काठमाडौं– नेपालको नक्सामा कञ्चनपुर जिल्ला सुदूरपश्चिमको अन्तिम कुनोमा पर्छ । पहाडी जिल्ला दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, डोटी, अछाम लगायतका जिल्लाका मानिसहरुको बसोबास छ तराईको कञ्चनपुरमा ।
कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद तारा लामाको परिवार भने धादिङबाट कञ्चनपुर पुगेको हो । धादिङको झालाङमा ठूलो पहिरो गएपछि उनको परिवार कञ्चनपुर क्षेत्र नम्बर १ पुगेको हो ।
सुख्खा पहिरो गएपछि राजा महेन्द्रले पुनर्बास कार्यक्रम अन्तर्गत त्यहाँका स्थानीयलाई जग्गा दिएर कञ्चनपुर पुर्याएका थिए । वीरेन्द्र राजाका पालामा ०२८ सालदेखि ०३८ सालसम्म कञ्चनपुरमा विभिन्न जिल्लाबाट १० हजार घरपरिवारलाई पुनर्बास गराइयो । पुनर्बास बस्तीमा राना, थारुका साथमा तामाङ र क्षेत्रीबाहुन लगायत पहाडे समुदायको पनि बाक्लो बसोबास छ ।
त्यहीँबाट हुर्किएका तारा लामा एमालेका तर्फबाट प्रतिनिधिसभाको सांसद बनेका छन् । उनले प्रचण्डकी बुहारी एवं माओवादी नेतृ बिना मगरलाई चुनाव हराएका हुन् ।
धादिङबाट ०३६ सालमा कञ्चनपुर पुगेका लामाले पुनर्वास कार्यक्रम अन्तर्गत स्थापना भएको स्कुलमा पढ्न सुरु गरे । ०४३ सालमा उनी ५ कक्षा पढ्थे । त्योबेला राजाको जन्मदिन मनाउने क्रममा भाषण गर्दा शिक्षकहरुले ‘तँ नेता बन्छस्’ भनेको लामाले बिर्सेका छैनन् ।
नौ कक्षामा पढ्दा लामा पूरै राजनीतिमा लागिसकेका थिए । एसएलसी सकेपछि उनी साइन्स पढ्न ०४९ सालमा सिद्धनाथ विज्ञान क्याम्पस कञ्चनपुरमा भर्ना भए । ०५१ मा आईएस्सीको परीक्षा लेखेपछि उनी गाउँमै शिक्षक भए । तीनवर्ष शिक्षण पेशा गरेर ०५४ सालमा एमालेबाट कालिका गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । त्योबेला उनी २३ वर्षका थिए ।
लामा ०७४ सालमा सुदूरपश्चिम प्रदेशको सांसद र मन्त्रीसमेत भए । र, उनी ०७९ को निर्वाचनमा कञ्चनपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
लामाले ०७९ मा निकटतम प्रतिद्वन्द्वी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित पराजित गरे । लामाले २४ हजार ८९२ मत ल्याउँदा मगरले १९ हजार ३४६ मत ल्याइन् ।
लामा प्रदेशसभा सदस्य रहेकै बेला ०७७ सालमा एमाले फुट्यो । तीन दिन रोएर माधव नेपाल पक्षमा खुलेका लामा अनुभव सुनाउँछन्, ‘मैले त्योबेला एमाले छाडेर गल्ती गरेछु ।’
सुदूरपश्चिमको पुनर्बास बस्तीबाट राजनीतिमा उदाएका एमाले सांसद लामासँग खबरहबले गरेको कुराकानी यहाँ प्रस्तुत छ :
तपाई ०५४ सालमा गाविस अध्यक्ष बन्नुभएको थियो । माओवादी सशस्त्र द्वन्द्वका कारण ०७४ सालसम्म २० वर्ष स्थानीय निकायको चुनाव भए । ती दिनहरुलाई कसरी सम्झनुहुन्छ ?
त्योबेलाको अवस्था र अहिलेको अवस्थामा फरक छ । ०५९ सालमा मेरो पद सकियो । त्यसपछि स्थानीय तहको निर्वाचन भएन । धेरै राजनीति उतारचढाव भयो । मलाई माओवादीले व्यक्तिगत रुपमा त दुःख दिएनन् तर ०५९ सालमा हाम्रो गाविस भवन जलाइदिए ।
टेलिफोनको सुविधा नभएकाले मैले कर्डलेस ल्याएको थिएँ । त्यो माओवादीले लग्यो तर पछि फिर्ता पाएँ ।
मैले चन्दा भनौँ या गुरुदक्षिणा, आफूलाई पढाउने सर (माओवादी) पुष्कर शर्मालाई १ सय रुपैयाँ दिएको छु तर त्यो चन्दा होइन भन्नु भएको थियो ।
म ०५९ सालमा एमाले जिल्ला सदस्य भएँ । ०६४ मा राष्ट्रिय सहकारी विकास बोर्डमा नियुक्त भएँ । ०६६ सालमा नेकपा एमाले जिल्ला सचिव र ०६९ मा पार्टी जिल्ला अध्यक्ष भएँ ।
कञ्चनपुरमा ०७० सालमा चारवटा निर्वाचन क्षेत्र थिए । निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार थिएँ । तर संविधानसभाको निर्वाचनमा हारें । त्यसपछि पनि हिम्मत हारिनँ । पार्टीमा निरन्तर लागिरहेँ ।
माओवादी र एमाले मिलेर नेकपा भएपछि म पार्टी सचिव भएँ । ०७४ सालको निर्वाचनमासंघमा परिनँ । माओवादीबाट बिना मगरले पाउनुभयो, म प्रदेशमा उठें ।
मैले प्रदेशसभामा काम गर्ने अवसर पाएँ । आर्थिक मामिला मन्त्री भएँ तर बजेट ल्याउन पाइनँ । बजेट मार्फत प्राकृतिक क्षेत्रको संरक्षण गर्न मलाई रहर थियो तर पाइनँ । मलाई यो कुरा जहिल्यै खड्कन्छ । बजेट आफ्नो पालामा ल्याइनँ । नेकपा विभाजन भएपछि एमाले पार्टी पनि फुट्यो ।
मैले केही समय आफ्नो पार्टीलाई माया गर्दागर्दै केही समय पार्टीमा विचलन आयो । केही नेताहरूले नयाँ पार्टी खोल्नु भएपछि म त्यता लागेँ । मेरो गल्ती थियो । तर, त्यो बेलाको अवस्था नै त्यस्तै भयो । मलाई दुःख लागेको छ ।
कञ्चनपुर जिल्ला त विगतमा कांग्रेसको गढ हैन र ?
कञ्चनपुरमा यो पटक ‘ब्रेक थु’ भएको छ । किनकि ०४८ सालमा कांग्रेसले पुरै जितेको थियो । ०५१ मा पुरै एमाले । ०५६ मा कांग्रेस, ०६४ माओवादी र ०७० मा पुरै कांग्रेसले जितेको थियो । तर, ०७९ मा एउटा क्षेत्रमा एमाले र दुई वटामा कांग्रेसले जितेको छ ।
मलाई ०७९ को निर्वाचनमा अध्यक्ष केपी ओलीले जसरी पनि जितेर आउनुपर्छ भनेर टिकट दिनुभएको थियो । म जितेर आउँछु अध्यक्षज्यू भनेर बचन दिएको थिएँ । मैले जितेँ पनि । जितेपछि मैले २०÷२५ दिनपछि मात्र अध्यक्षलाई भेटेँ । उहाँले स्याबास भन्नुभयो ।
तपाईं एकीकृत समाजवादीमा लागेको नेता । प्रदेशको मन्त्री पद सकिएपछि किन एमालेमा फर्किनुभयो ? १० बुँदे सर्त राखेर पार्टीमा फर्किएका नेताहरूलाई त एमालेले भूमिकाविहीन बनायो भन्ने आरोप छ नि ? तपाई त्यसमा पर्नुभएन ?
होइन । विषय र प्रसंङले अर्को अर्थ नलागेमा ठ्याकै त्यस्तो देखिएको होला तर त्यो नै होइन । पार्टीले पत्याएर नै टिकट दिएको थियो । उहाँहरूलाई र मलाई पनि पार्टीले पत्याएर नै टिकट दिएको हो । केही अग्रजहरू पुनः कताकता अल्मलिनुभएको छ । एक थान मन्त्री नहुँदा नै उपेक्षित गरेको भन्नु हुँदैन कि जस्तो लाग्छ । हामी सम्मानपूर्वक पार्टीमा छौँ ।
म ३६० दिन एमालेबाट अलग भएँछु तर म अध्यक्ष कमरेडसँग आत्मालोचना गरेर नै आमसभाबाट एमालेमा फर्किएको थिएँ । म कुनै पनि जिम्मेवारी माग नगरी पार्टीले जे जिम्मेवारी दिए पनि स्वीकार गर्ने गरी आएको हो ।
यहाँले भनेजस्तो पार्टीमा अध्यक्ष कमरेड र माधव नेपाल कमरेडको तिक्तता भएपछि माधव नेपाल कमरेडलाई मनाउन अध्यक्ष कमरेडहरूले टिम नै बनाएको अवस्था थियो । त्यो टिमले १० बुँदा बनाएर यस्तो गरेर पार्टी अगाडि बढ्यो भने हुन्छ भन्नुभयो । माधव नेपाल आफैँले त्यो समिति बनाउन फोर्स गर्नुभएको थियो । तर, पछि आफैँले नमानेर हिँड्नुभयो । पार्टीमा उहाँ अन्तरसंघर्ष गरेर बस्नुपर्ने थियो, उहाँले गर्नुभएन ।
यहाँलाई एकीकृत समाजवादीका तर्फबाट ‘स्वार्थी नेता’ को आरोप लाग्ने गरेको छ, एकीकृत समाजवादीमा लागेर सुदूरपश्चिमको मन्त्री खानुभयो, फेरि एमालेमा आउनुभयो….
मैले तपाईँलाई मनले भन्दा म एकीकृत समाजवादीमा जान चाहेको थिइनँ । यहाँमार्फत म आज कुरा खोल्दैछु । मेरो अध्यक्षलाई मैले गल्ती गरे भनेर माफ मागेको छु ।
त्योबेला मैले गल्ती किन गरेको थिएँ भन्दा हामी जनप्रतिनिधिलाई त्यो बेला ०७८ भदौ १५ गतेदेखि २२ गतेसम्म सनाखत गर्ने समय राखेको थियो ।
जनप्रतिनिधिले कुन पार्टी रोज्ने भन्ने सनाखत गर्न ७ दिनको समय थियो । मैले २० गतेसम्म सनाखत गरिनँ । तर, धेरै नेताले र केही मेरै जिल्लाका मलाई एमालेमा देख्न नचाहनेहरुले यसको को छ र यो उता गए पनि फरक पर्दैन भनेर एमालेका शीर्ष नेताहरूलाई कुरा लगाएछन् । म त्यो बेला मेरो परिवारसहित तीन दिन रोएर बसेँ । परिवारमा पुरै निराशा छायो । एमालेका कोही नेताहरू सम्पर्कमा आउनुभएन । तीन दिन रोएपछि केही नलागेर मैले एमाले त्यागेछु ।
तर, एमालेको माया उस्तै थियो । किनकि मैले घर छोडेको छु । ८/९ वर्षको उमेरदेखि एमालेमा लागेको मान्छे । कालिका गाविसमा एमाले बनाउने नै म । ०५१ सालमा कांग्रेस विभाजन हुँदा मात्रै हामीले जितेको हो । ०६४ को स्थानीय तह निर्वाचनमा सबै वडा जितायौँ । त्यसमा म कति खटें होला । खटिएर काम गरेको पार्टी । एमाले छोड्नुपर्दा म कस्तो भएँ होला, तपाई मेरो परिवारलाई सोध्न सक्नुहुन्छ । उनी शिक्षक पनि हुन् । उनले त मलाई यता न उता हुने भयो भनेरसम्झाउँदै एउटा पार्टी रोज्नु भनेपछि २० गते मैले समाजवादीमा सनाखत गरें । तर, मैले गल्ती गरेछु ।
धेरै साथीले जाओस भनेपछि म एक्लै भएँछु । अध्यक्ष कमरेडले त यहाँ बस्नुपर्छ भनेर गाली नै गर्नुभएको हो । अध्यक्ष कमरेडले माया गर्दागर्दै म निस्कनु परेछ । त्यो कुरा सुनेर अध्यक्षले पनि मेरो चिन्ता गर्नुभएछ । पछि मसँग कुरा भयो । जो सुदुरपश्चिममा एमालेको जिम्मेवारीमा हुने नेता थिए, उनीहरूले मेरो विपक्षमा कान फुकेछन् । गए हुन्छ भन्ने थियो । त्योबेला मैले कमजोरी गरेँछु मात्र भन्छु ।
संघमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेको छ । अरु युवाले अवसर पाउँदा तपाईले चाहिँ मन्त्री बन्ने अवसर पाउनु भएन नि, किन ? मन्त्रिपरिषद समावेशी भएन भन्ने पनि सुनिन्छ नि ?
टेक्निकल कुरामा योग्यता, क्षमता भएकै मान्छे जानु राम्रो हुन्छ । हाम्रोमा एक से एक हुनुहुन्छ । तीन–चार पटक जितेका, जनताका माझमा खरिएका माननीयहरु हुनुहुन्छ । अघिल्लो पटक दुई पटक जितेकालाई पठाउनुभयो । योपटक पनि भूगोललाई समेटिएको छ ।
यो पटक दुई–तीन पार्टी हुँदा यस्तो हुन गएको हो । अहिले कामले देखाउनुपर्छ भन्ने हाम्रो प्रधानमन्त्री र अध्यक्षको चाहाना छ । जनतामा नैराश्य बढी देखिएकाले त्यसलाई चिर्न पनि उहाँले मिलाएर जानुभएको हो । अहिले साँच्चै भन्ने हो भने गाउँमा आशा जागेको छ । उहाँले पछि जिम्मेवारी दिँदा मिलाउनुहुन्छ । यो नै अन्तिम जिम्मेवारी हैन ।
यहाँले यसो भनिरहँदा छविलाल विश्वकर्माको नाम चर्चामा थियो, पछि हटाइएछ । मन्त्रिपरिषदमा दलितको एउटै प्रतिनिधित्व देखिएन….
छविलालजी शान्ति प्रकृयापछि पनि मन्त्री हुनुभएको हो । उहाँको योगदान अथाह छ । उहाँ नभए अरू भए पनि बन्नुपर्थ्यो । मैले सुरुमा पनि भनें, को मन्त्री भयो भन्नु भन्दा पनि को सरकारमा हुँदा त्यो समुदायप्रति न्याय गर्छ, त्यो पनि हेर्नुपर्छ । कहिलेकाहीँ कमी कमजोरी हुन्छ । भएको भए राम्रो हुन्थ्यो । नेताहरूले यसलाई अर्कोपटक पक्कै सुधार गर्नुहुन्छ ।
ठ्याकै भन्दा यहाँलाई एउटा सांसद भएको नाताले के गर्न पाए हुन्थ्यो जस्तो लागेको छ ?
जनताको काम गर्ने मन छ । पार्टी सिस्टममा भएको हुनाले मेरो बसको कुरा भएन । हामी एउटा इँटा हो । पार्टीले जहाँ फिट हुन्छ, त्यहाँ राख्ने गर्छ । मेरो रहर चाहिँ मेरा आदरणीय अध्यक्षज्यूकै नेतृत्वमा, उहाँको मन्त्रिमण्डलमा काम गरेर देखाउन पाएको भए हुन्थ्यो भन्ने छ । आफ्नो अविभावकको छत्रछायामा बसेर काम गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको हो । समय छ ।
अहिले उदाएका नयाँ दलहरुको सम्बन्धमा के भन्नुहुन्छ ?
नयाँ दल र विचार आउन् । यी लोकतन्त्र र गणतन्त्रका फूलहरू हुन् । उनीहरू आउनुपर्छ । यो ‘थ्रेट’ होइन तर उहाँहरू जसरी आउनुभयो, त्यो देशका लागि राम्रो छैन ।
किन ?
उहाँहरूले जनताको माझमा आश जगाउने भन्दा पनि केही भएन भनेर निराश जगाउनुभयो । उहाँहरू आएको पनि त एउटा उपलब्धि हो नि । हामीले कस्ता–कस्ता घटना गरेर ल्याएको लोकतन्त्र गणतन्त्रलाई हल्लाउने ? कसैको जीवन नै बरबाद भएको छ । कसैको घरबार स्वाहा भएको छ । अनि केही भएको छैन भन्ने ? कोही कोही चाहिँ उहिल्यै बनेको कुरालाई लिएर यो यसको सहर हो भन्ने ? यो शैली ठीक होइन ।
समाधानको उपाय दिने हो । यो भएन, अब यसो गरौँ भन्ने हो नि । केही कमी भयो होला । स्थानीय तहमा स्रोत बढी भयो होला । युवा देशमा बस्न खोजेन भन्छन् । युवा स्वतः गएका छन् । अब यो काम गरौँ भन्नुप¥यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल त विदेश नै जान बनाएको होला नि । समाधानको उपाय पो खोज्ने हो त । बाध्यताले पो कोही विदेश नजाओस् भन्ने हो त ।
०८४ को चुसावमा पुराना दल कांग्रेस–एमालेकै समान हैसियतमा होलान् ?
हुन त म ज्योतिषी होइन । उहाँहरू लागिरहनुभएको छ, म निरुत्साहित पार्दिनँ । राम्रो काम गरे जनताले पत्याउलान् । नेपाली जनताको असन्तुष्टिको मत उहाँहरूले पाउनुभएको छ । त्यो कारण पुराना दलका कमीकमजोरी पनि सच्चाउनुपर्छ । उहाँहरूका केही राम्रा पक्ष पनि छन् । केही केही मान्छे विदेशमा हो भने उम्मेदवार हुन नपाउने खालका पनि भएका छन् । हुर्रा कुरा गरेर देश बन्दैन । गफले देश बन्ने हो भने त कति बन्ने थियो । ठूला दलमा पनि धेरै मान्छे सधिनु पर्ला । तर सबै त गलत छैनन् । जनताले ०८४ मा विवेक गरेर दलहरू रोज्छन् । यो जनताको अधिकार पनि हो ।
अन्तिममा, एमाले र नेकपा एकीकृत समाजवादी मिल्नुपर्छ कि यस्तै ठिक छ ?
धेरै साथीहरू एकताको पक्षमा हुनुहुन्छ । एमालेमा पनि मिल्ने र एकीकृत समाजवादीमा पनि केही नेताहरू एकताको पक्षमा नै हुनुहुन्छ । तर, मूलरूपमा केही मिलेको छैन ।
अन्तिममा घर एमाले नै हो । त्यसकारण एकीकृत समाजवादीका धेरै साथीहरू हामीसँग सम्पर्कमा हुनुहुन्छ । उहाँहरू चाँडै एमालेमा मिल्नुहुन्छ । घर फर्कनु हुन्छ । नेकपा एस माओवादीमा विलय भइसक्ने थियो होला तर, एमालेमा साथीहरू फर्किन्छन् भनेर त्यो रोकियो । एमाले पनि उदार हुने र एकीकृत समाजवादी पनि एक हुने पक्षमा हुनुपर्छ ।
एमालेले पनि ठूलो हृदय बनाउनुपर्छ । बुढाबुढीमा पनि झगडा हुन्छ तर मिलाएर जानुपर्छ । म एकीकृत समाजवादीमा जाँदा तीन दिन रोएँ । आउँदा त कति खुसी भएँ भएँ नि । मेरोजस्तै हृदय सबैको होस् । आफूले बनाएको पार्टी हो । एमाले बाहेक यो देशमा कुनै ठूलो कम्युनिष्ट पार्टी हुँदैन ।
प्रतिक्रिया