आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै « Khabarhub

आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल आयल निगमले रूपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ ।

ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको निर्माणमा संलग्न इन्जिनियर हीरामणि खनालले जानकारी दिए ।

पछिल्लो ५० वर्षको बाढीको अवस्थालाई आकलन गरेर रोहिणी खोलामा तटबन्धको काम अघि बढाइएको उनले बताए। निगमले भण्डारण निर्माण गर्न लागेको जग्गाको उत्तर र पश्चिममा रोहिणी खोला बगेको छ । उत्तरतर्फ ‘रिटेनिङ वाल’ लगाइएको छ भने पश्चिमतर्फ ग्याबिन पर्खाल लगाइएको छ ।

प्रारम्भिक चरणमा सातवटा ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको छ । काठमाडौँस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगञ्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चारवटा प्याकेजको ठेक्का पाएको छ । करिब आठ करोडमा ती ठेक्का लगाइएको हो ।

भण्डारणगृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन पुर्ने कार्य यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । खोला किनारमा ग्याबिन लगाउँदा वर्षात्को पानीले अप्ठयारो पारेको इन्जिनियर खनालले बताए । रोहिणी खोलाको समानान्तर सात मिटर उचाइको ग्याबिन पर्खाल र उत्तरतर्फ चार दशमलव पाँच मिटरको रिटेनिङ वाल लगाइनेछ ।

तटबन्ध निर्माण तथा जग्गा पुर्ने कामलाई निर्धारित समयभित्रै सम्पन्न गर्न दैनिक दुई सिफ्टमा काम भइरहेको छ । पहिलो सिफ्टमा बिहान ६ देखि ११ र दोस्रो सिफ्टमा साँझ ५ देखि ११ बजेसम्म निर्माणका काम चलिरहेको छ । ग्याबिन लगाउने तथा जग्गा पुर्ने काममा दैनिक दुई सय कामदार खटिइएका छन् ।

सातवटा प्याकेजमध्ये जमिन पुर्ने काम सुरुआती चरणमा रहेको छ । प्याकेज नं ४ र ५ अन्तर्गत ग्याबिन पर्खाल निर्माणको भौतिक प्रगति ७० प्रतिशत हाराहारी पुगेको उनले बताए। प्याकेज नं ३ को भौतिक प्रगति न्यून छ । प्याकेज १ र २ को एउटै ठेकेदार भएकाले काम सुस्त भइरहेको इन्जिनियर खनालले भने ।

रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको करिब १४ बिघा जग्गामा नयाँ भण्डारणगृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । 

सो भण्डारणबाट लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारणगृह निर्माण गर्दै आइएको छ ।

तीन अर्ब लागतमा भण्डारणगृह निर्माण गरिने भण्डारणगृह निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिए । सो स्थानमा डिजेल भण्डारणका लागि दुई हजार एक सय किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि एक हजार छ सय किलोलिटर दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटरका तीनवटा ट्यांक निर्माण गरिनेछ।

भण्डारणगृह निर्माण भएसँगै हालको भलबारी डिपो रोहिणी खोला किनारमा सर्नेछ । उनले असोजभित्र परियोजनाको ‘डिजाइन’ सम्पन्न गरिने जानकारी दिए। परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गरिरहेको छ ।

 आगामी मङ्सिरमा भण्डारणगृह निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १२ : ४१ बजे

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

लुम्बिनी– नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका

राजामहाराजाका सन्तान पढ्ने स्कुलमा व्यभिचार, शिक्षिकाबाट प्रताडित एक बालिकाको दुरावस्था

काठमाडौं- काठमाडौंको मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कूलमा कक्षा ४

‘स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ’

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी

भरूवा बन्दुकसहित एकजना पक्राउ 

दाङ– तुलसीपुर उपमहानगरपालिका-४ हरियाली टोल बस्ने ४२ वर्षीय डम्मर बहादुर विकलाई एकनाले

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग