'सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ' | Khabarhub Khabarhub

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

‘श्रीमान युद्धभूमिमा रुँदा म काँपिरहन्छु’



काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि ‘पूर्णस्तरको अतिक्रमण’ थालेयता जारी युद्ध प्रभाव विश्वभर परेको छ । पहिलो विश्वयुद्धदेखि नै भाडाको सैनिक बनाएर साइनो न सुर्ताको देशसँग युद्ध लड्न पठाइएका नेपालीहरूलाई यूरोसेयाली क्षेत्रमा जारी युद्धले पनि उसरी नै दपेटिरहेको छ ।

देशभित्र रोजगारी अभाव तथा न्यून पारिश्रमिक हुँदा उसै त देश छाडिरहेका सयौं नेपालीहरू एकाएक रूस–युक्रेन युद्धमा होमिइन पुगे । भाडाको सैनिकको हैसियतमा रूसका तर्फबाट युक्रेनविरुद्ध लड्न पुगेका ३३ नेपाली युवाहरूले युद्धभूमिमै ज्यान गुमाइसकेको आधिकारिक जानकारीमा छ । रूसी सेनामै रहेका नेपालीहरूले आफ्ना परिवारलाई दिएको भनिएको जानकारीअनुसार हालसम्म कम्तिमा ५० जनाको ज्यान गइसकेको छ ।

रूसी सरकारले उसको सेनामा कति नेपाली भर्ना भएका छन् भन्ने तथ्याङ्क दिन आलटाल गरिरहेको छ । नेपालको परराष्ट्र मन्त्रालय चाहिँ रूससँग समन्वय गरिरहेको बताएर ‘देश र जनताप्रति जवाफदेही’ बनेको देखाउँदैछ ।

युद्धभूमिमा ज्यान गुमाएका, घाइते भएका, युक्रेनमा युद्धबन्दी बनेका र रूसी सेनामा रहेकाका परिवारको रोदन र आँशु सोहोरिएर यतिखेर काठमाडौंमा पोखिँदैछ । युद्ध मैदानमा पुगेर हराइरहेका आफ्ना प्रियजनहरूलाई खोजिदिन उनीहरू सरकारसँग याचना गरिरहेका छन् ।

काठमाडौंको शान्तिबाटिकामा १७ दिनदेखि अनशनरतहरूले आफन्त फिर्ता गर्न एउटै आशा राखेका छन् : ‘राज्य छ ! राज्यले सक्छ ! राज्यले आफ्ना नागरिकलाई युद्धभूमिबाट फिर्ता ल्याउन सक्नुपर्छ ।’

रूस–युक्रेन युद्धमा होमिएका नेपालीका परिवारले आफन्त वियोगमा भोगिरहेको पीडा, राज्यबाट गरिरहेको अपेक्षा र आग्रहबारे केही प्रतिनिधिसँग कुराकानी गरी यो सामग्री तयार पारिएको हो ।

‘आपतमा परेँ, श्रीमान फर्काइदिनू’

मैयाँ रसाइली

३५ वर्षीया मैयाँ रसाइली १५ दिनदेखि शान्तिबाटिकामा अनशनरत छिन् । सात महिनाअघि कलिला सन्तानको भविष्यका लागि भन्दै रूस उडेका श्रीमान नारायण रसाइली यतिखेर सम्पर्कमै छैनन् ।

रूस गएका श्रीमान गत चार महिनादेखि सम्पर्कमा नआएपछि उनले के नै गर्न सक्थिन् र ! अन्तिम विकल्प सडकमा आएर सरकारलाई गुहार्ने निर्णयमा पुगिन् ।

सोचेको के ! भइदियो के ! श्रीमान विदेश गएपछि जीवनयापन केही सहज होला भन्ने उनमा सामान्य आंकाक्षा थियो । तर पूरा भएन । उल्टै निदाउनै नसक्ने गरी पीडा थपियो । भोक त छ, तर घाँटीबाट खाना नै निल्न मन नलाग्नेगरी मन विचलित बनाइरहेको छ ।

श्रीमान साथमा छैनन् । एकदिन फर्कन्छन् भनी ढुक्क बस्ने अवस्था छैन । युद्धमै श्रीमान विलीन भए कि भन्ने कल्पना गर्ने सामर्थ्य उनीसँग छैन ।
भावनात्मक विषयलाई थपक्क एक कुनामा राख्ने हो भने मात्रै पनि साथमा भएको ठूलो छोरा १४ वर्षका भए । उनको स्वास्थ्यावस्था अनुकूल छैन । निरन्तर औषधोपचार गर्ने जिम्मा मैयाँकै भरमा छ ।

श्रीमान बेपत्ता भएको पीडाबाट विक्षिप्त बनेकी मैयाँकै भरमा छन् – सात वर्षका दुई छोरा र ५५ वर्षीया सासू । घरको आम्दानीको एकल स्रोत श्रीमान कटारीको सुन पसलको कमाइले परिवार खर्च धान्न नसकेर विदेश गएका हुन् । आम्दानी गर्नसक्ने श्रीमानले धान्न नसकेको परिवार कमाउने कुनै स्रोत नभएकी मैयाँले कसरी धान्नु ! कोरोनाले थाङथिलो पारेको व्यवसायको चोटमा रूस–युक्रेन युद्धले नुनचुक छर्किदाँ उनी निरीह बन्न बाध्य छिन् ।

त्यहीमाथि रक्तस्राव बढेपछि डाक्टरले अप्रेसन गर्न सुझाव दिएका छन् । न उनले बिरामी र कलिला छोरालाई बुबा बेपत्ता भएको सुनाएकी छन्, न श्रीमानलाई नै आफ्नो बिमारीबारे बताउन सकेकी छिन् ।

एसएलसी मात्रै पढेका र बलको काम खासै नगरेका श्रीमानलाई विदेश जान उनले नरोकेकी भने होइनन् । युद्धबारे थाहा पाएको भए त झन् श्रीमानलाई विदेश जान दिने नै थिइनन् ।

उनी भन्छिन्, ‘यहाँबाट गएको ४० दिनसम्म सम्पर्कमा हुनुहुन्थ्यो । पुगेपछि सोचेर आएजस्तो रहेनछ । फर्किन पाए हुन्थ्यो भनिराख्नु भएको थियो । युद्धमा लगेपछि सम्पर्कमा बस्न नदिने रहेछ ।’

रूस पुगेर श्रीमानले एकपटक पैसा पठाए पनि पछि सिस्टमले मिलेन भनेको उनी बताउँछिन् ।

‘पैसा त जे होस्, श्रीमान मात्रै फर्किए हुन्थ्यो,’ उनी सरकारसँग गुहार गर्छिन्, ‘तीन महिना भइसक्यो सरकारको भर परेको, श्रीमान फर्काइदिनू ।’

‘कमाण्डरको भाषा नबुझ्दा पनि मृत्यु’

जानुका सुनार

दक्षिणकाली छैमलेकी जानुका सुनार (२९) का श्रीमान नानीराम सुनार (३५) रूस गएको ६ महिना बित्यो । घरमा सरसल्लाह गर्दा रूसी सेनामा जाने भन्ने कुरा थिएन । कम्पनीमा काम गर्ने बताएर उनी विदेश लम्किएका हुन् ।

सामान्य लेखपढ भएका नानीरामले नेपालमा हुदाँ सुनचाँदीको काम गर्ने भए पनि व्यवहारले नै च्यापेर विदेश जाने सोच बनाए । श्रीमान विदेश जाने भएपछि जानुका पनि आर्थिक अवस्था सुधार हुन्छ भनेर खुसी नै थिइन् । श्रीमानसँग छुट्टिँदा उनका लागि मन बुझाउने बाटो यही नै थियो ।
१० र ६ वर्षीया दुई छोरीको भविष्य राम्रो बन्ने र ऋणबाट मुक्त हुने आश उनलाई थियो ।

उनी भन्छिन्, ‘हामीले पीर मान्छौं भनेर होला उहाँले केही भन्नुभएन । ९ लाख रुपैयाँ खर्च गरेर जानुभएको चाहिँ हामीलाई थाहा छ ।’

नानीराम गएको १५ दिनसम्म जानुकाको निरन्तर सम्पर्कमा थिए । त्यसपछि लामो समय उनी सम्पर्कमा आएनन् । तर अहिले उनी सम्पर्कमै छन्, अवस्था भने नाजुक भएको बताउँछन् ।

उनी भन्छिन्, ‘उहाँ युद्ध भएको ठाउँमा हुनुहुँदो रहेछ । दैनिक युद्ध हुन्छ भन्नुहुन्छ । एकैछिनमा के हुन्छ भन्ने नै थाहा हुँदैन रे ! उहाँ त डरमा हुनुहुन्छ नै, हामीलाई पनि चिन्ताले निद्रा लाग्दैन ।’ सम्पर्कमै रहेको बेला सरकारले उद्धार गरिदिए श्रीमानसँग पुनर्मिलन हुने जानुका बताउँछिन् ।
उनलाई श्रीमानले भन्छन् रे, ‘भाषा नबुझ्दा उनीहरूले एक कुरा भन्दा हामीले अर्को बुझिरहेका हुन्छौं । भाषा नबुझेकै कारणले धेरै जनाको ज्यान गइरहेको छ । कहाँ लैजान्छ, कहाँ राख्छ नै थाहा हुँदैन ।’

दुई छोरी माइतमा छोडेर अनशनमा आएकी जानुका निरीह महसुस गर्दै सरकारसँग गुहार गर्छिन्, ‘उहाँ सम्पर्कबाट हटेको दिन के हुन्छ थाहा छैन । सरकार ! मेरो श्रीमान फिर्ता गर्न प्रक्रिया थाल्नुपर्‍यो ।’

‘सरकारले किन वास्तै नगरेको हो ?’

सीता सुनार

ललितपुर झोर–१ की सीता सुनार (४०) का श्रीमान सानु सुनार (४०) ६ महिनाअघि रूस गएका हुन् । वर्ष १० कक्षासम्म अध्ययन गरेका सानुले नेपालमा हुँदा वेल्डिङको काम गर्थे । निरन्तर काम पनि नहुने र कमाइ पनि राम्रो नभएपछि विदेश गए ।

सानु ९ लाख रुपैयाँ तिरेर विदेश गएका हुन् । सीता भन्छिन्, ‘मैले नजानु भनेको थिएँ । तर सबै जना गएका छन्, म पनि जान्छु भन्नुभयो । त्यहाँ गएपछि अरू पनि काम पाइहालिन्छ, चिन्ता नगर्नू भन्नुभएको थियो ।’

सीताकोश्रीमान र जानुकाका श्रीमान एकै साथ रूस गएका हुन् । जानुकाका श्रीमान सीताका भाइ हुन् । उनीहरूसँगै गएका एक व्यक्तिको मृत्यु भएको खबर सीतालाई आएको छ । ती व्यक्तिको शव पुष्टि नभएकाले नेपालमा काजक्रिया भने नभएको सीता बताउँछिन् ।

आफूसँगै झोला बोकेर गएको साथीको निधन हुँदा सीताका भाइ र श्रीमान मानसिक रूपमा विक्षिप्त छन् । त्यसमाथि आफ्नो ज्यान नै खतरामा हुँदा ढुक्कले स्वास लिन पनि नपाएको दुखेसो पोखिरहेका सीता बताउँछिन् ।

सीताका श्रीमान भने सुरुवाती दुई महिना सम्पर्कमा थिए । पछि युद्ध कमाण्डरले मोबाइल खोसेपछि लामो समय सम्पर्क टुटे पनि अहिले भने उनी सम्पर्कमा नै छन् ।

गहभरी आँशु पार्दै सीता भन्छिन्, ‘श्रीमानसँग सम्पर्क नहुँदाको समय कसरी बित्यो, मलाई थाहा छैन । अहिले कहाँ कतिबेला के हुने हो भन्ने चिन्ताले सताएर मन स्थिर छैन । जतिसक्दो छिटो नेपाल फर्कन पाए हुन्थ्यो भनिरहनुहुन्छ । तर सरकारले किन वास्तै नगरेको हो ?’

‘श्रीमान युद्धभूमिमा रुँदा म काँपिरहन्छु’

सम्झना थापामगर

धनगढी उपमहानगरपालिका– १४ की सम्झनाको बिहे भएको १९ वर्ष भयो । १७ वर्षका एक छोरा छन् । छोरा पढाउन उनी काठमाडौंमै बस्छिन् । उनको श्रीमान रूस गएको ८ महिना भयो ।

जीविकोपार्जनका लागि विदेश गएका श्रीमानको फोन कलले उनले आनन्दले बस्नसमेत पाएकी छैनन् । उनलाई श्रीमानले भन्छन् रे, ‘हरेकपल मृत्युसँग साक्षात्कार भएर बस्नुपरेको छ । युद्धमा जाँदा फर्केर आइँदैन भन्ने लाग्छ ।’

‘परिवारलाई भेट्न पाउँदिन जस्तो छ’ भन्दै श्रीमान फोनमा रुँदा आफूलाई कसरी सम्हालिन् भन्ने उनलाई पत्तो छैन । तर फोन सम्पर्कमै रहेकाले उनले आफूलाई भुलाउने मेसो भने पाएकी छन्, तर डरै डरमा ।

उनी भन्छिन्, ‘बुबाको अवस्था थाहा पाएर १२ पढ्ने छोराले पढाइ पनि बिगार्न थाल्यो ।’ आफू विचलित हुँदा सोही छोराले ढाडस दिए पनि मृत्युको मुखमा रहेका श्रीमान सम्झेर उनले मन बुझाउन सकेकी छैनन् ।

नेपाल आर्मीबाट पेन्सन पकाएर बेलायत गएका श्रीमान छुट्टीमा नेपाल आउँदा रूसमा काम पाइने खबर सुनेर उता गएको सम्झना बताउँछिन् । उनी भन्छिन्, ‘कसले राम्रो कमाइ हुन्छ भनेछ, ९ लाख रुपैयाँ तिरेर जानुभयो ।’

जाने बेला रूसबारे आफूले श्रीमानसँग सोधपुछ नगरेको पछुतो उनलाई अहिले लागेको छ । ‘युद्धबारे थाहा पाएको भए कुनै हालतमा पनि जान दिन्नँ थिएँ,’ उनी भन्छिन् ।

श्रीमानले युद्ध जटिल स्थितिमा रहेको बताउँदा उनीका शरीर थरर काप्छ । स्वदेशमा माओवादी जनयुद्ध भोगेका श्रीमान उनीसँग भन्छन् रे, ‘माओवादी युद्ध जस्तो होइन रहेछ यहाँ । कसरी फर्किने । भड्खालामा जाकियौं ।’

‘छोराले बाबा खै भन्छ, कहाँबाट ल्याऊँ ?’

रोजी पुन

म्याग्दी गाउँपालिका–४ की २२ वर्षीया रोजी पुनका ४ वर्ष र १८ महिनाका दुई छोरा छन् । १२ कक्षासम्म अध्ययन गरेकी रोजीले १६ वर्षकै उमेरमा भुवनसँग प्रेम विवाह गरेकी थिइन् ।

स्नातकसम्म अध्ययन गरेका भुवनले पोखरा हेम्जामा बोर्डिङ स्कुल पढाउँथे । ४ वर्षसम्म शिक्षण गरेपछि उनी विदेश जाने मनस्थितिमा पुगे ।
व्यवहार बढ्दै जाँदा खर्च धान्न मुस्किल परेर भुवन विदेश जान भाँतारिए । ८ लाख रुपैयाँ तिरेर रूस पुगे ।

गएको ८ दिनसम्म सम्पर्कमा रहेका भुवनको अवस्था रोजीलाई थाहा भएन । २२ दिनपछि अनलाइन आउँछु भनेर बिदा भएका भुवन त्यसपछि फर्किएनन् । उल्टै गत फागुन ८ गते उनको मृत्युको खबर आयो ।

श्रीमानकाे मृत्युको खबरले उनी आफैँ विचलित छन् । नाबालका छोरालाई भन्ने कुरा भएन, सासु–ससुरालाई छोराको मृत्युको खबर सुनाउन उनलाई आँट भएन । काजक्रियाका लागि लाशको पर्खाइमा छिन् । लाश झिकाउने प्रयास गर्न उनी काठमाडौं आएको चार महिना भयो ।

सासु–ससुरासँग छोडेर आएको जेठो छोराले बुबाको बारेमा सोध्दा उनी भक्कानिन्छन् । ‘बाबा खै भनी सोधेर हैरान पारिसक्यो,’ उनी रुँदै सरकारसँग गुहार गर्छिन्, ‘मेरो श्रीमानकाे शव छिटो ल्याइदिनुस् !’

‘छोरो विदेशी भूमिमा बेपत्ता भयो’

रामजी राई

नुवाकोटको पञ्चकन्या गाविस–१ का रामजी राईका २२ वर्षीय छोरा दिनेश कात्र्तिकमा रूस गएका हुन् । उनी चार महिनादेखि सम्पर्कविहीन छन् ।

रामजी भन्छन्, ‘खेलकूदमा निकै रुचि राख्थ्यो । ब्याचर पढ्दै गर्दा पैसा कमाउनुपर्छ, अब विदेश जान्छु भन्यो । मलाई फ्रान्स जान्छु भनेको थियो । १४ लाख रुपैयाँ खर्च गरेर गएको हो ।’

फ्रान्स जान घरबाट हिँडेको छोरोले रूस पुगेर फोटो हालेपछि रामजी झस्किए । तर दुई महिनासम्म निरन्तर सम्पर्क भएकाले राम्रै होला भन्ने उनलाई लागेको थियो ।

रामजी छोरासँगको अन्तिम फोन कुराकानी सुनाउँछन्, ‘ती–चार महिना फोन गर्न पाउँदिन, तालिममा लैजाँदैछ भनेको थियो । त्यसपछि कता छ छोरो, थाहा छैन ।’

दिनेशले सुरुमा मासिक सात लाख रुपैयाँ कमाइ हुने गरेको घरमा सुनाउने गरेको रामजी बताउँछन् । दिनेशले रामजीलाई ‘खातामा पैसा आइसकेको छ, नगद झिकेर पठाउँछु’ सम्म भन्न भ्याएका थिए रे ।

उनी सरकारलाई बेपत्ता छोरो खोजिदिन गुहार गर्दै काठमाडौं आइपुगेका छन् । भन्छन्, ‘जेठो छोरो नै विदेशी भूमिमा बेपत्ता भयो । आमाले चिन्ता गर्छे भनेर ठीकै छ रे भन्दिएको छु ।’

‘बुढी आमाको एक्लो सहारा रूसमा हरायो’

किसन थापा

पञ्चपुर नगरपालिका–५ सुर्खेतका किसन थापाका साला २८ वर्षीय लक्ष्मण विष्ट गत कात्तिकमा रूस गएका थिए । त्यहाँ पुगेको १५ दिनसम्म सम्पर्कमा रहेका उनी यतिखेर बेपत्ता भएका छन् ।

लक्ष्मणले अन्तिम कुराकानीमा भनेका थिए रे, ‘एक महिनापछि सम्पर्कमा आउँछु, चिन्ता नगर्नु ।’ तर पाँच महिना बित्यो । उनी कहाँ छन्, पत्तो छैन ।

लक्ष्मणको घरमा ६५ वर्षकी बुढीआमा मात्रै हुनुहुन्छ । दाजू–भाउजु १० वर्षदेखि भारतमा छन् । किसन भन्छन्, ‘दुबई पुलिसमा जान्छु भन्दै थियो । एकैपटक रूस पुगेर सेनाको ड्रेस लगाएर भिडियो कल गरेको थियो । जग्गा धितो राखेर ऋण लिएर ऊ विदेश गएको हो ।’

किसनका अनुसार लक्ष्मणले रूस जान ११ लाख रुपैयाँ खर्च गरेका थिए । महिनाको पाँचदेखि आठ लाख रुपैयाँ कमाइ हुने लोभले सालो रूस पुगेको उनी बताउँछन् ।

‘धेरै कमाइ आश गर्दा दुःख पाइयो’

कृष्ण गुरुङ

बेशीशहर नगरपालिका–५, लमजुङका कृष्ण गुरुङ पनि सालो बेपत्ता भएपछि खोजी गरिदिन भन्दै काठमाडौंमा अनसन बस्न आए । उनको सालो रूस गएको सात महिना भयो ।

कृष्ण भन्छन्, ‘पढाइ धेरै थिएन, तर दुबईमा राम्रै रोजगारीमा थियो । रूसमा धेरै कमाइ हुन्छ भनेर गएको हो ।’

‘युद्ध छ’ भन्दा पनि थोरै भए पनि बढी कमाउने लोभले सालो रूस गएरै छाडे । ‘ज्यान जोखिम रहेछ भने फर्कन्छु’ भनेपछि कृष्णहरूले पनि रोक्न खासै जोड गरेनन् ।

४१ वर्षको सालोका एक छोरा मामा घरमा छन् । यसपाली एसईई दिए । उनको श्रीमती साइप्रसमा छिन् । उनी भन्छन्, ‘बुहारीले सालो खोज्नका लागि हामीसँग केही कुरा गरेकी छैनन् । हामीलाई केही भनेकी पनि छैनन् ।’

‘सरकारले आँखा र कान नै छोपिरहेको छ’

कृतु भण्डारी, अभियानकर्मी

सामूहिक अनसन बसेको आज (शनिबार) १७औं दिन हो । राज्यको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । राज्यले दृष्ट्रि र श्रवण दुबै गुमाएको जस्तो देखियो । सिंहदरबारदेखि ५ मिनेटको दूरीमा पीडितहरू रोइरहेका छन् । तर सरकारले कान थुनेर बसेको छ ।

रूसमा भएका नागरिकका सन्दर्भमा राज्यले जीवनरक्षा गर्ला ती भन्नेमा शंका लाग्न थालिसकेको छ । राज्य कति संवेदनहीन छ, यहीँबाट पुष्टि भएको छ ।

गृहदेखि परराष्ट्र मन्त्रालयले कुनै पहल गरेको छैन । अनसनमा बसेकोहरूको स्वास्थ्य अवस्था र सहजीकरण कस्तो भनेर समेत उनीहरू बुझ्न आएका छैनन् ।

रिले अनसनमा दैनिक सय जना हाजिर हुन्छन् । ५० जना निरन्तर बसिरहेका छौँ । जिल्लाबाट आएकाहरू सबै पालमुनि नै बसिरहेका छन् । केही साथी होटलमा रुम लिएर, आफन्त र चिनेजानेकहाँ बसेका छन् । दुई हजारभन्दा बढी परिवारको सदस्य अनशनमा जोडिएका छन् । ४१९ जना रूसी सेनाहरू रूसबाटै जोडिएका छन् ।

एक महिना अघिसम्म रूसी सेनामा ६९१ जना रहेका थिए । जसमध्ये ३९ जना मृतक छन् । उनीहरूको परिवारले काजकिरिया गरिसकेको अवस्था छ । ४० जनाको मृत्यु भएको भनेर खबर आएको छ, तर पुष्टि हुन बाँकी छ । प्रमाण नआएसम्म काजकिरिया गर्न सक्दैनौँ, जीवित छन् भने खोजेर उद्धार गरिदिनुपर्‍यो । मृत्यु भएको हो भने पुष्टि गर्न पर्‍यो भनेर भौँतारिरहेका छन् ।

रूसी सेनामा रहेका ११७ जना नेपाली घाइते छन्, जो अस्पतालमा भर्ना छन् । उनीहरू सबै परिवारको सम्पर्कमा छन् । २७२ जना लामो समय परिवारको सम्पर्कबाट बाहिर छन् । १५ जना करार सम्झौता रद्द गरेर उद्धार प्रतीक्षामा छन् । २९ जना रूसी सेना बन्दैनौँ, दलालले प्रलोभनमा ल्याउको हो । हामी देश फर्कन चाहन्छौँ भनिरहेका छन् ।

याे पनि-

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

रूस र युक्रेनको युद्धमा कुनै साइनो नभएका नेपाली युवाहरू अवसरको खोजी गर्ने क्रममा पुगेका हुन् । राज्यले अवसर दिन सकेको भए युवाहरू त्यहाँसम्म पुग्ने थिएनन् । रूसलाई जिताउन गएका होइनन्, अवसरको खोजीमा बाध्यताले पुगेका हुन् ।

आफूले अवसर दिन नसक्ने, अनि ‘किन गए ?’ भनेर राज्य भाग्न मिल्दैन । जसरी गए पनि नेपाली नागरिक हुन् । आफ्नो नागरिकको जीवनरक्षा गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ ।

त्यसमाथि अनशन बसेकालाई प्रहरीले अमानवीय तरिकाले उठाएर लैजान्छ । शान्तिवाटिका उसै पनि असुरक्षित छ । यस्तो ठाउँमा बच्चाका आमाहरू असनशन बसिरहेका छन् । उनीहरू मानसिक रूपमा थप विक्षिप्त बनेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ४ : ०२ बजे

विपद् व्यवस्थापनका लागि सहकार्य आवश्यक

काठमाडौं । सरोकारवालाहरुले विपद् व्यवस्थापनले ल्याउने सङ्कटको सामनामा जुट्न सबैको

प्रधानमन्त्रीले भने : लुम्बिनी आउँदा मलाई सधैँ खुसी मिल्छ

लुम्बिनी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास गरे

आजका समाचार : सिरोहिया तीनदिन हिरासतमा रहनेदेखि कांग्रेसद्वारा सडक आन्दोलन घोषणासम्म

कांग्रेसद्वारा सडक आन्दोलन घोषणा, शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने प्रमुख प्रतिपक्षी

सिरोहिया पक्राउपछि राप्रपाले भन्यो : अब गृहमन्त्रीलाई पनि छानबिनमा तानौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पनि

भ्रष्टाचार मुद्दामा लुम्बिनीका पूर्वमन्त्री यादवसहित १९ जनालाई सफाइ

काठमाडौं- वनको काठ र दाउरा हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा