धरान : तिर्खाएको काकाकुल ! | Khabarhub Khabarhub

धरान : तिर्खाएको काकाकुल !

३५ वर्षदेखि समाधान हुन सकेन खानेपानी समस्या



सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले फोन गरेर ‘लागेको पैसा दिन्छु अहिले खानेपानी ल्याउदिनु’ भन्नुभयो भने जवाफ पाउनुहुनेछ, ‘आजको आजै त सम्भव छैन, भोलि या पर्सि ल्याइदिन्छु, बरु ठेगाना दिनुस् ।’

खानेपानीको सवालमा यो धरानको पुरानै नियति हो । यतिबेला धरान यति धेरै तिर्खाएको छ कि गत स्थानीय तहको चुनावका बेला खानेपानीको समस्या समाधान गर्ने एकसुत्रीय एजेण्डा राखेर मेयर भएका हर्कराज राई साम्पाङको मनसुवाले पनि धरानबासीको तिर्खा मेट्न सकिरहेको छैन ।

करिव ३२ हजार घरसंख्या भएको धरानमा यतिबेला ९६ वटा ठूला साना गाडीका चालकहरु खानेपानीको ट्यांकी बोकेर घरघर धाउन व्यस्त छन् । खबरहवले घण्टाघर परिसरमा एक घण्टासम्म अवलोकन गर्दा खानेपानीका ठूला ड्रम बोकेर उपभोक्ताको घर गइरहेका र उपभोक्ताको ट्याङ्कीमा पानी सारेर तरहरा र हलगडा फर्किरहेका आधा दर्जन गाडीहरु देखिएका थिए ।

चाम्लिङ खानेपानी ढुवानी सेवाका चालक शंकर राईको ट्याङकरले एकै पटक नौहजार लिटर पानी बोक्छ । उनी भन्छन्, ‘दैनिक ६ देखि ८ घरमा पानी पुर्‍याउनुपर्छ । तपाईले अहिले भन्नासाथ पालो आउँदैन । कम्तिमा एकदिन त पर्खिनै पर्छ । हामीले पनि धरान बाहिरबाट पानी ल्याउनुपर्छ ।’

खानेपानीको चरम अभावका वीच समस्या समाधानका लागि मेयर साम्पाङ आफैं नलागेका भने होइनन् । साना–साना खोलाखोल्सीकोे पानी संकलन गरेर पाइपमार्फत ल्याउने काम नगरिएको पनि होइन । ४० किलोमिटर टाढाको कोकाहा खोलाको पानी पनि नल्याइएको होइन । तर, कतिपय साना खोलाखोल्सी हिउँदमा सुकेका छन् भने कोकाहाको पाइपमा आगलागी भएर क्षति पुगेको छ । अरु खोलाखोल्सी सुके पनि कोकाहाको पानीले करिव ५ हजार जनसंख्यालाई पुग्न सक्ने थियो ।

धरान खानेपानी व्यवस्थापन बोर्डले धरानको करिव २ लाख जनसंख्यालाई खानेपानी वितरण गर्नुपर्ने बाध्यता छ । तर, उक्त बोर्डले पानी संकलन गर्ने गरेको सर्दु जलाधार सुख्खा याममा सुकेको छ । चारकोशे जंगलको भूमिगत पानी पनि अपर्याप्त भएको छ ।

खानेपानी अभाव भएपछि स्थानीय उपभोक्ता खानेपानी ढुवानी व्यावसायी गर्ने ट्याङ्करको शरणमा परेका छन् । तर, तिनले पनि भनेको बेला पानी आपूर्ति गर्न सकेका छैनन् ।

खानेपानीको चरम अभाव भएको टोलमा बोर्डले ट्याङ्करबाट पानी आपूर्ति गर्दै आएको छ । तर, बोर्डले पानी अभाव भएका सबै टोलमा एकसाथ पानी आपूति गर्न नसकेपछि यतिबेला धरानमा निजी स्तरमा सञ्चालित ढुवानी सेवाका ९६ वटा ठूला साना ट्रक चालकलाई भ्याई नभ्याई भएको छ ।

उपभोक्ताहरुले प्रतिलिटर ७५ पैसा लिटरका दरले खानेपानी किनिरहेका छन् । साना पिकअपमा राखिएका ट्यांकीमा २ हजार देखि ४ हजार लिटर पानी बोक्नेहरुले भने करिव एक रुपैयाँ लिटरमा विक्री गर्ने गरेका छन् ।

धरानका उपभोक्ताहरुले ट्याङकरबाट दैनिक करिव १५ लाख रुपैयाँको खानेपानी किनेर काम चलाइरहेका छन् । खानेपानी ढुवानी गर्ने ट्याङ्कर व्यावसायीले इटहरीको हलगडा र तरहरामा रहेको डिप ट्युवेलबाट पानी भरेर ल्याउने गरेका छन् । डिप ट्युवेल व्यावसायीले न्यूनतम मूल्यमा खानेपानी ढुवानी व्यावसायीलाई बिक्री गर्ने गरेको बताउँछन् ।

खानेपानी समस्या : धरानको क्रोनिक रोग

प्रत्येक सुख्खायाममा खानेपानीको अभावमा धरानबासी काकाकुल बन्नु चारदशकदेखिको नियति नै हो । खानेपानीको अभावमा बर्षको ६ महिना छटपटिन बाध्य हुने पुरानो रोग अहिले ‘क्रोनिक’ बनेको छ ।
चारदशकयता भएका चुनावमा प्रत्येक राजनीतिक दल र तिनका उम्मेदवारले खानेपानीको समस्या समाधान गर्ने चुनावी एजेण्डा नबनाएका होइनन् । तर, स्थायी समाधान गर्न कसैले सकेनन् ।

पछिल्लो समयमा स्वतन्त्र उम्मेदवारका रुपमा उदाएका हर्कराज राई साम्पाङ पनि गएको स्थानीय तहको चुनावमा खानेपानी समस्या समाधान गर्ने एकसुत्रीय एजेण्डा बनाएर धरान उमपहानगरपालिकाको मेयर भए । तर, उनको प्रयास पनि सफल हुन सकेको छैन । उपभोक्ताहरु खानेपानी नपाएर धरान खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा दैनिक डेलिगेसन जाने र पानी माग्ने गरेका छन् ।

साविक धरानका २२ हजार घरमध्ये १२ हजारवटा धाराबाट नेपाल खानेपानी संस्थानको धरान शाखाले पानी वितरण गर्दै आएको थियो । तर, संस्थानले पनि हिउँदयाममा सवै धारामा पर्याप्त पानी वितरण गर्न असफल भयो ।

सन् २०१२ मे ८ मा नेपाल सरकारको एकीकृत शहरी विकास आयोजना अन्तर्गत धरान खानेपानी व्यबस्थापनकालागि धरान खानेपानी (पुनस्र्थापना, विस्तार र विकास) उप आयोजना सम्झौता भयो । अहिले धरान खानेपानी आयोजना सुरु भएको १२ बर्ष पुगेको छ भने धाराको संख्या २८ हजार ८ सय भन्दा बढी भएको छ ।

खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंक (एडीबी) ले दिएको रकममध्ये ३५ प्रतिशत ऋण र २६ प्रतिशत अनुदान हो भने नेपाल सरकारको २४ प्रतिशत अनुदान र उपमहानगरपालिकाको १५ प्रतिशत लगानीसहित २ करोड २० लाख अमेरिकी डलर (करिब २ अर्ब ९३ करोड रुपैयाँं) लागत रहेको छ ।

आयोजनाको पूर्वाधार तयार गर्न तियान्जिन तुंदी जेभिले ठेक्का पाएको र बिल्डिङ डिजाइन अथोरिटी (बीडीए)ले डीपीआर तयार गरेर भुमिगत पानी उत्पादन गर्न चारकोशे जंगलमा ७ ठाउँमा डिप ट्युवेल गाडिएको छ । संस्थानको पुरानो डिप ट्युवेल ४ वटा गरेर ११ वटा डिप ट्युवेल भए पनि धरानबासी अझै खानेपानीको हाहाकारबाट मुक्त हुन सकेका छैनन् ।

संस्थानले सुक्खायाममा चारकोशे जंगलमा जडान गरेको चारवटा डिप ट्युवेल मार्फत भूमिगत पानी पम्प गरेर वितरण गर्ने गरेको थियो भने बर्षायाममा सर्दु–खर्दु जलाधारको पानी संकलन गरेर वितरण गर्थ्यो ।
संस्थानले सम्पती र दायित्व हस्तान्तरण गरेर छाडेपछि हाल धरान खानेपानी व्यवस्थापन बोर्ड मार्फत पानी वितरण हुँदै आएको छ । बोर्डका अध्यक्ष धरान उपमहानगरका मेयर साम्पाङ नै छन् । बोर्डमा प्राविधिक र इन्जिनियरहरु त छन् तर खानेपानी वितरण प्रणाली बुझ्ने र अनुभवी हाइड्रो इन्जिनियर एकजना पनि छैनन् ।

धरानमा दैनिक कति लिटर पानीको माग छ ? यो प्रश्नको उत्तर कसैले दिन सकेको छैन । अनुमानित रुपमा दैनिक ३ करोड लिटर पानीको माग भएको बताइने गरिएको छ ।

धरानमा खानेपानीको इतिहास

धरान–१४ विजयपुरको मण्डपचोकस्थित याक्थुङडाडाका बासिन्दा सहप्राध्यापक डा राजेन्द्र शर्मा भन्छन्, ‘प्राकृतिक रुपमा सुन्दर र पर्यटकीयस्थल हुँदाहँुदै पनि खानेपानीको अभावमा जहिल्यै प्यासी बनेको छ धरान । यसलाई धरानबासीको दुर्भाग्य नै मान्नुपर्ने हुन्छ ।’

पूर्व, उत्तर र पश्चिका तीनतिर महाभारत पर्वत श्रृङ्खला र दक्षिणतिर तराईको चारकोशे जंगल रहेको धरानलाई आवासीय क्षेत्रको रुपमा उपयुक्त मानिए पनि खानेपानीको दीर्घकालिन समस्या समाधान नहुँदा प्रत्येक चुनावमा भोट माग्ने माध्यम मात्र बनेको सहप्राध्यापक डा शर्माको बुझाइ छ ।

उनी भन्छन्, ‘राणा शासनको समयमै उपत्यकापछि शहरी उपभोक्तालाई लक्षित गरेर व्यवस्थितरुपमा खानेपानी वितरण र व्यवस्थापन गर्ने शहर धरान नै हो । तराई र पहाडको संगमस्थलमा रहेको धरान पूर्वी नेपालको व्यापारिक केन्द्र बनेपछि त्यसबेलाको सीमित जनसंख्यालाई खानेपानी वितरण गर्न विसं १९९५ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमसेरले धरान बजारको सिरानमा पर्ने फुस्रेमा ट्याङकी निर्माण गरेका थिए ।’

सहप्राध्यापक डा शर्मा भन्छन्, ‘मलाई थाहा भएसम्म धरानमा ०४५ सालदेखि नै खानेपानीको अभाव सुरु हुन थालेको हो । सर्दु–खर्दु जलाधारको (सतह) को पानीले नपुगेपछि चारकोशे जंगलमा डिप ट्युवेल जडान गरी पम्प गरेर ल्याउन थालियो । तर, त्यो खानेपानी पनि पर्याप्त भएन

शर्माका अनुसार फुस्रेको ट्यांकीमा सर्दु–खर्दु जस्ता साना खहरे खोलाको पानी संकलन गरेर भरिएपछि बजारमा वितरण गरिन्थ्यो ।

धरानको उत्तरी क्षेत्रको महाभारत पर्वत श्रृङ्खला (पर्यटकीय स्थल भेडेटारको दक्षिण) बाट दक्षिणतिर बग्ने सर्दु–खर्दु खहरे आसपास सिखरबास क्षेत्रमा त्यसबेला करिव ३ सय घरको बस्ती थियो । पाँच सय बर्ष भन्दा पुरानो त्यो लिम्बुवानकालिन बस्तीलाई ०३४ सालतिर मात्र राजा वीरेन्द्रले मोरङमा सट्टाभर्ना दिएर हटाउने ‘हुकुम’ दिएर हटाइएको थियो ।

त्यहाँको बस्ती हटाएपछि धरानको खानेपानीको प्रमुख स्रोत भएको ठहर गर्दै सर्दु जलाधारका नाममा संरक्षण गर्न थालिएको हो । तर, जलवायु परिवर्तन र अन्य कारणले पछिल्लो समयमा हिउँद याममा सबै मुहान सुक्न थालेपछि धरानमा खानेपानीको हाहाकार सुरु भयो ।

करिव १० हजार जनसंख्या भएका बेला ०१६ सालमा व्रिटिश घोपा क्याम्प स्थापना भएपछि धरान लाहुरेहरुका लागि ‘ट्रान्जिट पोइन्ट’ बन्यो । त्यसबेला लाहुरे भर्ती भएका पूर्वी पहाडका लिम्बु र राई समुदायका युवा १५ देखि २० बर्षे पल्टने जीवनबाट अवकाश पाएर फर्कंदा धरानकै बासिन्दा भएर घर बनाउँदै बस्न थालेपछि जनसंख्यामा वृद्धि भयो ।

शैक्षिक संस्था, यातायात र ब्रिटिश चिकित्सकले नै उपचार गर्दै आएको ब्रिटिश घोपा क्याम्प अस्पताल पनि यहीँ रहेकाले धरानलाई उनीहरुले रोजे ।

जनसंख्या बढेपछि पानीको थप व्यवस्थापन गर्न ०३४ सालसम्म तत्कालीन धरान नगर पञ्चायतमा रहेको पानी फाँटले पानी वितरण गर्ने व्यवस्था गरेको थियो । सोही बर्ष नगर पञ्चायतभरि खानेपानी वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले नेपाल खानेपानी संस्थान धरानमा स्थापना भयो । संस्थानलाई नगर पञ्चायतको स्वामित्वमा रहेको खानेपानीको सबै भौतिक पूर्वाधार, सम्पत्ति दायित्व, संरचना र जनशक्ति पनि दिइएको थियो ।

तर, त्यसबेला पनि तत्कालीन नगर पञ्चायतको पानी फाँटले बढ्दो जनसंख्यालाई खानेपानी वितरण गर्न नसकेपछि नेपाल खानेपानी संस्थानको धरान शाखा स्थापना भयो । संस्थानले ०४५ सालमा विश्व बैंकसँग ऋण तथा अनुदान लिएर खानेपानीको वितरणका लागि डक्टाइल पाइपलाइन विस्तार गर्‍यो ।

सोही समयदेखि सर्दु–खर्दु जलाधारबाट संकलित पानी धरानका सबै उपभोक्ताको धारासम्म वितरण गर्न नसक्ने भएपछि संस्थानले धरान दक्षिणको चारकोशे जंगलमा डिप ट्युवेल (कुवा) जडान गरी पम्पमार्फत भूमिगत पानी निकालेर वितरण गर्न थालेको हो ।

सहप्राध्यापक डा शर्मा भन्छन्, ‘मलाई थाहा भएसम्म धरानमा ०४५ सालदेखि नै खानेपानीको अभाव सुरु हुन थालेको हो । सर्दु–खर्दु जलाधारको (सतह) को पानीले नपुगेपछि चारकोशे जंगलमा डिप ट्युवेल जडान गरी पम्प गरेर ल्याउन थालियो । तर, त्यो खानेपानी पनि पर्याप्त भएन । पछि धरान खानेपानी आयोजनाले पनि त्यही जंगलमा डिप ट्युवेल गाडेर उत्पादन गरेको पानी वितरण गर्ने योजना बनायो । त्यो पनि पर्याप्त भएको देखिएन ।’

संस्थान, आयोजनाको प्रयासले पनि धरानका उपभोक्तालाई पर्याप्त खानेपानी वितरण गर्न नसकेपछि पछिल्लो समय धरानबाट निर्वाचित प्रदेश सांसदहरु रमेश बस्नेत र विजय राईले प्रदेश सरकारबाट खानेपानीका लागि ४ करोड रुपैयाँ प्राप्त भएको बताएका छन् ।

उनीहरुका अनुसार उक्त रकमले चारकोशे जंगलमा ३ ठाउँमा डिप ट्युवेल जडान गर्ने काम भइरहेको छ । डीप ट्युवेल जडान गर्दा केही रुखहरु पनि कटान गर्नुपर्ने अवस्था भएपछि वन विभागसँग समन्वय गर्ने जिम्मेवारी धरानका मेयर हर्कराज राईले लिएका छन् । डिप ट्युवेल जडान गर्ने काम इटहरीस्थित खानेपानी तथा सरसफाइ डिभिजनले गर्दैछ ।

त्यसो त मेयर राईको पहलमा सप्तकोशीबाट खानेपानी ल्याउन डीपीआर भइसकेको छ । कोशीबाट करिव २० किलोमिटर दुरीमा रहेको धरानसम्म पानी ल्याउन सरकारले करिव ५ अर्ब रुपैयाँ लाग्ने बताएको छ ।

तमोरको मूलघाट नजिकैबाट पानी ल्याउनका लागि दुई लेनको सडकसहितको सुरुङमार्गको डीपीआर पनि तयार भएको छ । तर, सुरुङमार्ग निर्माण गर्न भने मेयर राईले असहमति जनाउँदै आएका छन् ।

सप्तकोशी वा तमोरबाट ल्याउने भनिएका अर्बौं रुपैयाँ बजेटका खानेपानी आयोजना पूरा हुन दशक बढी लाग्न सक्ने त भयो नै, उक्त समयसम्मका लागि भरथेग गर्ने खानेपानीको जोहो गर्न धरानबासीलाई धौधौ भएको छ ।

भनिन्छ, काकाकुल चरा जमिनमा पानी नै नभएकाले तिर्खाएको होइन, उसले पिउने पानी आकाशबाट नझरेकाले मात्रै तिखार्एको हो । त्यस्तै, धरान पनि विकल्प नै नभएर काकाकुल बनेको भने होइन ।

अहिलेसम्म खानेपानी समस्या समाधानका लागि दीर्घकालीन एवं ठूलो आयोजनाबारे सोचिएन । त्यसैले, अब काठमाडौंले मेलम्ची ल्याएजस्तै मुलघाटको पानी या कोशीको पानी ल्याउनेबारे गम्भीर भएर सोच्ने पो हो कि ? गम्भीर बहसको खाँचो देखिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : ५६ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी