सिंहदरबारको शिशु स्याहार केन्द्र- कर्मचारी आमाबुबा ढुक्क (फोटोफिचर) | Khabarhub Khabarhub

सिंहदरबारको शिशु स्याहार केन्द्र- कर्मचारी आमाबुबा ढुक्क (फोटोफिचर)

निजामतीका शिशुले मात्रै पाउँछन् स्तनपानको अवसर, क्षमता बढाउन सरकार अनिच्छुक


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत पुष्पा भट्टराई दुई सन्तानकी आमा हुन् । पहिलो सन्तान हुर्काउँदा पनि उनी जागिरे नै थिइन्‌ । तर, निजामती सेवामा नभएकाले छोरालाई २ वर्षमै मण्टेस्वरीमा भर्ना गरेर कार्यालय जानुपर्ने अवस्था आयो । जसले गर्दा ध्यान बच्चामा हुन्थ्यो, काममा मन नै लाग्दैनथ्यो ।

तर, अहिले दोस्री सन्तान छोरीलाई भने सँगै कार्यालयमै लैजान पाउँदा उनी खुशी छिन्‌ । सरकारले तोकेको ९० दिन सुत्केरी बिदा बसेर त्यस पछिका दिनहरूमा छोरी सँगै लिएर उनी काममा आउन थालेकी हुन्‌ ।

पुष्पाकी छोरी अहिले १० महिनाकी भइन् । ‘कार्यालय परिसरमै बच्चा हुँदा समय-समयमा स्तनपान गराउन पाइन्छ । बच्चा हेर्ने आयाहरूले पनि राम्रो स्याहार गर्नुभएको छ ढुक्कसंग काम पनि गर्न पाइन्छ । बच्चाको स्याहार पनि राम्रो भइरहेको छ,’ खबरहबसँग कुरा गर्दै उनले भनिन् ।

पुष्पा जस्तै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत कार्यरत सविना गर्बुजा पनि १० महिनाका छोरालाई शिशु स्याहार केन्द्रमा राखेर काममा जान्छिन् । छोरालाई स्याहार निकै राम्रो छ ।

‘बाहिरका स्याहार केन्द्रहरूमा भन्दा स्वच्छतादेखि सरसफाइ लगायत सम्पूर्ण विकासमा सिंहदरबारभित्रको दिवा शिशु स्याहार केन्द्र अब्बल छ । उपलब्ध स्रोतसाधन अनुसार उहाँहरूले गर्नुभएको प्रयास राम्रो छ,’ गर्बुजाले भनिन्‌, ‘कामकाजी श्रीमान श्रीमतीलाई दिवा शिशु स्याहार केन्द्रका कारण सहज भएको छ । हामीले हेर्दा अझै केही कुराहरू नपुगेको जस्तो देखिन्छ ।’

उनका अनुसार शिशु स्याहार केन्द्रको बजेट कम छ । संरचनाहरू अभाव छ । सानो ठाउँमा धेरै बच्चाहरू राख्नुपर्ने अवस्था छ । स्तनपान कक्ष पनि सानो छ । बच्चाहरूको कपडा सुकाउने ठाउँ छैन । त्यस्तै बच्चाहरूको लागि खेल्ने ठाउँ अभाव छ ।

गर्बुजाले भनिन्‌, ‘श्रीमती संघले खोलेको स्याहार केन्द्रका कारण खोलेर हामी कामकाजी आमाहरूका लागि ठूलो राहत मिलेको छ । तर यसलाई पछि कस्तो बनाउने भनेर भिजन बनाएर अघि बढ्न आवश्यक छ ।’

 

केन्द्रमाा १५० बच्चाहरू थपिँदैछन्‌ । उनीहरूलाई केन्द्रले कसरी व्यवस्थापन गर्नुपर्नेछ । निजामती कर्मचारीका लागि भनेर शिशु स्याहार केन्द्र खोलिसकेपछि सबै शिशुहरूले सेवा पाउने वातारण बनाउनु राज्यको जिम्मेवारी भएको गर्बुजा बताउँछिन्‌ । तर, सरकारले दिँदै आएको वार्षिक बजेट अपर्याप्त भएको उनको भनाइ छ ।

पुष्पा र सविना जस्तै अन्य ७५ जना आमा कर्मचारीहरूले आफ्ना बालबालिकालाई शिशु स्याहार केन्द्रमा भर्ना गरेका छन् । सिंहदरबारभित्र र आसपास रहेका सरकारी कार्यालयमा काम गर्ने महिला कर्मचारीले आफ्ना छोराछोरी त्यहाँ भर्ना गरेका हुन् ।

कसले राख्न पाउँछन्‌ बच्चा ?

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले तयार पारेको कार्यविधि, २०७२ अनुसार सिंहदरबार परिसरमा कार्यरत कर्मचारीका बच्चाहरू शिशु स्याहार केन्द्रमा राख्न दिने उल्लेख छ ।

सो अनुसार सिंहदरबारको पर्खाल बाहिर रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालतका कर्मचारीले पनि आफ्ना बाबुनानी स्याहार केन्द्रमा राख्न पाउँछन्‌ । श्रीमान-श्रीमती दुबै जना निजामती कर्मचारी रहेकाहरू यो सेवाको पहिलो प्राथमिकतामा पर्छन्‌ ।

श्रीमान या श्रीमती मात्रै निजामती कर्मचारी भए पनि बच्चालाई स्याहार केन्द्रमा राख्न पाउने व्यवस्था छ । तर, उनीहरू दोस्रो प्राथमिकतामा पर्छन्‌ ।

सिंहदरबारभित्र निजामती कर्मचारी मात्रै नभएर अन्य करारका कर्मचारीहरू पनि कार्यरत छन् । रेडियो नेपाल र नेपाल टेलिभिजन पनि सिंहदरबारभित्रै छ । त्यहाँका कर्मचारीहरूले पनिबच्चा राख्न पाउनुपर्ने भनी आवाज उठाउन थालेका छन् । तर, मन्त्रालयले अनुमति दिएको छैन ।

कामकाजी कर्मचारीका शिशुहरू स्तनपानबाट वञ्चित हुनु नपरोस्‌, महिला कर्मचारीको काममा शिशुको कारण बाधा उत्पन्न नहोस्‌ भनी यो शिशु केन्द्र स्थापना गरिएको हो । केन्द्रका कारण सिंहदरबार आसपासका कार्यालयमा काम गर्ने साना बालबालिका भएका महिला कर्मचारीलाई सहज भएको छ ।

‘यो केन्द्रको सेवा निजामती कर्मचारीमा मात्रै सीमित नराखी अन्य बच्चाहरूका लागि बिस्तार होस सवै बच्चाहरूले आमाको स्तनपान गर्ने अवसर पाउन भन्ने हाम्रो पनि चाहना हो,’ उपव्यवस्थापक सङ्गीता घिमिरेले भनिन् ।

यसरी हुन्छ केन्द्रको व्यवस्थापन

निजामती कर्मचारी श्रीमती संघबाट सञ्चालित दिवा शिशु स्याहार केन्द्रलाई महिला मन्त्रालयले बजेट दिन्छ । त्यो रकमबाट कर्मचारीको तलब भत्ता, तथा केन्द्रमा बालबालिकालाई उमेर अनुसारको खेल्ने सामग्रीहरूको समेत व्यवस्था गरिएको केन्द्रकी उपव्यवस्थापक घिमिरेले बताइन् ।

उनका अनुसार बच्चाहरूको खाने लिटो, पीठो र जाउलो लगायत खानेकुराहरूका लागि अभिभावकबाट न्यून मात्रामा मासिक २ हजार ७ सय रुपैयाँका दरले शुल्क लिने गरिएको छ । वि.सं. २०६७ साल अर्थात झण्डै १३ वर्षदेखि सञ्चालित शिशु स्याहार केन्द्रले ५०० बच्चाहरू हुर्काइसकेको छ । केन्द्रमा अहिले ७५ जना बच्चा छन् ।

बच्चाहरूलाई उमेर अनुसार तीनवटा कोठामा राख्ने गरिएको छ । जसमा ३ महिनादेखि १ वर्ष सम्मका बच्चाहरू राख्ने कोठामा १७ जना छन् उनीहरूको स्याहारका लागि चार जना आयाहरू राखिएको छ । उनीहरूलाई बच्चाको स्याहार कसरी गर्ने भन्नेबारे बेला-बेलामा तालिम दिने गरिएको घिमिरेले जानकारी दिइन्‌ ।

१ देखि २ वर्षसम्मका बच्चाहरू राख्ने कोठामा २८ जना बच्चाहरू छन् । उनीहरूको रेखदेखका लागि ४ जना आयाहरू छन् । २ देखि ३ वर्षका बच्चाहरू राख्ने कोठामा ३० जना बच्चाहरू राखिएको छ । उनीहरूको हेरचाहका लागि ५ जना आयाहरू छन् । सबै गरी हाल केन्द्रमा १३ जना आया कार्यरत छन्‌ ।

घिमिरेका अनुसार एक जना आया अनुपस्थित हुँदा पनि बच्चा हेर्न समस्या हुने गर्छ । अभिभावकहरूबाट ‘आया पुगेन’ भन्ने गुनासो आउने गरेको छ ।

‘तर, ८० लाख रुपैयाँ बजेट मागिएकोमा ७० लाख मात्रै दिएको छ । त्यसको असर बच्चाको हेरचाहमा परेको छ,’ घिमिरेले भनिन्‌ । उनका अनुसार केन्द्रले खानामा लिटो, जाउलो, हलुवा, खिर, पाउरोटी, स्यार्लेक्स मिलाएर दिने गरेको छ ।

अभिभावकको प्रतिक्रिया

केन्द्रले महिनामा एकपटक अभिभावकहरूसँग छलफल गर्ने गरेको छ । बच्चाहरूलाई खुवाउने र सुताउने बाहेक अन्य शारीरिक तथा मानसिक विकासका लागि पनि विभिन्न क्रियाकलापहरू गराउने गरिएको घिमिरेले जानकारी दिइन्‌ ।

बच्चाहरूका दैनिक गतिविधिको भिडियोहरू अभिभावकलाई पठाउने, दिनभर उनीहरूले गरेका क्रियाकलापबारे अभिभावकहरूसँग कुराकानी गर्ने र अभिभावकको प्रतिक्रिया पनि राम्रै आउने गरेको घिमिरे बताउँछिन्‌ ।

‘कतिपय अभिभावकहरूले पहिलो बच्चा हाम्रो स्याहार केन्द्रमा हुर्काएर अहिले दोस्रो बच्चा पनि हामीकहाँ नै हुर्काइरहेका छन् । यो भनेको अभिभावकको हामीप्रतिको विश्वास हो,’ उनले भनिन्‌ ।

केन्द्रमा बच्चाहरूलाई बाहिर खेल्ने पर्याप्त वातावरण छैन । खुला आकाशमुनि नै उनीहरूको खेल्ने ठाउँ भएकाले बर्खाका बेला सामग्रीहरू भिज्छ । बाबुनानीहरूलाई पनि चिसो लाग्ने डर हुन्छ । अभिभावकहरूले पनि यस्तै गुनासो गर्ने गर्छन्‌ ।

आवश्यक प्रबन्ध मिलाउने स्रोतसाधन उपलब्ध गराउने सरकारसँग कुरा राखिएको, तर सरकारले ‘यस्तै स्याहार केन्द्रहरू भक्तपुर र पोखरा लगायत अन्य ठाउँहरूमा पनि खोल्नुपर्छ, यसको व्यवस्थापन अभिभावकहरूबाट गर्नुपर्छ’ भनेर प्रतिक्रिया दिएको घिमिरेले बताइन्‌ ।

केद्रमा हुर्केका बच्चाहरूको उचित वृद्धिविकास

धेरै अभिभावकका भनाइ अनुसार केन्द्रमा हुर्केका बच्चाहरू र घरमा एक्लै हुर्केका बच्चाहरूमा धेरै फरक पाइएको छ ।

घरमा एक्लै हुर्केका बच्चाहरू भन्दा केन्द्रमा हुर्केका बच्चाहरू धेरै क्रियाशील हुने र उनीहरूमा प्रतिष्पर्धा भावना हुने भएका कारण टाठा हुने केन्द्रकी उपव्यवस्थापक घिमिरे बताउँछिन् ।

उनका अनुसार केन्द्रमा अहिले अटिजम भएका चार जना बच्चाहरू पनि छन् । सुरुमा केन्द्रमा आउँदा उनीहरू कसैले बोल्दा कान थुनेर बस्ने, एक्लै कुनामा बस्ने, टोलाउने गर्थे । अहिले उनीहरूले पनि सामान्य बच्चाहरूजस्तै व्यवहार देखाउन थालेका उनले जानकारी दिइन्‌ ।

तस्बिरहरू : चिरायु शाक्य ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ३ : ०८ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन