आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै | Khabarhub Khabarhub

आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल आयल निगमले रूपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ ।

ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको निर्माणमा संलग्न इन्जिनियर हीरामणि खनालले जानकारी दिए ।

पछिल्लो ५० वर्षको बाढीको अवस्थालाई आकलन गरेर रोहिणी खोलामा तटबन्धको काम अघि बढाइएको उनले बताए। निगमले भण्डारण निर्माण गर्न लागेको जग्गाको उत्तर र पश्चिममा रोहिणी खोला बगेको छ । उत्तरतर्फ ‘रिटेनिङ वाल’ लगाइएको छ भने पश्चिमतर्फ ग्याबिन पर्खाल लगाइएको छ ।

प्रारम्भिक चरणमा सातवटा ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको छ । काठमाडौँस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगञ्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चारवटा प्याकेजको ठेक्का पाएको छ । करिब आठ करोडमा ती ठेक्का लगाइएको हो ।

भण्डारणगृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन पुर्ने कार्य यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । खोला किनारमा ग्याबिन लगाउँदा वर्षात्को पानीले अप्ठयारो पारेको इन्जिनियर खनालले बताए । रोहिणी खोलाको समानान्तर सात मिटर उचाइको ग्याबिन पर्खाल र उत्तरतर्फ चार दशमलव पाँच मिटरको रिटेनिङ वाल लगाइनेछ ।

तटबन्ध निर्माण तथा जग्गा पुर्ने कामलाई निर्धारित समयभित्रै सम्पन्न गर्न दैनिक दुई सिफ्टमा काम भइरहेको छ । पहिलो सिफ्टमा बिहान ६ देखि ११ र दोस्रो सिफ्टमा साँझ ५ देखि ११ बजेसम्म निर्माणका काम चलिरहेको छ । ग्याबिन लगाउने तथा जग्गा पुर्ने काममा दैनिक दुई सय कामदार खटिइएका छन् ।

सातवटा प्याकेजमध्ये जमिन पुर्ने काम सुरुआती चरणमा रहेको छ । प्याकेज नं ४ र ५ अन्तर्गत ग्याबिन पर्खाल निर्माणको भौतिक प्रगति ७० प्रतिशत हाराहारी पुगेको उनले बताए। प्याकेज नं ३ को भौतिक प्रगति न्यून छ । प्याकेज १ र २ को एउटै ठेकेदार भएकाले काम सुस्त भइरहेको इन्जिनियर खनालले भने ।

रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको करिब १४ बिघा जग्गामा नयाँ भण्डारणगृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । 

सो भण्डारणबाट लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारणगृह निर्माण गर्दै आइएको छ ।

तीन अर्ब लागतमा भण्डारणगृह निर्माण गरिने भण्डारणगृह निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिए । सो स्थानमा डिजेल भण्डारणका लागि दुई हजार एक सय किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि एक हजार छ सय किलोलिटर दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटरका तीनवटा ट्यांक निर्माण गरिनेछ।

भण्डारणगृह निर्माण भएसँगै हालको भलबारी डिपो रोहिणी खोला किनारमा सर्नेछ । उनले असोजभित्र परियोजनाको ‘डिजाइन’ सम्पन्न गरिने जानकारी दिए। परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गरिरहेको छ ।

 आगामी मङ्सिरमा भण्डारणगृह निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १२ : ४१ बजे

गगन र रविको गठबन्धन भएकै हो त ? यस्तो छ काठमाडौंको चुनावी गणित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत आम निर्वाचनमा

धामी हेर्न आएका समूहको कुटाइबाट १ जनाको मृत्यु   

काठमाडौं– पाँचथरमा धामी झाँक्री हेर्न आएका समूहको कुटपिटबाट १ जनाको

सडक विभागले मर्मतमा खर्चियो २ अर्ब ६७ करोड

काठमाडौं– सडक विभागले पछिल्लो १० महिनाको अवधिमा देशभरका रणनीतिक सडकहरूको

टेकुबाट भद्रकालीस्थित आधुनिक नयाँ भवनमा काठमाडौं प्रहरी

काठमाडौं- जिल्ला जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीस्थित आधुनिक सुविधासहितको आफ्नै नयाँ भवनमा

मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

महेन्द्रनगर– मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल