समाचार

ठूलो परिमाणमा ट्रामाडोल बरामद, दुईजना पक्राउ

By खबरहब

October 03, 2024

सुनसरी– धरानस्थित इलाका प्रहरी कार्यालयबाट खटेका प्रहरी टोलीले धरान–९८ तीनकुने प्रवेशद्धारको सिरिजंगा चौकमा इटहरीबाट आँउदै गरेको यात्रुवाहक बस चेकजाँच गर्दा  ठुलो परिमाणमा ट्रामाडोल औषधीसहित दुईजना पक्राउ गरेको छ ।

प्रहरीद्वारा बरामद औषधी ट्रमाडोलको कुल परिमाण ४ हजार ७ सय ५० क्याप्सुल रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीले उक्त औषधीसहित धरान–५ देउराली बस्ने २२ वर्षीय युवराज लिम्बु र १८ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिएको छ ।

 ट्रामाडोल औषधी प्रतिबन्धित लागूऔषधको वर्गमा पर्दैन । अति गम्भीर दुखाईको पीडा सहन नसक्नेलाई मात्र चिकित्सकले यो औषधी पेस्क्राइव गर्ने गर्छ । तर लागूऔषध ओसार पसार गर्ने गिरोह र प्रयोगकर्ताहरूले ट्रामाडोल औषधी मिलाएर खाने गरेका छन् ।  

झापाको काँकडभिट्टाबाट इटहरी हुँदै धरान आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१९५ नम्बरको बसको सिट मुनी लुकाएर ल्याएको अवस्थामा ट्रामाडोल औषधी बरामद गरिएको प्रहरीले जनाएको छ  । 

यसैगरी प्रहरीले बर्जु गाउँपालिका–५ बाट २५ किलोग्राम गाँजा सहित देवानगन्ज गाउँपालिका–१ बस्ने १८ वर्षीय ललन मेहतालाई पक्राउ गरेको छ  । बिहिबार नै प्रहरीले दुहबी नगरपालिका–७ बाट १७ किलोग्राम गाँजा सहित को २८प ५८३५ नम्बरको मोटरसाइकल बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।