्य वस्तु जफत गरी नष्ट गरेको छ । गाउँपालिकाको बजार अनुगमन टोलीले  स्थानीय  बजार अनुगमन गर्दा जफत गरेको उक्त दैनिक उपभोग्य म्याद गुज्रिएका अखाद्यवस्तु नष्ट गरेको हो ।

पालिकाले स्थानीय उद्योग वाणिज्य संघ, इलाका प्रहरी चौकी, स्थानीय सञ्चार माध्यमसँग समन्वय गरेर गाउँपालिकाको स्थानीय बजार अनुगमन टोलीले बजार अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब चार लाख मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडे गलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको अध्यक्ष लामाले बताए ।

गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको उनले बताए । बजारका धेरैजसो ठूला खाद्यान्न पसल र गाउँका पसलमा म्याद गुज्रिएको सामान फेला परेको गाउँपालिका प्रशासन प्रमुख रवीन्द्र चौलागाईंले बताए ।

गोदावरीका मेयरसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

लेले र नल्लुखका ढुंगाखानीमा रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको भन्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर गजेन्द्र महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध १ अर्ब ४ करोड विगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ढुंगाखानीमा अनियमितता गरेको भन्दै अख्तियारले उनीहरुविरुद्ध छुट्टाछुट्टै ५ वटा मुद्दा पेस गरेको छ ।

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ ।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रूपमा बोलपत्र आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । कम्पनीले आइतबार (जेठ २० गते) विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो । सूचनाअनुसार, निर्माण व्यवसायीले १ अगस्ट, २०२४ सम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले वित्तीय व्यवस्थापन गरेको केही दिनभित्रै विश्वव्यापी बोलपत्र आह्वान गरेर कामको गतिलाई तीव्र पारेको हो । कम्पनीले यही जेठ २ गते मात्रै आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापनको काम गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

आयोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । नबिल बैंकले चार अर्ब ४० करोड लगानी गर्नेछ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सन्राइज र एभरेष्ट बैंकले लगानी गर्नेछन् ।

नेप्से परिसूचक ३ अंकले बढ्यो, ४ अर्बमाथि कारोबार 

आज नेप्से परिसूचकमा ३.९७ अंकले गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब ४० लाख बराबरको कारोबार भएर नेप्से परिसूचक शून्य दशमलव १९ प्रतिशतले घटेर २ हजार ७९ दशमलब ०७ को बिन्दुमा पुगेको हो ।

नेप्सेमा सोमबार ८८ लाख २० हजार १२५ वटा शेयर कारोबार हुँदा ११० कम्पनीको मूल्य वृद्धि भएको छ भने १२९ कम्पनीको मूल्यमा गिरावट आयो । त्यस्तै ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

सोमबार नेप्सेमा भएको शेयर कारोबारमा बुद्धभूमि हाइड्रोपावर नेपाल कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने एनआइबिएल स्टेबल फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । 

हिजो आइतबार भने नेप्से परिसूचक १३ दशमलव ५१ अंकले वृद्धि भएको थियो ।

विकासका परियोजनामा थप मेहनत गर्न रक्षामन्त्रीको निर्देशन

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले रक्षामन्त्रालयअन्तर्गतका निकायले सञ्चालन गरेका विकास–निर्माणका परियोजनामा लक्ष्यअनुसारको प्रगति प्राप्तिका लागि थप मेहनत गर्न निर्देशन दिएका छन् । 

रक्षा मन्त्रालयमा आज आयोजित चालु आवको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री उप्रतीले काठमाडौँ–तराईरमधेस  द्रुत मार्ग (फास्ट ट्र्याक) को निर्माण निर्धारित समयमा सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिए । 

राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको  द्रुत मार्गको निर्माणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासोका साथ हेरिएको उल्लेख गर्दै मन्त्री उप्रेतीले जनतालाई आशावादी बनाउन यस्ता परियोजना समयमा नै सम्पन्न गर्नुपर्ने बताए । 

केही अव्यावहारिक कानूनका कारण गौरवका आयोजना निर्माणमा विलम्ब भएको महसुस गरिएको जनाउँदै मन्त्री उप्रेतीले कानुनी तथा नीतिगत सुधार गरेर अघि बढ्न सरकारले प्रयास गरिरहेको बताए । खरिद प्रक्रियालाई पारदर्शी र कानुनसम्मत बनाउन निर्देशन दिँदै उनले दू्रतमार्गको गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ६ : ३८ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने