एकीकृत समाजवादीले एमाले र माओवादीलाई सधैं काँध हालिरहन सक्दैन : गंगालाल तुलाधर (अन्तर्वार्ता) | Khabarhub Khabarhub

एकीकृत समाजवादीले एमाले र माओवादीलाई सधैं काँध हालिरहन सक्दैन : गंगालाल तुलाधर (अन्तर्वार्ता)



नेकपा एकीकृत समाजवादीको वर्तमान सत्ता गठबन्धनसँग पनि सहकार्य अनि विपक्षीसँग पनि सत्ता गठबन्धनको विषयमा छलफल के हाे ? नेकपा एकीकृत समाजवादीको भर्खरै सम्पन्न विभिन्न तहको बैठक र बैठक पछि भएको निर्णयसँगै नेकपा एसको अबको राजनीतिक रणनीतिका सन्दर्भमा जोडिएर नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : 

अब केन्द्र र प्रदेशको राजनीतिमा नेकपा एकीकृत समाजवादीले के गर्छ ?

सामान्यतया संघमा एउटा रणनीति र प्रदेशमा अर्को रणनीति गर्न नपरोस् भन्ने कुरा हो तर सत्तामा सामेल भएका ठूला भनिने नेकपा एमाले र माओवादी केन्द्रको अध्यक्षहरूको रवैया हेर्दा त्यो भन्दा फरक ढंगले पनि जान पर्ने हो कि भन्ने परिस्थिति सिर्जना भएको छ । तर पनि यसमा तत्काल केही निर्णय गर्ने भन्दा पनि हामीले सदाझैँ पर्ख र हेरको बाटो नै अवलम्बन गरेका छौँ । जुन-जुन दलसँग सहकार्य गरेर नयाँ समीकरण बनाएका छौँ । त्यो एउटा विशिष्ट परिस्थितिमा बनेको समीकरण हो । र, त्यो कुनै पनि हिसाबले हाम्रो कारणले भताभुङ्ग हुनु हुँदैन । तर हामी निर्णायक छौँ भने हाम्रो सम्मान त्यही निर्णायकको हैसियतबाट हुनु पर्‍यो ।

अहिले जुन ढंगकाे जनमत आयो, त्यो जनमतको गठबन्धन भित्रका दलले सम्मान गर्न सकेनन् नेपाली कांग्रेसलाई धोका दिन नहुने  थियो, धोका दियो त्यो नै ठूलाे दुर्भाग्य हो भन्ने परिस्थितिबाट तपाईँहरू दुवै तिरको संवादमा गएको हो, कांग्रेसलाई माया गरेको देखियो ?

धोका कसैलाई कसैले दिनु हुँदैन र आवश्यकताभन्दा बढी माया प्रेम पनि देखाउने खालको कलाविहीन नाटक पनि कसैले गर्नु हुँदैन । चुनावअघि बनेको लाेक-वाम गणतान्त्रिक गठबन्धन ५ वर्षका निम्ति रहिराखोस् भन्ने हिसाबले चुनावमा गएको हो । चुनावमा जाँदा पनि हैसियत अनुसार कुनै पनि पार्टी सन्तुष्ट भएन । त्यस्तो हुँदा हुँदै पनि जे परिणाम आयो त्यसैको आधारमा अगाडि बढ्नु पर्ने आधार थियो । त्यो गठबन्धनले निरन्तरता पाउनुपर्ने थियो तर नेपाली कांग्रेसका नेताहरू स्वयम् प्रधानमन्त्रीकाे रवैया पनि ठिक हुन सकेन भन्ने कुरा नै प्रधानमन्त्रीकाे पछिल्लो कदमबाट देखा पर्‍यो । त्यसपछि हामीले त्यसलाई फड्के किनाराको साक्षीभन्दा पनि सुपरिवेक्षक हिसाबले हेरिरहेका थियौँ ।

किनकि त्यो दोस्रो गठबन्धन जसरी बनेको छ यसका निम्ति कुनै पनि प्रकारको  होमवर्क वा गृहकार्यमा हामी सामेल थिएनौँ । हामीलाई सोधिएको पनि होइन ।

यसकारणले हाम्रो भनाइ भनेको त्यही गठबन्धन नै कायम गर्न उपयुक्त हुन्थ्यो र त्यो गठबन्धनमा नै जहाँ कुरा मिलेको थिएन । त्यहाँ कुरा मिलाएर जानको निम्ति हटाहट त्यस्तो निर्णय नगरेको भए हुन्थ्यो भन्ने हाम्रो धारणा हो ।

तर पछि हाम्रो पार्टी अध्यक्ष माधव नेपाललाई घरैमा आएर प्रचण्डले केपी ओलीले भेट्ने, एक प्रकारले हिउँको ढिक्का फुटेको जस्तो हाम्रो पीडा थियो । हामी दुखित थियौँ धेरै कुराले । हाम्रो पार्टीको सम्मानमा आँच पुग्ने खालको उहाँहरूले गरेको व्यवहारलाई कमसेकम पनि नेपालको काेटेश्वरमा घरैमा आएर बाटो सुल्झाउने जुन चेष्टा गर्नु भयो त्यसलाई हामीले स्वागत गरेको हो र त्यसै आधारमा हामी वर्तमान सत्ता साझेदारीमा सामेल भएका पनि हौँ । तर काम चल्दाको भाँडाे,  नचल्दाको के भने जस्तो चरितार्थ गर्ने गरी उहाँहरूले जे खालको व्यवहार राख्नु भएको छ, त्यसले हामीलाई पीडा दिएको छ । अपमान महसुस गराएको छ ।

पहिला बागमतीको सरकार पाउनु हुन्छ मुख्यमन्त्री पाउनु हुन्छ भनेर भन्नुभयो । त्यो कुरामा हामी तयारी गर्न थाल्यौँ । होइन, सुदूरपश्चिममा दिन्छौँ भन्नुभयो, हामीले मुन्यमन्त्रीकाे लागि मान्छे ल्यायौँ, उहाँलाई त्यो हुँदैन हामी सक्दैनौँ अर्को मान्छे ल्याउनुस् भन्नुभयो । कुनै सरकारले पूर्णता पाउन सकेको छैन ? काेशी प्रदेशमा विश्वासको मत दियौँ न स्याबासी दिएको छ न त धन्यवाद दिएको छ। यस्तो गरेर हामी उहाँहरूको सत्ता समीकरण बनाउन विश्वासको मत दिनुपर्ने । सरकार ढल्न लाग्यो भने काँध हालिदिनु पर्ने । उहाँहरूको सबै कुराहरू चुप लागेर सुनिदिनु पर्ने परिस्थिति सधैँ रहनु हुँदैन र त्यो हाम्रो पार्टी पत्तीले पनि सहँदैन । त्यसकारण हामीले अहिले एमाले र माओवादी दुवैसँग भेट गरिरहेको छ ।

सरकारमा बस्ने कि नबस्ने भन्ने दुबिधा कै बीचमा सरकारमा हुनु हुन्छ ?

व्यवहारले दुबिधा जस्तो देखिए पनि निर्णय गर्न कुनै आइतबार कुर्नु पर्दैन । सरकार छोडिदिए पछि भइहाल्यो । हाम्रा संघमा दुईजना मन्त्री हुनु हुन्छ। उहाँहरूमा कुनै पनि बेला पार्टीले फिर्ता बोलायो भने आउनु पर्छ है भनेर भनेका पनि छौँ ।

उहाँहरूको काममा कुनै पनि असर नपुगोस् भन्ने हाम्रो चाहना हो तर यहाँ त समाजवादी हट्दै छ भन्ने कुराले गर्दा उहाँहरूको काममा पनि ठूलाे असर परेको छ । कर्मचारीले नटेर्ने कुरा आइरहेका छन् । हामी सरकारबाट तत्काल हटे पनि उहाँहरूको सरकार ढल्दैन । त्यसकारण उहाँहरूमा एक प्रकारको आत्मविश्वास छ । भर्खरै मात्र पनि प्रधानमन्त्रीले विश्वासको मत लिइसक्नु भएको छ । त्यस कारण हामीले यस्तो अवस्थामा के गर्दा उपयुक्त हुन्छ भनेर कुरा गरिरहेको छ र यस्तै अवस्था रहे प्रतिपक्षमा नै बस्नु पर्छ भन्ने हाम्रो सोचाइ बन्दै छ ।

राजनीतिमा माेलमाेई चाउरे पिरतीले तपाईँहरूलाई कहाँ सम्म पुर्‍याउला ?

पिरती दुवैतिरबाट हुन्छ । उत्ताउलो अभिव्यक्ति दिने स्वभाव नेपाली कांग्रेसकाे नभएको भए दुई पटक नजिक आइपुगेको सरकार छोडेर बिरक्तकाे गीत गाएर बस्नु पर्ने स्थिति हुँदैनथ्यो ।

तर सभापति शेरबहादुर देउवा त इमानदार पूर्वक नै लागि राख्नु भएको छ । सुरुमा पनि प्रधानमन्त्री हुन चाहनु भएको होइन । जति बेला प्रतिगमनविरुद्ध सडकमा ओर्लिएर उहाँसँग कुरा गर्दा सद्भावपूर्ण पाएका थियौँ ।

तर हामीले उत्साहपूर्वक तपाईं आउनु पर्छ भनेका हौँ । उहाँले माधव नेपाललाई पनि पटक पटक तपाई प्रधानमन्त्री बन्नु पर्छ भन्नु भएको हो । तर अहिले बहुमत पुर्‍याउने कुरामा कुनै हालतमा देउवाले चाहेर पनि माधव नेपाललाई प्रधानमन्त्री बनाउने परिस्थिति छैन र यता पनि नयाँ सत्ता समीकरणमा दुई दुई पटक काेटेश्वरमा आएर प्रधानमन्त्री बन्ने कुरामा अहिले त्यो समय हैन अहिले भन्नु भएको थियो नेपालले ।

त्यसैले हाम्रो शक्ति १० सिट नै हो । त्यसैले हामीले १० सिट भएर ठूलाे मागका होइनौँ । प्रधानमन्त्रीकाे प्रस्ताव हामीलाई राखिएको हो । हामी त्यसमा र्‍याल चुहाएको छैनौँ ।

यदि वाम लोकतान्त्रिक गठबन्धन बन्ने कुरा अथवा नेपाली कांग्रेस/ एमाले हाबी भएको वर्चस्वपूर्ण गठबन्धन बन्ने कुराको निम्ति  हाम्रो १० सिट निर्णायक हो भने हामीलाई कसैले  १० सिटे भनेर धारे हात लगाउन पाइन्छ । मुख छाड्न पाइन्छ ? त्यो गर्ने राजनीतिक कुरा हैन । र हामीले पनि १० सिट जितेर आएर प्रधानमन्त्रीकाे सपना देख्ने कुरा बिरबलको खिचडी पकाउने शैली हुन सक्छ । त्यसैले यस्ता कुरामा देवासपना देख्नु हुँदैन । जे हौँ त्यसैमा जानु पर्छ भन्नेमा निर्धक्क छौँ ।

जसपा नेपाल सरकारमा हुँदा राजनीतिक चलखेल सुरु गरेर प्रधानमन्त्री बन्न कांग्रेससँग हिमचिम बढाए भन्ने चर्चा चल्दै गर्दा पार्टी विभाजनमा गयो । पछिल्लो समयमा एकीकृत समाजवादीका केही मान्छेलाई फुटाउन यही शक्तिले चलखेल सुरु गर्‍यो  भन्ने  तपाईँहरूको नेतृत्वले यही अभिव्यक्ति दियो । अहिले कांग्रेससँग हिमचिम बढाउँदा पार्टी अर्को दुर्घटनामा पर्दैछ भन्ने पनि मूल्यांकन होला नि ? 

छ, एउटा पार्टी फुटाउन सक्ने बहादुरहरूले अर्को पार्टी पनि फुटाउन सक्छन् नि । त्यस कारण उहाँहरूले अर्काको पार्टी फुटाउन बहादुरीपूर्ण अभिव्यक्ति दिँदै हिँड्नु भएको छ । ती बिचरा पार्टीहरूले अर्को समीकरण बनाउन रातारात कोसिस गरेकै थिएन । स्वयम् उपेन्द्र यादव फर्केर आएपछि वा त्यैबाट नै त्यस्तो खालको कहिल्यै पनि भएकै थिएन र नेपाली कांग्रेसमा  कुनै कुरा भएकै हैन त्यसै हामीमाथि आरोप लगाइयो भनेर भन्नु भयो । त्यस्तै हामीलाई पनि नेपाली कांग्रेस लाेसपा जसपासहितकाे बैठक बसेर समीकरण बनाउन प्रयत्न गरियो भन्ने खालको कुराहरू भएको हामीले पनि सुन्यौँ । तर भएको भनेको  एक त दलहरूका बीचमा सवार्दपूर्ण ढंगकाे उहाँहरूसँग पो पानी बाराबार होला हामीसँग एमालेसँग पानी बाराबारकाे स्थिति थियो । त्यो पनि ओली काेटेश्वरमा आएर पुरानो कुरा बिर्सियौँ भनेपछि हामी मानेको हौँ । नत्र हाम्रो अरु दलसँग कोहीसँग परको सम्बन्ध छैन । हामी स्वतन्त्र छौँ । तर समूह गन्ती गरेर यो सरकार ढालेर अर्को सरकार बनाउने प्रकारले हामीले केही काम गरेको छैनौँ । तर यो सरकार बनिसकेपछि जुन आधारबाट समीकरणको सुरुवात भएको भएको थियो त्यो आधारमा सामेल हुनेले इमानदारीता देखाएनन् । त्यसकारण हामीले हाम्रो अभिव्यक्तिमा केही उतारचढाव आए ।

एकीकृत समाजवादी यस्तै हो भने सरकारबाट प्रतिपक्षमा जान्छ ? 
हो, केही दिनअघि प्रधानमन्त्रीले हाम्रो अध्यक्षलाई बालुवाटारमा बाेलाएर केपी ओलीसहीत तीन जनाबीच कुराकानी भएको आएको छ । त्यसको ब्रिफिङ हाम्रो पार्टीमा भएको छैन । अब  कुनै बैठकमा गर्नु हुन्छ हाेला ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १० : २८ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार