टेम्पोसँगै आत्मसम्मान हाँक्दै गरेकी रञ्जिता | Khabarhub Khabarhub

गरिखानेका कुरा

टेम्पोसँगै आत्मसम्मान हाँक्दै गरेकी रञ्जिता

‘यही कामबाट सन्तुष्टि मिल्यो’


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


15.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काम गर्न मानिसमा आँट र हिम्मत भए पुग्छ । यस्तै आँट र हिम्मत भएकी रञ्जिता तामाङ टेम्पो चालक बनेर रमाइरहेकी छिन् ।

रञ्जिताले यो पेशा सम्हालेको धेरै समय भएको छैन । तर, उनी यो क्षेत्रमै रमाउन थालिसकेकी छिन्‌ । बिहान ४ बजेदेखि बेलुकी ९ बजेसम्म टेम्पोमै रहन्छिन् । यति धेरै समय खर्चिने काम भए पनि आफूलाई यो पेशा रमाइलो लागेको उनी बताउँछिन् ।

काभ्रेको तिमाल घर भएकी रञ्जिता हाल बौद्धमा बस्छिन् । रञ्जिताले यसअघि ७ वर्षसम्म थान्का चित्र बनाउने काम गरिन् । थान्का बनाउँदा सोचेजस्तो भएन । समयमा तलब नआउने र महिनौं कुर्नुपर्दा उनलाई अल्छि लाग्न थालेको थियो ।

‘थान्कामा काम गरेको पारिश्रमिक मैले अहिलेसम्म पनि पाएको छैन । एउटाले पैसा दिएन भनेर अर्कोमा गरेँ, त्यसले पनि दिएन । अहिले पनि मैले ३ वटासँग पैसा लिन बाँकी छ,’ उनी सुनाउँछिन् ।

कोभिडको समयमा पनि आफूले काम गरेको, पैसा भने नपाएको उनको गुनासो छ । थान्का व्यवसायीहरूले थान्का नबिकेर पैसा दिन नसकेको जवाफ दिएपछि आफूले पनि केही भन्न नसकेको उनी बताउँछिन् । थान्का चित्र बनाउन धेरै मेहनत लाग्ने भए पनि सो अनुसार पारिश्रमिक नपाइने उनको भनाइ छ ।

कमाएको पैसाले खान पनि नपुग्ने, आफूले काम गरेर पनि केही पैसा श्रीमानसँगै माग्नुपर्दा उनलाई ननिको लाग्थ्यो । त्यसपछि उनले थान्का बनाउन छोडिन् ।

उप्रान्त के काम गर्ने होला भन्ने सोचमा थिइन् । यसै क्रममा उनको अर्की एक जना टेम्पो चालक महिलासँग चिनजान भयो । साथीले टेम्पो चलाउँदा धेरै फाइदा छ, पैसा पनि दिनहुँ आफूसँग हुन्छ भनी बताएपछि रञ्जिता टेम्पो चलाउन आकर्षित भइन् ।


अब जीवन निर्वाहको माध्यम बनाउने सोचेर उनले टेम्पो सिक्न थालिन्‌ । साथीले टेम्पोधनीको टेम्पो चलाउन पाइने सुविधा बताइन् । उनले टेम्पोधनीको टेम्पो भए पनि केही समय चलाएर हेर्नुपर्‍यो भन्ने सोचेर जिम्मा लिइन् । अन्ततः उनी टेम्पो चालक बनिन्‌ ।

सुरुमा त उनी कसरी चलाउने ? के भन्ने ? कसरी यात्रुलाई बोलाउने ? सोचेर डराएकी थिइन्‌। तर, क्रमशः सिक्दै गइन् । दैनिक पैसा बुझाउने सर्तमा उनले टेम्पो भाडामा लिएर चलाउन थालिन् । टेम्पोधनीको पैसा कसरी पुर्‍याउने भन्ने कुराले उनलाई पिरोलिरहन्थ्यो ।

‘सुरुमा काम थाल्दा त कसरी टेम्पोधनीलाई बुझाउने रकम पुर्‍याउने, आफूलाई के राख्ने ? भनेर साह्रै डर लागेको थियो,’ उनी भन्छिन्, ‘बेलुकाको समयमा टेम्पोमा सबै छोरा मान्छेहरू मात्रै चढ्दा मनमा कस्तो चिसो पस्थ्यो, तर पछि बानी पर्‍यो ।’

रञ्जिता अहिले आरुबारी-रत्नपार्क रुटमा टेम्पो चलाउँछिन् । उनी यही रुटमा दिनमा १० पटकसम्म ओहरदोहर गर्छिन् । बिहान ५ बजेबाट सुरु हुने उनको दैनिकी बेलुकी ९ बजेपछि समाप्त हुन्छ ।

दैनिक कमाई हुने यस पेशाबाट ठूलो राहत मिलेको उनी बताउँछिन् । कहिलेकाँही कम कमाइ भएपनि अरू दिन हुने कमाइले परिपूर्ति गर्ने भएका कारण यसमा आफूलाई पुग्ने कमाइ हुने रञ्जिताको भनाइ छ ।

अधिकांश टेम्पो चालक रत्नपार्कमा लाइन बसेर मान्छे भरेर मात्रै जान्छन् । तर उनी भने लाइनमा पनि नबसी टेम्पो गुडाइरहन्छिन्‌ । लाइनमा बस्ने टेम्पोले धेरैमा ६ पटकमात्रै ओहोर दोहोर गर्न सक्छन् ।

दैनिक कमाइ तीन हजारसम्म
बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मको निरन्तर खटाइले मानिसहरूको ज्यान सबै दुखेको हुन्छ । तर, बेलुका काम सकेर घर जाने बेलामा हातमा पैसा पर्ने भएपछि ज्यानको पीडा क्षणभरमै बिर्सिने रञ्जिता बताउँछिन् ।

उनका अनुसार गाडीधनीलाई दैनिक ४ हजार बुझाएर पनि आफूलाई ३ हजार रुपैयाँसम्म बचत हुन्छ । विभिन्न चाडपर्व र मेला महोत्सवमा अझै धेरै कमाइ हुने उनको भनाइ छ । रञ्‍जिताले नयाँ वर्षका दिन (बैशाख १ गते) मात्रै टेम्पोधनीलाई बुझाएर पनि आफूले ६ हजार कमाएको सुनाइन्‌ ।

‘पशुपतिमा विशेष चाडमा मानिसहरू धेरै जान्छन्, त्यो बेला पनि कमाइ राम्रै हुन्छ । अनि टुँडिखेलमा लाग्ने विभिन्न मेलाहरूमा पनि धेरै राम्रो कमाइ हुन्छ,’ उनी भन्छिन् ।

चालकहरूले दिनभरि टेम्पो चलाएर बेलुका चार्जिङ स्टेशन नै पुर्‍याउँछन्‌ । टेम्पो एकपटक चार्ज गर्दा दिनभरलाई ढुक्क हुन्छ । बेलुकी चार्जमा जोडेर छोडेपछि बिहान फुल चार्ज हुन्छ । त्यति भएपछि कतै पेट्रोलको लाइनमा पनि बस्न नपर्ने र आफ्नो हिसाबले चलाउन पाइने भएकाले चार्जिङ गर्न मिल्ने सवारीसाधन सहज हुने उनी बताउँछिन् ।

सिजनमा धेरै कमाइ हुन्छ भने अफ सिजनमा अलि कम कमाइ हुन्छ । अहिले गाडीहरूका लागि अफ सिजन हो । अहिले प्रायः कलेजहरूले विद्यार्थीलाई छुट्टी दिएका छन् । अहिले चाडपर्वको समय पनि होइन । यात्रुले टेम्पो भरिन पनि हम्मे पर्छ ।

अफ सिजनमा टेम्पोधनीलाई ४ हजार रुपैयाँ नै दिनुपर्दैन । किनभने यो समयमा कमाइ कम हुन्छ । त्यसकारण आफनो पारिश्रमिक राखेर टेम्पोधनीलाई ३५ सय रुपैयाँसम्म दिँदा पनि समस्या नहुने उनी बताउँछिन् । यो पेशामा आवद्ध भएको धेरै समय नभएपनि यसमा आफू मोहित भएको उनी बताउँछिन् ।

सबै अभिभारा आफ्नै काँधमा
काठमाडौंमा कोठा लिएर परिवार पाल्न सक्नु सामान्य आर्थिक भएका व्यक्तिहरूका लागि निकै कठिन छ । हरेक कुरा किन्नुपर्नेदेखि घरभाडा, बालबच्चालाई राम्रो शिक्षा र उचित संस्कार दिनसक्नु शहरमा चुनौतीपूर्ण छ ।

टेम्पो चलाएर एउटा परिवारलाई चाहेजस्तो बनाउन सक्नु रञ्जिताको ठूलो उपलब्धि हो । आफूलाई चाहिने सबै आवश्यकता पूरा गर्न सकेको उनी बताउँछिन् । आफूले पारिवारिक खर्च धान्दा श्रीमानले कमाएको बचत हुने र भविष्यमा सहज हुने उनी बताउँछिन् ।

उनका श्रीमान सङ्गम लामा गाउँबाट तरकारी तथा फलफूल ल्याउन गाडी नै चलाउँछन् । उनलाई सिजनमा त दिनरातै खट्नुपर्ने हुन्छ । त्यो देखेर पनि रञ्जिता श्रीमानले कमाएको पैसा गर्न मन नलाग्ने बताउँछिन् ।

थरिथरिका यात्रु
हरेक पाटोमा सजिलोसँगै अप्ठ्याराहरू पनि हुन्छन् । टेम्पोमा चढ्ने सबै जना एउटै मानसिकताका हुँदैनन् । कतिले त गाडीभाडा नै नतिरी जान्छन् ।

तर पनि कसैलाइ पैसा दिनुभएन भनेर आफूले झगडा नगर्ने उनी बताउँछिन् । ‘कतिपयले त पैसा नदिई जान्छन्, माग्दा पनि अघि दिएको भन्छन् । सानो रकममा झगडा गर्न पनि मन लाग्दैन, अनि केही भन्दिनँ,’ उनी सुनाउँछिन् ।

ट्राफिक व्यवस्थापनप्रति गुनासो
सवारी चालकहरूले ट्राफिकले दुःख दिन्छ भन्ने गुनासो गर्नु त स्वभाविक नै हो । तर निश्चित नियम र एरिया नछुट्याउँदा समस्या भएको रञ्जिता बताउँछिन् ।

एक निश्चित ठाउँ नतोक्ने र तोकिएको ठाउँमा रोक्दा पनि कहिलेकाँही चिट काटिदिने गर्दा गाडी चालकहरूले सास्ती भोग्नुपर्ने उनको भनाइ छ ।

‘यहाँ मात्र रोक्न मिल्छ भन्ने भए पो यात्रुहरू त्यही ठाउँमा बस्छन् । तर यहाँ मनपरी हुन्छ, जहाँ रोके पनि केही ट्राफिकले देखे/नदेखे झैं गर्छन्‌ । कहिलेकाहीँ चाहिँ तोकिएकै ठाउँमा रोक्दा पनि चिट काट्ने गर्छन्‌ । यस्तो ट्राफिक अव्यवस्थापनले हैरान पारेको छ,’ उनी भन्छिन् ।

गल्ती नै नगर्दा पनि ट्राफिकले चीट काटिदिने डरले कहिलेकाही आफूले एकजना पनि मान्छे नहाली टेम्पो कुदाउने गरेको उनी बताउँछिन् ।

अप्ठेरो पर्दा टेम्पोधनीकै भर
रञ्जितालाई आफैँ गाडी किनेर चलाउने सोच नआएको होइन । धेरै पटक आफूले नै किन्ने कि भन्ने पनि उनलाई लागेको थियो । तर गाडी किन्दा सबै झन्झटहरू पनि आफैँले झेल्नुपर्ने, त्यसैले टेम्पोधनीकै टेम्पो चलाउनुमा फाइदा भएको उनी बताउँछिन्‌ ।

‘टेम्पोधनीको गाडी चलाउँदा हामीले केही चिन्ता लिनुपर्दैन । सबै कुरा टेम्पोधनीले नै ब्यहोर्छन् । हामी त दिनभर मेहनत गर्ने हो, अनि बेलुकी आफ्नो कमाइ लिएर घर फर्किने हो । गाडीको केही बिग्रियो पनि भन्नुपर्दैन । दुर्घटना नै भयो भने पनि सम्पूर्ण जिम्मेवारी टेम्पो धनीले नै लिन्छन् । चार्जिङको सबै जिम्मेवारी पनि उनीहरूले नै लिएका कारण मलाई त यही गाडी चलाउँदा फाइदा हुन्छ,’ उनी भन्छिन् ।

आत्मनिर्भर हुँदाको खुसी
उमेरले भर्खरै २४ लागेकी रञ्जिता २ वर्षकी छोरीलाई एकाबिहानै कोठामा छोडेर हिँड्न मन नमान्ने बताउँछिन् । फेरि उनी सम्झिन्छिन्- जति धेरै काम गर्न सक्यो, त्यति नै पैसा कमाउन सकिन्छ ।

‘अल्छी नगरी ४ बजे उठेर तयार भई गाडी चलाउन जान्छु । जाडो समयमा त सुरुमा त धेरै गाह्रो भएको थियो, विस्तारै बानी हुँदै गयो,’ उनी भन्छिन् ।

टेम्पो चलाउन थालेपछि कसैसँग एक रुपैयाँ पनि माग्न नपरेको उनी बताउँछिन् । दिनहुँ आफूसँगै पैसा आउने भएका कारण धेरै चाहिए पनि जम्मा गर्न सकिने र थोरै चाहिएको समयमा एक दिनको पैसाले नै पुग्ने हुँदा अहिले उनलाई आत्मसन्तुष्टि मिलेको छ ।

‘पहिले-पहिले त हामी काठमाडौं बस्थ्यौँ, घरबाट सासुससुराले खर्च पठाइदिनु हुन्थ्यो । उहाँहरूलाई दुःख दिनुपर्दा त्यो बेला साह्रै नरमाइलो लाग्थ्यो । अहिले त जे परे पनि आफैँले व्यवस्थापन गर्न सक्छु । त्यही भएर मलाई यसैमा खुसी मिलेको छ,’ उनी सुनाउँछिन् ।

सकुञ्जेल टेम्पो नै चलाउने योजना
विद्युतीय चार्जबाट चल्ने टेम्पो चलाउन सजिलो हुने रञ्जिता बताउँछिन् । उनले अहिले बजारमा आएको इलेक्ट्रिक माइक्रो किन्ने सोच पनि बनाएकी थिइन् । तर त्यसका लागि पैसा पनि धेरै पर्ने, अनि अर्को पनि साथी राख्नुपर्ने भएकाले यसबाट खासै फाइदा नहुने महशुस गरिन् ।

एकजनाले मात्रै चलाउन सकिने र आफैँले पैसा लिने भएका कारण टेम्पो नै चलाउने निर्णयमा उनी लागिन् । अब सकुन्जेल यही पेशामा रमाउने उनी बताउँछिन् ।

‘चलाएको २ वर्ष हुन लाग्यो, यसैमा राम्रो भइराखेको छ । अब मैले सकुन्जेल यही टेम्पो चलाउँछु भन्ने छ,’ उनी भन्छिन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : ४५ बजे

बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत – लेबनानको राजधानीमा भएको इजरायली हवाई आक्रमणमा शनिबार कम्तिमा

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

नुवाकोट – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न

भारतीय सेना प्रमुख पोखरामा, वीरता पुरस्कार विजेताहरुलाई सम्मान

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

काठमाडौं – गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो

स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर – चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस