मनास्लु हिमाल आरोहणमा आकर्षण « Khabarhub

मनास्लु हिमाल आरोहणमा आकर्षण


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनास्लु (८१६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ मनास्लु आरोहणका लागि विगत वर्षझैँ मनास्लु आरोहणमा यस वर्षको शरदऋतु (अटम सिजन)को हिमाल आरोहणमा पनि आरोहीको आकर्षण देखिएको हो ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएकामा अधिकांशले आरोहण गरेका छन् ।

यसमा ८२ महिला र दुई सय २६ पुरुष छन् । ‘मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ‘, उनले भने, ‘मनास्लु आरोहण करिब सकिन लागेको छ, अनुमति लिएका अधिकांशले सफल आरोहण गरेका छन्, अब एकदुई दिनमा मनास्लु आरोहण सकिन्छ ।’

दुई साताअघि यहाँ आरोहण सुरु भएको थियो । विभागका अनुसार अघिल्लो वर्षको यही सिजनको मनास्लु आरोहणमा २६ आरोही समूहका तीन सय एक जनाले आरोहण अनुमति लिएका थिए । हाल अमादब्लम र हिम्लुङको आरोहण पनि चलिरहेको छ ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाले मुलुकमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका घटनाका बाबजुद पर्वतारोहण उत्साहजनक रहेको विभागले उल्लेख गरेको छ । पर्वतारोहणमा त्यति धेरै क्षति नपुगे पनि पदयात्रामा भने केही समस्या भएको विभागले जनाएको छ ।

यस सिजनमा मनास्लुसहित ३४ हिमाल तथा ‘पिक’ आरोहणका लागि ६१ आरोही समूहका एक सय १३ महिला र तीन सय ७९ पुरुष गरी पाँच सय १० आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

विभिन्न हिमाल आरोहणका लागि नेपालसहित ५८ देशका आरोहीले अनुमति लिएका छन् । यो सिजनमा हिमाल आरोहणबापत चार करोड ९७ लाख ३३ हजार ५८ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । अमादब्लम आरोहणका लागि दुई आरोही समूहका १८, धवलागिरिमा एक आरोही समूहका १४, मकालुमा एक आरोही समूहका दुई आरोहीले अनुमति लिएका छन् ।

शरद् ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेताकिचिरो कातोले मनास्लु आरोहण गरेको तथ्याङ्क छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेजरिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए ।

सेभेन समिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङफुर्वा शेर्पाले आफ्नो कम्पनीबाट ८० भन्दा धेरै आरोही मनास्लु आरोहणमा गएको जानकारी दिए । अब करिब १० प्रतिशत मात्र आरोहीले मनास्लु आरोहण गर्न बाँकी रहेको उनको भनाइ छ ।

लामो आरोहण इतिहास रहेको गोरखामा अवस्थित मनास्लु हिमालको २०७३ सालमा ६० वर्षे हीरक महोत्सव मनाइएको थियो । यस हिमाललाई कुताङ र हृदयको हिमाल पनि भन्ने गरिन्छ । मानसिरी पर्वतशृङ्खलामा रहेको यो संसारको आठौँ अग्लो हिमाल हो ।

विसं २०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनास्लु आरोहण गरेपछि विश्वभर यस हिमालको चर्चा भएको थियो । उक्त आरोहणले नेपालको पर्वतारोहणलाई विश्वबजारमा थप प्रवर्द्धन गर्न सघाउ पुगेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ९ : १७ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको