तबला उपहार पाएका बालेन्द्रले किन ठोक्दैछन् ओलीलाई ? | Khabarhub Khabarhub

तबला उपहार पाएका बालेन्द्रले किन ठोक्दैछन् ओलीलाई ?

पूर्वप्रशासक भन्छन्– प्रधानमन्त्रीले मेयरसँग नजुधे हुन्थ्यो !


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 7 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आक्रामक देखिएका छन् । प्रधानमन्त्री ओली र उनको दल नेकपा एमालेमाथि बालेन्द्रले गरेको कडा टिप्पणीको चर्चा गर्नुअघि बालकोटबाट उनले उपहार पाएको तबलाको चर्चा गरौं ।

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन्द्र स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउनुअगावै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको बालकोट पुगेका थिए । काठमाडौं महानगरको मेयरमा विजयी हुने निश्चित देखिएपछि दलका नेताहरु मध्ये पहिलो पटक एमाले अध्यक्ष ओलीलाई भेट्न बालेन्द्र बालकोट गएका थिए ।

बालेन्द्रले अन्तिम निर्वाचन परिणाम आउनुअघि नै एमाले अध्यक्ष ओलीसँग भेट गरेको तस्बिर सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो ।

त्यसो त काठमाडौं महानगरको मेयरमा जितेर सपथ खाएकै दिन मेयर शाहले नेपाली सेनाका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई भेट गरे । उक्त भेटबारे अनेक टीका–टिप्पणी भए पनि अन्तिम मतपरिणाम आउनुभन्दा एक दिनअघि एमाले अध्यक्ष ओलीसँग भेट गरेको विषयले भने त्यसबेला खासै चर्चा पाएन ।

ओलीको सचिवालयका अनुसार त्योबेला बालेन्द्रसहित पाँचजनाको टोली बालकोट पुगेको थियो । ओलीले केहीबेर सामूहिक भेटघाट गरेका र त्यसपछि दुईजनाबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ०६९ असार २९ मा दोस्रोपल्ट ओली निवास बालकोट पुगेका थिए । त्यो बेलुकी घरमा आएका बालेन्द्रलाई ओलीले एउटा तबला उपहार पनि दिएका थिए । जसको तस्बिर एमालेकै नेता कर्णबहादुर थापाले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए ।

चुनाव नजित्दै भेट्न बालकोट पुगेका र दोस्रोपल्ट भेट्न जाँदा उपहार स्वरुप तबला पाएका उनै मेयर बालेन्द्र पछिल्लो समय भने प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीप्रति आक्रमक देखिएका छन् । विशेष गरी उनले एमालेलाई प्रहार गर्ने, अर्थात् ‘ठोक्ने’ नीति अवलम्वन गरेको देखिन्छ ।

चुनावअघि नै एमाले कार्यकर्तासँग तिक्तता

स्थानीय तह निर्वाचनको प्रचारका क्रममा नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन्द्र) प्रति अराजनीतिक टिप्पणी गरेका थिए ।

चुनावी प्रचारका क्रममा ०७९ वैशाख १८ स्थापितले बालेन्द्रलाई ‘फुच्चे’ र ‘अन्तर्राष्ट्रिय ठग’ को संज्ञा दिन पुगे । एमाले नेता स्थापितले स्वतन्त्र उम्मेदवार बालेन्द्रमाथि जातीय पहिचान लुकाएकोसमेत टिप्पणी गरे ।

‘एउटा फुच्चे भन्ने बालेन्द्र शाह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ । म काठमाडौंमा जन्मेको, पहाडिया ठकुरी भन्छ क्या बालेन्द्र शाह । हिजो के कुरा खुल्यो भने ऊ त यहाँको शाह नै रहेन छ, मधेसतिरको साह रहेछ,’ एमाले नेता स्थापितले भनेका थिए ।

चुनावी प्रचारका क्रममा अराजनीतिक टिप्पणी गरेपछि बालेन्द्र समर्थकहरुले अनेक प्रकारका ‘मिम’ बनाएर सामाजिक सञ्जालमा स्थापितलाई खराब पात्रका रुपमा चित्रण गर्न भएभरको बल लगाएका थिए ।
चुनावअघि खासै चर्चामा नरहेका बालेन्द्र स्थानीय तह निर्वाचनमा ६१ हजार ७६७ मतका साथ काठमाडौं महानगरको मेयरमा निर्वाचित भए ।

बालेन्द्र शाहकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले चुनावमा ३८ हजार ३४१ ल्याइन् । एमालेका उम्मेदवार स्थापित ३८ हजार ११७ मतका साथ तेस्रो भए ।

पछिल्लो तनाव

मेयर बालेन्द्रले सोमबार एमाले कार्यकर्ताहरूलाई ‘सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन’ प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । एमालेबाट प्रदेश सांसद रहेकी नेतृ रेखा शर्माले नाबालिकालाई घरेलु हिंसा गरेको विषयमा एमाले कार्यकर्ताहरुसँगको विवादले उग्ररुप लिएपछि मेयर बालेन्द्रले फेसबुकमार्फत प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएका हुन् ।

यो पनि-

ओलीप्रति थप आक्रामक बालेन, भने : कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू

त्यसअघि आइतबार बालेन्द्रले एमालेबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसद शर्माले एकजना बालिकालाई घरेलु श्रमिकका रुपमा राखेर शोषण गरेको घटनामा प्रधानमन्त्री ओलीलाई मुछेका थिए ।

सांसद शर्मालाई अदालतले मुद्दा चलाउनू भन्दा पनि सरकारले जोगाएर राखेको बालेन्द्रको टिप्पणी थियो । काठमाडौं महानगरपालिकाले २ महिनादेखि कारबाही अघि बढाउनु भन्दा पनि सरकारले प्रदेश सांसद शर्मालाई पक्राउ नगरे दाबी उनको थियो ।

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा । उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एकजना नाबालिकालाई घरेलु कामदारका नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक कुटपिट गर्दै आउनु भएको छ’, बालेन्द्रले शर्माको तस्बिरसहित फेसबुकमा लेखेका थिए, ‘काठमाडौं महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनू भन्दा पनि यो सरकारले समातेको छैन । अदालतले पनि मुद्दा चलाउनू भनिसकेको छ ।’

मेयर बालेन्द्रले प्रधानमन्त्री ओलीको सुशासनबारे पनि प्रश्न उठाएका छन् । ‘सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले पनि समात भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समात्नुलाई भन्छ’, उनले ओलीमाथि प्रहार गर्दै प्रश्न गरेका थिए, ‘सायद तपाईंका लागि सुशासनको अर्थ बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समात्ने ? कि नसमात्ने ?’

महानगर प्रमुख बालेन्द्रको आइतबारको पोस्ट मंगलबारसम्म आइपुग्दा फेसबुकबाट हटिसकेको छ । कतिपयले एमालेका कार्यकर्ता र सामाजिक सञ्जाल प्रयोगकर्ताले तीव्र आलोचना गरेपछि बालेन्द्र आफैंले स्टाटस फेसबुकबाट मेटाएको (डिलिट गरेको) बताएका छन् ।

तर, बालेन्द्रको सचिवालयले भने प्रयोगकर्ताहरुले फेसबुकलाई रिपोर्ट गरेपछि उक्त स्टाटस मेटिएको बताएको छ । ‘धेरै रिपोर्ट भएर डिलिट भयो । आफैं हटाउने भए त अरुतिर पनि हट्थ्यो होला नि । फेरि अरु स्टाटसहरु त हटेका छैनन्,’ उनको सचिवालयले खबरहबसँग भन्यो, ‘हटाइएको स्टाटस रिकभरका लागि फेसबुकको कार्यालयसँग कुरा भइरहेको छ ।’

यसै सन्दर्भमा बालेन्द्रले अर्को पोस्ट गर्दै भनेका छन्,‘पोष्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’

बालेन्द्रमाथि ओलीको आरोप सुकुम्बासीदेखि तानाशाहीसम्म !

पछिल्लोपल्ट प्रधानमन्त्रीको पदभार सम्हाल्नुपूर्व एमाले अध्यक्ष ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्रले सुकुम्बासी र गरिबलाई देखिनसहेको आरोप लगाएका थिए । गत वैशाख २० मा पार्टीनिकटको भूमि अधिकार तथा श्रमिक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुकुम्बासीमाथि ज्यादती नगर्न बालेन्द्रलाई चेतावनी नै दिएका थिए ।

‘सुकुम्बासीका प्लास्टिकका हालेका छाप्रा छन्, भत्काउन डोजर जान्छ । प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ? कर्कलो फाँड्न बञ्चरो बोक्ने ? सुकुम्बासी समस्या समाधान गर्नुपर्छ, डोजर देखाउने होइन,’ ओलीको अभिव्यक्ति थियो, ‘डोजर गरिबले नै चलाउने हुन्, धनीले पुँजीपतिले चलाएको थाहा छैन । गरिबका छोराले डोजर चलाउँछन् । तिनलाई आफ्नैविरुद्ध डोजर चलाउन नलगाउनुस् । गरिबकै विरुद्ध, गरिव बस्तीकैविरुद्ध, गरिबका छोराछोरीलाई डोजरका टाउकामा बसेर भत्काउने काम नलगाउनुस् ।’

यो पनि-

मेयर बालेनबारे ओलीको टिप्पणी : सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे

पूर्वाधार मन्त्री महासेठलाई बालेनले पठाए एक ट्रक धुलो ‘उपहार’

प्रधानमन्त्री ओलीले महानगरपालिकाका मेयर बालेन्द्रले तानाशाही प्रवृत्ति देखाएको पनि टिप्पणी गरेका थिए । गत जेठ १९ मा पार्टीनिकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले बालेन्द्र र काठमाडौं महानगरपालिकाको नाम उल्लेख नगरेरै घर अगाडि फोहोर फाल्ने प्रवृत्ति तानाशाही भएको बताएका थिए ।

‘मलाई छिमेकीसँग अलिकति चित्त बुझेन रिस उठ्यो भने घरको फोहोर–सोहोर जम्मा गरेर उसका ढोकामा फ्याँकिदिने ?,’ तत्कालीन समयमा पार्टी अध्यक्षका हैसियतमा बोल्दै ओलीले भनेका थिए, ‘यो कुनै सभ्यता हो ?’

जेठ १२ गते महानगरपालिकाले सडक विभाग र काठमाडौं डिभिजन सडक कार्यालयको गेट अगाडि फोहोर थुपारिदिएको थियो । ओलीले यसै विषयमा रोष प्रकट गरेका हुन् ।

गिरीबन्धुको चर्चा

गत जेठ २१ मा एमाले अध्यक्ष ओलीले गिरिबन्धु टि–स्टेट प्रकरणबारे ‘महानगरपालिकाका मेयर बालेन्द्रलाई सोध्न’ भनेका थिए । संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले गिरिबन्धुबारे गरेको प्रश्नको जवाफमा उनले भनेका थिए, ‘बालेन्द्रलाई सोध्नुस् ।’

त्यसअघि जेठ ७ गते बालेन्द्रले शाहले गिरिबन्धु जसरी सट्टाभर्ना लिन खोजेका १०१ कम्पनीको नाम सार्वजनिक गरेका थिए । उनले फेसबुकमार्फत सार्वजनिक गरेका कम्पनीको पहिलो नम्बरमा ‘केपी ओली ट्रस्ट’ को नाम थियो ।

गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भनेपछि अरू कम्पनीले गिरिबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै निवेदन हालेको बालेन्द्रको दाबी थियो । ‘यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तिमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आकलन गरिएको छ,’ शाहले लेखेका थिए ।

महानगर प्रमुख बालेन्द्रले गत असार १७ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणका लागि भएको सहमतिबारे कडा व्यंग्यात्मक टिप्पणी गरे । उनले फेसबुकमा असार १८ गते कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले चिया पिउँदै गरेको फोटो राख्दै लेखेका थिए, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले ।’

यो पनि-

कांग्रेस–एमाले सहमतिप्रति बालेनको टिप्पणी, भन्छन्– ‘काले काले मिलेर खाऊँ भाले’

ओलीमाथि आक्रामक किन ?

निर्वाचन नजित्दै ओली निवास बालुवाटार पुगेर महानगरको विकास लगायतका विषयमा सुझाव मागेका बालेन्द्र पछिल्लो समय किन प्रधानमन्त्री ओलीप्रति आक्रामक हुँदै गए ? यस विषयमा राखिएको जिज्ञासामा उनको सचिवालय बोल्न मानेको छैन ।

यद्यपि, बालेन्द्र आक्रामक हुनुको कारण जान्न गिरिबन्धुको जग्गाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलासम्म पुग्नुपर्ने हुन्छ ।

सर्वोच्चले फैसला गरेपछि बालेन्द्रले गत वैशाख ३० मा महानगरका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याललाई धन्यवाद दिँदै स्टाटस लेखेपछि ओलीसँगको सम्बन्ध चिसिन सुरु भएको हो ।

‘झापास्थित गिरीबन्धुको झण्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन ओली नेतृत्वको सरकारको निर्णयलाई ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ,’ बालेन्द्रले अर्यालको तस्बिरसहित फेसबुकमा लेखेका थिए ।

बालेन्द्रको सचिवालय स्रोतले यहीँबाट एमाले अध्यक्ष ओलीसँगको सम्बन्धमा दरार आउन सुरु भएको विश्लेषण गरेको छ । पछिल्लो समय प्रदेशसभा सदस्य रेखा शर्माले एक बालिकाको श्रम शोषण गरेको घटनासम्म पुग्दा सम्बन्ध छरपस्ट भएको उसको भनाइ छ ।

‘मेयर सा’बले दलका अन्य शीर्षनेताभन्दा बढी भेटेकोमा प्रधानमन्त्री ओली पर्नुहुन्छ । गिरिबन्धुको फैसलापछि आफ्ना कानुनी सल्लाहकारले लडेको कानुनी लडाईं जितेको खुशीमा उहाँले स्टाटस लेख्नुभयो,’ सचिवालय स्रोतले भन्यो, ‘त्यसपछि एमालेका मान्छेहरुबाट प्रेसर आउनु सुरु भएको हो । त्यसपछिका घटनाक्रमले सम्बन्ध थप चिसिँदै गयो । न्युरोडको बाटो, सुकुम्बासी, नदी किनारको जमिनबारे अदालतको आदेश आदि–आदिमा देखिएकै छ ।’

दम्भ र आडम्बरले समस्या उत्पन्न : पूर्वप्रशासक न्यौपाने

लामो समयसम्म महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका पूर्वप्रशासक केदार न्यौपाने प्रधानमन्त्री ओली र मेयर शाह दुवैमा रहेको दम्भ र आडम्बरले समस्या उत्पन्न भएको बताउँछन् ।

‘यो समस्या नै दम्भ र आडम्बरको हो । एउटाले अर्कोलाई नगन्ने, एउटाले अर्काको अस्तित्व स्वीकार नगर्ने व्यवहार भइराखेको छ,’ न्यौपानेले खबरहबसँग भने, ‘त्यसैले समस्या सिर्जना भइराखेको हो ।

संघीयताका सद्धान्तिक कुराहरुमा यो व्यवहार कतै पनि मेल खाइराखेको देखिँदैन । दुबैले दम्भ, आडम्बर छोड्नुपर्छ ।’

पूर्वप्रशासक केदार न्यौपाने भन्छन्- प्रधानमन्त्री ठूलो पद हो । प्रधानमन्त्रीले मेयरसँग नजुधे हुन्थ्यो । प्रधानमन्त्रीले आफ्नै लेभलसँग हो जुध्ने । मेयर साह्रै सानो मान्छे हो पदको हिसाबले   

नेपाल सरकारका सेवानिवृत्त सचिव रहेका न्यौपाने दुईजनाबीचको किचलोमा प्रधानमन्त्री ओलीमा देखिएको स्वतन्त्र चुनाव जितेको बालेन्द्रलाई बेलैमा ठेगान नलगाए दलहरुलाई अप्ठ्यारो पर्न सक्ने मनोविज्ञानलाई कारण मान्छन् ।

‘पार्टीको हालीमुहाली भएको देशमा मेयरले क्रस गर्ने देखियो । मेयर यसरी नै अघि बढ्दै जाँदा पार्टीहरु काम लाग्दैनन्, त्यसैले ठेगान लगाउन पाए पार्टीका कुराहरु अगाडि बढ्थे कि भन्ने मनोविज्ञान प्रधानमन्त्रीमा देखिन्छ,’ न्यौपाने भन्छन्, ‘त्यसैले सबैतिरबाट आक्रमण मेयरमाथि भइरहेको हो ।’

पूर्वप्रशासक न्यौपाने प्रधानमन्त्री ओलीलाई महानगर प्रमुख बालेन्द्रसँग जुध्न पदीय हैसियतले नदिने पनि तर्क गर्छन् । ‘हुनुपर्ने इस्यु केही छैन । बिना इस्युमा दौडिएका छन् । प्रधानमन्त्री भनेको ठूलो पद हो,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीले मेयरसँग नजुधे हुन्थ्यो । प्रधानमन्त्रीले आफ्नै लेभलसँग हो जुध्ने । मेयर भनेको साह्रै सानो मान्छे हो पदको हिसाबले । जुधाइ कस्तो–कस्तो देखिन्छ ।’

प्रधानमन्त्री ओली र महानगर प्रमुख बालेन्द्रबीचको ‘वाकयुद्ध’ संघीयताको मर्मविपरीत देखिएको न्यौपानेको भनाइ छ । ‘हाम्रो संघीयता भनेको सहकारितामूलक संघीयता हो । सहकारी भनेको सबैले सबैलाई समन्वय, सहयोग गर्ने खालको संघीयता हो,’ उनको भनाइ छ, ‘तर, यहाँ त्यस्तो नदेखिएर राज्य नै फरक–फरक हो भन्ने देखियो । एउटालाई अर्कोले नटेर्ने, सहयोग नगर्ने, समन्वय नगरिरहेको कुरा आइराखेको छ ।’

कसैलाई टेर्दैनन् बालेन्द्र

त्यसो त बालेन्द्र शाहले प्रधानमन्त्री ओलीलाई मात्र होइन, यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुलाई टेर्ने गरेका थिएनन् ।

प्रचण्ड प्रधानमन्त्री रहेका बेला ललितपुर महानगरमा आयोजित एक कार्यक्रममा बोलेन्द्रले प्रधानमन्त्रीबाट चाहने हो भने बागमतीको सुकुम्बासी समस्या र तीनकुने (कोटेश्वर) को जग्गा प्रकरण पाँच मिनेटमा समाधान हुने बताएका थिए ।

आफूले बोलेर प्रधानमन्त्रीको कुरा नसुनी हिँडेपछि प्रचण्डले असन्तुष्टि पोख्दै अरुको कुरा सुन्ने धैर्यता हुनुपर्ने बताएका थिए ।

त्यसैगरी उनले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि चुनौती दिएका थिए । उनले सिंहदरबारका आगो लगाउनेदेखि लिएर सिंहदरबारको फोहोर नउठाउने चेतावनीसमेत दिएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ६ : ५७ बजे

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

झापा – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका