प्रधानमन्त्री ओलीसँग चिनियाँ राष्ट्रपति सीले के भने ? | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीसँग चिनियाँ राष्ट्रपति सीले के भने ?

९ अर्ब बराबरको अनुदान, ९ विषयमा समझदारी


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् ।

बेइजिङमा रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले मंगलबार साँझ बेइजिङमा उक्त कुराको पुष्टि गरेका हुन् । यद्यपि यो सहयोग राशिबारेमा अहिलेसम्म चीनले औपचारिक रुपमा बोलिसकेको छैन। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको वक्त्वयमा पनि उक्त कुरा उल्लेख छैन ।

बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा ओलीसँगको संवादका क्रममा चिनियाँ राष्ट्रपति सीले केही महत्त्वपूर्ण कुरा राखेका छन् ।

राष्ट्रपति सीले ओलीका कुरा सुनिसकेपछि आफ्ना भनाइ राखेका थिए । उनले चीन–नेपाल मित्रताप्रति ओलीको दीर्घकालीन र दृढ प्रतिबद्धताको प्रशंसा गरेका चिनियाँ विदेशमन्त्रालयद्वारा प्रकाशित वक्तव्यमा उल्लेख छ ।

उनले ओलीसँगको वार्ताका क्रममा चीन र नेपाल असल छिमेकी तथा हिमाल र नदीले जोडिएका असल साझेदार भएको पनि बताएका थिए ।

सीले ओलीसँगको संवादमा इमानदारीपूर्वक एकअर्कालाई सम्मान र समर्थन गर्दै आएका कारण द्विपक्षीय सम्बन्ध स्वस्थ र स्थिर रुपमा अघि बढेको पनि उल्लेख गरेका थिए ।

ओलीसँगको वार्ताका क्रममा उनले आगामी वर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको पनि चर्चा गरे । त्यसक्रममा सीले चीनले आफ्नो वैश्विक कूटनीतिमा चीन-नेपाल सम्बन्धलाई महत्त्वपूर्ण स्थानमा राखेको पनि विश्वास ओलीलाई दिए । नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने, परम्परागत मित्रतालाई सुदृढ गर्ने, विकास र समृद्धिका लागि चिरस्थायी मित्रताको पक्षमा चीन रहेको पनि सीले बताए । उनले चीन-नेपाल रणनीतिक सहयोगात्मक साझेदारीलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई कायम राख्न इच्छुक इच्छुक रहेको बताउँदै विकासको ठूलो उपलब्धि हासिल गर्नु जरूरी रहेको पनि उल्लेख गरे ।

राष्ट्रपति सीले नेपालको राष्ट्रिय परिस्थिति अनुकूल विकासको पथ छनोटलाई चीनले सम्मान गर्ने, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न नेपाललाई साथ दिने र नेपालसँगको रणनीतिक पारस्परिक विश्वासलाई निरन्तर सुदृढ गर्ने वाचा पनि गरेका छन् ।

उनले एकअर्कासँग सम्बन्धित मुद्दाहरूका सवालमा दुवै पक्षको मुख्य हितसहित दृढतापूर्वक साथ दिन चीन तयार रहेको कुरामा पनि जोड दिएका छन् ।

चीन–नेपाल ट्रान्स हिमालय बहु्आयामिक अन्तरसम्बन्ध सञ्जालको निर्माण विस्तारै वास्तविकतामा परिणत हुँदै गएको पनि सीले बताए । चीनले नेपालसँगको सहयोगलाई निरन्तरता दिन, उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’ संयुक्त रूपमा निर्माण गर्न, बन्दरगाह, यातायात, प्रसारण लाइन, सञ्चार र अन्य क्षेत्रमा सम्पर्क र सहयोग सुदृढ गर्न तयार रहेको पनि सीले उल्लेख गरे । ‘भूपरिवेष्ठित देश नेपाललाई भू-जडित देशमा परिणत गर्दै नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग पुर्‍याउन चीन तयार छ । चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी गर्दै व्यवसायका लागि प्रोत्साहित गर्न हामी आफ्नो क्षमताअनुसार काम गरिरहने छौँ’, उनले भने ।

सन् २०२५ लाई ‘नेपाल पर्यटन वर्ष’ घोषणा गर्ने कुरामा चीनले समर्थन गर्ने उनले बताए । ‘व्यापार, पर्यटन र विदेश अध्ययनका लागि चीन आउने नेपालीहरूलाई हामी स्वागत गर्दछौँ । विकासशील देशहरूको साझा हितको रक्षा गर्न संयुक्त राष्ट्र संघ र अन्य बहुपक्षीय मञ्चहरूमा नेपालसँग समन्वय र सहयोगलाई सुदृढ गर्न चीन इच्छुक छ’, सीको भनाइ थियो ।

ओलीले यसो भने

राष्ट्रपति सी चिनफिङको बुद्धिमत्तापूर्ण नेतृत्वमा चीनले अतुलनीय विकासका उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीले बताए । चीनको सहयोगले नेपालले धेरै प्रगति गरेको पनि उनले बताए । चीनको मित्रका रूपमा नेपाललले गहिरो गौरव र प्रेरणा पाएको बताउँदै ओलीले यसबाट सिक्ने आशा राखेको बताए । चीनको विकास, समृद्धि र सफलताको अनुभव नेपाललाई काम लाग्ने उनको भनाइ थियो । नेपाल र चीनबीच केवल मित्रता मात्रै रहेको तर कुनै समस्या नरहेको ओलीको भनाइ थियो ।

दुई देशबीचको सम्बन्ध मित्रता, समानता र सम्मानमा आधारित रहेको उनको भनाइ थियो । नेपाललाई विभिन्न ठूला सहयोग उपलब्ध गराउँदै ‘भूपरिवेष्ठित देश’ बाट ‘भूजडित देश’ मा परिणत गर्न सहयोग गरेकोमा चीनलाई ओलीले धन्यवाद दिए । नेपाल ’बेल्ट एण्ड रोड’ परियोजनालाई अघि बढाउने कुरामा सक्रिय रूपमा भाग लिन इच्छुक रहेको ओलीले बताए ।

‘नेपालमा लगानी गर्न थप चिनियाँ कम्पनीहरूलाई स्वागत गर्दछ । विभिन्न क्षेत्रमा हामीबीच व्यावहारिक र गहिरो सहयोग छ। तिब्बत र ताइवान दुवै चीनको भूभागका अविभाज्य भाग हुन् । नेपालमा एक चीन नीतिमा अडिग छ, कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिमा संलग्न हुन, चीनको हितलाई हानी पुर्‍याउन र चीनको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको हामी विरोध गर्छौँ । चीनले प्रस्ताव गरेको विश्वव्यापी विकास पहल जस्ता महत्वपूर्ण मुद्दाहरूले वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थिति र विश्वव्यापी चुनौतीहरूको सामना गर्न सघाएको छ। चीनको यो पहलमा सम्पूर्ण मानवजातिको संयुक्त साथको जरुरी छ’, ओलीले भने ।

यी हुन् समझदारीका ९  विषय-

१- टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदान-प्रदान
२- नेपाल चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र
३- नौतले वसन्तपुर दरबार पुनः निर्माण सम्पन्न प्रमाण पत्रको आदान प्रदान

४- थर्मल्ली प्रोसेस्ड बफेल्लो मिट निर्यातसम्बन्धी प्रोटोकल
५- विकास योजनासम्बन्धी समझदारीपत्र
६- आर्थिक तथा प्रविधिक सहयोगसम्बन्धी समझदारी पत्र
७- नगर सहयोगसम्बन्धी पत्र आदान प्रदान
८- स्वयंसेवी चिनियाँ भाषा शिक्षासम्बन्धी समझदारी पत्र

९- नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्र

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : १९ बजे

नौ किलोमिटर सडक कालोपत्र

तनहुँ– व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर

दुईवटा व्यापारिक फर्ममाथि कारबाही

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा व्यापारिक

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

चितवन– भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ

म्याग्दीका नौ सय घरमा ‘एक घर, एक धारा’

म्याग्दी– म्याग्दीका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’सहितको

सम्बन्ध सुधार्ने प्रयासमा भारत र चीन

काठमाडौं– नेपालका दुई छिमेकी तथा परम्परागत प्रतिस्पर्धी मुलुकहरु भारत र