पर्वतमा खानेपानी विस्तारका लागि १०९ योजना « Khabarhub

पर्वतमा खानेपानी विस्तारका लागि १०९ योजना


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतमा चालु आर्थिक वर्षमा एक सय नौ वटा योजना सञ्चालन हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सङ्घीय र गण्डकी प्रदेश सरकारका गरी एक सय नौ योजना सञ्चालन हुने भएका हुन् ।

सङ्घीय सरकारअन्तर्गत ३४ र गण्डकी प्रदेशअन्तर्गत ७५ वटा योजनामा बजेट विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

गण्डकी प्रदेशअन्तर्गत कुश्मा नगरपालिकामा २६, फलेबास नगरपालिकामा १९, जलजला गाउँपालिकामा १०, पैँयु गाउँपालिकामा नौ, मोदी गाउँपालिकामा चार, महाशिला गाउँपालिकामा चार र विहादी गाउँपालिकामा तीन वटा योजनामा बजेट विनियोजन भएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिए ।

उनका अनुसार सङ्घीय सरकारअन्तर्गत फलेबास नगरपालिकामा पाँच, कुश्मामा दुई, माशिलामा तीन, मोदीमा दुई, जलजला र पैँयुमा तीन वटा योजना रहेका छन् । यसबाहेक सङ्घीय शसर्त अनुदानबाट १६ योजना सञ्चालन हुने उनको भनाइ छ ।

चालु आर्थिक वर्ष विसं २०८१–८२ मा ७५ योजनाका लागि गण्डकी प्रदेश सरकारबाट ११ करोड ४० लाख र १८ योजनाका लागि सङ्घीय सरकारबाट एक करोड ५९ लाख बजेट विनियोजन भएको छ ।

यसैगरी सङ्घीय शसर्त अनुदानअन्तर्गत १६ योजना पुनःस्थापना गर्न ९८ लाख बजेट विनियोजन भएको छ । योसहित चालु आर्थिक वर्षमा १३ करोड ९७ लाख बजेट प्राप्त भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

कार्यालयका अनुसार योजनाको लागतअनुसार बजेट विनियोजन नहुँदा यस वर्ष अधिकांश योजना पूर्ण रूपमा सम्पन्न नहुने भएका छन् । बजेट अद्यावधिक गरी केही थप भएमा निर्माणाधीन अवस्थामा रहेका १२ योजना चालु आवमा सम्पन्न हुने कार्यालय प्रमुख पौडेलले बताए ।

गत आर्थिक वर्षभन्दा ६ करोड बजेट घटेर आएकाले पनि सबै योजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने कार्यालय प्रमुख पौडेलको भनाइ छ ।

प्रत्येक योजनामा न्यूनतम पाँचदेखि बढीमा ६४ लाख रुपैयाँसम्म बजेट विनियोजन भएको छ । जिल्लाका सबै परिवारमा खानेपानीको पहुँच पुर्‍याउने सरकारको योजनाअनुसार चालु आवमा बजेट विनियोजन भएका सबै योजना कार्यान्वयनमा गइसकेको कार्यालयले जानकारी दिएको छ ।

पर्वतमा अन्य संस्थागतबाहेक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत हालसम्म १६ हजारभन्दा बढी परिवारमा ‘एक घर, एक धारा’ विस्तार गरिएको छ । चालु आवमा सञ्चालित योजनाहरूले पूर्णता पाएमा दुई हजारभन्दा बढी घरमा‘‘एक घर एक धारा’ विस्तार गर्न सकिने कार्यालयले जनाएको छ ।

जिल्लाको सदरमुकाम कुश्माबजार, फलेबास, वारीबेनी, पातीचौर, डिमुवा, कार्किनेटा, हुवास, त्रिवेणीलगायत बजार क्षेत्रमा व्यवस्थित रूपमा खानेपानीको वितरण भए पनि केही ग्रामीण बस्ती भने असुरक्षित पानी उपभोग गर्न बाध्य छन् । एकीकृत रूपमा योजना सङ्कलन नगरी माथिल्लो निकायबाट बजेट विनियोजन हुँदा कार्यान्वयमा समस्या पर्ने गरेको प्रमुख पौडेलले बताए ।

 

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ९ : १० बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका