काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए । त्यो खुसीको कारण थियो– नारायणहिटी संग्रहालयको अवलोकन । अखबारको पाना र रेडियोमा सुनेको ठाउँ प्रत्यक्ष आफ्नै आँखाले देख्न पाएको क्षणलाई मानबहादुरले जीवनकै अहोभाग्य क्षणको रुपमा लिएका छन् । छोरा बुहारीको सहयोगमा पत्नी हिरादेवीलाई सँगसँगै लिएर लौरो टेक्दै आएका उनी अत्यन्तै उत्साही थिए । त्यसो त देशको राजधानी काठमाडौं नै मानबहादुरले पहिलोपल्ट टेकेका हुन् ।
राजामहाराजाको थातथलो हेर्न पाउँदा खुसी हुँदै उनले भने– ‘बुढेसकालमा भएपनि राजा रानी बसेको ठाउँ हेर्न पाइयो । राजाले के के न खालान् ? उनीहरु बस्ने सुत्ने ठाउँ हिरामोतीको होला भन्ने थियो, त्यसो होइन रहेछ । राजारानी त साद्गी जीवन बाँच्दा रहेछन् । यो सबै दृश्य हेर्दा त राजामहाराजको नाममा भएको बद्नामी झूटो लाग्यो ।’
उनलाई राजपरिवारको हत्या भएको ठाउँ हेर्ने कौतुहल ज्यादै थियो । अस्पष्टै दृश्य हेर्न पाएकोमा उनी जति सन्तुष्ट थिए, त्यति नै भावुक पनि ।
त्यस्तै गुल्मीका ७० वर्षीय दिनानाथ भण्डारीका लागि पनि राजदरबार संग्रहालय प्रवेशको यो संयोग जीवनकै अविस्मरणीय क्षणका रुपमा परिभाषित हुने भएको छ । राजसंस्थाप्रति अगाध स्नेह राख्ने भण्डारी राजाको शासन सकिएपछि देशमा बेथिति बढेको निधोमा पुगेका छन् । गुल्मीबाट काठमाडौं आएर राजदरबार डुल्ने उनको जीवनकै धोको रहेछ ।
उनले भने– ‘राजदरबारकै माटोको दर्शन गर्न यहाँसम्म आएको हुँ । अब भने मर्ने बेलामा पुन्य पाउने विश्वास पलाएको छ । राजा भनेका विष्णुका अवतार हुन् । अब एकपटक अझै राजा सक्रिय रहेको शासन व्यवस्था हेर्ने रहर छ । ’
गुल्मीकै ६८ वर्षीया मल्लपा भण्डारी पनि नारायणहिटी दरबार हेर्न पाएर हर्षित थिइन् । उनले भ्रमण गरेर आएपछि प्रतिक्रिया दिइन– ‘जस्तो सुनेका थियौँ, त्यस्तै रहेछ भित्र पनि सबै दर्शन गर्न पाएँ । झन् राजाले लगाउने श्रीपेच हेर्न पाउँदा अझ बढी खुसी लाग्यो ।’
विशेषगरी वृद्धवृद्धाहरुले नारायणहिटी संग्रहालयलाई तीर्थस्थलको रुपमा पनि हेर्ने गरेको पाइयो । यो ठाउँको दर्शन गरेमा पुण्य प्राप्ति हुने र मरेपछि पनि गति पाइने विश्वास रहेको छ । त्यहाँ खटिएका सुरक्षाकर्मीका अनुसार धेरैजसो अवलोकनकर्ताको ध्यान राजमुकुट र दरबार हत्याकाण्डमा रहन्छ । गेटभित्र पस्नुअघि नै धेरैजसो अवलोकनकर्ता यस विषयमा जिज्ञासा राख्छन् । उनीहरु सोध्छन्– राजारानीको हत्या गरेको ठाउँ कहाँ छ ?
विद्यार्थीहरूले शैक्षिक भ्रमणको हबको रुपमा पनि नारायणहिटी संग्रहालयलाई लिने गरेका छन् । राजधानी र राजधानी बाहिरका स्कुल, क्याम्पसले शैक्षिक भ्रमणमा यो ठाउँलाई रोज्दा रहेछन् ।
भक्तपुरको सूर्यविनायकमा रहेको युनिक एकेडेमीले कक्षा ४ देखि ७ का विद्यार्थीहरूलाई शैक्षिक भ्रमणमा ल्याएको थियो । भ्रमण भन्ने बित्तिकै घुमघाम भन्ने बुझिन्छ । शैक्षिक भ्रमण केवल घुमघाममा मात्रै सीमित हुँदैन । नयाँ नयाँ अनुभव सँगाल्न, नयाँ विषय सिक्न भ्रमण अति महत्वपूर्ण हुन्छ । पढेर मात्रै भन्दा प्रत्यक्ष हेरेर, अवलोकन गरेर विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा मद्दत पुर्याउने ठम्याई शिक्षकहरूको छ ।
विद्यार्थीहरूलाई सामाजिक अध्ययनमा सहज होस र नेपालको इतिहास अझ दरबार हत्याकाण्डको विषयमा स्थलगत अवलोकन गरुन भन्ने उद्देश्यले शैक्षिक भ्रमणको लागि यो ठाउँ छनौट गरिएको शिक्षिका शान्ति गोराजुले बताइन् ।
उनले भनिन्, ‘नारायणहिटी संग्रहालय भित्रको काष्ठकलाले नेपालको संस्कृति झल्काएको छ । त्यस्तै विदेशबाट आएको उपहारलाई पनि सुरक्षित तरिकाले सजाएर राखिएको देख्न पाउँदा अझ खुसी लाग्यो ।’
आम नागरिकलाई केही सिक्न नारायणहिटी संग्रहालय महत्वपूर्ण रहेको शान्तिको अनुभव छ । नारायणहिटी अवलोकनमा आफूले राजाको मुकुट, राजा रानी सुत्ने बेड, बैठक कक्ष, डाइनिङ टेबल हेरेको युनिक एकेडेमीमा अध्ययनरत सोमिया लामा र अन्जु श्रेष्ठ बताउँछन् । राजामहाराजाले के खान्छन, के लगाउँछन, उनीहरुको घर कस्तो छ भन्ने जिज्ञासा मेटाउन शैक्षिक भ्रमणले मद्दत गरेको ती विद्यार्थीहरुले बताए ।
यता संग्रहालयको अवलोकन गरेर बाहिर निस्कँदै गरेकी सुनिता प्रजापतिले संग्रहालयभित्रका केही कोठाहरू मात्रै खुला भएको र अरु बन्द भएकाले सबै अवलोकन गर्न नपाएको गुनासो गरिन् । अवलोकन गरिसकेपछि आफ्नो पुर्खाको सम्झना आएको बताउँदै भनिन– ‘संग्रहालयभित्र हाम्रा पुर्खाले प्रयोग गरेका सामग्री देख्न पाइयो, खुसी लाग्यो । इतिहास बोकेका प्रमाण नजिकबाट हेर्न पाउनु ठूलो सौभाग्य हो ।’
दीपक कठायत ट्याक्सी चालक हुन् । उनी पर्यटकहरूलाई गन्तव्यसम्म पुर्याउने काम गर्छन् । उनका अनुसार देशविदेशका धेरैजसो पर्यटकहरु नारायणहिटी आउने गरेको उनले बताए । नारायणहिटी आफैँमा ऐतिहासिक महत्व बोकेको ठाउँ भएको उनको विश्लेषण छ ।
बुधबार बाहेक अन्य दिन संग्रहालय खुल्ला रहन्छ । राजाको दरबार त्यसमाथि दरबार हत्याकाण्डले धेरैलाई तान्ने गरेको छ । संग्रहालयमा ५२ कक्ष छन् । दरबारभित्र ऐतिहासिक महत्व बोकेका विभिन्न सामाग्री राखिएका छन् । जुन विद्यार्थीहरूका लागि जीवित सामान्य ज्ञान बन्ने गरेको छ ।
प्रतिक्रिया