सुनसरी- कोशी प्रदेशको व्यस्त राजधानी बिराटनगर–१५ मा साउन १२ गते ‘मधेस प्रदेश ००१–००५ प ०६४४’ नम्बरको स्कुटरमा शंका लागेपछि प्रहरीले रोकेर चेकजाँच गर्दा दुईजना युवा पक्राउ परे ।
पक्राउ पर्नेहरुका साथबाट प्रहरीले १.८ ग्राम ब्राउन सुगर बरामद गर्यो । उनीहरु थिए– सप्तरीका २५ वर्षीय जीवनप्रकाश साह र विराटनगर– १३ बस्ने २६ बर्षीय श्रवण खड्का ।
सोही दिन प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अर्का एक जनालाई पनि ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
कलेज पढ्ने उमेरका १९ बर्षीय निर्दोष डाँगी मेची नगरपालिका–६ स्थित पुरानो मेचीपुल पार गरेर भारतबाट नेपाल छिरेपछि साथीहरुलाई भेट्न हतारिँदै थिए, प्रहरीले उनलाई ठाउँको ठाउँ कर्याप्पै पारिहाल्यो ।
मध्यान्हको गर्मीमा असिन पसीन हुँदै उनी सीमापारी नक्सलबाडीबाट झापा छिरेका थिए । प्रहरीका अनुसार काँकड्भिट्टास्थित इलाका प्रहरी कार्यायल र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले केरकार गर्दै गोजी छाम्दा डाँगीका साथबाट ३.५२ ग्राम ब्राउन सुगर बरामद भयो ।
पक्राउ परेका मेची नगरपालिका–५ घर भएका डाँगी सेवनकर्ता मात्र हुन् कि ओसार–पसार गर्ने गिरोहका सदस्य हुन् ? यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै, उत्तरी मोरङको केराबारीस्थित खदमखोलाको पुलबाट १.९२ ग्राम ब्राउन सुगरसहित प्रहरीले ३ जनालाई पक्राउ गर्यो । ब्राउन सुगर ओसार–पसारमा प्रयोग भएको को २५ प ५९४५ नम्बरको मोटरसाइकलसहित पक्राउ पर्नेमा केराबारी–७ बस्ने १९ बर्षीय साजन लिम्बू, केराबारी–१ बस्ने २२ बर्षीय गोविन राई र धनकुटाको चौविसे–५ बस्ने ३१ बर्षीय शक्ति लिम्बू थिए ।
प्रहरीले साउन ६ गते राति झापाको दमक नगरपालिका–३ बेलडागी शिविर बस्ने २७ बर्षीय विक्रम राईलाई पनि एक ग्राम ब्राउन सुगरसहित पक्राउ गर्यो । शिविरस्थित घरैबाट राईलाई प्रहरीले पक्राउ गरेको थियो ।
पाँच बर्षमा १४ किलो ब्राउन सुगर बरामद
प्रहरीले ब्राउन सुगर ओसार पसार गर्ने गिरोहबाट बरामद गरेको ब्राउन सुगरको परिमाण सुन्दा पत्याउन गाह्रो हुन्छ । तर, पत्याउनै पर्छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले खबरहबलाई दिएको जानकारी अनुसार आर्थिक बर्ष २०८०–०८१ मा कुल ३ किलो ७ सय २३ ग्राम ५ सय १ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । बजार मुल्यअनुसार यो करिब ५ करोड रुपैयाँ बराबरको हो । यति परिमाणको ब्राउन सुगरले ४१ हजार ४ सय २२ जनालाई एक–एक डोज पुग्छ । ब्राउन सुगरका दुव्र्यशनीहरुले ९ मिलिग्रामको एक डोज बनाउने र सोही अनुसार नापेर सेवन गर्ने गरेका छन् ।
कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) चन्द्रकुबेर खापुङले भने, ‘आर्थिक बर्ष २०८० ÷०८१ मा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ब्राउन सुगर ओसार-पसार गर्नेहरु मध्ये ८१७ जनालाई पक्राउ गरेर कारवाही गरिएको छ । तीमध्ये पुरुष ७ सय ५६ जना र महिला ५० जना छन् । यो संख्या आधुनिक, सभ्य शहरी समाजका लागि भयावह स्थिति हो ।’
खापुङका अनुसार ब्राउन सुगर ओसार–पसार गराउने गिरोहले १८ बर्ष मुनिका बालबालिका समेत प्रयोग गरेको पाइएको छ । पक्राउ पर्नेहरुमा ११ जना बालबालिकासमेत छन् ।
प्रहरीले पक्राउ गरेका गिरोहमा संलग्नहरुको उमेर समुहको विश्लेषण गर्दा १८ बर्ष मुनिका बालबालिका बाहेक १९ बर्र्षदेखि ३० बर्ष उमेर समुह बढी सक्रिय रहेको पाइएको छ । पक्राउ परेकाहरु मध्ये यो उमेर समुहमा सबै भन्दा बढी ५ सय २९ जना रहेका छन् । त्यसपछि ३१ बर्षदेखि ४५ बर्ष उमेर समुहका २ सय ४० जना र ४५ बर्ष भन्दा माथिका ३७ जना छन् ।
आर्थिक बर्ष २०७९/०८० मा २ किलो ७९ ग्राम ८ सय ४९ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो भने आर्थिक बर्ष २०७८/०७९ मा प्रहरीले २ किलो ४ सय ५७ ग्राम १ सय ७४ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
आर्थिक बर्ष २०७७/०७८ मा प्रहरीले ब्राउन सुगर १ किलो ६ सय ५१ ग्राम ६ सय ८१ मिलिग्राम बरामद गरेको थियो ।
यसैगरी आर्थिक बर्ष ०७६/७७ मा प्रहरीले १ किलो ६ सय ६० ग्राम ८ सय ३७ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको थियो भने आर्थिक वर्ष २०७५/७६ मा २ किलो ६ सय २१ ग्राम ९१७ मिलिग्राम बरामद गरेको थियो ।
पाँच बर्षको अवधिमा कोशी प्रदेशमा मात्र करिव १४ किलो भन्दा बढी ब्राउन सुगर प्रहरीले बरामद गरेको तथ्याङ्क छ । यसले ओसार पसार सेवनकर्ताको अवस्था कति भयावह छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
बरामद हुन नसकेको ब्राउन सुगर कारोबारको परिमाण पाँच गुणा बढी रहेको प्रहरीको आकलन छ ।
ब्राउन सुगर भित्रिने नाकाहरु
प्रहरीले भारत नेपालको खुला सीमानाबाट ब्राउन सुगर भित्रिने झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरका विभिन्न नाकालाई संवेदनशील मानेको छ । जसमा बिराटनगरको भन्सार कार्यालयको १ नम्बर ढाट, दरहैया चोक, दक्षिण गेट, हुलास चौक र मटेरुवा नाकालाई अति संवेदनशीलमा राखिएको छ ।
सुनसरीको लौकहीस्थित बस्मतीया भन्सार, घुस्की, वीरपुर–भण्टाबारी नाका, भीमनगर बोर्डर श्रीपुर, इलामको पशुपतिनगरस्थित नेपाल भारत सिमाना गेट, किटेनी जोरकलाश, झापाको काकडभिट्टा, भद्रपुर, पृथ्वीनगर, झापा बजार, र गौरिगन्ज, उदयपुरको रामपुर, बेल्शोत र लालपत्तालाई सधै निगरानीमा राखिने गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले ‘दुर्व्यसनी विरुद्ध आमाहरु’ कार्यक्रमलाई थप प्रभावकारी बनाउन मातहतका प्रहरी कार्यालयहरुलाई निर्देशन दिएको डीआइजी खापुङले बताए । उनले भने, ‘कोशी प्रदेश प्रहरी कार्यालय मातहत रहेको धरानस्थित आसरा सुधार केन्द्रमा राखेर दुव्र्यशनमा फसेकाहरुलाई मनोपरामर्ष, समाज र परिवारमा पुनःस्थापना र पेशा व्याबसायसंग जोडेर सीपमुलक तालिमहरु पनि दिने गरिएको छ ।’
प्रहरीले ब्राउन सुगरलगायत लागुऔषध ओसार–पसार र सेवन गर्नेहरुलाई पक्राउ नगरेको दिनै छैन । तर पनि नियन्त्रण हुन सकेको छैन । यसबारे प्रहरीको भनाइ छ, नेपाल प्रहरीले अधिकतम प्रयत्न गर्दासमेत लागुपदार्थ दुव्र्यसन र अपराधलाई पूर्णरुपले नियन्त्रण गर्न नसक्नुमा भारत–नेपालवीचको खुला सीमानाका कारण सुरक्षा व्यवस्थापन सत प्रतिशत नहुने अवस्था मुख्य कारक हो । जनसंख्याको तुलनामा अपराधका घटनाहरुलाई विश्लेषण गर्दा पनि तथ्याङ्क बढी देखिन आएको हो ।
लागुऔषध नियन्त्रण ऐनमा के छ ?
लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ दण्ड सजाय १४ (१) दफा ४ अन्तर्गत निषेध गरिएका कार्य गर्ने व्यक्तिलाई अपराधको मात्रा अनुसार देहाय बमोजिम सजाय हुने भनिएको छ ।
ऐनअनुसार अफिम, कोका वा सोबाट बनेको लागुऔषधको सेवन र खेति गर्ने कार्य बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिमध्ये २५ ग्रामसम्मको कारोवार गर्नेलाई पाँच बर्षदेखि दश बर्षसम्म कैद र पाँचहजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।
यस्तै, २५ ग्रामदेखि सय ग्रामसम्मको कारोवार गर्नेलाई दश बर्षदेखि पन्ध्र बर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि दुईलाख रुपैयाँसम्म जरिवाना तोकिएको छ ।
ब्राउन सुगर सय ग्रामभन्दा बढी जतिसुकै परिमाणको कारोवार गर्नेलाई पन्ध्र बर्षदेखि जन्म कैद र पाँच लाख रुपैयाँदेखि पच्चीस लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ ।
बढ्दो दुर्व्यसन
पूर्वी नेपालमा ब्राउन सुगरसहित युवाहरु पक्राउ पर्ने क्रम बढेको छ । यो साता मात्रै ८ जना पक्राउ परेको देखिन्छ । प्रहरीले लागू पदार्थ ओसार–पसार, सेवन र प्रयोग गर्न प्रतिवन्ध गरेका गाँजा, कोकिन, टिडी जेसिक, फेन्सिडिल, स्पाज्मोप्रोक्सिभन, नाइट्रोजेपाम, डाइजेपाम, डाइजेल्याप, एभिल, फेनारगन, ल्युपिजेसिक, नाइट्रोसन, कोरेक्स, डाइलेक्स जस्ता लागुऔषधका ट्याब्लेट र क्याप्सुलहरु समेत बरामद गर्दै आएको छ ।
ब्राउन सुगर (लागू औषध) सेवनले तनाव, अवसाद र चिन्ताबाट मुक्त भइन्छ भन्ने भ्रम पछिल्लो पुस्तामा देखिएको छ । उनीहरुलाई यो कसरी तयार हुन्छ र यसले शरीरलाई कस्तो हानी गर्छ भन्नेबारे खासै जानकारी हुँदैन ।
कुनै न कुनै माध्यमबाट गोप्य रुपमा किनेर घरपरिवार, प्रहरी र समाजको आँखा छल्दै सेवन गर्न तल्लीन युवा पुस्ताले तनाव र अवसादबाट मुक्त भइन्छ भनेर बनाएको भाष्यले उनीहरुको भविष्य भने अनिश्चित बनाउँदै छ ।
एक दशक अघिसम्म लागुऔषधका दुव्र्यशनीहरुले सबैभन्दा बढी प्रयोग मनोदीपकजन्य लागुऔषधहरु सेवन गर्ने गरेका थिए । चिकित्सकले बिरामीको दुखाइ कम गराउने र मानसिक रोगीहरुमा उनीहरुको अवस्थाअनुसार निश्चित मापदण्ड र मात्रामा प्रयोग गर्ने मनोपदिपकजन्य औषधीलाई नै नसाको रुपमा प्रयोग गर्नेहरु सबैभन्दा बढी थिए ।
तर, पछिल्लो केही वर्षयता प्रहरी प्रशासनले बरामद गरेका र पक्राउ गरी कारवाही गरेका सेवनकर्ता एवं ओसार पसारमा संलग्न गिरोहको संख्या हेर्दा ब्राउन सुगर प्रयोगकर्ताको संख्या बढेको देखिएको छ ।
आखिर ब्राउन सुगर सेवन गर्न किन लिप्त भइरहेका छन् युवा पुस्ता ? यसका अनेक कारण छन् । सामाजिक, पारिवारिक, सांस्कृतिक विखण्डन, गलत संगत, भ्रामक विश्वास, कमजोर राजनीतिक अवस्था वा अस्थिरता, मानसिक तनाव अनि आधुनिकताका नाममा फरक देखिने चाहनाका साथै समाज र जीवनप्रति वैराग्य खोज्ने युवाहरु लागु औषधमा फस्छन् । यी बाहेक नेपाल–भारतको खुला सीमानाका कारणले पनि युवापुस्तामा यसको आपराधिक बजार फैलिएको हो ।
ब्राउन सुगर सेवन र ओसार–पसार गैरकानूनी हो । प्रहरी प्रशासनले थाहा पायो भने पक्राउ गरेर दण्ड जरिवानासहित दुई बर्षदेखि जन्मकैदसम्म जेल सजाय र २५ लाख रुपैयाँसम्म जरिवाना हुन्छ भनेर थाहा हुँदाहुँदै लुकिछिपी सेवन गर्नु र ओसार–पसार गर्ने दुस्साहस आजका युवामा पाइरहेको छ ? चिन्ताको विषय बनेको छ । यसबारेमा गहिरिएर खोतल्न बाँकी नै छ ।
ब्राउन सुगर रासायनिकरुपमा डायऐसीटीली मोर्फिनको रुप हो । यसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीको सक्रियतालाई निस्कृय बनाउने काम गर्छ । तर, सेवनकर्ताले भने मानसिक तनाव, चिन्ता र दुःखबाट मुक्त भएको भ्रम पाल्न पुग्छ । अहिलेसम्मका अनुसन्धान अनुसार अरु लागुपदार्थको लत बसाउन महिनौं लाग्न सक्छ तर ब्राउन सुगरको लत चाँडै लाग्ने र लत बसेपछि छुटाउन गाह्रो हुन्छ ।
ब्राउन सुगर ओसार पसार र सेवनमा सम्लग्न हुनुका कारणबारे कोशी प्रदेश प्रहरी प्रमुख खापुङ भन्छन्, ‘साथी संगातीको प्रभावमा परेर व्यक्तिगत कौतुहलता र उत्सुकताले बढी काम गरेको छ । ‘एकपटक एक डोज लिइहालौं, कस्तो फिलिङ्स हुन्छ,’ भनेर उत्सुकताबस सेवन गर्नेहरु नै सबैभन्दा बढी ब्राउन सुगरको चपेटामा फसेका छन् । कतिपय पारिवारिक समस्या र पढाइमा प्रगति गर्न नसकेपछि यसको लतमा फस्ने गरेका छन् ।’
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका साइकियाट्रिस्ट एसोसिएट डा सञ्जीव मिश्र पनि अफिमबाट बन्ने ब्राउन सुगरको लत साथी संगाती र उत्सुकताबस सेवन गर्दा गर्दै बस्ने बताउँछन् । डा मिश्रले भने, ‘एक–दुई पटक चाख्दा चाख्दै ब्राउन सुगरको लत बस्छ तर छुटाउन गाह्रो हुन्छ । झन् इन्जेक्सनमार्फत सेवन गर्नेहरुलाई एचआईभी–एड्स, हेपाटाइटिस जस्ता रोग पनि सर्न सक्छ ।’
वीपी प्रतिष्ठानको मानसिक रोग विभागमा ब्राउन सुगरसहित अन्य लागुऔषधका दुव्र्यशनीको उपचार हुने गरेको उल्लेख गर्दै उपचारमा आउनेले कम्तिमा तीन साता भर्ना हुनु पर्ने मिश्रले बताए । उनले लागुपदार्थ प्रयोगकै कारण डिप्रेसन, एन्जाइटी जस्ता मानसिक रोग उत्पन्न हुने बताए ।
किशोर उमेरदेखि बयस्कतिर जाँदाको संक्रमणकालीन समयमा हुने खुल्दुली, जिज्ञासा, कुनै देख्यो र भेट्यो भने त्यसलाई ‘ट्राई’ गर्ने मनोप्रवृत्ति बढी हुने भएकाले युवायुवतीहरु ब्राउन सुगरजस्ता लागुऔषधको कुलतमा फस्ने सम्भावना बढी हुने गरेको मनोचिकित्सक डा मिश्र बताउँछन् ।
कतिपय समाजशास्त्री, समाज विज्ञानीहरुले आधुनिक समयमा किशोर वयमा रहेका छोराछोरीहरु अभिभावकले प्रत्यक्ष निगरानीमा रहन छाडेकाले कुलतमा फस्ने गरेको बताउने गरेका छन् ।
ब्राउन सुगरको बढ्दो प्रयोग
पछिल्लो एक दशकयता पूर्वी नेपालका लागु औषध प्रयोगकर्ताहरु ब्राउन सुगर सेवन गर्न बढी आकर्षित भएका छन् । दशकअघि कमै मात्रले ब्राउन सुगर सेवन गर्ने गरेका थिए । त्यसबेला ट्याब्लेट र बोतलमा उपलव्ध विभिन्न मनोदीपक औषधी बढी प्रयोग गर्ने चलन थियो ।
ओसार–पसार गर्ने गिरोहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको तथ्याङ्क र तथ्यको ग्राफले शुरुमा ब्राउन सुगरको कालो बजार कमै भएको देखाउँछ । तर, विगत एकदशक यता प्रयोगकर्तामा ब्राउन सुगर सेवन गर्ने ट्रेन्डले गति लिएको देखिएको छ । त्यसमा धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, पथरी, इलाम, काँकटभिट्टा जस्ता सहरी इलाका बढी चपेटमा परेका छन् ।
नेपालमा ब्राउन सुगरको उत्पादन, प्रशोधन हुँदैन । भारतीय बजारबाटै गिरोहले खुला सीमानाको फाइदा उठाउँदै भित्राउने हो । ट्याब्लेट, फाइल वा बोतलमा भएका अन्य लागुऔषध कारोवार गर्दा गिरोहलाई लुकाएर ल्याउन बढी मिहिनेत गर्नुपर्छ ।
डाइजेपाम, डाइजेल्याप, एभिल, फेनारगन, ल्युपिजेसिक, स्पाज्मोप्रोक्सिभन, नाइट्रोजन, कोरेक्स, डाइलेक्स जस्ता लागुऔषधी ट्याव्लेट, क्याप्सुल, बोतलको सीसीमा हुने र त्यसलाई लुकाएर ल्याउँदा आकारमा ठूलो देखिने हुँदा प्रहरीको नजरबाट लुकाउन गाह्रो हुन्छ । तर, सानो सानो प्याकेट बनाएर लुकाएर ल्याउन र विक्री वितरण गर्न सकिने भएकाले कारोबारमा संलग्न गिरोहले ब्राउन सुगरको धन्दा रोजेको प्रहरीको बुझाइ छ ।
बजारमा नौ मिलिग्रामको एक डोज ब्राउन सुगरलाई गिरोहले कम्तिमा १५ सय रुपैयाँदेखि बढीमा २५ सयसम्म बिक्री गर्ने गरेका छन् ।
अब समाजमा बढिरहेको लागू औषध दुर्व्यसनबारे डीआइजी खापुङसँग गरिएको छोटो कुराकानी–
आमा सचेत भए लागूऔषध दुर्व्यसन रोक्न सकिन्छ : डीआइजी खापुङ
प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङ
कोशी प्रदेशमा ब्राउन सुगरको कारोवार र सेवन बढेको बारे के भन्नु हुन्छ ?
पूर्वमा ब्राउन सुगरका सेवनकर्ता र कारोबारी बढ्नु अत्यन्त चिन्ताको विषय बनेको छ । प्रहरी प्रशासन यसमा लागिपरेको छ । राज्यले नियन्त्रणका लागि निरन्तर प्रयासका बाबजुद यसको दुरुपयोग झनझन फैलिरहेको पाइएको छ । यस विषयमा थप कडाइका साथ अध्ययन र अनुसन्धान आवश्यक देखेको छु ।
राज्यले ब्राउन सुगर ओसार पसार नियन्त्रण गर्न कानून बनाएको छ तर नियन्त्रण हुन सकेको देखिएन । कानून फितलो भएको कि प्रहरी ?
मैले भनिसकें नि, राज्यको निरन्तर प्रयासका बाबजुद कम हुनुको सट्टा झन फैलँदो छ । अब, किन झन फैलियो भन्ने प्रश्नको उत्तर ठ्याक्क यही हो भनेर एउटा उत्तर मात्र दिन सक्ने अवस्था छैन जस्तो लाग्छ । यो विश्वव्यापीकरणको असर स्वरुप एउटा उर्जाशील समुहमा नैराश्यता र निराशा बढेको छ, आफ्नै महत्वकांक्षाहरुले ।
अर्कोतिर देखासिकी गर्ने संस्कार पनि हाम्रो समाज र परिवारमा बढी मौलाएको छ । यस्ता अनेक कारणले मौलाएको ब्राउन सुगरको दुरुपयोगलाई प्रहरी एक्लैले र कानूनले मात्र रोक्न र नियन्त्रण गर्न सक्दैन । पुरै समाजको सोचमा परिवर्तन आउनु पर्छ ।
प्रहरीले ‘दुर्व्यसनविरुद्ध आमाहरु’ कार्यक्रम प्रदेशभरि सञ्चालनमा ल्याएको छ भन्नुभयो, आमाहरुले त आफ्नै सन्तानको नकारात्मक पक्षलाई झन ढाकछोप गर्ने चलन छ नि ।
‘दुर्व्यसनविरुद्ध आमाहरु’ कार्यक्रमलाई थप प्रभावकारी बनाउन आफ्ना सन्तानका गलत आचरण, बानी व्यहोरालाई ढाकछोप गरी लुकाउनु हुन्न, यसो गरेमा भविष्यमा पछुताउनुको विकल्प रहँदैन भनेर पनि हामीले यही कार्यक्रममार्फत सचेत गराउँदै आएका छौं । यद्यपि दुर्व्यसन विरुद्धको अभियानमा आमाहरुले सकारात्मक रुपमा सहयोग नै गरिरहेका छन् ।
तपाईको विचारमा ब्राउन सुगर ओसार पसारलाई ठप्प बनाउन सकिएला ?
हामीले यो अभियान ब्राउन सुगर ओसार पसार र सेवन ठप्प बनाउनकै लागि भनेर प्रदेशभरी चलाएका हौं । प्रत्येक घर लागुऔषध मुक्त बनाउने हो भने सजिलै लागुऔषध मुक्त समाज बनाउन सकिन्छ । आमाहरु सचेत हुनेबितिकै धेरै हदसम्म घरपरिवार सुरक्षित हुन्छन् ।
उपचार केन्द्र, सुधार गृहहरु लागुऔषध नियन्त्रणमा सहयोगी मात्र हुन साध्य होइनन् । त्यसैले घरमै आमामार्फत सचेत गराउन आमाको साथ खोजिएको हो । प्रत्येक आमाले साथ दिएमा ब्राउन सुगर लगायत लागुदार्थको ओसार पसार र सेवनमा नियन्त्रण सम्भव छ ।
प्रतिक्रिया